गाईजात्रा विशेष

बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

दिनभरि जागिरको खोजीमा लखरलखर डुलेर बेलुका लखतरान भएर घर पुगेँ ।  घर पुग्न नपाई आँगनबाटै बुढी फोनमा फतफताइरहेको सुनेँ ।

झन् गएर तात्तातो भात खाएर ओछ्यानमा तेर्सिएर तात्तातो समाचार सुनुँला भनेर टंगालबाट टाङ फट्याएर टाप कसेको त फेरि त्यही तात्तो न छारोको ‘तीजमा तिलहरीको रामायण पो सुरु भो ।  सुतेर ज्यान तातो गर्ने बेलामा बूढीको कुरा सुनेर कान रातो बनाउनुपर्ने भयो ।

भित्र छिरेपछि सुरु भयो रौद्ररूपी गुनासो –‘हेर, समाचार सुन्दा पनि मन चसक्क पोल्छ, थकथक लागेर आउँछ । कस्तो साइतमा यस्तो कंगाललाई बा आमाले हात थमाएर पठाएछन् । उहीबेला टंगालका साहुका छोरा माग्न आका थे, बालुवाटारमा जमिन छ, एयरपोर्ट भन्सारमा जागिर छ भन्थे, आफैंले मानिनँ । यस्ता हरिकंगालसित पर्नलाई रहेछ । तेत्रो साउने सोमबार र तीजको व्रत लिएको पनि बेकार भो ।  बरु  गोरेसँग बिहे गरेको भए यतिखेर सुनकै लुगा, सुनकै जुत्ता, सबै सुनले नै  भरिन्थ्यो । यो काले कंगालसँग बिहे गरेर अहिले लाजले मुखै कालो बनाएर हिँड्नुपरेको छ ।

मुखभरिका थुक छिट्याउँदै भन्छे- ‘थुक्क! यो वर्षको साउनमा पनि घाँटी बुच्चै भो । तीजमा पनि कान बुच्चैमा जाने भो । दशैं–तिहार पनि यस्तै त होला नि !  हैन ए बुढा, कान पनि बुच्चो घाँटी पनि बुच्चो, छुच्चो छिमेकीको अगाडि कति लुच्चो बनेर चुच्चो नाक देखाएर हिँड्नु ? यो तीजमा उँचो शिर पार्न जसरी नि एउटा तिलहरी त चाहिन्छ चाहिन्छ ।

होइन, घरमा लसुन किन्ने पैसा न’भा बेलामा यो ठाँडो रेडियो टिभीले पनि खाली सुनको समाचार कति फलाकेको ? कानै पाक्ने गरी । जति खेर नि, सुन समातियो, सुन गालियो, सुनको सिक्रि लुटियो, सुनको सुनको मूल्य घट्यो ।  बुढीले रेडियो बन्द गरिदिई ।

अब त, ‘हुँदा-हुँदा गीत बज्दा नि ‘सुन साइँली, सुन साइँली…’ अर्को च्यानल फेर्‍यो-यो फेरि आउँछ– ए सुन निरमायाँ… । रेडियो बजायो सुनकै गीत बज्छ । टीभी बजायो फेरि सुनकै गीत बज्छ । हैन रेडियो टिभीहरू धनी छन् कि के हो ? हुन त के धनी हुनु कार्यक्रम चलाउनेलाई तलब नदिएर गीत बजाउनपरेको छ । उनीहरूलाई नि मलाई जस्तै पीडा त होला नि ।

उसले त एयरपोर्टको भन्सारबाट  सुनकै बाला सुनकै पाउजु, मंगलसूत्र, जन्तर, सिक्री, चुरा र ब्रासलेट त जति किलोको लगाए पनि हुन्छ भन्थ्यो ।
के गर्नु जोसँग थियो उसँग बिहे भएन । जोसँग छैन उसकै पछि लाग्नु पर्‍या छ  विवाहमा दिएको त्यो जाबो मट्याग्रे ढुंग्री पनि कहाँ बन्धकी छ, कसले उडायो थाहा छैन । न लिलाम नै पो भइसक्यो कि ।

‘ए बुढा भात खान आऊ कति  चलाइरा थोत्रो मोबाइल ?’

बुढीको भाषण सुन्दै भातको गाँस हालेर मोबाइलमा सुन तस्करलाई समातेको समाचार हेर्दै थिएँ, छोरीले ‘आमा लसुन ’ भन्दा म पो झसंग भएछु ।

कसैको कुरा नसुनी चुपचाप भात खाएर सुत्न गएँ।  रामायण सकियो भनेर खुसी हुँदै सुत्न गएँ । तर, निदाउन लागेको थिएँ बूढीले झन् महाभारत पो सुरु गरी ।

‘दुनियाँका स्वास्नीहरूले राम्रा-राम्रा साडी गहना लाएर हिँड्छन् । हाम्रोचाहिँ जाबो एउटा नाकमा फूलीसमेत नभएर सिन्का घुसारेर हिँड्नुपर्‍या छ । हेर, क्विन्टलका क्विन्टल सुन भित्र्याउने ठाउँमा पुग्ने जागिर खान नसके पनि पुलिसमा जागिर खाइदेको भए यसो चेकजाँच गरेको निहुँ पारेर १-२ वटा चक्की खल्तीमा हाल्न त पाइन्थ्यो होला नि । पुलिसलाई न भन्सारले रोक्थ्यो न अर्को पुलिसले ।

जागिर खानै परे पनि कमाउने ठाउँमा पो खानु । जाबो दिनभरि करायो दक्षिणा हरायो वाला निजी जागिर के खानु ? बरु उही बेलामा सुन गाल्ने कामै गरेको भए पनि अहिले आँखा छलेर लुकाउन सकिन्थ्यो होला जाबो एउटा सुन गाल्ने मेसिन ल्याएर भटाभट गाल्न हुँदैनथ्यो । अनि त जाबो गहना त जति किलोको लगाए पनि कसले के भन्थ्यो र ।

त्यति गर्न नसके पनि अर्को पनि थियो विकल्प …

‘चुप लाग् ।’  रिसले पारो तात्यो, सही नसक्नुभयो मलाई । खुट्टा काँपे पनि मैले नडराई भनेँ- ए तलाई सुन ल्याउने र गाल्नेमै ध्यान छ हैन ? बूढो जेलको हावा खाएर मर्ला भन्ने सोचेकी छस् ? जतिखेर नि सुन भन्या छ, जता गए नि सुन भन्या छ, यसले सुन सुन भनेको सुन्दा सुन्दा त यो जागिर खोजेर बस्नु भन्दा त सुन भरिया नै हुनु बेस लाग्यो ।

एक मनले सोच्यो, हुन पनि हो, कम से कम आफू जेल परे नि उसले टाउको निहुरिने गरी सुन लाउँथी, म शिर ठाडो पारेर जेलको हावा खान्थेँ । जेल परे पनि बुढीले सुन त लाउन पाउँथी ।

सुन नभए पनि सुनको सपना देख्नु ठूलो कुरा हो । भगवानको मन्दिरमा चढाइएको जलहरी त केही समयपछि तिलहरी बन्न बेर छैन । भने यत्तिको कुरामा काग जस्तो बाठो बनेर आफैँलाई खाई न पाई छालाको टोपी लाई त बनाउनुभएन नि । बाँदर बाठो भए कुन्नी के भएर मर्छ भन्थे ।

अँ भन् अर्कोचाहिँ कस्तो विकल्प ?

बूढी बोली- ‘हेरन कत्ति न आफूलाई ठूला माछा सम्झेको । तिमी त हुतिहारा नै हौं । न स्वास्नीलाई खुसी राख्न सक्यौ न समाजमा नाक राख्न । ल सुन त ल्याउन सकेनौ रे । कमसेकम एउटा कन्सलटेन्सी खोल्याजस्तो गरेर भटाभट विदेशमा मान्छे ओसार्नुपर्दैन ? अहिले कति सजिलो छ । नक्कली शरणार्थी बनाएर अमेरिका पुर्‍यायो, कोरिया  भन्दै  २५ हजारमै विराटनगर पुर्‍यायो । ड्राइभर भन्दै, कुकुर बिरालो मार्ने ठाउँमा पुर्‍याइदियो, अस्ट्रेलिया भन्दै पोखरा छाडिदियो । पैसा कमाउन क्या सजिलो !

त्यो काम गर्न मन नलागे अर्को पनि छ विकल्प -सुन, नेता हुन् या व्यापारी, न्यायाधीश हुन् या कर्मचारी मोही होस् या बिचौलिया । सबै आफूले चिनेको भन्दै जागिर लाइदिने जब सेन्टर खोलेर धमाधम पैसा असुले पनि भो नक्कली डाक्टर बनेर पैसा असुले पनि भो । यो पापीहरूको शहर हो । यहाँ कसले कसलाई चिन्छ र ? जसले जे-जे भने पनि पत्याइदिने नेपाली जनता छँदैछन् । एनी हाउ पैसा कमाऊ, मौकामा चौका हानेर तुरुन्तै काठमाडौंमा महल ठड्याउनपर्छ । बुझ्यौ ?

अरुले सुन देखाएर टिकटकमा नाचिराछन् आफ्नो भने घरमा माकुरोले जालो लाएर भुसुना नाचिराछ । न गतिलो घरमा बस्न पाउनु न गतिलो जिन्दगी ?  जे-जस्तो भए पनि आठ-दश वर्ष त हाम्रा पनि प्रधानमन्त्री निवास छेवैमा घडेरी छ भन्दै नाक ठूलो पारेर लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो ।

बूढीको कचकच सुन्दा सुन्दै कतिखेर निदाइएछ । बिहानीपख ब्युँझिँदा सपनामा बर्बराउँदै रहिछे ।

त्यो बालुवाटारको जग्गा बेचेर किनेको सुन हो । यो मेरो तिलहरी हो, खै ले । ओई तान् न त्यसले खोसेर लगी  । छिटो तान् न ।

उसले खै के तान् भनी कुन्नी विपनामा इँजार तानेर आफू पनि लडी मलाई पनि लडाइदिई ।

एकछिनपछि सन्नाट्टा छायो…

म फिस्स हाँसेँ ऊ हिस्स भई ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved