ख्यातिको आडमा यौन दुराचार !

दुखेको बेला चिच्याउन सक्नुपर्छ भनेर सिकाउने मान्छे हुन् उनी । रोएर बोली बसेको बेला बोली लगाउन पुग्ने मानिस हुन् उनी । अन्याय सहनुहुन्न, चुप बस्नुहुन्न, प्रश्न गर्नुपर्छ भन्ने मान्छे हुन् उनी । यौनहिंसाका पीडितको पक्षमा/पीडकविरुद्ध बोल्ने मान्छे हुन् उनी । तर, यो मध्यरातमा सुक्सुकाउँदै उनी नै भनिरहेकी छन्, “यो समाजले असल पात्र करार गरेको ख्यातिप्राप्त मानिसबाट ममाथि हिंसा/बलात्कार भएको भएको छ । जसविरुद्ध बोल्न मेरो सास भासिएको छ । म थुनिएर मर्दैछु । बचाउ मलाई ।”

ख्यातिको आडमा यौन दुराचार !

त्यतिबेला म सानै थिएँ । जब बजारमा टेलिभिजन आइपुग्यो, स्कूलका किताबका तुलनामा नेपाली र हिन्दी सिनेमा खुबै हेरियो । यसका निम्ति परिवार/अभिभावकसँग खुबै तीता-मीठा सङ्घर्ष गर्नुपर्‍यो । सबैले हारे । तर, सिनेमाले मन जित्यो । सिनेमाका पात्रहरू र विशेषगरी नायक महामानव लागे ।

संसारको सज्जन मान्छे भनेकै सिनेमाको नायक नै भन्ने पर्‍यो । त्यस्तै मानिस हुनुपर्छ भन्ने दृढ सङ्कल्प पनि गरियो । तर, कालान्तरमा बुझ्दै जाँदा सिनेमाका नायक सिनेमामा देखाइएजस्तो यथार्थमा शक्तिशाली र सज्जन नहुने रहेछन् ।

पाइलैपिच्छे बजारमा भेट्टिने सामान्य मान्छेजस्तै गुण र दोषले सम्पन्न हुने रहेछन् । अब म त्यस्तो किन भइरहनुपर्‍यो ! त्यस्तो त म छँदैछु । उक्त सङ्कल्पबाट मन उड्य‍ो । र, त्यो मन अलिखित, घामका पाइलाहरू, अबिरल बग्दछ इन्द्रावती, उलार हुँदै पागल वस्ती पढिसकेपछि त्यहाँ आएर रोकियो । मैले खोजेजस्ता असली हिरोहरू त साहित्यमा पो भेटिने रहेछन् ।

त्यसपछि साहित्य बजारमा पसेर खल्तीले धानेजति उपन्यास किन्दै पढ्दै गरियो । उपन्यासका पात्रहरू सच्चा मानव लागे । यी सबै कुरा बुझेर उपन्यास नै लेख्ने मानिस झन् महामानव लागे । समाजका सचेत/सज्जन तप्का भनेकै लेखक/साहित्यकारहरू हुन् भन्ने स्थानमा स्वतः म आइपुगेँ । र, मैले तिनीहरूलाई दृष्टिकोणक‍ो विशिष्टकृत स्थानमा राखेर हेर्न थालेँ ।

तर, जब समाज पितृसत्तात्मक, जात व्यवस्थामा आधारित र वर्गीय छ भन्ने चेत आयो । विशेष ठानेको समूहमा छानबिन सुरु गरियो । रुढिवाद र कुसंस्कारलाई बढावा दिने, राज्य व्यवस्थाद्वारा जानाजान पिँधमा पुर्‍याइएका दलित, महिला, जनजाति, सिमान्तकृतलगायत उत्पीडित समुदायको अपमानविरुद्ध लेखिएका कृति र कृतिकारलाई कित्ताकाट गर्ने क्रमको थालनी गरियो । जसमा उतिबेला अत्यन्तै महामानव लागेका पनि परे; मन कुँडियो । यो क्रम निरन्तर चल्नुपर्थ्यो र चलिरह्यो ।

एकदिन रञ्जु दाहालको संस्मरण ‘केटा साथी’ पढ्न पुग्छु । त्यसले मेरो विश्वासको धरातलमा ठूलै हलचल ल्याइदिन्छ । परिणामतः लेखक/साहित्यकारप्रतिको मेरो दृष्टिकोणमा निर्मम समीक्षा गरिरहेकै बेला ‘चियामा भेटौँ न’ भनेर एकजना महिला कवि साथीको फोन आउँछ । हामी साहित्यको विषयमा नै घन्टौँ गफिन्छौँ ।

जे भएपनि लेखक/साहित्यकार नै यो समाजका असल मानिस हुन् भन्ने मेरो आशयमा गम्भीर भएर उहाँले मलाई रोक्दै भन्नुहुन्छ, “प्लिज एसबी जी, तपाईं यो खाल्डोमा आएको धेरै भएको छैन । तपाईं गोष्ठीतिर पनि जानुहुन्न, मानिसहरूलाई पनि भेट्नुहुन्न, सङ्गत गरेर हेर्नुहुन्न; खाली बन्द कोठामा बसेर बाहिरबाट हेरेकै भरमा दृष्टिकोण बनाउनुहुन्छ ।

यो ठीक छैन; तपाईं आफ्नो धारणा बदल्नुस् । म पनि तपाईंजस्तै थिएँ पहिले । यथार्थ फरक छ, मलाई अहिले सबैभन्दा धेरै डर यस्तै मानिससँग लाग्छ । मैले आदर्श ठानेका अग्रजहरूले नै ममाथि यौनवादी दृष्टिकोणले हेरिदिँदा छाँगाबाट खसेजस्तै भएको छु । मेरो आस्था डगमगाएको छ । मलाई डर लाग्छ अचेल । म यस्ता मानिसहरूबाट टाढै बस्न चाहान्छु । सम्झिनुस्, अक्सर ख्यातिप्राप्त मानिसहरू नै बहुरुपी हुन्छन् । तसर्थ, तपाईं आफ्नो धारणा बदल्नुस् ।”

उहाँले छुट्टिने बेलासम्म त्यससम्बद्ध आफ्ना अनेक भोगाइहरू सेयर गर्नुभयो । कविताका कखरा टेकेर हिँड्दै गर्दा आदर्श मानेका अग्रजहरूबाट नै यौन दुर्व्यवहार भएका किस्साहरू सुनाउनुभयो । उहाँको कुराले मलाई निकै गम्भीर बनायो । त्यो साँझ म निकै घोत्लिएँ । समाजले मानेका र ख्यातिप्राप्त मानिसहरूमा नै ठूलो शङ्काको दृष्टिकोणले हेर्नुपर्ने छ भने अरुमा के छ ?

रङ्गमञ्च झन् बदनाम छ । त्यहाँका गसिपहरूले बजार तताइरहन्छन् । पात्रको भूमिकामा देखिनेहरू नै निर्देशक र निर्मातासँग सम्बन्ध बनाउनुपर्छ भन्दै मिडियामा आएर बोल्ने गरिरहेकै हुन्छन् । पर्दाको ‘हिरोइज्म’ कस्तो भन्ने त नाबालिक गायिका बलात्कार प्रकरणले स्पष्ट पारिसकेकै छ ।

यसरी स्टारडमको आडमा हुने यौन दुराचारका घटना असङ्ख्य छन् । नाबालिक बलात्कार मुद्दामा त कथित स्टारहरू अभिनेता शाह र क्रिकेटर लामिछाने त भित्र बसेर आइसकेका छन् ।

०००

ख्यातिको आडमा हुने यौनहिंसा यतिसम्म गहन हुन्छ भन्ने कुरा मलाई त झन् तब राम्रोसँग बोध हुन्छ, जब एक मध्यरात चिनेकै नम्बरबाट एउटा मेसेज आउँछ । जसमा लेखिएको हुन्छ—

झोलाभर सपना भरेर म काठमाडौं आइपुग्दा बीस वर्ष केटेकी थिएँ । नौलो ठाउँ, भिन्नै परिवेश र अपरिचित मान्छेहरूसँग म अज्ञात थिएँ । मैले चिनेको त मसँग मेरो सपना मात्रै थियो । म हरेक समय उसैसँग हुन्थेँ । कलेज जानु, आउनु र ममीसँग फोनमा कुरा गर्दै निदाउनु मेरा दैनिकीहरू थिए ।

समय सधैँ उसैगरी चलेन । ममाथि एकजनाको नजर परेछ । म उसको टार्गेटमा परेछु । उसले मलाई मिसन बनाएछ । उसले आफ्नो मिसन सफल पार्न कुनै कसर बाँकी राखेन । म गलेँ । ऊ आज आफ्नो उद्देश्यअनुरूप मलाई लुटेर गइसकेको छ । म जस्तो थिएँ, त्यस्तो रहिनँ । उसले मलाई बर्बाद पारेर गएको छ ।

अब मसँग केही बाटाहरू छैनन् । ढोका थुनेर र सास थुनेर रुने/छट्पटिने धेरै भइसक्यो मबाट । म बाँधजस्तै जबर्जस्ती यो हालतमा थुनिएकी छु । यो नेचरविपरीत भएको छ । मलाई गाह्रो भएको छ । म फुट्न चाहन्छु । म चिच्याउन चाहान्छु । म बोल्न चाहान्छु ।

तर, मेरो स्वर/क्रन्दन उसको ख्यातिले सुन्ला भन्ने डर छ । म जोगिन चाहन्छु, बिझाउने उसको ख्यातिदेखि । म रुन चाहन्छु, मेरो पीडा सकिनेगरी । यो रङ्गमञ्चको असली रङ मैले चिन्न सकिनँ । म लुटिएँ । म आफ्नो आफूलाई र आफ्नो अस्तित्वलाई गुमाएर र उत्पीडन सहेर बाँच्न सक्दिनँ । मसँग मेरा धेरै सपनाहरू छन् । म मर्न चाहन्नँ । तर, उसले मलाई पलपल मारिरहेको छ । बचाउ मलाई ।

दुखेको बेला चिच्याउन सक्नुपर्छ भनेर सिकाउने मान्छे हुन् उनी । रोएर बोली बसेको बोलीमा बोली लगाउन पुग्ने मानिस हुन् उनी । अन्याय सहनुहुन्न, चुप बस्नुहुन्न, प्रश्न गर्नुपर्छ भन्ने मान्छे हुन् उनी ।

यौनहिंसाका पीडितको पक्षमा/पीडकविरुद्ध बोल्ने मान्छे हुन् उनी । तर, यो मध्यरातमा सुक्सुकाउँदै उनी नै भनिरहेकी छन्, “यो समाजले असल पात्र करार गरेको ख्यातिप्राप्त मानिसबाट ममाथि हिंसा/बलात्कार भएको भएको छ । जसविरुद्ध बोल्न मेरो सास भासिएको छ । म थुनिएर मर्दैछु । बचाउ मलाई ।”

०००

जसरी एउटा उनीजस्तो सक्षम मानिस त्यो स्तरको उत्पीडन सहेर हिँडिरहेकी रहेछिन् भन्ने कुराले म अचम्मित भएको थिएँ, पीडकको नाम सुन्दा दोब्बर अचम्मित भएँ । लामो निस्वास आयो, यहाँ कसको भर गर्ने ? बेथितिविरुद्ध बोल्ने ट्याग भिरेको मानिसले नै यो नीति लिएको रहेछ ।

मनोवैज्ञानिक ईबी हर्लकका अनुसार मानव विकासका नवौं चरणमध्ये आठौं चरणमा टेकिसकेको उसको परिपक्वता गजबको छ । सायद आठौं चरणको विशेषताबाट यतिचाहिँ बुझ्न भ्यायो/उसले यतिचाहिँ ज्ञान प्राप्त गर्‍यो कि अठार वर्ष उमेर नकटेकालाई हाम्रो कानूनले नाबालिक मानेको छ, संरक्षण गर्छ । त्यता हात बढाए डढिन्छ । तसर्थ, अठार कटेका उसको टार्गेटमा पर्छन् । जसलाई संरक्षण कसले गर्छ ?

सांकेतिक तस्वीर

पावर, पहुँच, पैसा खल्तीमा हालेर जातव्यवस्था र राज्य व्यवस्थाको टुप्पोमा भएका सिनेमाका नायक, स्टेडियमका खेलाडी, किताबका लेखक, कविताका कवि र पत्रिकाका पत्रकार/कार्टुनिष्टहरू आठहजार वर्ष लामो उत्पीडित सहेर आएका महिलाहरूलाई साम-दाम-दण्ड-भेद प्रयोग गरेर वस्तुकरण गर्ने, कलिला नानीहरूलाई टार्गेटमा पार्ने, शरीरसँग खेल्ने र डम्प गरेर हिँड्ने भएपछि उनीहरूको जिन्दगीलाई कार्टुन सम्झिने भएपछि र संरक्षण गर्नुपर्ने राज्यसत्ता मूकदर्शक मात्रै बन्नुपर्ने अवस्था भएपछि यहाँ छोरीको जिन्दगी र स्थिति के छ ? छर्लङ्ग पार्छ ।

उक्त घटना यसअघि सार्वजनिक हुन खोजेको तर, पीडितलाई नै ‘ह‍ोस्टाइल’ गरेर गुपचुप बनाइएको रहेछ । घटनाक्रम केलाउदै जाँदा पछि झन् थाहा हुन्छ, उक्त कथित सेलिब्रेटीको धन्दा र उबाट पीडितहरूको लस्कर । जो भयावह छ ।

तर, समाजमा उसले बनाएक‍ो नाम र पहुँचको अगाडि क‍ो बोल्न सक्छ ? सक्दैन । बरु ढोका थुनेर, कसैले सुन्छ कि भनेर मुख बुझेर रुन सक्छ । काउन्सिलिङ/थेरापी जानसक्छ । स्वास्थ्य अवस्था फिर्तीको निम्ति बिन्ती गर्नसक्छ । तर, पहरासँग को जुध्न सक्छ ? कसरी प‍ो सक्छ ? पितृसत्तात्मक राज्य व्यवस्थाले हुर्काएको छोरी लुटिन मात्रै सक्छ, लुट्नेको नामसम्म पनि कसरी भन्न सक्छ ? उसले बचेको त्यही सासलाई पनि दाउमा कसरी लगाउन सक्छ ?

छोरीहरूलाई धक फुकाएर रुनेसम्मको वातावरण निर्माण गरेका रहेनछौँ हामीले ।

०००

वस्तुतः पल शाह र सन्दीप लामिछानेविरुद्धको मुद्दा छताछुल्ल भएपछि समाज एउटा बहसमा उत्रियो— बलात्कार के हो ? बलात्कार कस्तोलाई भन्ने ?

बृहत्तर हिस्साले भन्यो  कि ‘कपडा च्यात्तिनु, चिच्याउनु, शरीरमा घाउ देखिनु र त्यसपछि तत्कालै दौडेर केस गर्न जानु बलात्कार हो ।  त्यसउताको बलात्कार होइन । दुई दिनपछि केस गर्न जानु, कुरा नमिलेर त्यसलाई बलात्कारको नाम दिनु हो । त्यो पनि बलात्कार होइन’ ।

पितृसत्तात्मक व्यवस्थाले निर्माण गरेको हामी, निर्माण गरिदिएको हाम्रो दृष्टिकोण/सामाजिक परिवेश र हाम्रो चेतनास्तर यहीँसम्म मात्रै हो त ?

बलात्कारका आयामहरूको बारेमा मनोविद्, समाजविद् र कानूनविद्हरू जोड-जोडले कराउँदा पनि किन बहिरो बन्छ त यो समाज र किन बहिरो बन्छन् यहाँ मान्छेहरू ? पितृसत्ता र पितृसत्ताले महिलालाई दिएको हैसियत ।

यसर्थ, शाह र लामिछाने मुद्दालाई अध्ययन गरिसकेपछि र यतिबेलाको पीडितलाई भेटिसकेपछि । प्रश्न खडा हुन्छ— मौजुदा कानून अपर्याप्त छ । स्टारडमको आडमा बलात्कृत अठार वर्ष एक दिन उमेर पुगेकी छोरीलाई संरक्षण गर्ने हैसियत कहिले राख्छ ?

०००

अतः पितृसत्तात्मक समाजले छोरीहरूलाई कसरी हुर्काएको छ ? छोरीको योनीमा कुलको इज्जत राखिदिएको छु भन्दै-भन्दै हुर्काएको छ । पति देवता हो, खुट्टा धोएको पानी खानुपर्छ, व्रत बस्नुपर्छ, उसलाई पूजा गर्नुपर्छ भन्दै-भन्दै हुर्काएको छ ।

उबाहेक दोस्रो पुरुषलाई हेर्नु पतन हुनु, नर्कको बाटो तताउनु हो भन्दै-भन्दै हुर्काएको छ । जन्मदेखी मृत्युपर्यन्त आफ्नो शरीरमा एक छोडी दुई पुरुषको हात पर्नु अपवित्र हुनु हो भन्दै-भन्दै सिकाएको छ ।

तसर्थ, अनेक तरिकाबाट हुने हिंसा र बलात्कारको बारेमा उनीहरू एकै तरिकाबाट पनि बोल्न सक्दैनन् । त्रसित हुन्छन् । किनकि श्रीमान्‌लाई देउता र श्रीमतीलाई सती ठान्ने समाजले सुरुमै उसको चरित्रमाथि औँला उठाउँछ । उसको पवित्राको सर्टिफिकेट खोज्छ । उसको बोल्ने मुखमा औँला लिएर जान्छ ।

तसर्थ, केही दिनअघि मात्रै आफूमाथि बलात्कार भयो भन्दै रुखमा झुन्डिँदै गरेकी एउटी युवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । त्यो के को परिणाम हो ? नदी किन उल्टो बगिरहेको छ ? त्यसकै कारण होइन ?

छोरालाई बहादुर र छोरीलाई कोमलको संज्ञा दिँदै हुर्काउने समाजले छोरीलाई कहिलेसम्म कमजोर बनाइरहन चाहन्छ ? किन छोरीलाई छोरा बराबरको हैसियत दिएर हुर्काउन चाहँदैन ? किन छोरीलाई निःशस्त्र बनाइरहन चाहान्छ ? किन आफ्नै जन्मप्रति पश्चाताप बोध गराउने ठाउँमा पुर्‍याउँछ । ? किन म अर्को जन्ममा छोरा भएर जन्मियौँ भन्ने बनाउँछ ?

‘मेरा पनि भाइकाजस्तै सपना छन् । म पनि भाइजस्तै सक्षम छु, सक्छु’ भन्दा साथ छोड्ने परिवारसँग विद्रोह गरेर सपना खोज्न घरबाट निस्किएका छोरीहरूलाई च्याँखे थापेर किन लुट्छ यो शहर ? किन लुट्छन् तिनै कमजोरहरूलाई यो शहरका सेलिब्रेटीहरू? किन टार्गेट गरी-गरी निमोठ्न चाहन्छन् पलाउँदै गरेका मुनाहरू नै समाजमा प्रतिष्ठित कहलिएकाहरू पनि ? एकभन्दा अर्कोले शरीर छुनासाथ मर्न पुग्ने मानसिकता दिएर छोरीलाई हुर्काउने समाजले बढीभन्दा बढी स्त्री खेलाउने उद्देश्यसहित हिँड्ने पुरुषको जन्म कसरी दिन सक्यो ? यो गहन अनुसन्धान र बहसको विषय हो ।

कथित देवता र देवत्वरणमा विश्वास गर्ने यो समाजले पतिलाई देवताको संज्ञा दिएर पुज्न लगाउने यो धर्मले, छोरीलाई स्वर्ग र नर्कको पाठ सिकाउने यी अभिभावक र गुरुहरूले हत्तपत्त छोरीलाई पतिकोसतीवाला मान्यताबाट बाहिर निकाल्दै उत्पीडन पहिल्याउन सक्ने ज्ञान, आत्मरक्षा र अधिकारका निम्ति लड्नसक्ने विद्रोही चेतना र आफूमाथि विद्यमान पुरुष अधिनायकत्वविरुद्ध लड्ने लडाकु बन्नदिने छाँटकाँट अझै देखिँदैन ।

दोब्बर उमेरको ख्यातिप्राप्त पुरुषले आफूमाथि मन्दविष दिएर शृङ्खलाबद्वरूपमा लुट्दै र बर्बाद गराउँदै आएको स्थितिमा पनि ठूलो स्वरले रुन नसक्ने ठाउँमा जसरी उनी पुग्नुपर्‍यो, त्यसरी नै अझै कति छोरीहरू लुटिएपछि/झुन्डिएर मरेपछि त्यस्ता यौन पिपासु अपराधीको समाजबाट सफाया हुने हो ? उनीजस्ता अझै कतिजना बलि चढिसकेपछि त्यस्ताहरूलाई नाङ्गेझार बनाएर सबैले चिन्ने दिन आउने हो ? समाज सुधारक, प्रगतिशील र न्यायप्रेमी जत्थाहरूको अगाडि यो गम्भीर प्रश्न छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved