वर्ष २०८० : अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले पाएका ऐतिहासिक पाँच उपलब्धि

वर्ष २०८० : अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले पाएका ऐतिहासिक पाँच उपलब्धि

काठमाडौं। नेपाली वर्ष २०८० सालको आज अन्तिम दिन । आज मध्यरातिदेखि २०८० साल समाप्त भएर २०८१ सालको सुरुवात हुँदैछ । सुरुमा नयाँ वर्षको तपाईंलाई शुभकामना ।

२०८० सालमा खेलकुद क्षेत्रमा धेरै नै उतार चढाव आए। अन्तराष्ट्रिय खेलमा नेपालले विभिन्न क्षेत्रमा सहभागिता जनायो । क्रिकेटले छुट्टै छाप छाड्यो । फुटबलमा नेपालले उल्लेख्य सफलता हासिल गर्न सकेन । कस्तो रह्यो त साल २०८० नेपाली खेलकुदका लागि ? यहाँ पाँच क्षेत्र समेट्ने प्रयास गरेका छौं ।  विस्तारमा जानौं ।

पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट


पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (Palesha Gobardhan) पेरिस पारा ओलम्पिकका लागि छनोट भइन्। चीनमा भएको पारा ओलम्पिकको एसियाली छनोटमा पलेशाले के ४४ को महिलातर्फ ५७ केजीमुनी तौल समूहमा स्वर्ण पदक जित्दै फ्रान्समा हुने ओलम्पिकमा छनोट भइन्।

यससँगै छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेशा पहिलो नेपाली पारा खेलाडी बनेकी छन्। यसअघि तेक्वान्दोमा संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । छनोटको फाइनलमा पलेशाले इरानकी लेल्ला मिर्जाईलाई हराएकी थिइन्। सेमिफाइनलमा भने पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गरेकी थिइन्। पलेशाको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।

यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा एरिकालाई स्वर्ण


नेपालकी एरिका गुरुङ (Erika Gurung) ले यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९ औं एसियाडकी रजत विजेता एरिकाले एक्काइस वर्षमुनीको इलिटतर्फ महिला ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । एरिकाले क्यानडेली खेलाडीमाथि ९–० को एकतर्फी जीत निकालिन् । यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा अमेरिकी खेलाडीसँग पराजित भइन्। फाइनलमा एरिका ३–२ ले पराजित हुँदै रजतमा सीमित भइन् ।


यसअघि, १९ औं एसियाली खेलकुदको करातेमा नेपाली खेलाडी एरिका गुरुङले रजत पदक जितेर इतिहास बनाइन । चीनको हान्जाउमा भएको प्रतियोगिताको फाइनलमा उनी कजाकस्तानकी वेरुल्त्सेवा सोफियासँग हारेपछि स्वर्ण पदक जित्नबाट चुकिन् । एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने नेपालको दोस्रो खेलाडी भएकी छन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन ।

कबड्डी


१९ औं एसियाली खेलकुदमा नेपालबाट कबड्डीमा डेब्यू गरेको महिला टोलीले कांस्य पदक जित्न सफल भयो। एसियाली खेलकुदमा नेपालले पदकको खाता नखोल्ने डर भइरहेको बेला महिला कबड्डीले कांस्य पदक हात पार्‍यो। चीनको हान्जाउमा भएको प्रतियोगितामा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा नेपाल भारतसँग पराजित भयो । तर, सेमिफाइनल पुग्नासाथ नेपालले कांस्य पदक भने पक्का गरेको थियो।

फुटबल
२०८० मा पुरुष फुटबलले खासै उत्साह ल्याउन सकेन । महिला फुटबलले भने केही उपलब्धि हासिल गर्यो । १९औं एसियाडको तयारीस्वरूप नेपालले महिला फुटबलमा दक्षिण एसियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।


सो भ्रमणमा नेपालले दोस्रो खेल टाइब्रेकरमार्फत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित हासिल गरेको थियो ।

यस्तै, साफ यू–२० महिला फुटबल प्रतियोगितामा पनि नेपाली टोली उपविजेता बन्यो। बङ्गलादेशमा भएको खेलमा घरेलु टोलीसँग ३–० गोलअन्तरले पराजित हुँदा नेपालले उपविजेतामा चित्त बुझाएको थियो।

यता, पुरुषतर्फ राष्ट्रिय टोली विश्वकप फुटबल छनोटमा सहभागी भयो। पहिलो चरणमा लाओसलाई पराजित गरेको नेपाली टोली दोस्रो चरणमा भने पराजित भइरहेको छ । दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोलअन्तरले पराजित भयो। सो खेल यूएईको घरेलु मैदानमा भएको थियो।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपाल यमनसँग २–० गोलअन्तरले पराजित भयो। यस्तै, बहराइनविरुद्ध पहिलो खेलमा ५–० ले पराजित हुँदा दोस्रो खेलमा भने नेपाल ३–० ले हारेको थियो। समूह एचमा नेपाल, यमन, यूएई र बहराइन छन्। दोस्रो चरणका बाँकी खेल आगामी मार्चमा हुनेछन्।

फुटबल खेलाडीको पलायन भने यो वर्षभरी नै चर्चाको विषय बन्यो । एकै वर्ष १० भन्दाबढी खेलाडी विदेश पलायन भए । यसले राष्ट्रिय टोली निर्माणमै समस्या आउने सम्भावना देखिएको छ ।

क्रिकेट
२०८० मा आईसीसी विश्वकप क्रिकेट छनोटमा नेपाल समूह चरणमा नै रोकियो। नेपालले अमेरिकालाई पराजित गरे पनि वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बाब्वेसँग पराजित भयो ।

प्लेअफमा यूएईलाई हराएको नेपाल फाइनल प्लेअफमा भने आयरल्याण्डसँग पराजित भएको थियो।

तथापि, एसिया कप भने नेपालको लागि ठूलो अवसरको रुपमा आयो । एसिया कपमा नेपाली क्रिकेट टोली (Nepali Cricket Team) ले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पायो। दुवै खेलमा पराजित भए पनि नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने यसले सहयोग पुर्यायो ।

एसियाली खेलकुदमा नेपाली टोलीले अर्को उपलब्धी हासिल गर्यो। मङ्गोलियाविरुद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान बनायो। मंगोलियाविरुद्ध नेपालले २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनायो। जुन टी–२० को इतिहासमा नै सर्वाधिक ठूलो स्कोर बन्न पुग्यो।

यससँगै, नेपालले सन् २०१९ मा आयरल्यान्डविरुद्ध अफगानिस्तानले बनाएको २७८ रनको कीर्तिमान भंग गर्न सफल भयो।

कुशल मल्ल (Kushal Malla) ले ३४ बलमा शतक हानेर कीर्तिमान बनाए । उनले क्रिश गेल, युवराज सिंह र हजरतुल्लाह जाजाको ३५ बलमा शतक पुरा गरेको कीर्तिमान तोडे।

कुशलको सो कीर्तिमान भने घरेलु मैदानमा नै टुट्यो। गत फागुनमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नामिबियाका जान निकोल लफ्टी एटनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे।

हान्जाउको भएको खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गर्यो। अत्यधिक रन अन्तरको कीर्तिमान पनि नेपालकै नाममा भयो । सन् २०१९ मा टर्कीलाई चेक रिपब्लिकले २५७ रनले पराजित गरेको कीर्तिमान नेपाली टोलीले तोड्यो।

सोही खेलमा दीपेन्द्र सिंह ऐरी (Deependra Shing Airee) ले प्रहार गरेको अर्धशतक भने क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान बनेको छ । ऐरीले ९ बलमा अर्धशतक पुरा गरे।

उनले ८ छक्का र २ रन लिएर अर्धशतक पुरा गरे। उनले लगातार ६ छक्का प्रहार गरे। अब उनको कीर्तिमान बराबरी हुन सके पनि तोड्न भने लगभग असम्भव छ ।

दीपेन्द्रको कीर्तिमान तोड्न ८ बलमै अर्धशतक बनाउनुपर्नेछ । जुन सामान्य अवस्थामा असम्भव छ ।

टी–२० एशिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी–२० विश्वकपमा छनोट भयो। सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो टी–२० विश्वकप खेलेको थियो।

१० वर्षपश्चात नेपाल पुनः टी–२० विश्वकपको लागि छनोट भएको छ । टी–२० विश्वकप यही वर्ष अमेरिका र वेस्टइन्डिजमा हुँदैछ ।

उमेर समुहको क्रिकेट टोलीले पनि विश्वमा नेपाललाई चिनाउन सफल भयो। एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।

अविजित रहँदै उपाधि जितेको टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । टोलीको कप्तानी देव खानल गरेका थिए । जगत टमाटा भने टोलीको मुख्य प्रशिक्षक थिए ।

तर, आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भने नेपाली टोलीले सफलता प्राप्त गर्न सकेन। समूह चरणमा पाकिस्तान र न्यूजिल्यान्डसँग पराजित भएको नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।

यू–१९ एसिया कपमा पुगे पनि नेपालले आफ्नो पोल्टामा जित पार्न सकेन। समूह ए मा रहेको नेपालले पाकिस्तान, अफगानिस्तान र भारतसँग पराजित हुँदा समुह चरणमा नै रोकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved