बौद्ध भूवलडाँडा घटना : विवाहेत्तर सम्बन्धका कारण यसरी भयो हत्या

नेपालभ्युज

बौद्ध भूवलडाँडा घटना : विवाहेत्तर सम्बन्धका कारण यसरी भयो हत्या

काठमाडौं । बुधबार काठमाडौं महानगरपालिका–६ प्रहरी वृत्त बौद्धमा एक पुरूष ‘श्रीमतीको हत्या गरेँ’ भन्दै आत्मसमर्पण गर्न पुगे ।

ती पुरूष थिए, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ घर भई बौद्ध भूवलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियार।

बुधबार बिहान १ बजेतिर कुटपिट गरी श्रीमती ३५ बर्सिया अनिशा चाहारको हत्या गरेको बयान दिएका छन् ।

अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । तर, रिपार्ट आइसकेको छैन ।

रिपार्ट आएपछि घटनाबारे थप खुल्ने बौद्ध प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले जानकारी दिए ।

कसरी घट्यो घटना ?

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार विवाहेत्तर सम्बन्धका कारण घटना भएको खुलेको छ । सन्तोष र अनिशाले विसं २०७२ मा प्रेम विवाह गरेका थिए । उनीहरू दुवै जनाले दोस्रो विवाह गरेका थिए ।

बिहेपछि सन्तोष वैदेशिक रोजगारीका लागि कतार पुगे । त्यहाँ राम्रो काम नपाएपछि केही समयमै उनी नेपाल फर्किए ।

त्यसपछि उनी फेरि मलेसिया गए, वैदेशिक रोजगारीको क्रममा । केहि समय काम गरेपछि हालै मात्र सन्तोष नेपाल फर्किएका थिए ।

उनीहरूको सम्बन्ध विदेशमा रहँदा राम्रो नै थियो । नेपाल फर्किपछि पनि सम्बन्ध राम्रो चलिरहेको थियो । तर, जब अनिशाको मोबाइलमा अन्य पुरूषको फोन आउन थाल्यो । त्यसपछि सम्बन्धमा खटपट सुरु भयो ।

बारम्बार फोन आउन थालेपछि सन्तोषले अनिशालाई सोधेका थिए, ‘को केटा हो पटक-पटक फोन गर्ने ?’

अनिशाले सन्तोषको प्रश्नमा जवाफ नदिएपछि झगडा सुरु भएको थियो ।

त्यसपछि सन्तोषले अनिशालाई फोन गर्ने युवकको बारेमा जान्न गोप्य रूपमा मोबाइलमा अटो रेकर्ड सिस्टम डाउनलोड गरे ।

बुधबार राति सन्तोष सुतिरहेका थिए । सोही बेला अनिशाको मोबाइलमा युवकको फोन आयो । अनिशाले सन्तोष सुतेको भन्ठानेर कोठा बाहिर गएर कुरा गरिन् ।

र, भित्र आइन् । यसबारे सन्तोषलाई सबै थाहा थियो । उनले अनिशाको मोबाइल खोसे । र, रेकर्ड सुने ।

सन्तोषले श्रीमतीको बाहिरी पुरूषसँग सम्बन्ध रहेको चाल पाए । त्यसपछि झगडा हुँदा सन्तोषले लात्ती र मुक्का प्रहार गरेर हत्या गरेको खुलेको छ । अनिशाको शरीरभरी निलडाम थियो ।

घटना हुँदा दुवै जनाले मापसे गरेको पाइएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा प्रतिवेदन पेस गर्ने तयारी भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved