संसद्‌मा रवि लामिछानेको ‘कम्ब्याक’

नेपालभ्युज

संसद्‌मा रवि लामिछानेको ‘कम्ब्याक’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा ‘कम्ब्याक’ गरेका छन्।

गत मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ पुनःउपनिर्वाचन भएको हो। अदालतको माघ १३ मा फैसला आउँदा रवि उपप्रधान तथा गृहमन्त्री थिए।

अदालतको फैसलापछि एकै झट्कामा उपप्रधान तथा गृहमन्त्री,सांसद र पार्टी सभापति पदसमेत गुमेको थियो। माघ १५ मा नागरिकता पुनःप्राप्तिपछि उनी पार्टी सभापतिमा भने सोही दिन पुनःपदवहाली भएका थिए।

नेपाली नागरिकता त्यागेर अमेरिकी ग्रिनकार्ड र राहदानी लिएपछि नेपाल फर्केर पुनःप्राप्तिको निवेदन नदिएको भन्दै अदालतले उनको २०५० सालमा लिएको नागरिकतालाई मान्यता नदिँदा लामिछानेको यी सबै पद गुमेको थियो।

यो उपनिर्वाचन जितेपछि रवि लामिछानेको लागि प्रतिनिधिसभाको ढोका खुलेको छ। साथमा उनले एक सिट थप्न सफल भएका छन्। रविसँगै तनहुँ १ बाट स्वर्णिम वाग्लेले पनि चुनाव जितेका छन्। अब संसदमा रास्वपाको २१ जना सांसद हुनेछन्।

लामिछानेको संसदमा धमाकेदार ‘इन्ट्री’ भएसँगै सत्तामा समेत उनको बलियो दाबी रहन सक्नेछ। गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणाले बढाउन सफल भए।

मंसिरमा उनका प्रतिस्पर्धीले १४ हजार मत ल्याउँदा रविले ४९ हजार ल्याएका थिए। यो उपनिर्वाचनमा रविले ५० हजार मत कटाउँदा प्रतिस्पर्धीले १० हजार पुर्‍याउन हम्मे-हम्मे भयो।

रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले निर्वाचनमा मतदाता नै निर्णायक हुने भन्दै हारजितलाई सहजरूपमा लिने र मतदाताको दुःख-सुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved