टिप्पणी

के ओली साँच्चै अझै २० वर्ष पार्टी अध्यक्ष हुन चाहन्छन् ?

यसबीच ओलीका दर्जनौं भनाइ झुटा सावित भएका छन् । तसर्थ, ओली एमालेको नेतृत्वमा दशकौं रहन त सक्लान् तर, पार्टी समाप्त हुनसक्ने शर्तमा ।

नेपालभ्युज

के ओली साँच्चै अझै २० वर्ष पार्टी अध्यक्ष हुन चाहन्छन् ?

काठमाडौं । गत शुक्रबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पोखराको एक कार्यकर्ता भेलाबाट अनौठो घोषणा गरिदिए– मेरा जुङ्गा फेरि काला हुन थाले, कपाल पलाउन थाले, अझै २० वर्ष नेतृत्वको अपेक्षा कसैले नगर्नू ।

७२ वर्षीय ओली अझै २० वर्ष पार्टी नेतृत्वमा रहे भने ९२ वर्षका हुनेछन् । कम्युनिष्ट गुटहरूमा उनले मोहनविक्रम सिंहको रेकर्डसमेत तोड्नेछन् । नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह अहिले ८८ वर्षका भए । तथापि उनको समूहमा सिंहको नेतृत्व निर्विकल्प मानिन्छ ।

कम्युनिष्ट पार्टीहरूको विश्व इतिहास हेर्दा आजीवन वा बुढ्यौली उमेरसम्म पार्टी वा राज्यसत्ताको मूल नेतृत्वमा बस्नु कुनै अनौठो कुरा हैन ।

सोभियत सङ्घका जोसेफ स्टालिनदेखि चीनका माओसम्म, उत्तर कोरियाका किम इल सुङदेखि भियतनामका होचि मिन्हसम्म आजीवन पार्टी तथा राज्यसत्तामा बसेका थिए । पदमै रहँदा तीनको निधन भएको थियो । निधन हुँदा स्टालिन ७५, माओ ८३, किम इल सुङ ८२ र होचि मिन्ह ७९ वर्षका थिए । क्युवाका फिदेल क्यास्त्रो भने निरन्तर ४८ वर्ष पार्टी सत्तामा रहे । ९० वर्षमा मृत्यु हुनु ८ वर्षअघि ८२ वर्षको उमेरमा भाइ राहुल क्यास्त्रोलाई उनले नेतृत्व सुम्पेका थिए ।

एमाले र ओलीको सन्दर्भमा भने यस्तो दाबी अनौठो कुरा नै हो । किनकि एमालेले आफूलाई लोकतन्त्रवादी कम्युनिष्ट पार्टी ठान्दछ । मदन भण्डारीको जनताको बहुदलीय जनवादमा विश्वास गर्ने दाबी गर्दछ । एमाले विधान र दस्तावेजअनुसार जनताको बहुदलीय जनवाद एमालेको मार्क्सवाद-लेनिनवादसँगसँगै मार्गदर्शक सिद्धान्त हो ।

मदन भण्डारीले २०४९ सालको पाँचौँ महाधिवेशनमार्फत कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नारा दिएका थिए । आज कम्युनिष्ट आन्दोलनको मात्रै हैन, समग्र व्यवस्थाकै लोकतान्त्रिकरण हुनुपर्ने माग सर्वत्र उठिरहेको छ ।

तर, एमाले अध्यक्ष ओली भने नागरिक चाहना र स्वयम् पार्टी विधानको प्रावधानविपरीत अझै २० वर्ष पार्टी सत्ता नछोड्ने दाबी गर्दैछन् ।

एमाले विधानमा पार्टी अध्यक्ष ‘एक व्यक्ति दुई कार्यकाल’ को नियमअनुरूप हुने व्यवस्था छ । चीनको कम्युनिष्ट पार्टीको विधान र देशको संविधानमा पनि यस्तो व्यवस्था थियो । सी चिनफिङ यो नियम संशोधन गर्दै तेस्रोपटक पार्टी महासचिव र देशको राष्ट्रपति भएका छन् ।

ओली २०७१ को असारमा भएको एमालेको नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष भएका थिए । सामान्यतः दुई कार्यकालको पूर्ण अवधि १० वर्षको हुन्छ भनेर मान्ने हो भने ओलीको दुई कार्यकाल आगामी असारमा पूरा हुन्छ ।

महाधिवेशनदेखि महाधिवेनसम्मको दुई कार्यकाललाई गणना गर्दा ओलीको दोस्रो कार्यकाल २०८३ सालको मंसिरमा पूरा हुन्छ । किनकि एमालेको दशौं महाधिवेशन २०७९ सालको मंसिरका चितवनमा भएको थियो । दुई कार्यकाल पूरा गर्दा नगर्दै एमालेमा ओलीको नेतृत्व अवधि करिब १३ वर्षको हुनेछ ।

एमाले इतिहासमा १३ वर्ष आफैँमा धेरै लामो अवधि हो । यसअघिका माधवकुमार नेपालले निरन्तर करिब १५ वर्ष र झलनाथ खनालले दुईपटक गरी करिब १३ वर्ष पार्टीको नेतृत्व गरेका थिए । मदन भण्डारीले करिब ५ वर्ष मात्र पार्टीको नेतृत्व गरे ।

स्वास्थ्य र उमेरको कारणले मात्र हैन, एमाले विधान र परम्पराबमोजिम पनि अझै २० वर्ष पार्टीको नेतृत्व गर्ने कुरा हाँस्यास्पदजस्तो लाग्दछ । ओलीको यस्तो दाबी मजाक हो कि ययार्थ भन्ने कतिपयमा भ्रमसमेत सृजना भएको छ।

एमाले केन्द्रीय सदस्य तथा सांसद दयाल बहादुर शाहीले धेरैपटक ओली एमाले इतिहासको दुर्लभ नेतृत्व भएको हुँदा उनी आजीवन पार्टी अध्यक्ष हुनसक्ने ठान्दछन् । उनले बारम्बार यस्ता आशयका लेख लेख्दै आएका छन् ।

ओलीका समकालीन माधवकुमार नेपाल र झलनाथ खनाल दुवै कमजोर बहिर्गमित भएको हुँदा एमालेमा ओलीलाई चुनौती दिन सक्ने हैसियतको कोही पनि नभएको ठानिन्छ । केही समयअघि राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेकी विद्यादेवी भण्डारीलाई पार्टीमा फेरि सक्रिय गराउने चर्चा चलेको थियो । तर, अध्यक्ष ओलीले त्यो कुरा मन नपराएपछि भण्डारी चुपचाप थन्किएकी छन् । भण्डारीको गुट आफैँ थन्को लागेको छ ।

ओलीपछि उनको गुटका उत्तराधिकारी मानिएका ईश्वर पोख्रेल र शंकर पोखरेलको व्यक्तित्वमा पार्टीको मूल नेतृत्वका लागि चाहिने उचाइ नभएको ठानिन्छ । अर्का नेता विष्णु पौडेलले पनि ओलीलाई चुनौती दिने हैसियत अझै निर्माण गर्न सकेका छैनन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले ‘स्वास्थ्यले साथ दिइन्जेल ओली नै एमालेको अध्यक्ष हुने’ धारणा व्यक्त गरेका छन् ।

कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको बहस गर्दै आएका एमाले नेताहरू भने ओलीका घोषणापछि धर्म-सङ्कटमा परेका छन् । ७० वर्षको उमेरहद र एक व्यक्ति दुई कार्यकालको विषय एमालेमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको ठूलो सवाल मानिएको थियो ।

भरतमोहन अधिकारी, प्रदीप नेपाल, मोदनाथ प्रश्रित, अमृतकुमार बोहरालगायत केही नेताले ७० वर्षे उमेरहदको नियम पालना गरेर सक्रिय राजनीतिबाट बिदा लिए । तर, ओलीले आफूमा लागू हुने भएपछि त्यो प्रावधान नै हटाइदिए । शुक्रबारको दाबीअनुसार उनले एक व्यक्ति दुई कार्यकालको प्रावधान पनि हटाउने छन् । त्यसपछि कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको कुरा गर्ने शंकर पोखरेलहरूले के बोल्ने हुन्, रोचक प्रतिक्षाको विषय बनेको छ ।

देशमा एकातिर पुस्तान्तरणको बहस बलियो छ । सबै पार्टीमा दशकौं लामो पुराना नेतृत्व र उनीहरूको कार्यशैलीबाट नागरिक निराश हुँदै गएका छन् । देशका आर्थिक, राजनीतिक र सामाजिक समस्या झन्‌झन् चुलिँदै गएका छन् । जनताका पार्टी र देशको मूल नेतृत्व परिवर्तन गर्ने चाहना तीव्र हुँदै गएको देखिन्छ ।

तर, एमाले अध्यक्ष ओलीले भने त्यो चाहनाको ठीकविपरीत दाबी गर्दिएका छन् । मानौँ कि ओली अझै २० वर्ष नेतृत्वमा रहे, तिनले गर्ने के हो ? यो प्रश्न पनि उठेको छ ।

२०८४ को आमनिर्वाचन अघि नै ओलीको दुई कार्यकाल पूरा हुनेछ । यदि पार्टी विधानको पालना गर्ने हो भने २०८४ को चुनावमा उनी राजनीतिक परिदृश्यमै हुने छैनन् । सम्भावना छ कि उनले पार्टी महाधिवेशन चुनावपछिका लागि धकेल्ने छन् । अझ सम्भावना छ कि विधान अधिवेशन गरेर पार्टीको विधान नै संशोधन गर्दिने छन् ।

हिजो मदन भण्डारी, माधव नेपाल वा झलनाथ खनालको युगमा भने यो धेरै गाह्रो थियो । पार्टी विधानमा लेखिएका कुरा त्यतिखेर कडा ढङ्गले पालना गरिन्थ्यो । एमालेका एक केन्द्रीय सदस्य भन्छन्— अहिले एमाले भन्नु नै ओली र ओली भन्नु नै एमाले हो । उनले जे चाहन्छन, त्यो हुन्छ नै । बेकारमा धेरै किन बोल्नु ?

ओली पार्टीमा चुनौतीहीनजस्तो देखिए पनि के राष्ट्र, जनता र मतदाताले उनको लामो नेतृत्व स्वीकार गर्लान् ? यो भने गाह्रो छ । २०७२ को संविधान जारी गर्दा बखतको भारतीय नाकाबन्दीको प्रतिवाद गरेबापत्‌को ओली लोकप्रियता अहिले बाँकी छैन, न त २०७४ को चुनावको वाम गठबन्धनको जस्ता अनुकूलता नै छ ।

हिजो ओलीका प्रत्येक भाषणले एमालेको भोट बढाउँथ्यो, आज घटाउँछ । २०७९ को चुनावमा एमालेको भोट घटेको छ । त्यसपछिका तीनवटै उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा ३ मा एमालेले लज्जास्पद हार बेहोरेको छ । ओलीको बोली र आह्वानले मतदातामा काम गर्न छोडेको प्रमाण थिए ती चुनाव ?

ओलीको बोली हिजोको जस्तो विश्वासनीय पनि रहेन । हिजो ओलीले ‘घर-घरमा ग्यास पाइप, चाइनाको रेल र तेल, ५ वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर, समुद्रमा नेपाली पानी जहाज, काठमाडौंँमा मोनो र मेट्रो रेल’ जेभन्दा पनि मान्छेले पत्याउँथे, एमाले समर्थक खुसीले जोड-जोडले ताली पिट्थे ।

यसबीच उनका यस्ता दर्जनौं भनाइ झुटा सावित भएका छन् । तसर्थ, ओली एमालेको नेतृत्वमा दशकौं रहन त सक्लान् तर, पार्टी समाप्त हुनसक्ने शर्तमा । एमालेकै एक केन्द्रीय सदस्य नाम नखुलाउने शर्तमा भन्छन्— २० वर्षको कुरा छोडौँ, २०८४ को चुनाव एमालेले ओली नेतृत्वमा लड्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको हालत पश्चिम बंगालको जस्तो हुन बेर लाग्ने छैन ।

यी सबै कुरा बुझेर पनि ठट्टा रमाइलो गरिरहने ओलीले मजाक गरेको भने हुन सक्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved