क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

घटनास्थल पसलमै हो त ? या अन्तै हत्या गरेर शव त्यहाँ फ्याँकियो ?

आधा दर्जनबढी पटक छुरा रोपिएको छ। मध्य सहरको पसलमा कसैलाई पटक–पटक धारिलो हतियार प्रहार गरेर ज्यान लिँदा अरूले कसरी थाहा पाएनन् ? हत्यारा सजिलै भाग्दा कसैले किन चाल पाएनन् ? हत्या अघि सीसीटीभी कसले बन्द गर्याे। यी कारणले घटना शंकास्पद बनेको छ।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

काठमाडौं। चावहिलको गोपीकृष्ण हलबाट पछाडि लागेपछि सरस्वतीनगर जाने बाटो आउँछ। अलि भित्र गएपछि एउटा मोड छ। साँघुरो सडक र दायाँबायाँ घरका सटरमा पसलैपसल छन्।

थोरै पर गएपछि दायाँबट्टी देखिन्छ‘निरू किचेन एन्ड गिफ्ट होम’ लेखेको बोर्ड। किचेनका सामग्री पाइने त्यो पसलमा बिहीबार (७ वैशाख) दिउँसो ३ बजे एक जना ग्राहक सामान किन्न गए।

पसलमा सटरभित्र छिरेर हेरे, कसैलाई देखेनन्। ‘कोही हुनुहुन्छ’ भनेर बोलाए। कोही बोलेन।  पसलमा कोही नभेटिएपछि फर्कन लाग्दा उनको आँखा काउन्टरको र्‍याकमाथि गयो। जहाँ झिँगा भन्किरहेको थियो। ग्राहकले त्यहाँ के रहेछ भनेर र्‍याकको तल हेरे। रगतको भल बगिरहेको थियो। बोराले छोपिएको केही चिजबाट रगत बगिरहेको थियो। कतै रगतको टाटै टाटा।

उनी आत्तिँदै सँगैकोे पसल सञ्चालकलाई बोलाए। छिमेकीहरूले बोरा उघारे। त्यहाँ थिइन्, नीरा पाण्डे आचार्य, प्राण गइसकेको अवस्थामा। शरीर रगताम्य थियो, प्राण थिएन। सायद शवलाई हत्याराले नै बोराले छोपेका थिए।

***

बागलुङ स्थायी घर भएकी नीराको काठमाडौं महानगरपालिका ६ सरस्वतीनगरमा रहेको सोही पसलमा बस्नु दैनिकी थियो। नीराको अर्को पनि पसल छ। रिलायन्स कलेजको अगाडि रहेको पसलमा उनका श्रीमान् योगेश आचार्यले हेर्छन्।

भाडा पसलमा बस्ने नीराले बिहीबार मध्यान्न १२ बजै आफ्नो पसलमा आएको नयाँ सामग्रीबारे प्रचार गरेकी थिइन्, टिकटक र फेसबुकबाट। लामखुट्टे धपाउने विद्युतीय ब्याट आफ्नो पसलमा रहेको भन्दै भिडिओ बनाएर टिकटकमा पोस्ट गरिन्।

आफैँले बोलेर भिडिओ बनाउँदै उनले भनिन्,‘‘के तपाईंहरू लामखुट्टेको टोकाइबाट ग्रसित हुनुहुन्छ। त्यसो ओ भने अब नआत्तिनुहोस्। हामीले ल्याएका छौँ लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट। याे किन्नुहोस् डेंगु लाग्नबाट बच्नुहोस्, धन्यवाद।’’

दुई हातमा ब्याट देखाउँदै उनले कसैलाई चाहिएमा आफ्नो पसलमा आउन भनिन्। भिडिओलाई उनले आफ्नो फेसबुक एकाउन्टबाट पनि सेयर गरिन्। ‘ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ क्याप्सन लेखिन्।

टिकटक र फेसबुकमा भिडिओ पोस्ट गरेपछि उनका फ्रेन्ड तथा फलोअर्सले हेरे। कतिपयले कमेन्ट गर्दै भने ‘लामखुट्टेको सिजन सुरु भयो। त्यो त चाहिन्छ। पसलको लोकेसन कहाँ हो ? फुर्सद मिलाएर आउनुपर्ला।’’

नयाँ ग्राहकका लागि उनले लोकेसन दिन पाइनन्। सायद उनले आफ्नो भिडिओमा कति भ्युज र कमेन्ट आयो त्योसमेत हेर्न भ्याइन् कि भ्याइनन् कुन्नी।

ब्याटको विज्ञापन पोस्ट गर्नुअघि नीराले फेसबुकमा आमासँगको फोटो पोस्ट गरिन्। ‘मातातीर्थ औँसी’को दिन भएकाले उनले अर्घाखाँचीमा रहेकी आफ्नी आमालाई फेसबुकबाटै सन्देश सुनाइन्,‘‘मेरी आमालाई यो संसारको सारा खुसी मिलोस्, अनि मलाई हरेक जन्ममा उहाँकै यो काख। ह्याप्पी मदर्स डे।’’

केही घण्टाअघि मात्र ‘हरेक जन्ममा आमाकै काख मिलोस्’ भन्दै प्रार्थना गरेकी नीरालाई के थाहा आफूले पाएको यो जन्मको आजै अन्तिम दिन हुँदैछ भन्ने। नीराको अर्का जन्म होला नहोला तर यही जन्ममा कुनै क्रूर अपराधीले आमाको काख रित्तो बनाइदियो।

जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शाश्वत सत्य हो र सबैलाई थाहा छ। तर, ठ्याक्कै कहिले मरिन्छ भन्ने कुराचाहिँ सायद कसैलाई थाहा हुँदैन। तर, मातातीर्थ औँसी अर्थात् आमालाई पुज्ने दिनमै ११ वर्षीय छोरीकी आमा नीराको कसैले प्राण लियो। उनकी ११ वर्षीया नाबालिका छोरी टुहुरी बनिन्, बुढी आमाले काख गुमाइन्।

‘निरू’ नाम फापेको थियो

नीराको माइती अर्घाखाँची हो। उनको नाम नीरा भए पनि सबैले निरु भन्थे। नीराले आफ्नो बोलाइने त्यही नाम ‘निरु’ बाट सुरु गरेको व्यवसायले राम्रो आम्दानी थियो। छोटो समयमै मुनाफा दिएपछि केही वर्षदेखि अर्को पसल पनि सञ्चालन गरेकी थिइन्।

अर्को पसल रिलान्स कलेजसँगै थियो। जहाँ उनका पति बस्थे। निरूले बिहे छिमेकी जिल्ला बागलुङमा गरेकी थिइन्। पति योगेश आचार्य बागलुङको बडिगाड गाउँपालिकाका हुन्। उनीहरूको ११ वर्षीय छोरी छिन्।

उनको दाजु र भाउजूको पनि अलग-अलग पसल छ। सुकेधारामा एलजीको इलेकट्रोनिक्स सामानको पसल दाइले हेर्छन्। उनको पसलबाट अलि पर कपनमा भाउजूले पसल चलाएकी छन्।

हत्या रहस्यमय

आफ्नै पसलमा धारिलो हतियारबाट मारिएकी नीराको हत्या रहस्यमय बनेको छ। उनको शरीरमा आधा दर्जन बढीपटक छुरा रोपिएको छ। पटक–पटक धारिलो हतियार प्रहार गरी भएको हत्या हुँदा पनि छिमेकीले कसरी थाहा पाएनन् ? अनि हत्यारा सजिलै भाग्दा कसैले नदेख्नुले घटना शंकास्पद बनेको हो।

बजार क्षेत्र भएकाले उनको पसल वरिपरि अन्य पसल पनि छ । तर, शरीरभरि छुराले रोपेर त्यसरी क्रूर तरिकाले हत्या हुँदा पनि छिमेकीले कुनै सुइँकोसम्म पाएनन्। जिल्ला प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टिम बनाएर घटनाको अनुसन्धान अघि बढाएका छन् ।

पसलबाट पैसा तथा सरसामान चोरी नभएकाले सम्पत्तिभन्दा प्रतिशोधस्वरूप हत्या भएको आकलन प्रहरीको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल भन्छन्, ‘‘घटना अलि रहस्यमय नै छ। प्रहरीले सूक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ। छिट्टै नतिजा ल्याउने गरी अनुसन्धान भइरहेको छ ।’’

 

योजनाबद्ध हत्या  ‘सार्प क्रिमिनल’को प्रयोग

हत्यारा र हत्यापूर्व उनीहरूले अपनाएको सावधानी हेर्दा प्रोफेसनल देखिएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन्।

‘‘हत्याको शैली हेर्दा कुनै सामान्य व्यक्तिले हत्या गरेको वा  आवेशमा आएर अचानक भएको होइन। घटना हुनुभन्दा केही समय अगाडिदेखि पसलको सीसीटीभी बन्द छ।

सडकको सीसीटीभीले पसलको दृश्य कैद गरेको छैन। सटर खुलै हुँदा पनि अरू छिमेकीले समेत थाहा नहुने गरी हत्या गरिएको छ’’ ती अधिकारी भन्छन्, ‘‘चक्कुले जहाँ–जहाँ हानिएको छ, त्यो अत्यन्तै संवेदनशील ठाउँ हो। अत्यधिक रगत बग्ने र तत्कालै मान्छे मर्ने ठाउँमा छुरा रोपिएको छ। निपूर्ण अपराधी (सार्प क्रिमिनल) भएको देखिन्छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved