नयाँ वर्षको शुभकामना, सपना र यथार्थ

कामना गरौं कि आजको दिन नै त्यस्तो दिनको सुरुवात बनोस् । नयाँ वर्ष २०८१ साँच्चै सुशासन र स्वशासन र सामाजिक न्यायको वर्ष बनोस् । सबैको स्वाभिमान र सबैको समृद्धिको वर्ष बनोस् । नयाँ वर्ष २०८१ को हार्दिक तथा मङ्गलमय शुभकामना ।

नेपालभ्युज

नयाँ वर्षको शुभकामना, सपना र यथार्थ

आज फेरि हाम्रा घरघरका भित्तामा क्यालेन्डर फेरियो । नयाँ वर्ष २०८१ सुरू भयो । पुरानो सालको क्यालेन्डरका धमिलो हुँदै गएका पाना हटे आँखाबाट । आँखाले केही नयाँ र तेजिलो चिज हेर्ने इच्छा गर्‍यो ।

नयाँ वर्षलाई त्यसै पनि हामी धेरै महत्त्व दिन्छौं । खुसी र उमङ्ग यसै जोडिएर आउँछ नयाँ वर्षसँग । नयाँ वर्ष– शुभकामनाको ओइरो लाग्छ । नयाँ वर्षको शुभकामना दिन व्यक्तिगत भेटघाट नै गर्नु पर्ने कि शुभकामना कार्ड छापेर बाँड्नु पर्ने युग थियो कुनै बेला ।

प्रविधि बदलावले गर्दा अब त्यो युग बाँकी रहेन । आज सञ्चारमाध्यम छन् । मोबाइल छ । टाइरेक्ट कलदेखि म्यासेजसम्म अनेक अप्सन छन् । अझ सशक्त छ– सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा शुभकामनाका ओइरो लाग्ने छ, लागेको छ ।

उच्च पदस्थले सदाझैँ सार्वजनिक शुभकामना विज्ञप्ति जारी गर्दैछन् ।

अरु सम्वत्‌को भन्दा यसकारण दुर्लभ छ हाम्रो नयाँ वर्ष कि वसन्तु ऋतुमा आउँछ । वसन्त ऋतुको आफ्नै महिमा छ । संसारभरिको बसन्त हाम्रो जस्तै हुन्छ भन्न सकिँदैन । तर, हाम्रो वसन्त ऋतुका कयौं खास विशेषता छन् ।

जाडो तुरिएको हुन्छ, तर गर्मी चर्को भइसकेको हुँदैन । बोट विरुवामा नयाँ पालुवा पलाउँछन् । कयौं फूलहरू फक्रिएर हाँस्छन् यो ऋतुमा । ठूला चाडपर्वको घञ्चमञ्च हुँदैन । अतिरिक्त खर्चका अन्य पाटाहरू यतिखेर कमै आउँछन् र नयाँ वर्षको उल्लासमा आर्थिक सहजता थपिदिन्छन् ।

बिहेका लगन बाक्ला हुन्छन यही बेला । लाखौं युवायुवती जीवनको लगन–गाँठो कस्दछन् । सहयात्रा र साझा सपनाको जाल बुन्न थाल्दछन् ।

शुभकामना औपचारिकता मात्र हैन हाम्रा लागि । त्यो हृदयदेखिको सद्भाव हो । कटुता बिर्सन र नयाँ सम्बन्ध नयाँ आयामबाट सुरुवात गर्न सहज हुन्छ नयाँ वर्षमा । नयाँ वर्षको एक शुभकामना सन्देशसँग यति ठूलो ताकत हुन्छ कि त्यसले वर्षौँ पुरानो शत्रुता बिर्साइदिन सक्दछ । बन्द बोलचाल खुलाइदिन सक्दछ ।

जिडीपि प्रतिव्यक्ति आयमा गरिब देखिएलान नेपाली तर सभ्यता र संस्कृति, विनम्रता र सहृदयता वा ह्याप्पीनेस इन्डेक्समा गरिब छैनौं हामी । सन् २०२३ मा नेपाल प्रतिव्यक्ति आयमा १६४ औं स्थानमा थियो तर, खुसी सूचङ्काकमा ७८ औं स्थानमा । आधाभन्दा तल । संसारका धेरै दिग्गज अर्थशास्त्रीका लागि टाउको दुखाइको विषय हुन सक्दछ यो तुलना ।

हामी नेपालीले बढो गज्जबको एक मानक बनाएका छौं विश्वमा गरिबी, बेथिति, भ्रष्टाचार, कुशासन, बेरोजगारी र अल्पआयस्तरमा बाँचेर पनि हामी खुसी हुन सक्दछौं । खुसी हुन सक्ने हाम्रो स्वभाव, हाम्रो तकात बढो विचित्रको छ ।

यस्तो खुसी कति अर्थपूर्ण छ वा छैन, त्यो भिन्नै कुरा । यस्तो खुसीलाई खुसी भन्नुपर्ने हो कि हैन, त्यो भिन्नै कुरा । कम्तिमा हामी प्रतिव्यक्ति आयको तुलनामा खुसी सुचकमा निक्कै राम्रो स्थानमा छौं र यसका पक्कै दृश्य-अदृश्य कारण होलान् ।

सम्भवत: हामीलाई खुसी हुन धन र भौतिक सम्पतिले हैन, अभौतिक सम्पदा र संस्कृतिले मद्दत गरेका छन् । अन्यथा हाम्रो खुसीको रहस्य फेला पार्न संसारलाई निक्कै गाह्रो पर्नेछ । स्वयम् हामी आफैँलाई गाह्रो पर्नेछ ।

हाम्रो खुसीको एउटा आधार त वसन्तको उल्लासमय वातावरणमा आउने नयाँ वर्ष पनि होला । यस अवसरमा बाँडिने असीमित शुभकामना पनि होला । नयाँ वर्षमा हामी शुभकामना मात्र बाँड्दैनौं । केही सपना देख्छौं । केही समीक्षा गर्छौँ । केही योजना बनाउँछौं । केही सङ्कल्प गर्छौं ।

नयाँ वर्षले हामीलाई नयाँ इच्छाशक्ति जोगाड गर्ने अवसर दिन्छ । भित्ताको क्यालेन्डर वा बाकसमा राखिएको पात्रो फेरिनु कुनै ठूलो कुरा हैन । ठूलो कुरा हो, मान्छेको सपनामा नयाँ आयाम थपिनु । मान्छेको योजना अझ ठोस र मूर्त बन्नु । मान्छेका मनमा इच्छाशाक्ति र सङ्कल्पको नयाँ लहर जाग्नु । मान्छेको मस्तिष्कमा हुटहुटीको आँधीबेहरी चल्नु ।

फेरिएको क्यालेन्डरसँगै उमेरको गणना गर्दछौं हामी । बितेको जीवनलाई फर्किएर हेर्छौं । सिंहावलोकन गर्छौं । थाहा छ– यो धर्तीमा कसैको पनि जीवन सोचेजस्तो सहज भएन । जीवन चाहे व्यक्तिको होस वा राष्ट्रको, आकार र मात्राको भिन्नता हो, चरित्र र प्रवृतिको हैन ।

व्यक्तिकै चरित्रको समुच्चयले राष्ट्रको चरित्र बन्ने हो । राष्ट्रकै प्रवृतिको विस्तारले व्यक्तिको प्रवृति बन्ने हो । व्यक्ति भन्नु र राष्ट्र भन्नुमा खासै ठूलो भिन्नता छैन, व्यष्टि र समष्टिको बाहेक । राष्ट्र व्यक्तिको समष्टि हो । व्यक्ति राष्ट्रको व्यष्टि हो ।

नयाँ वर्ष दुबैको हो– व्यक्तिको पनि, राष्ट्रको पनि । व्यक्ति जस्तै राष्ट्रले पनि नयाँ वर्षको खुसीयाली मनाउँछ । विगतको समीक्षा र सिंहावलोकन गर्दछ । नयाँ सपना बुन्छ । नयाँ योजना निर्माण गर्दछ । नयाँ संकल्प र इच्छाशक्ति जोगाड गर्दछ ।

सपना देख्नमा कमजोर छैनौं हामी । कुनै बेला हामीले ‘एशियाली मापदण्ड’ को सपना देख्यौँ। पछिल्लो दशकमा घरघरमा ग्याँस पाइप पुगेको, काठमाडौंमा मानो र मेट्रो दुवै रेल गुडेको, समुन्द्रमा नेपाली राष्ट्रिय झण्डा फहर्‍याएर विशालकाय पानी जहाज चलेको; यस्ता सबै सपनाहरू देख्यौं, देखायौं ।

यति धेरै कि सपना देख्ने बाँकी ठाउँ नै सीमित हुने गरी सपना देख्यौं । सपना बाँड्यौं । सपना बेच्यौं।

जसरी खुसी सूचाङ्कमा हामी कमजोर छैनौं, सायद सपना देख्ने र देखाउने, सपना बाँड्ने, बेच्ने खेलमा पनि हामी कमजोर छैनौं । गज्जब-गज्जबका सपना देख्न सक्दछौं हामी, थरिथरिका सपना देखाउन सक्दछौं हामी ।

कुरा कहाँनेर मात्र पेचिलो हो भने के यस्ता सपनाको कुनै मूल्य हुन्छ कि हुँदैन ? मूल्यहीन सपना देख्नुको कुनै अर्थ हुन्छ ? कि हुँदैन ? सपना देख्नु आफैँमा ठूलो र पर्याप्त कुरा हो कि सार्थक सपना देख्नु ? सपना त सोम शर्माका जस्ता देख्न सकिन्छ थुप्रै । देखाउँन सकिन्छ कतिकति ।

तर, के हामी साकार हुने सपना देख्ने क्षमता राख्दैनौं ? साकार हुने सपनाको हकदार छैनौं हामी ? हामी सपना देख्नका लागि मात्र लायक छौं कि सपनाजस्तो यथार्थ, विपना बन्ने, बन्न सक्ने सपना देख्नका लागि हकदार पनि छौं ?

सम्भवत: नयाँ वर्षमा हामीले आफैँलाई गर्नुपर्ने सबैभन्दा ठूलो प्रश्न हो यो । हाम्रा सपना तुहिनका लागि मात्र हुन यथार्थ बन्नका लागि लायक ? तुहेग्रा सपनाको लास बोकेर कतिञ्जेल मलामी जान्छौं हामी ? कतिञ्जेल चिहान खन्छौं पुर्छौं सपनाका शवहरू ?

दु:खका साथ भन्नुपर्छ, बितेको वर्ष हाम्रा लागि खासै उपलब्धिपूर्ण रहेन । २०८० मा हामीले राजनीतिमा चरम अवसरवाद र अनैतिकताको अभ्यास गर्‍यौँ । तीनपटक फेर्‍यौँ गठबन्धन, बिनावित्था, काम न काज । त्यसैलाई गौरव, पराक्रम वा बहादुरी ठान्ने हो भन्ने ठीकै छ ।

नयाँ भनिने दलहरू आए तर तिनलाई पुराना बन्न कति समय लागेन । नयाँको पनि उही हालत । उस्तै अवसरवाद र अस्थीरता । उस्तै टुटफुट । उस्तै विग्रह कलह । उस्तै नैतिक संकट र सत्तालिप्सा । राजनीतिमा मात्र हैन, अर्थतन्त्रमा पनि कुनै गतिलो उपलब्धि हासिल गरेनौँ । त्यही विप्रेषण बढ्नुबाहेक । मान्छेहरू विदेशिनु र तिनले पठाएको विप्रेषण बढ्नु नै उपलब्धि हो भने ठीक छ । अन्यथा अरु कुनै पनि पाटो, आयाम वा सूचक सार्थक रहेनन् ।

पेशा व्यवसाय सुस्त भए । माग सङ्कुचन भयो । वित्तीय सङ्कट बढ्यो । भौतिक विकासका प्रक्रिया सुस्त रहे । सुशासनका क्षेत्रमा पनि हामीले खासै उपलब्धि हासिल गरेनौं । ठूल्ठूला भ्रष्टाचारका काण्ड सतहमा आए, एकाध कारबाही भएजस्ता नाटक पनि भए । त्यही नै उपलब्धि हो भने ठीक छ ।

अन्यथा भ्रष्टाचार एक ठूलो समस्या बनेको छ । देशको महारोग बनेको छ । कसैले उपचार गर्न सकेको छैन यसको । जो गर्छु भन्दैछन्, ती आफैँ संक्रमित छन् ।

नयाँ वर्षका शुभकामना र सपनाभन्दा हाम्रो यथार्थ फरक छ । तर, कसैलाई विश्वास छैन कि नयाँ वर्षमा यो क्रम तोडिने छ । शुभकामनामा हामी यो क्रम तोड्न चाहन्छौं । हामीले बुनेको सपनामा हामी यो क्रम तोड्न चाहन्छौं । तर, के यथार्थमा यो क्रम तोडिन्छ, जो दशकौंदेखि एक दुश्चक्रभित्र अभिशप्तजस्तो बाँचेको छ यहाँ ।

जे होला, आशावादी हुनुको के विकल्प छ ? अघि बढ्नुको के विकल्प छ ? नयाँ वर्षमा प्रवेश त गर्नै पर्दछ । नयाँ वर्ष साँचो अर्थमा खुसी र उमङ्ग बन्ने दिन पनि त आउला नि कुनै दिन ?

कामना गरौं कि आजको दिन नै त्यस्तो दिनको सुरुवात बनोस् । नयाँ वर्ष २०८१ साँच्चै सुशासन र स्वशासन र सामाजिक न्यायको वर्ष बनोस् । सबैको स्वाभिमान र सबैको समृद्धिको वर्ष बनोस् । नयाँ वर्ष २०८१ को हार्दिक तथा मङ्गलमय शुभकामना ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved