नेपाली फुटबलमा अल्मुताइरीको आगमन र बहिर्गमनका केही कारकतत्व

निकै नै विश्वास गरेर दोस्रो पटक सम्झौता गरेका अल्मुताइरीले अहिले राजीनामा दिएका छन् । यसमा उनको आफ्नै अहमता, एन्फाको आन्तरिक राजनीति र खेलाडीसँगको सम्बन्ध जस्ता विषय जोडिएर आउँछन् ।

नेपाली फुटबलमा अल्मुताइरीको आगमन र बहिर्गमनका केही कारकतत्व

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएका छन् । आइतबार सामाजिक सञ्जालबाट उनले राजीनामा घोषणा गरे ।

‘नेपाली फुटबललाई ५२५ दिन सेवा प्रदान गरेपश्चात् नेपाल राष्ट्रिय टोलीको प्रशिक्षकको कार्यकाल समाप्ती भएको घोषणा गर्न चाहन्छु । माया, दुःख, खुसी र पीडाको साथ मेरो यात्रामा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद । एक टिम, जय नेपाल ।’ उनले लेखेका छन् ।

अल्मुताइरीको राजीनामासँगै अहिले उनको कार्यकालबारे समीक्षा भइरहेको छ । नेपाली फुटबल टोलीको छवि रक्षात्मक थियो । प्रशिक्षक अल्मुताइरीले यो शैलीमा परिवर्तन गरेर केही आक्रामक बनाए । तर, खेल्ने शैली परिवर्तनसँगै अल्मुताइरीको कार्यकालमा फुटबलभित्रको राजनीति, खेलाडीको अवस्था, एन्फाको व्यवस्थापन लगायतका विषय पनि प्रस्टरूपमा बाहिर आए ।

अखिल नेपाल फुटबल संघ एन्फाले अल्मुताइरीलाई २०७७ चैत्र २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ‘खेल जिते खेलाडीलाई श्रेय, पराजयको दोष भने मलाई’ भन्ने प्रशिक्षक अल्मुताइरीको बारम्बारको भनाइ निकै चर्चित थियो ।

नेपाल आएको करिब ३ महिनापछि नै उनले आफू लामो समय प्रशिक्षक नहुने जनाउ दिइसकेका थिए । उनको कार्यकाल धेरैजसो विवादमा परिरह्यो । सुरुवाती दिनमा अल्मुताइरीले नेपाली मिडियाले खेलाडीलाई हतोत्साही गर्ने शैली छोड्नुपर्ने प्रतिक्रिया दिए ।

अल्मुताइरीले साफ जिते पनि नजिते पनि, एसिया कपमा छनोट भए पनि नभए पनि आफू नेपाली फुटबलमा सधैँ रहिरहने भावनात्मक कुरा पनि गरे । उनले सुरुमा निकै वाहवाही बटुले ।

अल्मुताइरीका केही उपलब्धि

अल्मुताइरीको प्रशिक्षणमा नेपालले फिफा मान्यताप्राप्त भएको १७ आधिकारिक खेल खेलेको छ । जसमध्ये १० मा नेपाल पराजित भयो भने २ खेल बराबरी र ५ खेलमा जित दर्ता गर्न सफल भयो ।

कुल खेलमा नेपालले १४ गोल गर्दा ३६ गोल खायो । उनको प्रशिक्षणमा नेपाली टोलीले कुल २२ खेल खेलेको थियो ।

अल्मुताइरीले नेपाली टोलीमा धेरै नै फेरबदल गरेका थिए । अनुभवी खेलाडीलाई बेन्चमा राखेर, बन्द प्रशिक्षणबाट बिदा दिएर, नयाँ खेलाडी छनोट गर्दै उनी अघि बढे । इराकसँगको खेलमा उनले मनीष डाँगी र गौतम श्रेष्ठलाई डेब्यु गराए । अल्मुताइरीको प्रशिक्षणमा यो नेपालको पहिलो प्रतियोगिता थियो । यसै खेलबाट नेपाली टोली बलियो बन्ने संकेत पनि देखियो ।

उनको कार्यकालमा कुल १६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । फिफा विश्वकप छनोटमा उनले कमल थापा, सुरज ठकुरी र आयुष घलानलाई मैदान प्रवेश गराए । घरेलु मैदानमा भएको भारतविरुद्धको खेलमा राजन गुरुङ, नितिन थापा र गोलरक्षक विशाल श्रेष्ठलाई डेब्यू गराए ।

मौरिससविरुद्धको खेलमा आकाश बुढामगर, नवीन गुरुङ र सुदीप गुरुङले डेब्यूको अवसर प्राप्त गरे । थाइल्यान्डमा भएको खेलमा प्रशान्त अवस्थीले अवसर पाए । गोलरक्षक दीप कार्की, नीरकुमार राई, विकास तामाङ र शिव गुरुङले पनि डेब्यू गरे । इन्डोनेसियाविरुद्धको खेलमा नीरकुमार र शिवको राष्ट्रिय टोलीको यात्रा सुरु भएको थियो ।

अल्मुताइरीले ‘ए’ डिभिजन लिग तथा अन्य विभिन्न राष्ट्रिय लिगबाट विभिन्न युवा खेलाडी छनोट गर्ने प्रवृत्तिको पनि सुरुवात गरे । उनले नेपालको फुटबल प्रदर्शनलाई दीर्घकालीन रूपमा सुधार गर्न युवा खेलाडीमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

नेपाललाई एसिया कप छनोटमा तेस्रो चरणसम्म पुर्‍याउन पनि अल्मुताइरीले सफलता पाए । यस्तै उनकै प्रशिक्षणमा नेपाली टोली २०२१ को साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्यो । २०७८ भदौमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा भने भारतसँग नेपाल पराजित भयो ।

तर, साफ च्याम्पियसिपको लामो इतिहासमा नेपालले पहिलोपटक फाइनल खेलेको थियो । यसले अल्मुताइरीको लोकप्रियता बढेको थियो । यद्यपि, उनी माल्दिभ्सबाट नेपाल नआई घर कुवेततर्फ लागे ।

सम्बन्धमा उतारचढाव 

साफपछि कुवेततिर हिडेकाले अल्मुताइरीले नेपालको प्रशिक्षण त्याग्ने हल्ला चल्यो । सामाजिक सञ्जालमा अल्मुताइरीलाई नेपाल पुनः फर्काउनुपर्ने माग बढ्न थालेको थियो । निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, युवा तथा खेलकुद मन्त्री महेश्वर जंंग गहतराजलगायत अन्य अधिकारी पनि फाइनल हेर्न माल्दिभ्स पुगेका थिए । त्यसबेला पनि अल्मुताइरीसँग छलफल भएको भनिएको थियो। अल्मुताइरी घर फर्केसँगै राजीनामाको हल्ला बढ्यो ।

यसपश्चात् मन्त्री गहतराजले नै टेलिफोन गरेर अल्मुताइरीलाई नेपाल फर्कन आग्रह गरे । लगत्तै अल्मुताइरीले अध्यक्ष शेर्पासँग भएको छलफलपछि आफूले थप ३ वर्षको लागि नयाँ सम्झौता गरेको घोषणा सामाजिक सञ्जालबाट गरे ।

त्यसपछि उनी नेपाल आए । विमानस्थलमा नेपाली समर्थकको माया र मन्त्री गहतराजको आग्रहले फर्केको बताए । निकै विश्वासका साथ सुरु भएको अल्मुताइरीको दोस्रो कार्यकाल अन्त्य भएको छ ।

राजीनामाको अवस्था कसरी आयो ? 

अल्मुताइरीको स्वभाव अलि फरक थियो । त्यसैले, उनको सबैसँग राम्रो सम्बन्ध थिएन । २०७८ साल साउनको दोस्रो साता अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई काम गर्न अनुकूल वातावरण नदिएको भन्दै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे ।

यसले एन्फाभित्रको राजनीति बाहिर आयो । उपाध्यक्ष नेम्वाङसँग उनको विवाद चलिरहेको पनि देखियो । तर, विस्तारै यो घटना सामसुम पारियो । संयोग यस्तो जुर्‍यो कि एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । सोहि समयको सेरोफेरोमा एन्फाको नयाँ कार्यसमितिमा नेम्वाङ अध्यक्षको रूपमा चयन भए । यससँगै अल्मुताइरीको कार्यकाल सकिने अनुमान गरिएको थियो । तर, पद त्याग्नेबारे अल्मुताइरी मौन नै बसे ।

यसअघि, छनोटमा जानुअगाडि नै बुबाको उपनामले सम्बोधन गर्ने राष्ट्रिय टोलीका खेलाडी र अल्मुताइरीबीचको सम्बन्ध चिसिएको थियो । होस्टलमा सुविधा नपुगेको र तालिममा समस्या भएको खेलाडीले प्रशिक्षकसँग गुनासो गरेका थिए ।

सो गुनासोलाई आफुप्रतिको विद्रोहको रूपमा हेर्दै अल्मुताइरीले गत वैशाखमा बन्द प्रशिक्षणमा रहेका टोलीका १० खेलाडीलाई होस्टेल छाड्न भने । विवादकै बिचमा अल्मुताइरीले युवा खेलाडी राखेर नयाँ टोली घोषणा गरे । एन्फाको चुनावपछि बनेको छानबिन समितिले घटनामा अल्मुताइरीलाई नै दोषी देखायो । तर, उनले भने आपत्ति जनाए ।

गत शनिबार अध्यक्ष नेम्वाङ र कतार फुटबल एसोसिएसनका अध्यक्ष हमाद विन खलिफाबीच भेटवार्ता भएको थियो । सो भेटको भोलि पल्ट अल्मुताइरीले राजीनामा घोषणा गरे । त्यसअघि, उनले ‘नेपाल एसिया कपमा छनोट हुन सक्दैन’ भनेर पनि टिप्पणी गरेका थिए । यसले वातावरण केही नकारात्मक बनेको थियो । यसले उनको प्रशिक्षणमाथि पनि प्रश्न उठाएको थियो ।

एन्फाको नेतृत्वमा आएको फेरबदल र राष्ट्रिय टोलीका खेलाडीसँग चिसिएको सम्बन्धका कारण अल्मुताइरीले राजीनामा दिएको अनुमान गर्न सकिन्छ ।

 सामाजिक सञ्जालमा अल्मुताइरीको आक्रोश 

अल्मुताइरी हरेक विषयलाई एन्फाको बैठकबाट समाधान नगरी सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्थे । यसले उनको छवि एक ‘अटेन्सन सिकर’ को जस्तो बनाएको थियो ।

कतिले त उनले सामाजिक सञ्जालको पोष्टमा भन्दा प्रशिक्षणमा ध्यान दिएको भए यस्तो दिन नआउने पनि भनाइ राखेका थिए ।

 

 

तर, किन पटक-पटक अल्मुताइरीले सामजिक सञ्जालको सहारा लिन्थे त ?

कता कता अल्मुताइरीले एन्फामा काम गर्ने वातावरण नभएको संकेत गरिरहेका थिए । आफ्नै शैलीमा काम गर्न रुचाउने अल्मुताइरीले विभिन्न आन्तरिक राजनैतिक दबाबको सामना गर्नुपरेको सङ्केत पनि गर्छ ।

यस्तो अवस्थामा आफू सही देखिनका लागि उनले सामाजिक सञ्जालको सहारा लिन्थे सायद ।

अल्मुताइरी एएफसी प्रो डिप्लोमा लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । तर, उनले आम सञ्चार र राजनीती शास्त्रमा स्नातक पनि गरेका छन् । यसको अर्थ यो हो कि उनलाई राजनीतिबारे पनि चासो थियो । अझ फुटबलमा हुने राजनीति त उनले धेरै बुझ्थे ।

साथै, दर्शकसँग छोटो समयमा नजिकिन उनले  सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका हुने बुझेका थिए र त्यही रणनीति पनि अपनाएका थिए ।

 

 

निकै नै विश्वास गरेर दोस्रोपटक सम्झौता गरेका अल्मुताइरीले अहिले राजीनामा दिएका छन् । यसमा उनको आफ्नै अहमता, एन्फाको आन्तरिक राजनीति र खेलाडीसँगको सम्बन्ध जस्ता विषय जोडिएर आउँछन् । तर, फेरि पनि उनी विगतमा जस्तै फर्किन्छन् या सधैंका लागि गएका हुन् भन्ने अझै प्रष्ट भएको छैन ।

जे भए पनि उनको कार्यकालमा नेपाली फुटबलमा केही परिवर्तन भने पक्कै भएको छ । जसका लागि अल्मुताइरीको सम्झना हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved