फिल्मजस्तै ‘क्राइम थ्रिलर’ : चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

नयाँ तरिकाले लागुऔषध भित्रिएको देखियो । पूरै फिल्मी शैलीमा भएको कारोबारीमा विदेशी संलग्न थिए । इथियोपियाबाट कतार हुँदै नेपालसम्म भएका कारोबारीका हरेक गतिविधि सिनेमाका प्लट झैँ थिए । भिजिट भिसामार्फत विमानस्थलमा विदेश कारोबारी आउँदा पक्राउ पर्दा, त्यो सामान रिसिभ गर्न अर्का भरिया आउँदा नयाँनयाँ रहस्यहरू खुलासा भएको हो ।

फिल्मजस्तै ‘क्राइम थ्रिलर’ : चकलेटको खोलमा भित्रिन्छ कोकिन, पत्ता लगाउन विमानस्थलमा छैन मेसिन

काठमाडौं । केही दिनअघि नयाँ तरिकाले लागुऔषध भित्रिएको देखियो । पूरै फिल्मी शैलीमा भएको कारोबारीमा विदेशी संलग्न थिए । इथियोपियाबाट कतार हुँदै नेपालसम्म भएका कारोबारीका हरेक गतिविधि सिनेमाका प्लटझैँ थिए ।

भिजिट भिसामार्फत विमानस्थलमा विदेश कारोबारी आउँदा पक्राउ पर्दा, त्यो सामान रिसिभ गर्न अर्का भरिया आउँदा नयाँ-नयाँ रहस्यहरू खुलासा भएको हो ।

लागुऔषधको कारोबार गर्ने विदेशी नागरिक पक्राउ गर्न प्रहरीले गरेको अप्रेसन र अनुसन्धानको घटना ‘क्राईम थ्रिलर’ (अपराधीको कथामा आधारित फिल्म) सँगै मिल्दोजुल्दो देखिन्छ ।

०००

३० वैशाख अपराह्न कतार एयरवेजको जहाज काठमाडौं विमानस्थलमा अवतरण भयो । यात्रुहरू अध्यागमनबाट बाहिर निस्किए । एक्स्रे मेसिनमा यात्रुहरूको लगेज हालियो । परीक्षण भयो । यात्रुहरूलाई चेक गरियो । प्रक्रिया पूरा गरेर सबै यात्रु विमानस्थलबाट बाहिरिए ।

विमानस्थलबाट बाहिरिइसकेकी युगान्डाकी महिला सिनामंगलबाट पक्राउ परिन् । उनी थिइन्, ४४ वर्षीया केभिना मुगाला । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको उनलाई कुनै प्रमाण थिएन, मात्र आशङ्का ।

प्रक्रिया पूरा गरेर नेपाल आएकी उनी विमानस्थलमा सबै चेकजाँच गराएर बाहिरिएकी थिइन्, कुनै त्रुटि वा अपराधमा संलग्न भएको देखिएको थिएन ।

लागुऔषध नियन्त्रण ब्यूरोले केभिनालाई महाराजगन्जस्थित प्रहरी अस्पताल लग्यो । उनको पेटको एक्स्रे गराउँदा देखियो, चक्टेलका डल्लाहरू । प्रहरीले त्यो सामान निकाल्यो ।

उपचार पद्धतिबाट उनको पेटबाट निकाल्दा आए, ९० वटा कोकिनका क्याप्सुलहरू । परीक्षणबाट थाहा भयो, विश्वभरका अधिकांश देशमा प्रतिबन्धित लागुऔषध कोकिन पो रहेछ । प्लास्टिकले र्‍याप गरी निलेर ल्याइएको रहेछ । ती कोकिन जोख्दा १ किलो २६० ग्राम रहेछ ।

०००

सोही उडानबाट काठमाडौं आएकी थिइन्, सोही देशकी अर्की महिला । उनीमाथि पनि शंका थियो, तर प्रहरीले समातेन । लिलियन सुसन वेनेन्ज नामकी ती महिला विमानस्थलबाट ट्याक्सीमा बाहिरिइन् । सादा पोसाकका प्रहरीले पछ्याए । उनको ट्याक्सी रोकियो ठमेलभन्दा अलि तल धोबीचौरमा । ट्याक्सीबाट लगेज निकालेर महिला होटलभित्र पसिन् ।

त्यो दिन प्रहरीले उनलाई केही गरेन । भोलिपल्ट प्रहरी टोली होटलकै कोठामा पुग्यो । उनको लगेज खोलेर हेर्दा भेटियो ‘स्नीकर’ चकलेट । कुनै ठूलै अवैध धन्दाको शंकामा पिछा गरेको प्रहरी टोली निराश भए, जब कुनै शंकास्पद वस्तु वा सुराक भेटिएन ।

ती महिलाको अर्को लगेज खोलियो, त्यहाँ पनि भेटियो, उस्तै चक्लेट । ‘विदेशबाट पर्यटन भिसामा आएकी ती महिलाले किन यति धेरै परिमाणमा चक्लेट ल्याइन् ?’ प्रहरीलाई शंका भयो । चक्लेटको ठूलो प्याकेट खोल्दा ससाना चक्लेट निस्किए । प्लास्टिकको खोल खोलेर हेरेर हेर्दा चक्लेट थिएन, भेटियो कोकिन । रहेछ, देख्दा चक्लेट, भित्र कोकिन ।

लिलियनको २ वटा लगेजमा ६३ वटा प्लास्टिकले र्‍याप गरिएको कोकिनका क्याप्सुल थिए । सबै सामानसहित उनलाई प्रहरीले समात्यो । जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइयो । अनुसन्धानमा उनीहरू भरिया मात्रै रहेको खुलेको छ । गरिब आर्थिक पृष्ठभूमिका उनीहरूलाई २ हजार डलर दिएर तस्कर गर्न लगाइएको खुलेको छ ।

०००

दुवैजना महिलाले नेपालमा ल्याएको कोकिन लिन भारतीय नागरिक आउँदै रहेछन् । उनीहरू नेपालसम्म ल्याउने भरिया मात्र रहेछन् । त्यसलाई भारत लैजान भन्दै आउँदै थिइन्, ३० वर्षीय भारतीय नागरिक देवाजनी पाल ।

प्रहरीले महिलाको मोबाइलबाट पाललाई म्यासेज गरेर धोबीचौरको अर्को होटलमा सामान लिन भन्दै बोलायो । भोलिपल्ट उनी होटलमा आइपुगे । सामान लिन भन्दै आएका उनी प्रहरीको फन्दामा परे ।

लागुऔषध बाहिरिने, ट्रान्जिट र पुर्‍याइने देश ।

अस्पतालमा महिलाको पेटबाट निकालिएको र होटलबाट बरामद भएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेको ब्यूरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए । पक्राउ परेका तीन जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको एसएसपी थपलियाले बताए ।

नेपाल प्रहरीको लागू औषध ब्यूरोका अनुसार पछिल्लो समय नेपालमा लागुऔषध ‘कोकिन’को ओसारपसार बढी देखिएको छ । इथियोपियालगायतका अफ्रिकी देशबाट नेपालमा आयात भइरहेका छन् । बोलिभिया, पेरु जस्ता दक्षिण अमेरिकी मुलुकमा उत्पादन हुने कोकिन ल्याउन विदेशी गिरोह नै सक्रिय हुँदै आइरहेका छन् ।

लागुऔषध कोकिन अत्यन्तै महँगो मध्येको लागुऔषध पदार्थमा पर्दछ । यसरी नेपाल ल्याइने कोकिन कतारको दोहा, यूएईका विमानस्थलमार्फत नेपाल ल्याइने गरिएको छ । त्यहाँबाट भारत लगिने गरेको खुलासा भएको छ ।

‘ट्रान्जिट प्वाइन्ट’ नेपाल तर, जाँच्ने मेसिन नै छैन

यो त पछिल्लो घटना हो । पछिल्लो समय लागुऔषधको कारोबारी निरन्तर पक्राउ परिरहेका छन्, विभिन्न किसिमका लागुऔषधसहित ।

घटनाको विश्लेषण गर्दा लागुऔषधको कारोबारमा संलग्न विदेशी नागरिकले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका देखिन्छन् । मुख्यगरी कोकिन नामको लागुऔषधलाई नेपालको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गरेको लागुऔषध अनुसन्धान ब्यूरोले बताएको छ ।

हवाई यातायातमार्फत नेपाल आउँछन् । खुला सिमानाको प्रयोग गरेर भारत लैजान्छन् । भारतको विमानस्थलमा लागुऔषध बोकेको थाहा हुन्छ । त्यो प्रविधि राखिएको छ । तर, नेपालको विमानस्थलमा छैन ।

यसैले विदेशबाट नेपाल ल्याएपछि सिमानाबाटै भारत लगिन्छ । आफूले ल्याएका पदार्थ नेपालबाट भारततर्फ निर्यात गर्न सहज हुने भएपछि विदेशी नागरिकले नेपाललाई लागू औषधको ट्रान्जिट प्वाइन्ट बनाउँदै लगेका देखिन्छन् ।

ब्यूरोका एसएसपी कोइराला भन्छन्, “विमानस्थलमा एक्स्रे मेसिन छ । त्यहाँ लगेज र झोलाभित्रको मेटललगायत अरू वस्तुहरू थाहा हुन्छ । तर, यहाँको मेसिनले कतिपय लागुऔषध रहेको पत्ता लाग्दैन । मान्छेलाई चेक गर्ने मेसिनले पनि मेटल मात्रै थाहा पाउँछ । पेटभित्र भित्र निलेर राखिएको लागुऔषध थाहा पाउँदैन । पत्ता लगाउने मेसिन महँगो हुन्छ । त्यो हामीकहाँ छैन ।”

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख कोइराला नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा बिन्दुका रूपमा भने विदेशी नागरिकले प्रयोग गर्दै आएको देखिएको बताउँछन् ।

उनी भन्छन्, “नेपाल मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ नभए पनि एउटा बिन्दु भने पक्कै देखिन्छ । यो प्रक्रियामा ओसारपसारमा रहेको एकले अर्कोलाई चिन्दैनन् । गिरोहका नाइकेले उनीहरूलाई सामाजिक सञ्जालबाटै सम्पर्क गराइदिन्छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved