उपनिर्वाचनमा रास्वपाले ९२ हजार मत ल्याउँदा राप्रपाले ७१२ र स्वतन्त्रले जम्मा २ मत ! (कसको कति ?)

नेपालभ्युज

उपनिर्वाचनमा रास्वपाले ९२ हजार मत ल्याउँदा राप्रपाले ७१२ र स्वतन्त्रले जम्मा २ मत ! (कसको कति ?)

काठमाडौ‌ं। बारा, चितवन र तनहुँ गरी तीन क्षेत्रमा वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै ९२ हजार मत ल्याउँदा संसदमा पाँचौं शक्तिको रूपमा रहेको राप्रपाले जम्मा ७१२ मत मात्रै ल्याएको छ।

संघीयता र धर्मनिरपेक्षता विरोधी र राजसंस्थाको पक्षधर पार्टी राप्रपाले तीन जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट जम्मा ७१२ मत पाउँदा केही आफूलाई लोकप्रिय भन्दै स्वतन्त्र उठेका उम्मेदवारले २ मत मात्रै पाएका छन्।

यो निर्वाचनमा रास्वपाले तीन क्षेत्रबाट ९१ हजार ९२४ मत ल्याउँदा नेकपा एमालेले तीनवटै क्षेत्रबाट जम्मा २९ हजार ६०४ मत मात्रै पाएको छ। यसैगरी, चितवन र तनहुँमा गठबन्धनको साझा उम्मेदवार रहेको कांग्रेसको पनि अवस्था उस्तै छ। कांग्रेसले २ क्षेत्रमा गरी ३१ हजार ३३६ मत पाएको निर्वाचन आयोगको तथ्यले देखाउँछ।

यो उपनिर्वाचनमा तीन क्षेत्रका ५६ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्। आयोगका अनुसार रानीतिक दल र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा तीन वटै क्षेत्रबाट ६५ जना उम्मेदवार थिए।

उपनिर्वाचनको परिणामअनुसार चितवन २ बाट रास्वपाका सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाकै डा. स्वर्णिम वाग्ले निर्वाचित भए भने बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भए। बाँकी ६२ उम्मेदवार मध्य एमालेका ३,कांग्रेसका २ र जनमत पार्टीका १ उम्मेदवारले मात्रै जमानत जोगाउन सके ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन्।

यसैगरी, चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मात्रै जमानत जोगाए भने बारा-२ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलले जमानत जोगाए।

चितवन र तनहुँमा शानदार जीत हात पारेको रास्वपाले बारा २ मा भने जमानत जोगाउन सकेन । यहाँ नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेल उम्मेदवार थिए। उनले जम्मा २ हजार ८२९ मत मात्रै पाए।

उपनिर्वाचनमा कतिपय उम्मेदवारले भने आफ्नै परिवारका सदस्यको समेत मत पाउन सकेनन्। त्यसको उदाहरण बारा-२ का छोटेलाल महतो कोइरीले ४ मत पाउँदा सिगारी देवी, विनोद कुमार कर्णले ३-३ र राधिका न्यौपाने साहले २ मत मात्रै पाइन्।

प्राय: डमी उम्मेदवारको रूपमा उठेका बाराका अधिकांश उम्मेदवार १० भन्दा पनि कम मतमा सीमित देखिए। उमेशप्रसाद यादव, जितेन्द्रप्रसाद यादव, उमाकुमारी कुशवाहा, शम्भुप्रसाद तेली, सुरेन्द्रकुमार सिंह, दुर्गाप्रसाद कोइरी, दिनेशप्रसाद यादव, सुरज साह तेली र रामबालक महरा चमारले १० मत कटाएनन्।

त्यसैगरी, चितवनमा पनि स्वतन्त्र उम्मेदवारहरू रामकृष्ण ओझाले ९ मत ल्याउँदा सन्तोष थापाले ३ र ताराप्रसाद पौडेलले २ मत पाए । तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का गणेश श्रेष्ठले ५ मत मात्रै ल्याएको आयोगको रिपोर्टमा देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved