इलाम २ उपनिर्वाचन : कसले जिते के अर्थ लाग्छ ?

इलाम २ को निर्वाचन नतिजा सबैभन्दा बढी एमालेका लागि धेरै अर्थपूर्ण हुनेछ । एमाले उम्मेदवारले जितेमा पार्टी, कम्युनिष्ट विचार तथा नेम्वाङ परिवारको वर्चस्व र विरासत कायमै छ भन्ने अर्थ लाग्नेछ । पराजित भएमा पार्टी निरन्तर कमजोर हुँदै गएको, स्वयम् एमाले समर्थक मतदाताले सुहाङ नेम्वाङको उम्मेदवारी मन नपराएको, त्यसलाई वंशवाद ठानेको अर्थ लाग्दछ ।

इलाम २ उपनिर्वाचन : कसले जिते के अर्थ लाग्छ ?

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको असामयिक निधनपछि रिक्त भएको इलाम २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचनमा मुख्य ४ उम्मेदवार चर्चा र प्रतिस्पर्धामा रहनेछन् । एमालेका सुहाङ नेम्वाङ (Suhang nembang), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू (Milan limbu) र स्वतन्त्र पहिचानवादी योद्धा डकेन्द्रसिंह थेगिम (Dakendrasing thegim) । त्यसमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ ।

संस्थापन पक्षले गत निर्वाचनकै उम्मेदवार डम्बरबहादुर खड्कालाई दोहोर्‍याउन चाहन्छ भने संस्थापनइतर पक्षले त्यसको विरोध गरेको छ । यही भएर उसले उम्मेदवार चुन्न सकेको छैन । नेताहरूले चाँडै टुङ्ग्याउने बताएका छन् ।

इलाम अहिलेसम्मको चुनावी नतिजाका दृष्टिले परम्परागत राजनीति र पुराना दुई ठूला दल एमाले र कांग्रेसले जरा गाडेको जिल्ला हो । त्यसमा पनि इलाम २ अझ बढी स्थिर चुनावी नतिजा प्राप्त हुने निर्वाचन क्षेत्र हो ।

त्यहाँ २०४६ सालयताका ७ वटा आम निर्वाचन परिणाम हेर्ने हो भने सधैँ एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको छ । त्यसमध्ये पनि नेपाली कांग्रेसबाट कुलबहादुर गुरुङले एकपटक मात्र जितेका थिए । त्यसबाहेकका सबै चुनाव एमालेले जित्दै आएको छ ।

सुवासचन्द्र नेम्वाङले मात्र यस क्षेत्रमा ५ पटक चुनाव जिते । २०४८ को पहिलो चुनाव एमालेकै मणिकुमार लिम्बूले जितेका थिए । यसपटक सुवासका छोरा सुहाङ नेम्वाङलाई एमालेले उम्मेदवार बनाएको छ ।

सुहाङको उम्मेदवारीका सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवास नेम्वाङजस्ता उच्च कदका नेताको विरासत र सहानुभूतिको भोट हो । नकारात्मक पक्ष वंशवाद र परिवारवादको आरोप हो । सुहाङ एमालेको सक्रिय राजनीतिमा थिएनन् । इलामको स्थानीय राजनीतिमा दशकौं बिनाअवसर जीवन बिताएका एमाले कार्यकर्ताले यसपटक टिकट पाउने आशा राखेका थिए । उनीहरू केही निरास हुन सक्छन् ।

इलाम २ यस्तो निर्वाचन क्षेत्र हो, जहाँ २०६४ को पहिलो संविधान सभामा देशभर नेकपा (माओवादी केन्द्र) को चुनावी आँधी चल्दा पनि त्यहाँ प्रतिस्पर्धामै थिएन । अन्य दलको त कुरै छोडौँ, नेपाली कांग्रेसका लागि समेत जीत निकाल्न निक्कै गाह्रो पर्ने गरेको यो निर्वाचन क्षेत्रमा थप दुई उम्मेदवार पनि यसपटक चर्चामा छन् ।

हार-जीत जे भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र पहिचान आन्दोलनका योद्धा डकेन्द्रसिंह थेगिम चर्चामा मात्र छैनन्, विद्यमान राजनीतिक कारणले महत्त्वपूर्ण उम्मेदवार मानिएका छन् ।

दशकौं लामो परम्परागत वर्चस्व भएको क्षेत्र भएपनि गत निर्वाचनमा एमालेले फराकिलो मतान्तर राख्न सकेको थिएन । एमालेका दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । मतान्तर ११४ को मात्र थियो । यो तथ्यले एमालेलाई झस्काउँछ भने कांग्रेसलाई हौसाउँछ ।

तर, देश र जिल्लाको राजनीति गत आम चुनावकै सेरोफेरोमा भने छैन । विशेषतः देशमा रास्वपाको उदय र पूर्वमा कोशी प्रदेश पुन: नामाङ्कन आन्दोलनले परिस्थितिलाई फरक बनाएको छ । यसबाहेक गत चुनावको भन्दा यसपटक दलीय समीकरण फेरिएको छ ।

उम्मेदवारी त अन्य दलले पनि देलान् तर, तिनको खासै अर्थ हुने छैन । नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले भिन्ना-भिन्नै उम्मेदवारी दिएपनि प्रतिस्पर्धामा आउने सम्भावना देखिँदैन । भलै कि एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला हो यो ।

खनाल आफैँ उपनिर्वाचनको उम्मेदवार हुने सोचमा थिए । तर, यसका लागि उनले सबै वामदलको समर्थन खोजेका थिए । एमाले र माओवादी केन्द्रको समर्थन हुँदा पनि जित्न कठिन हुने देखेपछि उनी पछि हटे ।

खनालनिकट स्रोत भन्छ— जित्ने ग्यारेन्टी देखिएको भए एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग कुरा मिल्ने सम्भावना थियो । अध्यक्ष ओलीसँग एक चरण गोप्य कुराकानी पनि भएको हो । तर, रास्वपा र स्वतन्त्र पहिचानवादी उम्मेदवारको भोट बढ्ने, त्यो भोट एमालेबाट कट्ने र कांग्रेस उम्मेदवारले जित्न सक्ने सम्भावना देखियो । नत्र खनाल एमालेसमेतको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार हुन सक्थे ।

कांग्रेस समर्थक योपटक धेरै निराश छैनन् । गतिलो उम्मेदवार भए करिब ३० वर्षपछि फेरि एकपटक त्यहाँ जित्न सक्ने सम्भावना देखिएको भन्दै उनीहरू उत्साहित छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र यही रिपोर्टिङ गरेका छन् ।

रास्वपा उम्मेदवार मिलन लिम्बूले जित्न भने तनहुँ वा चितवनको जस्तै ठूलो राजनीतिक उलटफेर हुनुपर्ने हुन्छ । अन्यथा उनको भोट बढ्न सक्दछ तर, जित्ने सम्भावना भने कमै हुन्छ । त्यस्तो ठूलो राजनीतिक आँधीको सङ्केत अहिलेसम्म देखिएको छैन ।

गत चुनावमा तेस्रो स्थानमा रहेको रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत मात्र ल्याएका थिए । तर, रास्वपाको समानुपातिक मत भने प्रत्यक्षतर्फको भन्दा धेरै ४ हजार ६८६ थियो । समानुपातिक मतका आधारका भने रास्वपा माओवादी केन्द्रभन्दा पछाडि चौथो स्थानमा थियो । गठबन्धनका कारण माओवादी केन्द्रको भिन्नै उम्मेदवार थिएन ।

समानुपातिक मतको आधारमा हेर्दा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको मत २२ हजार ३३३ मात्र थियो । अर्थात् कांग्रेसको मत प्रत्यक्षभन्दा समानुपातिक तर्फ ६ हजार ५७३ ले कम थियो । यसको अर्थ त्यतिखेरको पाँचदलीय गठबन्धनको कारणले कांग्रेसको प्रत्यक्षतर्फ मत थपिएको थियो ।

प्रत्यक्षतर्फ सुवासचन्द्र नेम्वाङले प्राप्त गरेको भन्दा एमालेको समानुपातिक मत निकै कम थियो । एमालेले निर्वाचन क्षेत्रभरबाट २६ हजार ५६२ समानुपातिक मत पाएको थियो । यो प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा ३ हजार ४६८ ले कम हो ।

यसपटक वाम घटकले एमालेलाई समर्थन गर्छन् कि गर्दैनन्, उपनिर्वाचन नतिजालाई प्रभावित गर्ने एक महत्त्वपूर्ण पक्ष यो हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरे एमाले उम्मेदवार तुलनात्मकरूपमा अझ बलियो हुनेछन् । त्यसोभए आगामी दिनमा वाम गठबन्धन बन्ने सम्भावना बलियो हुँदै जाने अर्थ निस्कन्छ ।

इलाम २ को निर्वाचन नतिजा सबैभन्दा बढी एमालेका लागि अर्थपूर्ण हुनेछ । एमाले उम्मेदवारले जितेमा पार्टी, कम्युनिष्ट विचार तथा नेम्वाङ परिवारको वर्चस्व र विरासत कायमै छ भन्ने अर्थ लाग्नेछ । पराजित भएमा पार्टी निरन्तर कमजोर हुँदै गएको, स्वयम् एमाले समर्थक मतदाताले सुहाङ नेम्वाङको उम्मेदवारी मन नपराएको, त्यसलाई वंशवाद ठानेको अर्थ लाग्दछ ।

एमाले हारेमा त्यसको एउटा कारण एमालेभित्रैको असन्तुष्टि र अन्तर्घात हुन सक्दछ । यसले पार्टीको पहिचान विरोधी छवि पुष्टि भएको अर्थसमेत निकाल्न मिल्नेछ ।

गत वर्ष वैशाख १० गते उपनिर्वाचन भएका तनहुँ १, चितवन २ र बारा ३ मा एमाले कमजोर देखिएको थियो । निराशाजनक तेस्रो स्थानमा धकेलिएको थियो । तीनवटै क्षेत्रमा विगतमा एमाले बलियो रहँदै आएको थियो ।

इलाममा तनहुँ, चितवन र बाराको जस्तो नतिजा दोहोरिन्छ कि दोहोरिँदैन भन्ने कुराले एमालेको भविष्यमाथि ठूलो अर्थ राख्दछ । इलाममा पनि पराजित हुने हो भने एमाले निरन्तर ओरालो लागेको पतनशील पार्टी हो भन्ने पुष्टि हुन्छ । तनहुँ, चितवन र बाराको सूचीमा इलाम पनि थपिन्छ । यस्तो नतिजा एमालेका लागि निकै पीडादायी र निराशाजनक हुनेछ ।

नेपाली कांग्रेसका लागि भने यो निर्वाचन क्षेत्र साखै अर्थपूर्ण रहँदैन । किनकि विगत ३ दशकयता कांग्रेसले त्यहाँ ५ पटक हारेको छ । कांग्रेस हार्‍यो भने पुरानै हारको पुनरावृत्ति मात्र हुनेछ, कुनै नयाँ कुरा हुने छैन । तर, कांग्रेसले जित्यो भने थप उपलब्धि हुनेछ ।

रास्वापाले जिते ‘नयाँ-पुरानो’ विभाजनको भाष्यले काम गरेको मान्नुपर्ने हुन्छ । प्राईमारीबाट उम्मेदवार छनोट गर्ने रास्वपाको प्रतिबद्धता बाबजुद त्यसले नवप्रवेशीलाई उम्मेदवार बनाएको छ । मिलन लिम्बू आफैँ पहिचान आन्दोलनका अभियन्ता हुन् । लिम्बू रास्वपाको उम्मेदवार बन्नु खासै सङ्गतिपूर्ण लाग्दैन ।

पहिचान र सङ्घीयताको सवालमा अस्पष्ट धारणा राख्दै आएको रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएर एक प्रकारको जोखिम मोलेको छ । लिम्बू जनजाति पत्रकार महासङ्घका महासचिव पनि हुन् । उनले रास्वपालाई सङ्घीयता, पहिचान र समावेशिता विरोधी दलका रूपमा चित्रण गर्दै आएका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिन चाहेका थिए । तर, रास्वपाले टिकट दिने इच्छा गरेपछि पार्टीको उम्मेदवार भए ।

उनले राजनीतिक अवसरवाद देखाएको भनेर आलोचना गर्ने धेरै छन् । रास्वपाले पहिचान, सङ्घीयता र समावेशिताको सवालमा सहमति जनाएको भनेर मिलनले स्पष्टीकरण त दिए तर, पार्टीका मूल नेताले यसबारे खुलेर बोलेका छैनन् । मिलन लिम्बू र इलामकै लागि रास्वपाले आफ्नो अहिलेसम्मको मौनता र अस्पष्टता तोडे त्यो राम्रै हुनेछ ।

स्वतन्त्र उम्मेदवार डकिन्द्रसिंह थेगिमले जितेमा पूर्वमा चलिरहेको पहिचानको आन्दोलन अनुमोदित हुनेछ । कोशी प्रदेश पुन: नामाङ्कनको मुद्दा अझ बलियो हुनेछ । इलाम २ राई-लिम्बूलगायतका पहाडी जनजातीय मतदाता बहुल निर्वाचन क्षेत्र पनि हो ।

यस्तो विशेषता भएको निर्वाचन क्षेत्रमा अधिकांश पहिचानवादी दल, सङ्घर्ष समिति र जातीय तथा सामुदायिक संस्थाको समर्थनका बाबजुद थेगिम पराजित भए वा सम्मानजनक मत हासिल गर्न नसके पहिचान र कोशी प्रदेश पुन: नामाङ्कनको मुद्दा कमजोर हुनेछ । थेगिमलाई धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले खुलेर समर्थन गरेका छन् ।

पहिचानवादीले एमालेलाई सबैभन्दा ठूलो शत्रुका रूपमा चित्रण गर्दै आएका छन् । तर, प्रदेश सीमाङ्कन र नामाङ्कनको सवालमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको दृष्टिकोण पनि एमालेभन्दा फरक छैन । आफूलाई पहिचान पक्षधर ठान्ने माओवादी केन्द्रले प्रदेश सभामा ‘कोशी’ को पक्षमा मतदान गरेको थियो ।

उपनिर्वाचनमा माओवादी केन्द्रले के गर्छ ? कम्युनिष्ट एकताका नाममा एमालेलाई भोट दिन्छ, कि पहिचान पक्षधर उम्मेदवार थेगिमलाई समर्थन गर्दछ कि भिन्नै उम्मेदवार उठाउँछ ? सबैभन्दा ठूलो धर्मसङ्कटमा माओवादी केन्द्र देखिन्छ ।

नेपाली कांग्रेसभित्रको घात-अन्तर्घात निर्वाचन परिणामलाई प्रभावित गर्न सक्ने अर्को कडी हो । पूर्वी नेपालमा कांग्रेस समर्थक जनमत सभापति शेरबहादुर देउवाभन्दा शेखर कोइराला-गगन थापा समूहप्रति सहानुभूति राख्दछ । नेपाली कांग्रेसको उम्मेदवार कुन गुटबाट छनोट हुन्छ र अर्को गुटले कतिको सहयोग गर्छ वा असहयोग र अन्तर्घात गर्छ ? चुनावी नतिजा निर्धारण गर्न यो पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved