टिप्पणी

इजरायलमाथि इरानी आक्रमणपछिको प्रभाव : के यो तेस्रो विश्वयुद्धको सङ्केत हो ?

इरान र इजरायलबीच पूर्ण युद्ध भएमा अमेरिका र बेलायत तानिने सम्भावना बढ्दछ । त्यसो भए रुस इरानको पक्षमा उभिन सक्छ । स्थिति यहाँसम्म पुग्यो भने तेस्रो विश्वयुद्धको सुरु भएको अर्थ लगाउन सकिन्छ । सँगसँगै अरु देश पनि तानिँदै जानेछन् । रुस, चीन, इरान र उत्तरकोरिया एकातिर हुन सक्नेछन् । अमेरिका, बेलायत, नेटो, इजरायल र यूक्रेन अर्कोतिर हुने छन् ।

नेपालभ्युज

इजरायलमाथि इरानी आक्रमणपछिको प्रभाव : के यो तेस्रो विश्वयुद्धको सङ्केत हो ?

काठमाडौं । अप्रिल १३, शनिबार राति इरानले इजरायलमाथि ३०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि संसारको ध्यान आकृष्ट भएको छ । धेरैको मनमा यो प्रश्न खेलिरहेको छ कि अब के हुन्छ ?

इरानी आक्रमण नि:सन्देह ठूलो थियो तर, ९९ प्रतिशत ड्रोन र क्षेप्यास्त्र नष्ट गरेको इजरायलले दाबी गरेको छ । उसको दाबीअनुसार त्यसबाट खासै ठूलो क्षति भएको छैन । ८ जना घाइते भएका छन् । यो आक्रमणले युद्धको शक्ति सन्तुलनमा कति अर्थ राख्दछ वा राख्दैन, त्यो अझै प्रष्ट भएको छैन ।

आक्रमणपछिको पहिलो वक्तव्यमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन्— हामीले अवरोध गर्‍यौँ, हामीले रोक्यौँ, सँगसँगै हामी जित्छौँ ।

इजरायली प्रधानमन्त्रीले यस्तो दाबी गरिरहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने इजरायललाई इरानमाथि तत्काल प्रतिआक्रमण नगर्न भनेका थिए । साथै, राष्ट्रपति बाइडनले स्थितिबारे जी ७ का राष्ट्रसँग कुरा गर्ने बताएका छन् । बेलायतले भने ड्रोन प्रत्याक्रमण लडाकु जहाज प्रयोग गर्ने तयारी गरेको समाचार छ ।

इरानी आक्रमणका लक्ष्य के-के हुन् र त्यसले कस्तो हानी पुर्‍याएको छ भन्ने पक्षमा इजरायल र पश्चिमा देशले विश्लेषण गर्न खोजेका छन् । इजरायली रक्षामन्त्री योअव ग्यालेन्टका अनुसार तेहरानले दागेका ड्रोन र क्षेप्यास्त्रमध्ये थोरैले मात्र इजरायली हवाई प्रतिरक्षा प्रणालीको सीमा नाघ्न सकेका थिए । उनले भने— इरानी आक्रमणलाई प्रतिरक्षा बलले प्रभावकारी प्रतिवाद गरेको छ । थोरै मात्र क्षति भएको छ ।

हमास-इजरायल युद्ध अन्त्यहीन ढङ्गले लम्बिँदै गएपछि इरान इजरायलमाथि आक्रमण गर्ने मनोदशामा पुगेको हो । यसअघि इरानले हमास र हिज्बुल्लाह समूहलाई सहयोग गर्दै आएको थियो । इरानले आफ्नै भूमिबाट इजरायलमाथि आक्रमण प्रारम्भ गर्नु अर्थपूर्ण छ ।

यसले क्षेत्रीय युद्ध भड्किने सम्भावना सङ्केत गर्दछ । अझ यसको सम्बन्ध युक्रेन युद्धसँग पनि जोडिन्छ । यूक्रेन युद्धमा रुसले उत्तर कोरियाका अतिरिक्त इरानी क्षेप्यास्त्र प्रयोग गर्ने गरेको छ भने युक्रेनले पश्चिमा देशको सहारा लिँदै आएको छ ।

इरानले आक्रमण गर्नुको कारण अघिल्लो हप्ता इराजयलले सिरियामाथि गरेको क्षेप्यास्त्र प्रहारको जवाफी कारबाही हो । अप्रिल १ को दमास्कस आक्रमणमा त्यहाँस्थित एक इरानी सैन्य कमाण्डरसहित सातजना मारिएका थिए ।

इरानले यो जवाफी आक्रमणसँगै अमेरिकालाई इजरायलका पछाडि नउभिनसमेत चेतावनी दिएको छ । आक्रमणकारी इरानी रेभोल्युसनरी गार्डका अधिकारीले भने— अमेरिकाको आतङ्ककारी सरकारलाई हामी इजरायललाई सहयोग नगर्न चेतावनी दिन्छौँ । अमेरिकाले त्यस्तो भूल गरे त्यसको मूल्य चुकाउनुपर्ने छ ।

इरानले आफ्नो आक्रमणप्रति प्रतिक्रिया दिए अर्को हमला थप घातक हुने चेतावनीसमेत दिएको छ । इजरायलको प्रतिक्रियामा वासिङ्टनले साथ दिएमा अमेरिकाका आधार शिविरमा समेत निशाना बनाउने इरानको चेतावनी छ ।

इरान आणविक शक्ति सम्पन्न राष्ट्र हो । तसर्थ, उसको चेतावनीलाई सामान्यरूपमा लिन मिल्दैन । इरान र इजरायलबीच पूर्ण युद्ध भएमा अमेरिका र बेलायत तानिने सम्भावना बढ्दछ । त्यसो भए रुस इरानको पक्षमा उभिन सक्छ । स्थिति यहाँसम्म पुग्यो भने तेस्रो विश्वयुद्धको सुरु भएको अर्थ लगाउन सकिन्छ । सँगसँगै अरु देश पनि तानिँदै जानेछन् ।

रुस, चीन, इरान र उत्तरकोरिया एकातिर हुन सक्नेछन् । अमेरिका, बेलायत, नेटो, इजरायल र यूक्रेन अर्कोतिर हुने छन् । यो तेस्रो विश्वयुद्धको सङ्केत हो । यस्तो ध्रुवीकरण भएमा अन्य राष्ट्रहरू यो वा त्यो पक्षमा ध्रुवीकृत हुन बाध्य हुनेछन् ।

यूक्रेन र गाजा युद्धपछि विश्व अर्थतन्त्रमा दबाब बढेको छ । आपूर्ति शृङ्खला प्रभावित भएर महङ्गी बढेको छ । युद्धग्रस्त क्षेत्रको मानवीय सङ्कट र आप्रवासन समस्या छँदैछ । इरान- इजरायल युद्ध भड्किएमा विश्व सङ्कट झनै बढ्नेछ ।

विश्लेषक ठान्दछन् कि यति ठूलो युद्धका लागि इरान तयार भइहाल्छ भन्न सकिन्न । इरानको अर्थतन्त्र खासै राम्रो छैन । सन् २०२२ यता त्यहाँ आन्तरिक राजनीतिक असन्तोष र जनप्रदर्शन पनि बढ्दै गएका छन् ।

सन् २०२२ मा अमेरिकाले एक ड्रोन आक्रमणमा इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या गरेको थियो । तर, इरानले त्यसको कुनै ठूलो सैन्य प्रतिक्रिया गरेको थिएन । इरान कुनै न कुनै तरिकाले पश्चिमा देशसँग बदला लिने मानसिकतामा भने थियो । सायद अप्रिल १ को इजरायलको दमास्कस आक्रमणपछि इरानले त्यस्तो निहुँ पायो ।

हमासले भने इरानी आक्रमणको स्वागत गरेको छ । उसले इरानी आक्रमणलाई ‘एक महत्त्वपूर्ण कदम’ भन्दै दमास्कसको बदलामा यस्तो आक्रमण अनिवार्य थियो भनेको छ ।

इजरायल-हमास युद्ध गत वर्ष अक्टोबर ७ मा सुरु भएको थियो । यस युद्धमा करिब ३४ हजार प्यालेस्टाइनी र २ हजार भन्दाबढी इजरायली मारिइसकेका छन् ।

अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिङ्केनको पछिल्लो विज्ञप्तिमा भने— ‘इरानले आक्रमण नरोके इजरायली प्रतिरक्षालाई अमेरिकाले साथ दिने’ उल्लेख छ ।

मध्यपूर्व मामिलाका एक जानकार यी घटनाक्रमलाई ‘इजरायल-हमास युद्धले नेटो-अरब युद्धको रूप लिन खोजेको सङ्केत’ का रूपमा व्याख्या गर्दछन् । तर, स्थिति त्यहाँसम्म पुग्छ, पुग्दैन अहिले नै यसै भन्न सकिँदैन ।

न्यूओर्क टाइम्सका स्तम्भकार थोमस एल. फ्रिडिम्यानले अहिल्लो महिना लेखेका थिए— यूक्रेन-रुस युद्ध हाम्रो समयको पहिलो विश्व युद्ध हो र हमास-इजरायल युद्ध दोस्रो विश्वयुद्ध ।

विश्लेषक भन्छन् कि यी दुई युद्धलाई कुनै कडीले जोड्यो र त्यसका आधारमा विश्व ध्रुवीकृत गर्‍यो भने इतिहासले तेस्रो विश्वयुद्ध भन्न मिल्ने घटनाक्रम निर्माण हुन सक्दछ ।

पहिलो र दोस्रो विश्वयुद्ध पनि घोषितरूपमा भएका थिएनन । युद्धको व्यापकता र भयावहतालाई ध्यानमा राखेर इतिहासले त्यस्तो संज्ञा दिएको थियो ।

तसर्थ, इरानी आक्रमण र इजरायली प्रत्याक्रमण रणनीतिको मानव जातिको भविष्यमाथि ठूलो अर्थ हुनेछ । युद्धको शृङ्खला यसरी स-साना निहुँबाटै बन्दै जाने हुन् । यस क्रमलाई रोक्न विश्व समुदाय होसियार हुन आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved