नाटक ‘असुर’ : द्वन्द्वकालीन समाजको प्रतिविम्ब

नाटक ‘असुर’ : द्वन्द्वकालीन समाजको प्रतिविम्ब

‘जुग फेरियो, युग फेरियो, फेरिएन मान्छेको मन ।’ मुखियाको घरमा काम गर्ने एक दासी पात्रको यो गीतबाट सुरु हुन्छ नाटक ‘असुर’ ।

एक सामन्त परिवारमा आफ्नो बाजेदेखि बुबा हुँदै नाति पुस्ताले दासका रूपमा काम गर्दै आएका हुन्छन् । पुस्तौैंदेखि थिचोमिचोमा परेका कमारा कमारीहरू र अहिले पनि फेरिएका छैनन् ।

यस्तै, अर्का एक गरिब पात्र चन्द्रेले बहिनी सानै हुँदा परिवारको  गुजाराका लागि गाउँमा मुखिया  जुद्दप्रसादसँग लिएको सापटी ऋण तिर्न सकेको हुँदैन।

यता सात गाउँका एउटै मुखिया जुद्दप्रसादले जेठी श्रीमती बितेपछि दोश्रो बिहे गर्छन् । तर, पीर र रोगले अर्की श्रीमतीको पनि मृत्यु हुन्छ । गाउँले आएर लासलाई घाट लैजान्छन्  ।

मुखियाका छोरा नरेन्द्रले डिग्री पढाइ पूरा गरेर गाउँ फर्किन्छ । नरेन्द्र आएपछि परिवारमा खुसियाली छाउँछ ।  घरका नोकरहरू पनि सानो मालिक आए भनेर खुसी हुन्छन् ।

जनयुद्धको समयमा एकदिन घरमा माओवादी आउँछ ।  उसलाई माओवादीले लगेर कुट्छन् । तर, नरेन्द्रले बन्दुक र कलममा क्रान्तिको कुरा जोडेर आफू पनि क्रान्ति मनपराउने कुरा गरेपछि माओवादी कमान्डरले उसलाई टिममा आउन र माओवादीलाई सहयोग गर्न आग्रह गरिन्छ ।  नरेन्द्रले विस्तारै माओवादी  र क्रान्तिप्रति झुकाव राख्दै जान्छ र सहयोग पनि गर्छ । यता चन्द्रेको बहिनी कलावतीलाई नरेन्द्रले मनपराउन थालेको हुन्छ । उसले कलावतीलाई बिहे गर्ने आश्वासन दिन्छ ।

अर्का एक गरिब पात्र चन्द्रेले बहिनी कलावती सानै हुँदा परिवारको  गुजाराका लागि गाउँमा मुखिया  जुद्दप्रसादसँग लिएको सापटी तिर्न सकेको हुँदैन । एक दिन सामन्ती मुखिया कतै जाँदा बाटोमा कलावतीलाई देखेर आफूलाई फेरि एकपटक जवान महसुस गर्छन् । त्यसपछि मुखियाले तेस्रो बिहे गर्ने मनसायले चन्द्रेको बहिनी माग्न जान्छ ।

चन्द्रेलाई उसले लिएको ऋण मिनाहा गरिदिने नत्र यो हप्ताभित्र सबै ऋण तिर्न चन्द्रेलाई ताकेता गर्छन् । चन्द्रे बिलौना गरेर रुन थालेपछि मुखियाले सबै ऋण मुक्त र दुइटा गरा खेत गरिखान दिने सर्तमा बहिनी माग्दै चुरापोते र सारी अगाडि राखिदिन्छन् । विचरा चन्द्रे दोधारमा पर्छ । अन्त्यमा आफ्नी चन्द्रमाजस्ती बहिनी दुईपटक राडो (विदुर) भएको सामन्ती मुखियालाई सुम्पिन बाध्य हुन्छ ।

धारामा पानी भर्न जाँदा अरू आइमाईहरूलाई माओवादीले फालेको पर्चा पढेर सुनाएकी कलावतीकी संगीनी पनि जनयुद्धमा होमिन्छे र नरेन्द्रसँगै गएर कमरेड  ‘शितल’ बन्छे । यता छोरा नरेन्द्र विस्तारै जनयुद्धमा होमिदै जान्छ उसले माओवादीलाई सहयोग पनि गर्छ,  एकदिन ऊ कमान्डर बन्छ ।

कमान्डर बनेपछि एकदिन तराई गएर फर्केका नरेन्द्र आफ्नी प्रेमिका कलावतीलाई बिहे गर्ने  उद्देश्यले घरमा पुग्छ । नोकर भिमसेनलाई काँइयो र मिठाइ पनि ल्याइदिन्छ, भिमसेन खुसी हुँदै मालिकलाई बोलाउँछ।

मुखिया आएर हालखबर र तराई जाँदाको उपलब्धिबारे सोध्दै आफ्नो त्यही बेलामा बिहे भएको र छोरालाई बाबुको दोश्रो बिहे खुवाउन नपाउँदा दु:ख लागेको सुनाउँछन् । छोरा नरेन्द्र पनि आफ्नी तेश्री सौतेनी आमा हेर्न आतुर हुन्छ ।  जब  बुबाले  नयाँ आमा देखाउँछन्, ऊ छाँगाबाट खसेजस्तो हुन्छ । किनकि, आफ्नी प्रेमिका कलावती त आफ्नी सौतेनी आमा बनेर पो भित्रिएकी हुन्छिन् ।

अब नरेन्द्रलाई के गरौं कसो गरौँ हुन्छ । बाबुसँग रिसाउँछ, बाबुभित्र गएपछि प्रेमिका आमालाई गाली गर्छ । किन यस्तो गर्‍यौ भन्दै रिस पोख्छ । कलावतीले पनि रुँदै आफ्नो परिवारको गरिबी र बाध्यतामाथि मुखियाले फाइदा उठाएको कुरा गरेपछि नरेन्द्रले भावुक हुन्छ, अनि आफै‌ंले बिहे गर्ने बताउँदै आमा कलावतीको आँसु पुछिदिन्छ ।

एकदिन नरेन्द्र ले कमरेडहरूलाई घरमा चन्दा लिन पठाएर बाबुलाई साथीहरूबाट मार्छ । र आमालाई विधुवा बनाउँछ । अब भने  कलावतीलई नरेन्द्रप्रति भरोसा हुन्छ । मुखियाका घरमा काम गर्ने दासहरू संरक्षक नहुँदा कोही रक्सी पिउन थाल्छन्, कोही पागल जस्ता बन्छन् ।

यता, मुखियाको मृत्यु भएपछि गाउँमा सन्त्रास फैलिन्छ । पसलमा पनि गफ गर्नेहरू पनि डराएर आउन छोड्छन् ।

देश शान्ति प्रक्रियामा आइसकेको हुन्छ। नरेन्द्र ठूलो कमान्डरमा नियुक्त हुन्छ । त्यसपछि, ऊ घर फर्किन्छ । घरमा आएर सबै नोकरहरूलाई  दासमुक्त  गरिदिन्छ ।  कलावतीले नरेन्द्रलाई सिन्दूर लगाएर आफ्नो बनाउन अनुरोध गर्छिन् । तर, नरेन्द्रले ‘आफ्नी विधुवा आमालाई सिन्दूर हालेर कसरी आफ्नो बनाउन सक्छु, मलाई पार्टी, समाज र साथीभाइले के भन्छन्, गाउँले र आफन्तले के भन्छन्’ भनेर  समातेको हात झट्कालिदिन्छ ।  कलावती  अचानक छाँगाबाट खसेजस्तो हुन्छे, उसलाई रि‌गट्टा लाग्छ, अँध्यारो छाउँछ । भूतका आकृति आएर उसको वरिपरि नाचेको देख्छे । आफ्नो जिन्दगीको बाध्यता, भाग्य पीर व्यथा सबै आएर एकैचोटी थिचेको महसुस गर्छे ।

यता दासमुक्त बनेपछि भिमसेन मानसिक रोगी भन्छ । अन्य कामदारको पनि स्ठिति नावुक बन्छ ।  कथा यहीँबाट टुंगिन्छ ।

नाटकले सदियौैंदेखि मुखियाको घरमा दासको रूपमा काम गर्ने कमारा कमारी र ऋण लिएपछि गाउँका ठूलाबडाले गरिबमाथि गरिने थिचोमिचोलाई सुन्दर ढ‌ंगले प्रस्तुत गरेको छ । नाटकले एकातिर  पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ भने अर्कोतिर असली उत्पीडन र दमन विरुद्धको सिद्धान्तमा हिँड्ने व्यक्तिहरूलाई अवसरवादीहरूले राजनीतिक आडमा ओझेलमा पारेको सन्दर्भलाई प्रष्ट पार्न खोजिएको छ ।

द्वन्द्वकालीन समयको आसपासलाई केन्द्रविन्दु बनाएर प्रस्तुत गरिएको यस नाटक ‘असुर’ को मञ्चन भदौ १५ देखि ओजस थियटरमा नाटक  सुरु भएको छ ।   विवेक न्यौपाने (घने) ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारिक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ ।’ नाटकका एक कलाकार नमस्ते दिवाकरले भने ।

‘असुर’को प्रसंग हिन्दू धर्मसँग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रूप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरू छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आम मान्छेको दैनिकीमा रूपान्तरण हुन सकेको छैन । यिनै प्रश्न हामीले यो नाटकमार्फत केलाउने प्रयास गरेका छौँ ।’ कलाकार  दिवाकरले कथासार प्रष्ट्याए ।

रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ । ‘वि.सं. २०५८ देखि ०६२–०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ । ध्वनि संयोजन, प्रकाश, संगीत संयोजन आदिले नाटकलाई सुनमा सुगन्ध थपेको छ । असली उत्पीडन र दमन विरुद्धको सिद्धान्तमा हिँड्ने व्यक्तिहरूलाई अवसरवादीहरूले ओझेलमा पारेको सन्दर्भलाई प्रष्ट पार्न खोजिएको छ । नाटकले उत्पीडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो ।’ लेखक दोङले भने ।

राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा मुख्य सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् । नाटकमा नमस्ते दिवाकर घिमिरे, प्रतीक दुलाल, केशव सिंह ठगुन्ना,  सोफिया बज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंसा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ ।

भदौ १५ देखि मञ्चन सुरु भएको नाटक असोज ८ सम्म चल्नेछ । रातोपुलमा रहेको ओजस थियटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः ३० बजे नाटक सुरु हुनेछ । शनिबार भने दिउँसो १ बजे मन्चन हुनेछ ।

चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् । नाटकमा विवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप शिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री–शेखर दाहालले मन्च व्यवस्थापन काम गरेका छन् । ओजसले यसअघि ‘पिंजडा’, ‘जालो’, र ‘म जोकर बन्छु’ जस्ता नाटक मन्चन गरिसकेको छ ।

तस्वीर : ओजस थिएटर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved