सरस्वतीनगर हत्या प्रकरण

नीरा हत्या घटनामा अर्को ट्विस्ट : घरपट्टीबाट भएको बेवास्ताले माइतीपक्षको बढायो आशंका

अभियुक्तबारे प्रहरीको दाबीमा केही अनुत्तरित प्रश्नहरू ?

आफन्तहरू भन्छन्, ‘‘नाइट क्लबमा काम गर्ने मान्छेले चाह्यो भने त्यही धेरै लुट्न सक्छ। मदिराले मातेकाहरू सडकका गल्लीमै फेला पर्छन्। क्लबकै कुनै कुनामा अवसर मिल्नसक्छ। दिनदहाडै जोखिम मोलेर पसलमै किन लुट्न आउनुपर्थ्यो। कसैले सुपारी दिएर मार्न पठाएको हुनुपर्छ। ’’

नीरा हत्या घटनामा अर्को ट्विस्ट : घरपट्टीबाट भएको बेवास्ताले माइतीपक्षको बढायो आशंका

काठमाडौं। पशुपति आर्यघाटमा सोमबार दिउँसो २ बजे। आफ्नै पसलमा बसिरहँदा १९ खेपसम्म चक्कु रोपेर हत्या गरिएकी नीरा पाण्डे आचार्यका लागि चिता तयार भयो

नीराका परिवार न त्यो चिता हेर्न सकेका थिए न उनको मृत्यु नै स्विकार्न सक्ने अवस्थामा थिए। तर, बाध्यता चितामाथि राखिएको लासमा दागबत्ती दिनैपर्ने। क्रूर हत्यालाई स्विकार्नुको विकल्प थिएन। जिउँदो रहुन्जेल झेलेको सांसारिक पीडालाई विश्राम दिएर नीरा चीर निद्रामा विलिन थिइन्। शवलाई ब्रह्मनालमा संस्कार पूरा गरी चितामा राख्न ल्याइँदै थियो।

चिता फूलमालाले मात्र सजिएको थिएन। ‘न्याय नपाएको लास जलिरहेछ’ भन्ने वाक्यांश लेखेर चिताको काठमा टाँसिएको थियो। केही मलामीहरू उभिएर ‘प्ले कार्ड’मा त्यही देखाइएका थिए। ‘नीरा मरिन् तर, न्याय नमरोस्’ आफन्तहरू भन्दै थिए।

हिन्दू संस्कारअनुसार अन्तिम दाहसंस्कार सुरु भयो। तर, त्यतिबेलासम्म नीराकी आमालाई विश्वास लागेको छैन कि ‘मेरो छोरी चितामा जलिरहेकी छे।’ नीरा उनको आँखै अगाडि चितामा जलिरहेकी थिइन्। नीराकी आमाकाे आँखा १२ दिनअघि ७ वैशाखदेखि ओभाएका थिएनन्। लासजस्तै बनेको उनको शरीर र हावाजस्तै उडेको मन सम्हाल्न उनलाई सानो सहासले पुगेको जस्तो देखिँदैनथ्यो। पुगोस् पनि कसरी सन्तान चितामा सुतिरहेको देख्दा।

नीरा पाण्डे आचार्यको अन्त्येष्टिको क्रममा, पशुपति आर्यघाट

आफ्नो मृत्यु सहनसक्ने बरु सन्तानको सानो चोटमा पनि ठूलो पीडा हुने आमाका अगाडि सन्तानको लास तेर्सिँदा कति बिझ्यो होला? त्यो अरूको लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। वियोगमा भावविह्वल बनेकी आमाको रोदनले आर्यघाटमा पुगेका सबैलाई स्तब्ध बनायो। सबैका आँखा रसाए तर, के गर्नु उनको रोदनले छोरी नीरालाई बिउँझाउन सक्दैनथ्यो।

यो पनि पढ्नुहोस्-

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

मलामीका कोलाहल थियो। लासलाई फेरो हाल्दै कसैलै एकोहोरो शंख ध्वनि बजायो। नीराको चितामा आगो लाग्यो। पोल्यो आमालाई। जलिरहेका चिताको अगाडि बसेकी आमा मुर्छा परिन्। तीन मुजा परेको निधारमुनि आँखाबाट खगेका बलिन्द्र धारा चाउरी परेको गाली हुँदै शरीर भिजाइरहेको थियो। आफन्तहरू सम्हाल्ने र सान्त्वनमा दिने प्रयासमा थिए। दाजु यम पाण्डे, पति योगेश आचार्यलगायतका परिवारका सबै सदस्य आँसुका बलिन्द्र धारा बगाउँदै थिए।

उनीहरूलाई काँधमा धपधपाउँदै सान्त्वना दिँदै थिए आफन्तहरू। सम्झाउनेहरू नै स्वयं गहभरि आशु पार्दै पीडा पोखिरहेका थिए। मलामी गएका आफन्तहरू भावविह्वल भए। आँसुले अनुहार भिजेको थियो। कोही शोकमा घोस्सिरहेको थिए। उता आकाश पनि रोइरहेको थियो।
‘कठै बिचरी ! कलकलाउँदो उमेरमा कुन अपराधीको आँखा लाग्यो?’ कोहीले दयाको भाव दर्शाउँदै थिए।

-‘खासमा के कारणले मारेको रहेछ?’

-‘सिक्री लुट्न अरे।’

-‘बरै पसलमा एक्लै रहिछन्। वरपरका पसलकाले पनि देखेनछन्’

-‘दिनदहाडै पसलमा लुट्न जान सक्ने कस्तो महशुर मान्छे रहेछ।’

यी भनाइमा अरूले असहमति जनाउँदै थिए।

‘त्यति लुट्नकै लागि त किन मार्थ्यो, मार्नको लागि गएको हुनुपर्छ।’

प्रहरीले घटनामा संलग्न भनिएका विनोद विकको संलग्नताबारे केही विश्वसनीय प्रमाणसमेत सार्वजनिक गरेको छ। तर, हत्याको कारण भने मृतक नीराका आफन्तले पत्याएनन् ।

सरस्वतीनगर हत्या प्रकरण: एक तोला सुनको लागि मानिस यति क्रुर हुन सक्दोरहेछ !

नीराको शरीर चितामाथि दनदनी बलेको आगोले जेलर खरानी बनाउँदै थियो। खरानी र धुवाँमा उनी परिणत हुँदै थिइन्। तर, सार्वजनिक गरिएको हत्याको कारणबारे पत्याउन तयार थिएनन्।

प्रहरीका अनुसार विनोद विक क्यासनोमा जुवा खेल्ने लतमा तीन लाख ऋण लागेका खर्चहीन भएका थिए। लुट्ने ठाउँ खोज्दै हिँडेको र सरस्वतीनगरमा नीरा पसलमा एक्लै देखेपछि सामान किन्ने बहानामा गएर सिक्री लुट्न खोजेको प्रहरीले जनाएको छ। सो क्रममा नीराले प्रतिकार गरेपछि छुरीले हानेको मारेको बताइएको छ।

बीभत्स हत्यापछि नीराका माइतीपक्ष र आफन्त निरन्तर आन्दोलनमा थिए। प्रहरीले शनिबार विकलाई झापाबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेपछि परिवारले शव बुझेर दाहसंस्कार गरेका हुन्। आफन्तले नीराको शव बुझेर दाहसंस्कार गरे पनि केन्द्रीय अनुसन्धान ब्युरोले बताएको कारण पत्याएका छैनन्।

नीरा पाण्डे आचार्यको अन्त्येष्टिको क्रममा, पशुपति आर्यघाट

‘‘सिक्री लुट्नकै लागि आरोपित भक्तपुरबाट जोखिम मोलेर व्यस्त शहर सरस्वती नगर नै किन गयो ?’’

‘‘सर्ट फुकाले पनि हात खुट्टामा लागेको रगत के गर्‍यो ?’’

‘‘१९ पटकसम्म चक्कु हान्नैपर्ने कारण के आइलाग्यो ?’’

नीराको हत्या अनि हत्या आरोपी पक्राउ पर्दासम्म ‘नीराको घरपट्टीबाट भएको बेवास्ता’ले पनि हत्या कारणमा शंका बढाएको देखिन्छ। तर, प्रहरी अहिले हत्याको कारण यही हो भन्नसक्ने अवस्थामा पनि छैन। हैन भन्न अन्य कारण खुलाउन सकेको देखिएन।

सरस्वतीनगर हत्या प्रकरण: नीराको पसलमा अभियुक्त विनोदको त्यो ८ मिनेट

आफन्तहरू आन्दोलन भएको अवस्थामा प्रहरीका लागि तत्कालीन उपलब्धि हत्या आरोपी पक्राउ गर्नु रहेको देखिएको छ। १० दिनपछि आरोप पक्राउ परे पनि यो प्रहरीको सफलता देखिन्छ। यसले जस्तोसुकै घटनामा पनि आरोपी प्रहरीबाट जोगिन नसक्ने सन्देश गएको दाबी छ सीआइबी प्रमुख एआईजी किरण बज्राचार्यको।

‘‘लुटिएको सिक्री सुन पसलबाट फेला परिसकेको छ। घटनास्थलमा सीसीटीभीमा भेटिएका उनै व्यक्ति फेला परेका हुन्। उनले आफ्नो कसुर स्विकारिसकेको अवस्था छ। हत्याको कारण थप अनुसन्धानबाट खुल्दै जाला’’ बज्राचार्य भन्छिन्।

नीरा पाण्डे आचार्यको अन्त्येष्टिको क्रममा, पशुपति आर्यघाटमा न्याय माग गर्दै आफन्तहरू

आफन्तको आशंका – सिक्री लुट्नकै लागि भक्तपुरबाट कोही जान्छ ?

प्रहरीको दाबीअनुसार विकको योजना सुनको सिक्री लुट्ने मात्र हुनै सक्दैन। विकको बयानका आधारमा खोलामा फालेको दाबी गर्छ प्रहरी। तर, चक्कु फेला पर्नु त परको कुरा कुन खोला फालेको भन्ने खुलाउनसमेत सकेको छैन।

आफन्तहरू भन्छन्, ‘‘नाइट क्लबमा काम गर्ने मान्छेले चाह्यो भने त्यही धेरै लुट्न सक्छ। मदिराले मातेकाहरू सडकका गल्लीमै फेला पर्छन्। क्लबकै कुनै कुनामा अवसर मिल्न सक्छ। दिनदहाडै जोखिम मोलेर पसलमै किन लुट्न आउनुपर्थ्यो। कसैले सुपारी दिएर मार्न पठाएको हुनुपर्छ।’

लुट्नकै लागि हत्या भएको भए, किन १९ पटकसम्म चक्कु हान्नुपर्‍यो । अभियुक्त सर्ट फुकालेर ब्यागमा हालेको भनिएको छ। ‘‘ट्याम्पो चढ्नुअघि हात खुट्टामा लागेको रगत के गर्‍यो?’’ आफन्त भन्छन्।

अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

आफन्तको आशंका छ, ‘कसैले सुपारी दिएर हत्या भएको हुनुपर्छ। पक्राउ परेका व्यक्ति हत्यारा होलान् तर, अरूले पठाएको हुनुपर्छ।’’
हत्याका आरोपी खुलाउने केही प्रमाणमा सीसीटीटभीमा देखिएका विक नै भन्ने पुष्टि भएको छ।

उनले बाकेकोको ब्याग र उनले लगाएको सर्ट पनि भेटिएको छ। सीसीटीभी फुटेजमा अभियुक्त छिर्केमिर्के सर्टमा ब्याग बोकेर गएका देखिन्छन्। पछि फर्किंदा टिसर्टमा हुन्छन्।

अर्को महत्त्वपूर्ण प्रमाण ‘अभियुक्तले सुन पसलमा बन्धकी राखेको सिक्री फेला परेको’ छ। जुन पक्राउ परेका विकले राखेका थिए।

सम्बन्धित समाचार-

सरस्वतीनगर हत्या प्रकरण: ठमेलको नाइट क्लबका बाउन्सर झापाबाट पक्राउ

क्यासिनो खेलेर हारेको ऋण तिर्न एक तोलाको सिक्री लुटेर नीराको हत्या

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved