प्रचण्डले सत्ताका लागि जे पनि गर्नुहुन्छ, अहिले शेरजस्तो हुनु भएको छ : डा. बाबुराम भट्टराई

नेपालभ्युज

प्रचण्डले सत्ताका लागि जे पनि गर्नुहुन्छ, अहिले शेरजस्तो हुनु भएको छ : डा. बाबुराम भट्टराई
फाइल तस्वीर

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ताका लागि जे गर्न पनि तयार भएको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा बोल्दै अध्यक्ष भट्टराईले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको आरोप लगाए ।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकेको जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि एकीकरणको निर्णय भने नगरेको बताए ।

उनले भने,‘माओवादी आन्दोलनमा जोडिएका साथीको एउटा ठूलो समूह थियो । कहिले एमालेको पछि लागेको छ, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ ।’

त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको उनले बताए ।  ‘प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो ।’ भट्टराईले थपे, ‘तर, माओवादी आन्दोलन भित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न गर्यो । अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर जाउँ भनेर अघि बढेको हो ।”

निर्वाचनपछि प्रचण्डले धोका दिएको पनि भट्टराईले आरोप लगाए । दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले भने, ‘खोलो तर्‍यो, लौरो बिर्स्यो । पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहोर्‍याउन थाल्नु भयो ।’

भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको विकल्प नभएको भन्दै त्यसतर्फ अघि बढ्न सबै दललाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved