अनिल साहको कमब्याक

मधेसका प्रशिक्षक सुनिल भन्छन्- क्यानडासँगको खेलपछि अनिल ‘न्याचुरल फर्म’मा फर्किए

‘अनिल राम्रो प्लेयर हो। तर, चान्स नपाएर पछाडि परेको हो। जसरी पीएम कपमा आफ्नो क्षमता सबैलाई देखायो नि त्यही प्रदर्शन उसले क्यानडाविरुद्ध पनि देखायो। उसको प्लेइिङ स्टाइल नै त्यही हो।’

मधेसका प्रशिक्षक सुनिल भन्छन्- क्यानडासँगको खेलपछि अनिल ‘न्याचुरल फर्म’मा फर्किए

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गतको दोस्रो खेलपछि सञ्‍चारकर्मीसँगको अन्तिक्रियामा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले अनिल साहसँग क्रिजमा भएको कुराकानी सुनाए।

रोहितले भने, ‘अनिल दाइ टी–२० खेलिराख्नु भएको थियो कि क्या हो।’ जसको उत्तरमा अनिलले भने ’जता हाने नि चौका गइरहेको छ।’

शनिबार नेपाललाई जिताउन ओपनर अनिल साहले विष्फोटक प्रदर्शन गरे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा अनिलले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यससँगै उनले सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने राष्ट्रिय कीर्तिमान बनाए।

उनले पीएनजीविरुद्ध आसिफ शेखले २१ बलमा अर्धशतक पूरा गरेर बनाएको राष्ट्रिय कीर्तिमान तोडे। यदि अनिलले १५ बलमा ५० रन बनाउन सकेको भए त्यो एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान रहन्थ्यो। सन् २०१५ मा दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए।

अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन नसके पनि अनिलले छिटो अर्धशतक बनाउने कीर्तिमान भने आफ्नो नाममा लेखाए । २०औँ बलमा आउट भए पनि नेपाललाई जितको आधार बनाउँदै उनी आउट भए । पिचमा धेरैबेर टिक्न असफल भए पनि उनले पछिल्ला क्रमका ब्याट्सम्यानका लागि बलियो जग स्थापना गरिसकेका थिए।

सोमबार भएको तेस्रो एकदिवसीयमा पनि अनिलले विष्फोटक ब्याटिङलाई निरन्तरता दिए । पहिलो बलबाटै हात खोलेका अनिलले इनिङसको दोस्रो ओभरमा नै १७ रन जोडे । १२४ बलको सामना गरेका उनले ११२ रन बनाए । उनले भीम सार्कीसँग नटआउट १८९ रनको साझेदारी गरेपछि नेपालले क्यानडाविरूद्धको सिरिज नै क्लिनस्विप गर्‍यो ।

सन् २०१८ मा नेदरल्यान्ड्ससँग पहिलो एकदिवसीय खेल्दा सुरुवाती ११ मा परेका अनिल साहले टोलीमा कमब्याक गरेका हुन् । उनले सन् २०२२ पश्चात पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए । प्रधानमन्त्री कपमा मधेस प्रदेशका लागि ९ खेलमा १ शतक र २ अर्धशतक प्रहार गरेका अनिल प्रतियोगिता कै उत्कृष्ट ब्याटर घोषित भएका थिए।

प्रधानमन्त्री कपमा मधेस प्रदेशका लागि उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा स्थान बनाएका अनिलले क्षमताका आधारमा टोलीमा परेको साबित गरे। क्यानडाविरुद्ध अनिलको प्रदर्शनबारे हामीले मधेस प्रदेश क्रिकेट टोलीका प्रशिक्षक सुनिल साहसँग कुरा गरेका छौँ।

अनिलको प्रदर्शन सम्झिँदै प्रशिक्षक साहले भने, ‘टिममा नपरेको धेरै भएको थियो। धेरैपछि टोलीमा पर्‍यो। जति मेहनत गर्‍यो त्यसको फल पाएको हो। उसले आफ्नो असली प्रतिभा देखायो।’

निकै क्षमता भए पनि अवसर नपाएको खेलाडीको रुपमा प्रशिक्षक साहले अनिललाई वर्णन गर्दै भने, ‘अनिल राम्रो प्लेयर हो। तर, चान्स नपाएर पछाडि परेको हो। जसरी पीएम कपमा आफ्नो क्षमता सबैलाई देखायो नि त्यही प्रदर्शन उसले क्यानडाविरुद्ध पनि देखायो। उसको प्लेइिङ स्टाइल नै त्यही हो।’

तथापि, पहिले विस्तारै खेल्ने गर्ने अनिलको प्रदर्शन पविर्तन बारे, उनले भने, ‘सही हो। पहिला स्लो नै खेल्थ्यो। जुन अनुसारले खेल्नु पर्थ्यो त्यहि हिसाबले पनि खेल्ने भएकोले पनि हो। क्यानडाविरूद्ध जसरी गेम खेल्यो उसको न्याचुरल शैली नै त्यहि हो। पहिले त अब नेपाली टोलीको पनि त फरक ब्याटिङ शैली थियो तर अहिले जस्तो छ त्यही शैलीमा उसले आफुलाई ढालेको छ।’

प्रशिक्षक साहले भारतमा गरेको तालिमले पनि अनिललाई मद्दत पुर्याएको बताए। ‘नेपालमा तालिमको लागि धेरै अवसर नहुँदा, अनिलले भारतको दिल्ली गएर धेरै सिकेर आयो। राम्रो सिकेर आयो।सोहीअनुरुपको प्रदर्शन गर्दै पनि छ,’उनले भने।

अनिलको खेल शैलीमा आएको परिवर्तनले नै राष्ट्रिय टोलीको ढोका खोलेको प्रशिक्षक साहको दाबी छ। उनले भने, ‘पहिलेभन्दा धेरै परिवर्तन आएको छ। पहिले विस्तारै विस्तारै नै खेल्थ्यो। पहिलेको अवस्थामा राष्ट्रिय टोलीमा पर्न खेलाडीहरुले आफ्नो शैली लुकाउने गर्थे। तर, अहिले त्यो अवस्था छैन। आफ्नो न्याचुरल खेल प्रस्तुत गरे मात्र राष्ट्रिय टोलीमा पर्न सकिन्छ। न्याचुरल रुपमा नखेलेमा नेपाल टिममा पर्न धेरै गाह्रो छ।’

प्रधानमन्त्री कपको बेला अनिलसँगको कुरा सम्झिँन्दै प्रशिक्षक साहले भने, ‘उसलाई आफ्नो न्याचुरल गेम, रिजल्ट त पछिको कुरा हो भनेको थिए। तिमी न्याचुरल भए तिम्रो लागि राष्ट्रिय टोलीको ढोका खुल्छ भनेको थिएँ। उसले त्यस्तै गर्यो पनि। हिजोको खेलमा जुन चान्स पायो। उसले आफ्नो प्रतिभालाई देखाउन सफल भयो।’

आफ्नो प्रशिक्षणमा मधेश प्रदेशको लागि राम्रो खेल्दै आएको खेलाडीको प्रदर्शनमा प्रशिक्षक साहले गर्व महशुस गरे। ‘मलाई गर्व महशुस भएको छ। पहिलेभन्दा धेरै मोडिफाइ गरेर खेलेको पनि छ। त्यस्तो खेल्छ भनेर अपेक्षा गरेको पनि थिए,’ प्रफुलित हुँदै उनले भने।

साथै उनले पवनको प्रदर्शनबारे पनि बताए। ‘पवनले पनि राम्रो खेल्छ। हिजो जसरी खेल्यो। जसरी नक गर्यो। टिमलाई जिताएर आएको भए पवनको पनि नाम आउँथ्यो। तर, उसले राम्रो गेम भने बनाएर दियो। अलिकति चुक्न पुग्यो। तर, प्रदर्शन देखेर खुसी लाग्यो,’प्रशिक्षक साहले बताए।

उनले अनिल धेरै अगाडि राष्ट्रिय टोलीमा फर्किसक्नु पर्ने खेलाडी भएको बताए। ‘कमब्याक त पहिले नै हुनु पर्ने थियो। तर, अझै पनि समय बाँकी छ। अझैँ पनि खेल खेल्नेछन्। अझैँ राम्रो खेलोस् भनेर आशा लिएका छौँ,’ प्रशिक्षक साहले भने। फेरि मौका पायो भने नेपालका लागि सेन्चुरी हानेर आउन प्रशिक्षक साहले अनिललाई आग्रह गरेका छन्।

नभन्दैँ क्यानडाविरुद्धको अन्तिम खेलमा पनि अवसर पाएका अनिलले आफ्नो शतक पूरा गरे। नेपालका लागि अनिलको यो पहिलो शतक हो। उनले छैठौं खेलमा आफ्नो शतक पूरा गरे। सोमबार भएको खेलमा आक्रमक नभई निकै संयमितका साथ अनिलले नेपाललाई जित दिलाएका थिए ।

अनिलले ११६ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक पुरा गरे। उनलाई शतक पूरा गर्न भीम सार्कीको साझेदारीले पनि निकै महत्व बोक्यो। भीमलृे १२७ बलमा शतक पुरा गरे। भीमले ११ चौका र १ छक्का प्रहार गर्दै २२७ रन बनाएका थिए।

अनिलको कमजोरीबारे उनले भने, ‘सिङ्गल्स चोरेको जस्तो देखिए पनि आफ्नो न्याचुरल शट खेल्दा कहिले पनि विकेट फालेर आउँदैन। टिमको लागि खेल्दा जब उसले सिंगल्लमा फोकस गर्छ तब फस्ने सम्भावना बढि हुन्छ।’

अनिलको बलियो पक्षबारे भने प्रशिक्षक साह भन्छन्, ‘बलको लिमिटमा खेल्छ। जुन हिसाबले विकेटलाई हेर्छ टाइम दिन्छ, त्यहि अनुसारले उसले आफ्नो ब्याटिङलाई ढाल्छ।’

प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध १२७ रन प्रहार गरेपछि अनिलले भनेका थिए, ‘मधेस टोलीका प्रशिक्षक सुनिल साहले हामीलाई स्वतन्त्र भएर खेल्न प्रेरित गर्छन्। त्यहि भएर पनि नतिजा आएको हो।’

कस्तो किसिमको स्वतन्त्रता र सूत्र प्रयोग गर्दै आएको भनेर सोध्दा प्रशिक्षक साहले भने,‘ कहिले पनि ब्याट्सम्यानलाई च्यापेर नराख्ने, ब्याटिङ गर्दा आफ्नो गेम खेल्न दिने, प्रेसर नदिने, मैले उनीहरुलाई भन्ने नै गरेको छु प्रेसर लिएर खेल्ने नगर। आफ्नो फर्म्याटमा जसरी आफुलाई तयार गरेको छौँ। त्यहि अनुसारले खेल्नु। रिजल्ट पछाडिको कुरा हो तर फ्रिडमको साथ खेल।’

साथै उनले नेपाली टोलीका अन्य खेलाडी पनि क्षमतावान भएको बताए। ‘हाम्रो राष्ट्रिय टोलीमा धेरै क्षमतावान खेलाडीहरु छन्। जसले आफ्नो क्षमता देखाउन बाँकी नै छ। अझैँ खारिएर आउनु पर्ने छ। धेरै क्षमता बोकेका छन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved