धनुषाका ४ क्षेत्र : धेरै हेभिवेट नेताको सांसद बन्ने सपना दाउमा

प्रतिस्पर्धामा मातृका यादव, अनिल झा, जुली महतोदेखि रघुवीर महासेठसम्म

अघिल्ला निर्वाचनहरूमा धनुषामा मधेस केन्द्रित दलको दबदबा रहँदै आएको थियो । तर, ती दलमा आएको विभाजनको लाभ लिन यसपटक अन्य दल जोडतोडले लागेका छन् । धनुषामा क्षेत्रगत रूपमा कस्तो प्रतिस्पर्धा हुँदैछ ? बुझौं ।

धनुषाका ४ क्षेत्र : धेरै हेभिवेट नेताको सांसद बन्ने सपना दाउमा

जनकपुरधाम । धनुषामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । हेभिवेट नेताले उम्मेदवारी दिएकाले धनुषाको चुनावी माहोल तातेको छ ।

एकातिर सत्ता गठबन्धन र अर्कातिर एमाले-जसपा गठबन्धन सबै शक्तिसहित चुनावी मैदानमा होमिएका छन् । यसपटक मधेस केन्द्रित दलले गठबन्धनको कित्ता फेर्दा ‘हेभिवेट’ धेरै नेताको सांसद बन्ने सपना दाउमा लागेको छ। दुईजना हेभिवेट नेता एउटै निर्वाचन क्षेत्रबाट उठ्दा एकजनाले हार्ने निश्चित भएको छ ।

अघिल्ला निर्वाचनमा धनुषामा मधेस केन्द्रित दलको दबदबा रहँदै आएको थियो । तर, ती दलमा आएको विभाजनको लाभ लिन यसपटक अन्य दल जोडतोडले लागेका छन् । धनुषामा क्षेत्रगत रूपमा कस्तो प्रतिस्पर्धा हुँदैछ ? बुझौं ।

क्षेत्र नम्बर- १ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनुषा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार बनेर विजयी भएका यादव यसपटक सत्ता गठबन्धनबाट मैदान ओर्लिएका हुन् । गत निर्वाचनमा उनी २६ हजार ४ सय १८ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २ सय ९६ मत प्राप्त गरेका थिए ।

कार्की एमालेको समेत समर्थनमा यसपटक जसपाको उम्मेदवार छन् । यस्तै, गत निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य बनेका किशोरी साह यसपटक जनमत पार्टीबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । त्यसैले, यो क्षेत्रमा यादव, कार्की र साहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

क्षेत्र नम्बर-२ मा तीन पूर्वमन्त्रीको लडाइँ 

धनुषा २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन पूर्वमन्त्री सहित चार जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट पूर्व कृषिमन्त्री रामकृष्ण यादव, एमालेबाट पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरिया, नेकपा (एकीकृत समाजवादी) बाट पूर्वस्थानीय विकासमन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा) बाट गंगाराम यादव चुनावी प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा गत निर्वाचनमा अरगरियाले संघीय समाजवादी फोरमबाट जित निकालेका थिए । उनले ३२ हजार ४४ मत ल्याएर विजयी भएका थिए । उनी अहिले एमालेबाट उम्मेदवार बनेका छन् । एकीकृत समाजवादीका उम्मेदवार झा अघिल्लो निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका थिए। उनले १८ हजार ७ सय १५ मत प्राप्त गरेका थिए । कांग्रेसका उम्मेदवार यादव गत निर्वाचनमा १५ हजार ४ सय ४२ मत पाएर तेस्रो स्थानमा थिए ।

यसअघि, नेकपा एमालेमा रहेका गंगाराम यादव यसपटक जसपाको उम्मेदवार बनेका छन् । यो क्षेत्रमा दुवै गठबन्धनले हावा खाएका छन् । पछिल्लोपटक लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा रहेका निवर्तमान सांसद अरगरियालाई एमालेले टिकट दिने भनेर पार्टी प्रवेश गराएको थियो । यस्तै, जसपाले गंगारामलाई पनि टिकट दिने भन्दै पार्टीमा ल्याएको थियो ।

उता रामचन्द्र झा पनि यसपटक एकीकृत समाजवादीबाट टिकटका आकांक्षी थिए । सत्ता गठबन्धनमा यो क्षेत्र कांग्रेसलाई परे पनि झा ले पनि उम्मेदवारी दिए । एमाले र जसपाबीच पनि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । त्यसैले धनुषा दुईमा यसपटक चौपक्षिय प्रतिस्पर्धा हुने वातावरण बनेको छ । जसमा तीनजना पूर्व मन्त्रीको भविष्य दाउमा लागेको छ ।

क्षेत्र नम्बर ३ मा जुली महतो र अनिल झाबीच सीधा टक्कर 

धनुषा क्षेत्र नं. ३ मा एमालेकी जुलीकुमारी महतो र लोसपाका अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता झा र विपक्षी गठबन्धनबाट नेकपा एमालेकी महतो उम्मेदवार बनेका हुन् । दुवै  निवर्तमान सांसद र पूर्वमन्त्री हुन्।

महतो २०७० को दोश्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित भएकी थिइन् । यस क्षेत्रमा प्रत्यक्षतर्फ सधैंजसो कांग्रेस उम्मेदवार बन्ने निधि यसपटक समानुपातिकमा बसेका छन् । २०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रतिस्पर्धामा छैनन् ।

गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट राजेन्द्र महतोले कांग्रेस नेता निधिलाई २ हजार ९०३ मतान्तरले हराएका थिए । महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधी २७ हजार ८४७ मतमा सिमित भएका थिए।

गत स्थानीय तहको नतिजा हेर्ने हो भने भने यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । वडाका आधारमा उसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४, एकीकृत समाजवादीले ३ हजार ७१३ र लोसपाले १ हजार १६३ मत मात्रै प्राप्त गरेको छ । कांग्रेस एक्लैले ३८ मध्ये १९ वडा जितेको छ । 

निधि समानुपातिकमा छन् भने महतोले गृह जिल्ला सर्लाही- २ मा उम्मेदवारी दिएका छन् । गत चुनावमा एमालेले आन्तरिकरूपमा राजेन्द्रलाई सहयोग गरेको थियो । अहिले जुलीलाई गुन तिर्न राजेन्द्र बाहिरिएको चर्चा पनि हुने गरेको छ । तर लोसपाका आफ्नै उम्मेदवार भएकाले त्यो सम्भावना कम हुने राजनीतिक विष्लेषक बताउँछन् ।

झा २०७४ को निर्वाचनमा रौतहट-१ बाट निर्वाचित भएका थिए । यसपटक भागबण्डामा रौतहट-१ मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल उम्मेदवार बनेपछि उनले धनुषा ३ रोजेका हुन् । धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । यस्तै, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया र धनौजी गाउँपालिका तथा विदेह नगरपालिकाको एउटा वडा यस क्षेत्रमा पर्छ ।

गत स्थानीय तहको नतिजा हेर्ने हो भने भने यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । वडाका आधारमा उसको २२ हजार ४२९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २२४, एकीकृत समाजवादीले ३ हजार ७१३ र लोसपाले १ हजार १६३ मत मात्रै प्राप्त गरेको छ । कांग्रेस एक्लैले ३८ मध्ये १९ वडा जितेको छ ।

कांग्रेसले यसपटक लोसपालाई समर्थन गरेको छ । त्यसैले उसको मत नै निर्णायक हुने ठानिएको छ । कुल मत जोड्दा सत्ता गठबन्धन नै बलियो देखिन्छ । चुनावमा आफ्नो तर्फबाट अन्तरघात हुने कुनै सम्भावना नरहेको कांग्रेस नेता रामसरोज यादव बताउँछन् । उनले पनि यही क्षेत्रमा प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

जुली पनि आफू जित्नेमा ढुक्क रहेको बताउँछिन ।  झा लाई भने गठबन्धनको भर छ । सत्ता गठबन्धनको भारी मत भएकाले आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् ।

क्षेत्र नम्बर ४ मा रघुवीरलाई महेन्द्रको चुनौती 

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि महेन्द्र यादव र रघुवीर महासेठबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा पनि यी दुई बीचमै प्रतिस्पर्धा भएको थियो । त्यसबेला महासेठले वाम गठबन्धनको बलमा महेन्द्रलाई हराएका थिए ।

महासेठले २२ हजार ५३२ र महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए । यसपटक भने यो निर्वाचन क्षेत्रको राजनीतिक समीकरण भिन्न छ। कांग्रेसका महेन्द्रलाई लोसपा र माओवादी केन्द्रको साथ छ। महासेठ एमालेका मात्रै उम्मेदवार हुन्। यहाँ जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रमा जसपा र एमाले बीच मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको छ। त्यसैले, यसपटक महासेठलाई चुनाव जित्न विगतको जस्तो सहज नहुने विष्लेषकको आँकलन छ । जसपासँग पनि तालमेल नहुँदा महासेठलाई थप समस्या परेको छ ।

धनुषामा ३ सय २२ मतदान स्थल र ६ सय ५ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा २ लाख ५२ हजार ९ सय १५ पुरुष, २ लाख २१ हजार ६ सय ६५ महिला र अन्य ७ गरी कुल ४ लाख ७४ हजार ५ सय ८७ जना मतदाता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved