नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो’ अभियान सुरु गर्दा जस्तो ‘डिजिटल रेस्पोन्स’ को अपेक्षा गरेका थिए, त्यसको परिणाम हात लाग्यो । ‘झोले अभियान’को समर्थनभन्दा बढी आलोचना भयो ।
एमाले वृत्त बाहिरबाट त आलोचना हुने नै भयो, एमाले पङ्क्तिभित्रकै एउटा ठूलो र महत्त्वपूर्ण हिस्साले ओलीलाई साथ दिएन । तिनले ओलीको ‘म झोले हो’ पोस्टर शेयर गरेनन् । बरु ‘म एमाले हुँ’ लेखेको काउन्टर पोस्ट शेयर गरे ।
यसले के देखाउँछ भने ओली अब हिजोजस्तो पार्टीभित्र एकछत्र नेता बाँकी रहेनन् । माधव नेपाल–झलनाथ खनालको बहिर्गमनपछि केही वर्ष ‘एमाले भन्नु नै ओली, ओली भन्नु नै एमाले’ जस्तो अवस्था थियो । अब परिस्थिति बदलियो, अवस्था निरन्तर ह्रासोन्मुख बन्दै गएको छ ।
एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुटको तीव्र विस्तार भइरहेको छ । भण्डारीले पार्टीभित्र नेतृत्वको तयारी करिब १ वर्षअघि सुरु गरेकी थिइन । उनले एमालेको संगठित सदस्यता सुटुक्क नवीकरण गराएको समाचार बाहिरिएको थियो ।
संवैधानिक राष्ट्रपति कार्यकाल पूरा गरेपछि सक्रिय दलीय राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने आम अपेक्षा थियो । राष्ट्रपति पदको निष्पक्षता, तटस्थता, मर्यादा र गरिमाका दृष्टिकोणले संसारभरि यस्तो प्रचलन स्थापित छ ।
नेपालमै प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा कार्यकाल पूरा गरेपछि सक्रिय हिसाबले दलीय राजनीतिमा फर्किएनन् । बरु राजनीतिबाटै गुमनाम भए ।
तर, दोस्रो राष्ट्रपति र उपराष्ट्रपति भने दुवै मातृ पार्टी हुँदै सक्रिय दलीय राजनीतिमा फर्किएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष भइसकेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी महाधिवेशनमा नेकपा (एमाले) को अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने आधार निर्माण गर्न समानान्तर गतिविधि र गुट बनाउँदै देशव्यापी दौडाहामा छन् ।
ओलीको ‘झोले अभियान’ ले खासै गति नपकडिनुको मुख्य कारण पार्टीभित्र भण्डारीको समानान्तर गतिविधि हो । पार्टीभित्र र बाहिर दुबैतिर यस्तो बुझाई बलियो छ ।
राजनीतिक विश्लेषक तथा लेखक केशव दाहालले एमालेभित्रको यो यथार्थलाई एक फेसबुक स्ट्याटसमा यसरी व्यंग्य गरेका छन्– ‘म झोले हो’ त एमालेको गुट चिनाउने कल साइन पो रहेछ । जो जोले त्यो लेखे उनीहरू ओली गुट, नलेख्ने विद्या गुट । झोले केपी र कमरेड विद्या त राम्रै जुध्दछन् कि क्या हो ?’
एमालेभित्र भण्डारी गुटले पार्टीको नेतृत्व ओलीबाट हस्तान्तरण हुनुपर्ने धारणा बनाएको छ । ओली दुईपटक पार्टी अध्यक्ष र चारपटक प्रधानमन्त्री भइसकेकाले अझै पनि उनकै नेतृत्वमा एमाले आगामी चुनावमा जाँदा पार्टीले हार बेहोर्नुपर्ने खतरा उनीहरूलाई महसुस भएको छ ।
एमालेको एघारौँ महाधिवेशन आउन अझैँ करिब डेढ वर्ष बाँकी छ । पार्टी विधान र देशको संविधान दुवैले एमालेलाई ११ औँ महाधिवेशन २०८३ मंसिरभित्र आयोजना गर्नुपर्ने भनेको छ । १०औँ महाधिवेशन २०७८ को मंसिरमा चितवनको सौराहामा भएको थियो । एमालेले भन्दै आएको ‘मिसन–२०८४’ नै महाधिवेशनको ५ वर्षे अवधि पूरा हुन्छ ।
नियमित समयमै एघारौँ महाधिवेशन सम्पन्न भए पार्टी अध्यक्ष परिवर्तन हुँदा आम निर्वाचन–२०८४ को राजनीतिक नेतृत्व र भावी प्रधानमन्त्रीको सम्भावना पनि परिवर्तन हुनेछ । यस अर्थमा एमालेभित्र पार्टी र सम्भवतः देशकै नेतृत्वका लागि निर्णायक शक्ति–संघर्ष सुरु भइसकेको मान्न सकिन्छ । किनकि, एकल बहुमत प्राप्त गर्न गाह्रो भए पनि संसदीय लोकतन्त्रको जोड घटाउमा एमाले अध्यक्ष देशकै प्रधानमन्त्री हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
आफ्नै सहयोग र संरक्षकत्वमा अघि बढेकी विद्या भण्डारी यसरी आक्रामक ढंगले आफैसँग भिड्न आउलिन् भन्ने ओलीलाई लागेको थिएन । २०५४ सालमा भएको पार्टीको छैटौँ महाधिवेशनयता ओली–भण्डारी एउटै गुट राजनीतिमा थिए ।
ओलीले भण्डारीलाई दुईपटक राष्ट्रपति बनाउन निर्णायक भूमिका खेले । भण्डारीले पनि पार्टीभित्र र बाहिर दुवैतिरको शक्ति–संघर्षमा ओलीलाई सधैँ साथ दिइन् । भण्डारीले राष्ट्रपतिका रूपमा ओलीले दुईपटक गरेका असंवैधानिक प्रतिनिधिसभा विघटनका निर्णयलाई समेत अनुमोदन गरेकी थिइन् ।
एमालेभित्र भण्डारी गुटले पार्टीको नेतृत्व ओलीबाट हस्तान्तरण हुनुपर्ने धारणा बनाएको छ । ओली दुईपटक पार्टी अध्यक्ष र चारपटक प्रधानमन्त्री भइसकेकाले अझै पनि उनकै नेतृत्वमा एमाले आगामी चुनावमा जाँदा पार्टीले हार बेहोर्नुपर्ने खतरा उनीहरूलाई महसुस भएको छ ।
तर, ओली यसलाई स्वीकार गर्न तयार छैनन् । आफूलाई लोकप्रिय ठान्ने ओलीले महाधिवेशन र २०८४ को आम निर्वाचनमार्फत आफ्नो लोकप्रियता पुनर्पुष्टि गर्ने दाबी गरिरहेका छन् ।
भण्डारी पक्षले भने महाधिवेशन घोषणापछिको छोटो अवधिमा परिणाम निकाल्न गाह्रो हुने भन्दै समानान्तर गतिविधि र गृहकार्य प्रारम्भ गरेको छ । गत वर्ष माघ १४ गते विराटनगर पुगेर भण्डारीले भनेकी थिइन– ‘म खोपीको देउता भएर अँध्यारो कोठामा बस्दिन ।’
भण्डारी ओलीपछि आफूलाई पार्टी नेतृत्वका लागि स्वाभाविक उत्तराधिकार मान्दछिन् । त्यसैले उनी देश दौडाहामा लागेकी छन् ।
चिनियाँ राष्ट्रपति सी, ओली र भण्डारी
ओली नेतृत्वमा रहिरहनका लागि आफूलाई चीनका राष्ट्रपति सी जीनपिङसँग तुलना गर्दै सान्दर्भिकता पुष्टि गर्न खोजिरहेका हुन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सन् १९७८ देखि सन् २०१९ बीच दुई कार्यकाल महासचिव, देशको संविधानमा दुई कार्यकाल राष्ट्रपति रहने प्रचलन थियो । पार्टीको महासचिव नै देशको राष्ट्रपति हुनु एकदलीय कम्युनिस्ट प्रणालीको विश्वव्यापी प्रचलन हो ।
तर, पार्टी विधान र देशको संविधान दुवै संशोधन गरेर सी अहिले तेस्रो कार्यकाल राष्ट्रपति चलाइरहेका छन् । ओलीले यसैलाई आधार बनाएर ‘सक्षम र परिणामदायी नेतृत्व’ लाई उमेर र कार्यकालको हदबन्दीले नछेक्ने तर्क गर्दै आएका छन् ।
ओलीले उमेर र कार्यकालको हदबन्दी नमान्न उदाहरण बनाएका चिनियाँ राष्ट्रपति सीको विद्या भण्डारीलाई भने आड भएको विश्वास गरिन्छ । देशको राष्ट्रपति रहँदा भण्डारीले चिनियाँ समकक्षी सीसँग राम्रै सम्बन्ध बनाएको, भण्डारीको नेतृत्वमा नेपालमा कम्युनिस्ट एकता वा वामपन्थी गठबन्धनको सरकार सम्भव हुन सक्ने चीनको बुझाई रहेको देखिन्छ ।
चीनमा सन् १९४९ यता निरन्तर कम्युनिस्ट पार्टीको शासन छ । राजतन्त्र कालमा चीनले शाहवंशीय राजाहरूसँग दिगो विश्वासको सम्बन्ध बनाएको थियो । तर, नेपालमा गणतन्त्र आएयता गतिलो शक्ति प्राप्त गर्न सकिरहेको छैन । चीन नेपालका कम्युनिस्टहरू एक होउन् र लामो कार्यकाल शासन गर्न सक्ने दिगो सरकार बनाउन भन्ने अपेक्षा गर्दछ ।
भरखरै चीनको ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ (जीसीआई)को चौथो संवादमा भाग लिएर १० दिने भ्रमण पूरा गरी देश फर्किएकी भण्डारीको आत्मविश्वास अझै चुलिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख लिउ जिन चाओले भण्डारीलाई स्वागत गर्दै– ‘आफ्नो नेतृत्वमा नेपालमा कम्युनिस्ट एकता गराउन सफल हुनु होस्’ भन्ने शुभकामना व्यक्त गरेको उनको भ्रमण टोलीका सदस्यहरूको भनाइ छ ।
एमालेमा विद्या भण्डारी : ओली प्रवृत्तिको विकल्प कि उत्तराधिकारी ?
भण्डारीको सक्रियता: ओलीको आक्रोश
ओलीले आफ्नै एघारौँ पार्टी महाधिवेशनमा भण्डारी अध्यक्ष पदमा टक्कर दिने मनस्थितिमा छन् भनेर केही महिनाअघि नै बुझिसकेका थिए । तर, भण्डारीको क्षमता र प्रभावकारिता पत्याइ रहेका थिएनन् ।
ओलीले चैत्र २९ गते बुटवलको पार्टी सभामा भनेका थिए– ‘केपी ओली बिनाको एमाले चाहिएको भए १०–१५ वर्ष पर्खिनुस् न त । केपी ओली सधैँ बाँच्दैन क्यारे ! अहिले एमाले बिनाको देश, ओली बिनाको एमाले भनिँदै छ, त्यो नातिको पालामा पनि सम्भव छैन ।’
भण्डारीको सक्रियता र तयारी भित्रभित्रै तीव्र हुँदै गएपछि भने ओली आक्रोशित हुन थालेका छन् । हिजो ओली गुटमा रहेर माधव नेपाल – झलनाथ खनाल, भीम रावल–घनश्याम भुसालविरुद्ध खनिएकाहरू नै अहिले ओलीलाई छोड्दै भण्डारी गुटको गतिविधिमा सक्रिय हुन थालेका छन् ।
यो यथार्थ बुझेका ओलीले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको जारी राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा भण्डारीप्रति नामै नलिईकन चर्को आक्रोश पोखे– ‘फलाना आउने रे, यस्तो, उस्तो, पार्टीमा कुनै छलफल भएको छैन । को अध्यक्ष, को उपाध्यक्ष, को महासचिव । अहिले महाधिवेशन घोषणा नै भएको छैन । यस्ता गुटबन्दीपूर्ण कुरा, तलतल विभाजनका कुरा पार्टीले स्वीकार गर्दैन । तपाईंहरूले अस्वीकार गर्नु पर्दछ । प्रतिवाद गर्नु पर्दछ ।’
तर, ओलीको आक्रोशले भण्डारी न डराएकी छन् न त आफ्नो सक्रियता नै घटाएकी छन् । आगामी महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिन झनझन दृढ हुँदै गएकी छन् ।
ओलीलाई ‘काउन्टर’
भण्डारीले ओलीका भनाइको एकपछि अर्को प्रतिवाद गरिरहेकी छन् । जस्तो कि ओलीको आक्रोशपछि उनले भनिन– ‘मलाई एमाले पंक्तिभित्र कार्यकर्ता भेट्न कसैको अनुमति चाहिँदैन ।’
केही महिनाअघि एक अन्तरवार्तामा उनले भनेकी थिइन्– ‘मेरो ‘मदर पार्टी’ एमाले हो । महाधिवेशनमा पार्टीको नेतृत्व निर्माण गर्ने प्रक्रिया हुन्छ । अहिलेको नेतृत्वको उमेर र स्वास्थ्य अवस्था देखेर उहाँका अनुयायी पनि चिन्तित छन् । एमाले नेतृत्वमा मेरो नाम पनि विभिन्न ढंगले बाहिर आइरहेको छ । समयमै महाधिवेशन हुनु राम्रो हुन्छ । कार्यकर्तामा मेरो माग छ । पार्टी र देशलाई आवश्यकता पर्दा बलिदान त दिनुपर्छ भने श्रमदान दिन नसक्ने कुरै हुँदैन ।’
उपरोक्त अन्तर्वार्तामा भण्डारीले भनेकी छन्– ‘नेकपा एमालेले जबजलाई क्रान्तिको कार्यक्रम मात्र हैन, मार्गदर्शक सिद्धान्त मानेर हिँडेको छ । मेरो मदन भण्डारीसँग पारिवारिक नाता पनि हो । यो विरासत छ । तसर्थ म ‘रेडी’ छु । समय र सन्दर्भले माग र आवश्यकता भयो भने त्यो जिम्मेवारी बन्छ । मैले सोच्नै पर्छ ।’
मोरङ मदन भण्डारीको गृहजिल्ला थियो । मोरङको इटहरी घर भएका भण्डारी राष्ट्रिय राजनीतिमा छाउनुअघि विराटनगरलाई आधार बनाएर कोसी अञ्चलको पार्टी राजनीति सम्हाल्थे । भण्डारी त्यो बेला महेन्द्र मोरङ क्याम्पसमा अखिल सम्बद्ध विद्यार्थी नेतृ थिइन् ।
मोरङ मदन भण्डारीको गृहजिल्ला थियो । मोरङको इटहरी घर भएका भण्डारी राष्ट्रिय राजनीतिमा छाउनुअघि विराटनगरलाई आधार बनाएर कोसी अञ्चलको पार्टी राजनीति सम्हाल्थे । भण्डारी त्यो बेला महेन्द्र मोरङ क्याम्पसमा अखिल सम्बद्ध विद्यार्थी नेतृ थिइन् ।
मदन भण्डारीकी पत्नी हुनुको भावनात्मक लाभ विद्यालाई राजनीतिक जीवनमा बारम्बार भइरहेको छ । यस पटक पनि मोरङको एमाले जिल्ला राजनीति भण्डारीको पक्षमा उल्टिसकेको छ । लामो समय ओली गुटमा रहेका एमालेका जिल्ला नेता विनोद ढकाल पार्टी प्रदेश अधिवेशनपछि ओलीसँग असन्तुष्ट थिए ।
ढकालले मोरङ जिल्ला र विराटनगर महानगरपालिका दुवै पार्टी अधिवेशनमा ओली गुटलाई पराजित गरी आफ्नो गुटलाई जिताउन सफल भएका छन् । ढकाल गुटले भण्डारीलाई सहयोग गर्ने निश्चित छ । मोरङका अतिरिक्त सुनसरी र झापामा पनि थुप्रै एमाले नेता कार्यकर्ता भण्डारी गुटतिर सरेका छन् ।
कार्यकर्तालाई ओलीबाट असुरक्षा : भण्डारीको ढाडस
मोरङको गुट राजनीति उल्टिएसँगै ओली नराम्ररी झस्किए । ओलीले मोरङ एमालेमा यस प्रकारको परिणाम अपेक्षा गरेका थिएनन् । मोरङको परिणामले भण्डारी गुटलाई भने राम्रै गरी उत्साहित बनाएको छ ।
एमालेमा माधव नेपाल–झलनाथ खनाल वर्चस्व युगमा पनि ओलीको गृहजिल्ला झापामा भने ओली गुट नै बलियो थियो । मोरङपछि सुनसरीमा भण्डारी गुट बलियो हुने सम्भावना बढेको छ । ओली गुटका केही नेता कार्यकर्ताले भित्रभित्रै भण्डारीलाई साथ दिने बचन दिइसकेका छन् । ओलीसँग असन्तुष्ट पूर्वमुख्यमन्त्री तथा १० बुँदे समूहका नेता भीम आचार्यले पनि भण्डारीलाई साथ दिने सम्भावना बढेको छ ।
अहिले भण्डारी ओलीकै गृहजिल्ला झापातिर प्रभाव बढाउने प्रयासमा छिन । भण्डारी गुटमा खुलेका कार्यकर्तामाथि भीम रावललाई जस्तै कारबाही हुने डरले ती खुलेका भने छैनन् । भण्डारी कार्यकर्ताको मानसिकताबाट ओलीको कारबाहीको भय हटाउने प्रयासमा छन् ।
भण्डारीले आफ्ना समर्थकलाई नतर्साउन ओलीलाई चेतावनी दिने गरेकी छन्– ‘एमाले पङ्क्तिबाट मलाई नेतृत्वमा आउनु पर्छ भनेर इच्छा व्यक्त गर्नेलाई खतरा किन ? त्यस्तालाई त झन् थप जिम्मेवारी पो दिइनु पर्दछ ।’
Facebook Comment
Comment