सरस्वतीनगर हत्याकाण्ड

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

परी हरबखत नीरा (आमा)लाई खोज्दै रुन्छिन्। उनलाई आमाको न्यास्रो लागेको छ। आँखाहरूले आमालाई खोजिरहेका छन्, तर उनी अनन्त: यात्रामा लिन भएको थाहा पाएकी छैनन्।

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

काठमाडौं। ‘‘यस्तो कसरी भयो, यो म सोच्न पनि सक्दिनँ। मिजासिली बहिनीको कोहीसँग दुस्मनी थिएन,’’ आँसु रोक्ने प्रयास गर्दै यम पाण्डेले भने। आफ्नी बहिनी नीरा पाण्डे आचार्यको एक साताअघि हत्या भएपछि उनको परिवार विह्वल छन्। उनीहरू अहिले दैनिक एक घन्टा सरस्वती नगरस्थित ‘निरू किचेन’ अगाडि धर्ना दिइरहेका छन्।

नीरा पाण्डे आचार्यको हत्या घटनाको एक साता पुग्दा पनि हत्यारा पत्ता लाग्न नसेकेको भन्दै माइतीपक्षको अगुवाइमा पीडित परिवारले सोमबारदेखि दाबाबमूलक कार्यक्रम गरिरहेको छ।

काठमाडौंको सरस्वतीनगरमा रहेको आफ्नै पसलमा नीराको शरीरमा धारिलो हतियार रोपेर हत्या भएपछि आफन्त आन्दोलित छन्। गत बिहीबार पसलमै बसिरहेको अवस्थामा उनी मृत फेला परेकी थिइन्। ३५ वर्षीय नीराको गुहार माग्न पनि नपाई हत्या भएको थियो।

अहिलेसम्म कोही पक्राउ परेका छैन। दोषी पत्ता नलाग्दा आफन्त तथा स्थानीयवासी आक्रोशित हुन थालेका छन्। दोषी पत्ता लगाउन दबाब दिन आफन्तले दैनिक प्रदर्शन गर्दै आएका छन्।

कसले देला परीलाई वात्सल्यताको न्यानो काख

नीराको हत्यापछि नाबालिका छोरी टुहुरी बनेकी छिन्। १० वर्षीय परी बिचल्लीमा छिन्। परीलाई घरबाट अलि पर रहेको मामाघर (दाजु भाउजूको)मा लगेर राखिएको छ।

कपनमा मामा माइजूसँग बसेकी परीले अब मातृवात्सल्य पाउने छैनन्। मामा यम पाण्डे भन्छन्, ‘‘उनी बिहान बेलुका नीरा (आमा) खोज्दै रुन्छन्। उनलाई आमा (नीरा)को न्यास्रो लागेको छ। आँखाहरूले आमालाई खोजिरहेका छन्, तर उनी अनन्त: यात्रामा लिन भएको थाहा पाएकी छैनन्।’’

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

एकसाता पुग्दा पनि नीराको पार्थिवलाई बिदाइ गरिएको छैन। शव पोस्टमार्टम गरेर शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। हत्यारा पत्ता नलागेसम्म शव बुझ्न मानेका छैनन्। घटनाको एकसाता पुग्दा पनि छोरी परीलाई आमा नीराले संसार छाडेको थाहा छैन।

उनलाई घटनाबारे बताइएको छैन। थाहा नदिनकै लागि परीका मामामाइजू समेत शोकमा उनको अगाडि रुन सकेका छैनन्। मन बलियो गरेर गाँठो पारेर बस्न बाध्य छन्। परीको आँखाहरूमा आमाको अभाव स्पष्ट देखिन्छ। मातृत्व खोसिएकी उनी आमा खोज्दै रुन्छिन्।

उनी सोध्छिन्, ‘‘ममी जाने, ममी कहाँ होइसिन्छ।’’ तर, मावलीसँग उत्तर छैन, अवाक छन्। मामामाइजू भन्छन्, ‘‘आमाले प्राण त्यागेको खबरले कति भयानक पीडा होला उनलाई। यसैले केही भन्न सकेका छैनौँ।’’

परी १० वर्षमै टुहुरी बनिन्। आमाको काख सदाका लागि गुमाएका उनलाई वात्सल्यको ओत दिने जिम्मेवारी अरू परिवार र मामाघरको काँधमा आइपरेको छ। आफन्त र छरछिमेकहरू घरमा आउँछन्। प्राय:ले परीको चिउँडो, गाला, शीर मुसार्छन् र सुकसुकाउँछन्। उनीहरूले पनि आँसु लुकाउने प्रयास गर्छन्। मनमनै भन्छन्, ‘‘हेर, तिम्री आमाको मृत्युमा हामी कति धेरै शोकाकुल भएका छौँ। तर, तिमीलाई कसरी थाहा दिने, तिम्रो हालत के होला भनेर भन्न सकेका छैनौँ।’’

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)

परीको आँखा ओभाएका छैनन्। घरीघरी खेलेजस्तो गर्ने तर, आमाको खोजीमा रोइरहिन्छन्। परी आमा नीरा खोइ भन्दै रोइरहन्छिन्। कपनको एक स्कुलमा अध्ययनरत उनलाई आमा नीराले हरक्षण ख्याल राख्थिन्। बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन्। राति आमासँगै सुत्थिन्। परीको अवस्थाले उनी बसेको घर (मामाघरमा) घरमा आउने आफन्त र छिमेकी धेरैलाई रुवाउँछ। ‘‘ममी कहाँ छ भनेर सोधिरहन्छिन्’’ हत्या गरिएकी नीराका दाजु नाता पर्ने टेकराज पराजुली भन्छन् ‘‘भाञ्जीको रुवाइले मलाई पनि रुवायो। सबैजना दु:खी भएका छन्।’’

परीलाई ‘आमा मरिसकिन्। अब यो दुनियाँमा आमा छैनन्। कहिल्यै अउँनेछैनन्’ भन्दा के हाल बनाउँछिन्, त्यही चिन्ताले थाहा दिइएको छैन। ‘‘आमा खोइ भन्दै बिहानैदेखि रोएको रोएकै गर्छिन्, मामा माइजूले कति फकाउँदा पनि मान्दिन, खाना पनि खाँदिनन्, सुत्ने बेलामा पनि आमा आमा भनेर कराउँदै रुन्छिन्। अलि बुझ्ने भएकीले सम्झाउँदा मान्छिन्, तर उनी आमा यो संसारमै नभएको खबर कसरी सुनाउने होला?’’ हत्या गरिएकी नीराका दाजु यम पाण्डे भन्छन्।

नीराको शव त्रिवि शिक्षण अस्पतालमै छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडान छ। शिक्षण फरेन्सिक विज्ञहरूका अनुसार नीराको पेट र घाँटीभन्दा तलको भागमा कम्तीमा १५ भन्दा बढी पटक छुरा प्रहार गरिएको देखिएको छ।

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की उपलब्ध क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन्। भाँडा पसलमा सिसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved