विचार

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

जनमतका दृष्टिले व्यापक रूप लिएको नेपालको कम्युनिष्ट आन्दोलन पछिल्लोसमय विचारधारात्मक रूपमा दिशाविहीन बन्ने खतरामा छ । दलाल नोकरशाही पुँजीवादले पैदा गरेका चुनौती छिचोल्न क्रान्तिकारी संकल्प गर्नुपर्नेमा संघर्षको केन्द्रमा रहेको कम्युनिष्ट पार्टी र यसको नेतृत्व नै कतै दलाल पुँजीवादसँग सहवरण गर्न लालयित त छैन ? यस्ता प्रश्नले सर्वहारा र श्रमजीवी वर्ग तरङ्गित छ ।

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

दार्शनिक विश्वदृष्टिकोणलाई भौतिक शक्तिमा बदल्दै मानवजातिको मुक्तिको संकल्प पूरा गर्न सक्ने सबैभन्दा आधारभूत र महत्त्वपूर्ण साधन मार्क्सवाद हो । समाजको परिवर्तनका लागि विचार र सङ्गठनको तागतबारे प्रष्ट्याउँदै एंगेल्स लेख्छन्, ‘हाम्रा निम्ति सोचिदिने दार्शनिकहरू र लडिदिने सर्वहारा भएपछि संसारमा त्यस्तो कुनै शक्ति होला, जसले हाम्रो प्रगतिको यात्रा रोक्न सकोस् ?’

एंगेल्सको उक्त भनाइले सर्वहारा एवम् श्रमजीवी वर्गको मुक्ति र कम्युनिष्ट समाजको निर्माणका लागि विचार र सङ्गठनको अविभाज्य सम्बन्धमा जोड दिन्छ ।

मार्क्सवाद प्रकृति, जीवन, समाज र चिन्तनको शरीर विज्ञान हो । यसले मानव जातिको मुक्तिका आकांक्षाहरू प्रतिनिधित्व गर्दछ । यस अर्थमा यो वैज्ञानिक, क्रान्तिकारी र मान्छेको दर्शन हो, न कि यो कुनै हवाइकल्पना होइन । यसले ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको जगमा उभिएर प्रकृति, जीवन, समाज र चिन्तनका क्षेत्रमा विवेचना गर्दछ । तसर्थ, यसलाई वैज्ञानिक दर्शन भनिएको हो ।

मार्क्स-एंगेल्स पूर्वका धेरै विद्वान्‌‌हरूले दर्शनका बारेमा आ-आफ्नै मत राखेका छन् । तर, मार्क्सवाद नै यस्तो दार्शनिक सिद्धान्त, प्रणाली र पक्षधरता हो, जसले पहिलोपल्ट मान्छेलाई केन्द्रमा राखेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्‍यो । जुन भौतिक विज्ञान र समाज विकासका नियमहरूमा आधारित छ । मार्क्सवादी विचार सिद्धान्त पद्धतिसंगत ढंगले धक्कापूर्ण क्रान्तिमा विश्वास गर्दछ । नियमसंगत ढंगले प्रकृति, जीवन, समाज र चिन्तनका क्षेत्रमा वैज्ञानिक मत जाहेर गर्दछ । जसका कारण मार्क्सवाद विश्व-दर्शनका क्षेत्रमा आज पनि जीवन्त, सक्रिय र सिर्जनशील रूपमा विद्यमान छ ।

पुँजीवादी दर्शनले सामाजिक उत्पादनको प्रक्रियामा आफूलाई जसरी नयाँ-नयाँ आयाममा विकसित गर्दै आएको छ । सर्वहारा वर्गको दर्शनले पनि अनिवार्यतः उत्पादन पद्धति विकासको समरूपतामा आफूलाई विकसित गर्नु अपरिहार्य हुन्छ । मालेमावादको संश्लेषण त्यही ऐतिहासिक अनिवार्यताको उपज हो । आज नेपालको कम्युनिष्ट आन्दोलन जुन उचाइमा छ, यसको एक मात्र कारण नेपाली भूमिमा मार्क्सवादको रक्षा, प्रयोग र विकासमा प्राप्त सफलता नै हो ।

जनमतका दृष्टिले व्यापक रूप लिएको नेपालको कम्युनिष्ट आन्दोलन पछिल्लोसमय विचारधारात्मक रूपमा दिशाविहीन बन्ने खतरामा छ । दलाल नोकरशाही पुँजीवादले पैदा गरेका चुनौती छिचोल्न क्रान्तिकारी संकल्प गर्नुपर्नेमा संघर्षको केन्द्रमा रहेको कम्युनिष्ट पार्टी र यसको नेतृत्व नै कतै दलाल पुँजीवादसँग सहवरण गर्न लालयित त छैन ? यस्ता प्रश्नले सर्वहारा र श्रमजीवी वर्ग तरङ्गित छ । संविधानले समाजवादको तयारीमा लाग्न स्पष्ट दिशाबोध गरे पनि कम्युनिष्ट पार्टीभित्र विद्यमान एउटा शक्ति त्यतातिर सोच्न, तयारी गर्न र हिँड्न लालयित देखिएको छैन ।

जनमतका दृष्टिले नेपाली कम्युनिष्ट आन्दोलन जहाँ छ, वैचारिक आदर्श, मूल्य-मान्यता र संकल्पका दृष्टिले त्यो ठाउँमा भेटिँदैन । जनताको अपेक्षा र नेतृत्वको चिन्तनमा आएको अन्तरविरोधले चुचुरोमा रहेको कम्युनिष्ट आन्दोलनबारे अनेकौं विश्लेषण गर्न थालिएको छ । यद्यपि, नेतृत्वको एउटा पङ्क्ति बेगसँग दलाल पुँजीवादको अन्धकारतिर कुदिरहेको छ । अर्को शक्ति आन्दोलनलाई क्रान्तिकारी दिशातिर फर्काउन प्रयासरत पनि छ । यस्तो परिस्थितिमा नयाँ पुस्तामा हिजोका क्रान्तिको मूल्यबोध गराउन र मार्क्सवादप्रति पुनर्जागरण पैदा गर्न विगत केही वर्षदेखि मार्क्सवादको अध्ययन-अध्यापनलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । यही अभियानका बारेमा केही राख्ने सोचका साथ यो आलेख तयार गरिएको छ ।

मार्क्सवाद कुनै कोरा शास्त्रीय विषय होइन, जसको अध्ययनबाट कान पवित्र पार्न सकियोस्, मन आनन्दित होस्, मानिसले आत्मसन्तुष्टि लिन सकोस् । बरू, मार्क्सवाद त यस्तो जीवन दर्शन हो, जसले मानवजातिको मुक्तिका निम्ति विचारको व्यवहारमा प्रतिविम्बनको अपेक्षा र संकल्प दुवै गर्दछ ।

यस अर्थमा मार्क्सवादको अध्ययन गर्नुको अर्थ प्रकृति, समाज, जीवन र चिन्तनका क्षेत्रमा संश्लेषण गरिएका ज्ञानहरूसँग साक्षात्कार हुनु, नयाँ-नयाँ तथ्यको खोजीका लागि ढोका खोल्नु, विचारको आलोकमा आचारमा रूपान्तरणको वैचारिक र भौतिक आधार तयार पार्नु एवम् मानव जातिको मुक्तिका निम्ति आफूलाई दृढ-संकल्पित गर्नु हो । यस अर्थमा यो वर्गीय विचार आचारको दर्शन हो ।

मार्क्सवाद कुनै शास्त्रीय विषय मात्र होइन, बरू यो मानवजातिको मुक्तिको मार्गनिर्देश गर्ने पथप्रदर्शक सिद्धान्त हो । जसरी प्रकृति, समाज, मानव र जीवन गतिशील रहन्छ, त्यसरी नै वैज्ञानिक विचार पनि गतिशील नै रहन्छ । पुँजीवादी व्यवस्था र विज्ञानका क्षेत्रमा गरिएका नयाँ-नयाँ आविष्कारका कारण मात्र होइन, मार्क्सवादको रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका नयाँ-नयाँ उपलब्धि र सामुन्नेमा देखा परेका नयाँ-नयाँ चुनौती पनि मार्क्सवादी विचारको विकासका निम्ति महत्त्वपूर्ण आधारस्तम्भ हुन् ।

मार्क्सवादको अध्ययन अध्यापनको कुरा गरिरहँदा हामी तीन अतिवादबाट मुक्त हुन जरूरी छ, पहिलोः १९ औं शताब्दीको औद्योगिक पुँजीवादको विकासकालमा संश्लेषण गरिएको मार्क्सवादी दर्शन र कार्यदिशालाई नै अन्तिम सत्य मान्ने र विकासको आवश्यकतावोध नगर्ने, दोस्रोः मार्क्सवादको सिर्जनात्मक विकासका नाममा यसका आधारभूत मान्यता नै परित्याग गर्ने एवम् वर्ग संघर्षको दर्शनलाई वर्गसमन्वयवादमा विलय गराउने । तेस्रोः विकसित विचारको आवश्यकताबोध गर्ने तर, व्यवहारमा क्रान्तिकारी र वैज्ञानिक कार्यदिशाको संश्लेषण गर्न नसक्ने अकर्मण्यतावाद । यी तीन अतिवादबाट माथि उठेर मात्र मार्क्सवादलाई गतिशील विज्ञानका रूपमा बुझ्न र जीवन व्यवहारमा प्रयोग गर्न सकिन्छ ।

विगत केही वर्षदेखि हामी मार्क्सवादको पद्धतिसंगत अध्ययन, विश्लेषण र आचार एवम् व्यवहारमा रूपान्तरण गर्ने संकल्पमा छौँ । यस अवधिमा नेपालका विभिन्न कम्युनिष्ट धाराका नेता/कार्यकर्ता हाम्रो अभियानमा जोडिनुभएको छ । मार्क्सवादी विचार र आचारमा देखिएको खडेरीका सन्दर्भमा हामीले सुरू गरेको अभियान औचित्यपूर्ण छ र रहनेछ ।

यस अवधिमा हामीले करिब पच्चीस हजार नेता कार्यकर्तालाई मार्क्सवादी कक्षामा प्रशिक्षित गरेका छौँ । हजारौं साथीहरू उत्साहका साथ हाम्रो अभियानमा हातेमालो गर्न लालयित हुनुहुन्छ । उहाँहरू सबैलाई हामीले विभिन्न चरणका कक्षामा सहभागी गराउने योजनामा छौँ । साथै सहभागीहरूमध्येबाट इच्छुक विद्यार्थीलाई प्रशिक्षकका रूपमा विकास गर्न पनि हामी क्रियाशील र प्रतिबद्ध छौँ । यसले हाम्रो अभियानलाई थप तीव्रता दिनेछ ।

यस क्रममा देशको विभिन्न कुनामा रहनुभएका साथीहरूले स्वत:स्फूर्तरूपमा महत्त्वपूर्ण जिम्मेवारी लिएर अभियानको सफलताका निम्ति अहोरात्र खटिरहनुभएको छ । उहाँहरूको उत्साह, इच्छाशक्ति, अध्ययनप्रतिको रुचि, जीवन र समाज बदल्ने संकल्प एवम् इमान्दारिताले आगामी यात्राका लागि थप बल मिलेको छ । उहाँहरूको इच्छाशक्ति र ऊर्जा नेपालको कम्युनिष्ट आन्दोलनमा विचारधारात्मक इट्टा थप्न फलदायी हुने हाम्रो विश्वास छ ।

यस अवधिमा मार्क्सवादसँग सम्बन्धित एवम् समकालीन विश्व व्यवस्थाबारे विभिन्न पुस्तकहरूको लेखन, अनुवाद, सम्पादन र प्रकाशनका कामहरू भएका छन् । डिजिटल लाइब्रेरीसमेत व्यवस्थित हुँदै गएको छ । अध्ययन संस्कृतिको दीर्घजीवनका निम्ति अक्षयकोषलगायतका रचनात्मक काम अगाडि बढेका छन् । संस्थामा आबद्ध साथीहरूलाई विभिन्न समूहमा वर्गीकरण गरी अनुसन्धानका काम अगाडि बढाइएको छ । सातवटै प्रदेश र देशका विभिन्न जिल्लामा कक्षा, डिस्कोर्स, हाजिरीजवाफ, संस्कृति प्रवर्द्धनलगायतका रचनात्मक कार्यक्रम सम्पन्न भएका छन् । चार वर्षको अवधिमा भौतिक र भर्चुअलरूपमा गरी करिब २५ सय कार्यक्रम सम्पन्न भएका छन् । यो सामान्य इच्छाशक्ति, मेहेनत, अध्ययन र साधनाबाट सम्भव हुने कुरा होइन ।

मार्क्सवादी ज्ञान केन्द्रले मूलतः २१ औं शताब्दीको युगीन चेतनाद्वारा ओतप्रोत, मार्क्सवाद र विज्ञानलाई सही संयोजन गर्दै क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्ने कम्युनिष्ट कार्यकर्ता उत्पादन गर्ने ध्येय राखेको छ । जसले दर्शनको गुरुत्व बुझ्दछ, त्यसलाई व्यवहारमा प्रयोगको संकल्प गर्दछ, त्यसबाट प्राप्त सफलतालाई सिद्धान्तका रूपमा संश्लेषण गर्दै सीमाहरूबाट शिक्षा लिने संकल्प गर्दछ, त्यो नै सफलताको चुचुरोमा पुग्दछ ।

क्रान्तिकारी व्यवहारमा आधारित सिद्धान्तद्वारा ओतप्रोत नेता/कार्यकर्ताको उत्पादन कम्युनिष्ट आन्दोलनको आधारभूत जिम्मेवारी हो । मार्क्सवादी ज्ञान केन्द्रको सर्वाधिक महत्त्वको विषय पनि यही हो र हुनेछ ।

केन्द्रले नेपालका कम्युनिष्ट पार्टीहरूका विद्यमान राजनीतिक कार्यदिशामाथि विमर्श र नयाँ संश्लेषणका लागि वैचारिक डिस्कोर्स गर्ने, कम्युनिष्ट पार्टीहरूले लिएका नीतिहरूमाथि विमर्श, मार्क्सवादको व्यवस्थित अध्ययन र अन्वेषणका लागि आवश्यक पर्ने सन्दर्भ सामग्रीहरूको संकलन र व्यवस्थापन, ई-लाइब्रेरीको निर्माणलगायतका कामलाई पनि आफ्नो कार्यसूचीमा राखेको छ ।

यसका साथै नेकपाको स्थापना (२००६) देखि वर्तमानसम्मका सबै कम्युनिष्ट घटकहरूले संश्लेषण गरेका विचार, राजनीतिक दस्तावेज, नेतृत्व निर्माण एवम् विकास प्रक्रिया र पार्टीका तल्ला कमिटीहरूमा सम्प्रेषण गरिएका विचारहरूसमेत संलग्न गरी दस्तावेज संग्रह गर्ने सोचसमेत राखिएको छ ।

मार्क्सवादी ज्ञान केन्द्र कम्युनिष्ट पार्टीको कुनै घटकको घेराभित्र मात्र सीमित रहेको र रहने संरचना होइन, बरू यसलाई नेपालका सबै कम्युनिष्टहरूको साझा मञ्चका रूपमा स्थापित गर्ने हाम्रो प्रतीज्ञा छ । कार्यदिशा र कार्यनीतिका दृष्टिले विमति रहे पनि नेपालको कम्युनिष्ट एवम् वामपन्थी आन्दोलनबारे साझा धारणा तयार पार्न र एकीकृत तागतको बलमा समाजवादको आधार तयार पार्न मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो भूमिका निर्वाह गर्नेछ ।

ज्ञान केन्द्र कम्युनिष्ट आन्दोलनको एउटा स्कूल हो । यस स्कूलले मार्क्सवादको रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका उपलब्धिहरूको संश्लेषण, नयाँ विचारको विकासका निम्ति अभिप्रेरित गर्ने र विचार र व्यवहारमा एकरूपतासहितको सङ्गठनात्मक आधार तयार पार्न योगदान गर्नेछ । यो महाअभियानमा सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूसँग साझेदारी र सहकार्यका आधारमा अगाडि बढ्न हामी संकल्पबद्ध छौँ ।

चार वर्षको प्रयोग र अनुभवका आधारमा हामीले मार्क्सवादी ज्ञान केन्द्रको बहुआयमिक विकासमा जोड दिएका छौँ । हामी यही ऊर्जा र संकल्पका साथ कम्युनिष्ट आन्दोलनका अभियात्री र शुभेच्छुकहरूमा मार्क्सवादी ज्ञानको भोक जगाउने, विचार र व्यवहारको सन्तुलनका निम्ति अभिप्रेरित गर्ने, पद्धतिसंगत अध्ययनको बानी बसाल्ने, कम्युनिष्टहरूमा पठन संस्कृतिलाई पुर्नजागृत गर्ने र कम्युनिष्ट आन्दोलनमा दृष्टिकोण, विचार, नीति र प्रणालीका क्षेत्रमा देखिएको अवसरवाद र रूढीवादलाई अन्त्य गर्दै युगानुकूल विचार र कार्यदिशा निर्माणका लागि महान बहसको अभियानमा छौँ । र, यसमा विगतझैं भविष्यमा पनि सबैको सद्भाव र सहकार्यको अपेक्षा राखेका छौँ ।

(लेखक मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष हुन्)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved