आलेख

अहिलेको अवस्थामा आदिवासी जनजातीय विशिष्टताको सवाल

आदिवासी जनजाति एवम् दलित समुदायका निमित्त वैज्ञानिक समाजवाद पनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अथवा सुशासन जस्तै दलाल पुँजीवादी चरित्रमा पतन हुने  प्रष्ट छ। श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्त नागरिकलाई ढाँट्न मात्र वैज्ञानिक समाजवादको नारा दिने हो भने त्यो वस्तुतः राजनीतिक अपराध ठहर्छ ।

अहिलेको अवस्थामा आदिवासी जनजातीय विशिष्टताको सवाल

फ्रेडरिक एङ्गेल्सकृत रचना ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’सम्बन्धी समाजशास्त्रीय सिद्वान्त विकासमा योगदान मार्क्सवादको तीन संघटक अङ्गमध्ये एक वैज्ञानिक समाजवाद हो, जसका निम्ति मानवीय समाजको विज्ञानसंगत अध्ययन अनुसन्धान गरिन्छ ।

कार्लमार्क्सले दर्शन र मुख्यतः राजनीतिक अर्थशास्त्रको अनुसन्धानमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुपरेको हुँदा समाजशास्त्रीय अध्ययन र व्याख्यामा पर्याप्त समय दिन सकेनन् । परन्तु, फ्रेडरिक एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पुस्तक रचनाबाट त्यसको गहनतम् आपूर्ति भयो। यसरी एङ्गेल्सको प्रस्तुत रचनालाई मार्क्सवादी समाजशास्त्रीय ग्रन्थका रूपमा स्वीकार गरिन्छ।

सार्वभौम चरित्रमा एङ्गेल्सको समर्थन गर्दै विभिन्न ऐतिहासिक समाजको विशिष्ट चरित्रको सन्दर्भमा भने दिक र कालको मागअनुरूप थप विकास गर्दै अघि बढ्नु प्रत्येक मार्क्सवादीको दायित्व हुन आउँछ । तब एङ्गेल्सको समाजशात्रीय अध्ययन कार्यलाई समृद्व पार्दै वैज्ञानिक समाजवादको मार्ग फराकिलो तुल्याउन सकिन्छ । यसै उद्देश्यले उपरोक्त सन्दर्भमा थप गर्नुपर्ने विशिष्ट जनजातीय एवम् दलित सवालवारे नितान्त संक्षेपमा यहाँ नयाँ खोज-अवधारणा प्रस्तुत गरिएको छ ।

१. फ्रेडरिक एङ्गेल्सको समाजशास्त्रीय रचनाबारे

‘प्राचीन समाज’ शीर्षक लुईश मोर्गनको अनुसन्धान पुस्तकलाई समर्थन गर्दै मुख्यतः त्यसैका आधारमा लेखिएको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ बाट एङ्गेल्सले बाखोफन र मक लेननको भने झाँको झारेका छन्।

त्यसो गर्नुको मूल उद्देश्य समाजको विकासक्रममा परिवारको स्थापनाबाट निजी सम्पति सम्बन्ध स्थापना भएको र निजी सम्पति सम्बन्धका कारण उत्पीडनकारी राज्यको उत्पति भएको ऐतिहासिक सच्चाइ शिद्व गर्नु थियो । एङ्गेल्सको रचनाबाट सो उद्देश्य अत्यन्त सानदाररूपमा पूर्ण गरिएको पनि छ।

ऐतिहासिक विकासक्रममा समाज आदीम सामुदायिक व्यवस्थाबाट दास-मालिक व्यवस्थामा, दास-मालिकबाट सामन्ती व्यवस्थामा र सामन्ती व्यवस्थाबाट पुँजीवादी व्यवस्थामा परिणत भएको तथ्य सर्वत्र स्थापित छ । आदीम सामुदायिक व्यवस्था (आदीम साम्यवाद) मा मानव जातिकाबीच सामूहिक श्रमद्वारा बस्ने घर निर्माण तथा खाद्य वस्तु र कपडा उत्पादन एवम् समतायुक्त वितरण प्रणाली रहेको थियो। जहाँ सम्पतिका नाममा निजी भन्ने कसैको केही हुँदैनथ्यो ।

त्यसैले आदीम साम्यवादी समाजव्यवस्थामा मानिसले मानिसको विरुद्व, पुरुषले महिला विरुद्व शोषण, उत्पीडन गर्न पाउँदैन अथवा सक्दैनथ्यो । यो तथ्य मोर्गनको खोजबाट शिद्व गरिएको छ कि लाखौंको जनसंख्यामा रहेका ईरोक्वा तथा पुनालुआ जातिको समुदायमा आज भन्दा ठिक अढाइ सय वर्षअघिसम्म आदीम साम्यवादी समाजव्यवस्था विद्यमानरूपमा सुरक्षित थियो ।

जब यूरोपेलीहरूले सैनिक कब्जा जमाएर त्यस महादेशलाई अमेरिका नामाकरण गर्दै उग्र पुँजीवाद थोपरे, आफ्नो प्राकृतिक साम्यवादी व्यवस्थासँगै आदिवासीहरू चरम् विनाशको सिकार बन्न अभिशप्त रहे ।

मार्क्सवाद वस्तुतः निजी सम्पति सम्बन्धको उत्कर्ष पुँजीवादी अन्तर्विरोध हल गर्ने विज्ञान हो । त्यसैले दर्शन, राजनीतिक अर्थशास्त्र एवम् समाजशास्त्र जस्ता तीनै संघटक अंगबाट मार्क्सवादले पुँजीवादी राज्यव्यवस्थामाथि हमला केन्द्रित गर्दै निजी सम्पतिविहीन साम्यवादमा पुग्न वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्रस्तावित गर्‍यो।

यस ऐतिहासिक तथ्य शिद्विका निम्ति मोर्गनको खोजले उत्तम सेवा पुर्‍यायो भने हजारौं वर्ष अघि एथेन्सको मातृसत्तात्मक डेमोट प्रणालीलाई पनि एङ्गेल्सले समतुल्य प्रस्तुत गरेका छन्। जसबाट मानव जातिको आदीम साम्यवादी स्वरूपलाई स्पष्टसँग बुझ्न सकियोस् ।

एङ्गेल्स समाजशास्त्रीय इतिहासको उपरोक्त परिचयबाट भन्न यो खोजिएको हो कि आदीम साम्यवादको विस्थापनद्वारा निजी सम्पति सम्बन्धका दास-मालिक प्रथा, सामन्तवाद र पुँजीवादका युगहरू सार्वभौमस्तरमा सत्य हुन् ।

तर, विद्यमान आदिवासी जगत र दक्षिण एसियाको जातव्यवस्थाग्रस्त समाजका आफ्ना मौलिक विशिष्टता छन्। अतः यी विशिष्टताहरूको अध्ययन गरि वर्गसंघर्षको वस्तुसंगत रणनीति र कार्यनीति निर्धारण गर्नेमा मार्क्सवादीले सामर्थ्य आर्जन गर्नै पर्दछ ।

२. सार्वभौम युगहरूभित्र आदिवासी जगतका विशिष्टताहरू

उदाहरणका लागि डेमोट प्रणाली अख्तियार गर्ने एथेन्सवासीहरूले स्वयम्‌को विकास प्रकृयामा आदीम साम्यवादी समाजव्यवस्थाको विकल्प खोज्दै निजी सम्पति र पितृसत्तात्मक समाजतर्फ फड्को मारे । परिणामत: त्यहाँ दास-मालिक प्रथा सुरू भयो । यद्यपि त्यो एथेन्सवासीकै निर्णयमा भयो।

सामन्तवाद र पुँजीवादको अभ्यास पनि एथेन्सवासी स्वयम्‌ले गरे। यसरी स्वयम्‌को निर्णय र नेतृत्वमा अघि बढ्न पाउँदा एथेन्सवासीले आफूलाई (साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन प्रणाली र एकल मनोवैज्ञानिक संरचनायुक्त) स्वतन्त्र राष्ट्रको रूपमा विकसित गर्न सके। जुन, राष्ट्र निर्माणको सार्वभौम विकास प्रकृया बन्यो।

तर, विश्व्यापी आदिवासी समाजको इतिहास नितान्त पृथक रह्यो ।

यूरोपेली कोलोम्बसको अमेरिका चढाइ र त्यसले थोपरेको पुँजीवादी अर्थ-राजनीतिले आदिवासी जगतको सर्वनाश गर्‍यो। त्यहाँस्थित पचासौं लाख आदिवासी जनताको चिहानमाथि साम्राज्यवादी-संयुक्त राज्य अमेरिका उग्राएर बसेको छ ।

भन्न खोजिएको यो कि— त्यहाँस्थित आदिवासीले दास-मालिक प्रथा र सामन्तवादको अभ्यास अगावै वैदेशिक पुँजीवादको आक्रमण भोग्नु पर्‍यो । आदीम साम्यवादी जीवनले सिधै पुँजीवादी प्रकोप व्यहोर्नुपर्‍यो । परिणाम, आदीम समाजव्यवस्थासँगै आदिवासीको अस्तित्व ध्वस्त पार्ने पुँजीवादी अपराधहरू भए ।

नेपालका आदिवासी जनजातिले पनि स्वयम्‌को नेतृत्वमा दास-मालिक युगको अभ्यास गर्न पाएनन् । उनीहरू सिधै सामन्तवादको सामना गर्न अभिशप्त भए, त्यो सामन्तवाद जातव्यवस्था (दास-मालिक अवशेष) को गोर्खाली सामन्ती राज्य विस्तारमा आधारित थियो।

राउटे र कुसुण्डाको ऐतिहासिक सन्दर्भमा त झन् आजको दलाल पुँजीवादी आक्रमण अमेरिकास्थित आदिवासी जीवनमाथि वैदेशिक पुँजीवादी आक्रमणको समतुल्य छ, जसले स्वयम्‌को नेतृत्वमा दास-मालिक तथा सामन्तवादको अभ्यासअगावै एक्कै चोटी पुँजीवादको मार भोग्नु परेको छ ।

समग्रमा दास-मालिक, सामन्ती र पुँजीवादी युग जस्ता तीनवटै सामाजिक चरणको स्वतन्त्रतापूर्वक नेतृत्व गर्ने ऐतिहासिक प्रकृयाबाट यहाँका आदिवासी जनजाति समुदाय पूर्णतया वञ्चित रहँदै आएका छन् । उनीहरूमाथि राजनीतिक, आर्थिक, साँस्कृतिक उत्पीडनको ऐतिहासिक भौतिकवादी कारण यो हो।

अतः आदिवासी जनजातिको मुक्ति आन्दोलनलाई हेर्ने दृष्टिकोणमा प्रस्तुत ऐतिहासिक भिन्नता अथवा विशिष्टतालाई स्वीकार गर्ने ईमान्दार शाहस सच्चा मार्क्सवादीले प्रदर्शन गरेको हुनै पर्दछ ।

त्यस्तै, आदिवासी जनजातिले पनि दास-मालिक प्रथा, सामन्ती अवशेष र विद्यमान दलाल पुँजीवादी आक्रमणका कारण आफ्नो सामुदायिक अधिकार हरण भएको तथा आफूहरू राज्यविहीन बन्न पुगेको ऐतिहासिक सच्चाइ स्थापित गर्ने भौतिकवादी दृष्टिकोण अख्तियार गर्नुपर्दछ। बल्ल जातीय मुक्तिसहितको समाजवादी क्रान्तिले आफ्नो अपरिहार्यता जाहेर गर्न सक्दछ ।

उदाहरणका लागि चीनस्थित हेचेलगायत सीमान्तकृत जातिको स्थिति पनि दास-मालिक तथा सामन्ती युगबाहिर नै थियो । तर, माओत्सेतुङको समाजवादी व्यवस्थाले ती जातिहरूको योजनाबद्व रक्षा र राजकीय विकासको मार्गदर्शन सुनिश्चित गर्‍यो ।

३. हिन्दु जातव्यवस्थाको ‘कोरोन’ प्रकोप

दक्षिण एसियाली समाजमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको जातव्यवस्थाले वर्गसंघर्षलाई सरल रेखामा हिँड्न दिएको छैन । यो पनि एक विशिष्ट सवाल हो। राहुल सांकृत्यानअनुसार ३,५०० वर्षअघि वेदको रचना भयो । तर, गैरब्राम्हणले वेद पढ्न पाएको अद्यावधि सय वर्ष पनि पुगेको छैन।

परमब्रम्हवादबाहेक पाँच वेदमा कैयन् ज्ञानवर्द्वक शिक्षाहरू हुन सक्दछन् । परन्तु, त्यसको पठनपाठन अधिकार राज्यसत्ताको बलमा ब्राम्हणमा सीमित तथा आम जनतालाई भने युगौं बर्जित गरियो। जसले, वैदिक ज्ञानलाई सीमित ब्राम्हणको नियन्त्रणमा कुण्ठित गर्‍यो, सर्वत्र अध्ययन तथा प्रचार प्रशार अवरुद्व तुल्यायो। र, वैदिक दर्शनका जो चाहिने ज्ञानलाई सर्वग्राह्य बन्नबाट बलात् रोक्यो।

ब्राम्हणवादी जातव्यवस्थाको दुसाध्यता त्यो हो, जसका कारण आदिवासी जनजातिहरू एवम् जातव्यवस्थाको सिकार बनेका दलितहरू अस्तित्वमान रहेको समाज ठाडो र तेर्सो गरी चार चिरामा विभाजित हुन्छ।

परिणाम, जातीय उत्पीडन नभएको समाजमा वर्गीय अन्तर्विरोध तलदेखि माथि-ठाडो चिरा परेको अवस्थामा हुन्छ र वर्गसंघर्षको विद्युतीय तरङ्ग सामान्यतः सरल रेखामा बग्दछ भने जातीय उत्पीडनग्रस्त मुलुकमा अर्थ-राजनीतिक अन्तर्विरोध ठाडोमाथि खप्टिएको तेर्सो घेराबन्दी हुन्छ र त्यसले वर्गसंघर्षको विध्यूतीय तरङ्गलाई बक्र रेखामा जबरजस्त धकेल्छ । जसले, गुणात्मक परिवर्तनको जनक्रान्तिलाई कमजोर तुल्याउने गर्दछ। यस्तो सातपत्रे अन्तर्विरोधको निवारण लेनिनको सहयोगबाट मात्र सम्भव हुनेछ ।

‘राष्ट्रीय नीति तथा सर्वहारा अन्तर्राष्ट्रवादको प्रश्न’ शीर्षक आफ्नो प्रशिद्व रचनामा लेनिन लेख्दछन्— “वर्गीय प्रश्नमा जसरी मजदुर र पुँजीपतिबीच यथास्थितिमा एकता हुन सक्दैन, ठिक त्यसरी नै जातीय प्रश्नमा उत्पीडक जाति र उत्पीडित जातिवीच यथास्थितिमा एकता हुन सक्दैन । यो भिन्नता बुझ्नु (सामन्तवाद र पुँजीवाद विरोधी) सर्वहारा अन्तर्राष्ट्रवादको कर्तव्य हो ।”

साथसाथै, एक मार्क्सवादीले कथित पानी चल्ने जनजाति र दलितबीच पनि यथास्थितिमा एकता हुन सक्दैन भनेर बुझ्नु पर्दछ । यसरी समाजको वस्तुनिष्ठ विश्लेषणबाट मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा प्रतिबद्व मार्क्सवादीले सातपत्रे अन्तर्विरोधको पहिचान र हल गर्न सकिन्छ ।

अतः वैज्ञानिक समाजवादको कार्यक्रम निर्धारण गर्दा सामाजिक विकासको चरणमा युगहरूका कारण पछि परेको भनी ठानिने समुदायका निमित्त इतिहासको क्षेतिपूर्तिसहित स्पष्ट सुरक्षित भविष्य मार्गर्शनको राज्यव्यवस्था अख्तियार गरेको हुनै पर्दछ ।

अन्यथा आदिवासी जनजाति एवम् दलित समुदायका निमित्त वैज्ञानिक समाजवाद पनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अथवा सुशासन जस्तै दलाल पुँजीवादी चरित्रमा पतन हुने  प्रष्ट छ। श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्त नागरिकलाई ढाँट्न मात्र वैज्ञानिक समाजवादको नारा दिने हो भने त्यो वस्तुतः राजनीतिक अपराध ठहर्छ ।

अन्त्यमा, समाज विकासका चरणहरूको परिभाषित युगहरूभन्दा बाहिर देखिनु आदिवासी जनजातिको दोष या अयोग्यता हुन सक्दैन । जुन भूमिलाई उनीहरूका पूर्खाले खनिखोस्री आवाद गरेर मानव वस्तीयोग्य बनाएका थिए, बरु त्यो भूमि खोसिनुचाहिँ जघन्य थियो, आदिवासीमाथि बाह्य औपनिवेशिक आक्रमणको अपराध थियो ।

प्रकृतिसँग घनिष्ठ सम्बन्ध बाँधेर अस्तित्वमान रहेका आदिवासीहरूको सामुदायिक जीवनमाथि बाह्य आक्रमण गरी उनीहरूको भूमिसहित साँस्कृतिक ज्ञान ध्वस्त पर्ने उपनिवेशवादीहरूको विनाशकारी हस्तक्षेपकै कारण सर्वत्र प्रकृतिको विनाश भइरहेको छ र जीवन र जगतको अस्तित्वलाई संकटग्रस्त तुल्याइरहेको मात्र छ ।

अतः प्रकृतिसँग मानव जातिको सम्बन्ध पुनःनिर्माणका निमित्त पनि जिम्मेवार मार्क्सवादीले आदिवासी तथा दलितको सर्वाङ्गिण राजकीय अधिकारको पक्षमा दृढतापूर्वक लड्न सक्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved