मोनोलग

‘म किताब नपढ्ने मानिससँग सङ्गत गर्दिनँ’

किताब नपढ्ने मानिसहरूको दिमाग नै हुँदैन । उनीहरूको निर्णय गर्ने क्षमता नै हुँदैन । उनीहरू कुसंस्कारी हुन्छन् । सभ्यता के हो उनीहरूलाई के थाहा । धन्न हामी किताब पढ्नेहरू आयौँ र सभ्यताको विकास भयो । नत्र त यी किताब नपढ्नेहरूले हामीलाई ढुङ्गे युगमै राख्ने रहेछन् ।

‘म किताब नपढ्ने मानिससँग सङ्गत गर्दिनँ’

केही वर्षअघि देखिन्थे काठमाडौंका सडकमा किताब बेच्दै गरेका मानिसहरू । म सोच्छु, तीमध्ये कति अशिक्षित होलान् । कति शिक्षित होलान् । तर, अधिकांशले उनीहरूलाई ‘नपढेका’ मानिस भनेर बुझ्छन् ।

एकदिन म उनीहरूको क्रियाकलाप हेर्दै घण्टौँ बस्छु भनेर सोचेँ र बसेँ पनि । एनएसीको पर्खाल अगाडि । मौसम हल्का चिसो थियो । बालेन काठमाडौंका मेयर भइसकेका थिएनन् । महानगरले ती फुटपाथमा किताब फिँजाएर राख्नेलाई हटाइसकेको थिएन ।

म किताबका लाइनमा घोत्लिएँ, त्यहाँ विनोद चौधरीदेखि स्टिभ जब्सका आत्मकथासम्मका किताबहरू थिए । सँगै त्यहाँ अङ्ग्रेजी फरर कसरी बोल्ने, कसरी सफल हुने, कसरी अर्बपति हुने, आफ्नो जीवनलाई कसरी सुधार गर्ने, बानी-व्यवहार सुधार गर्ने सुत्रहरूका किताब राखिएका थिए । मेरो मनमा प्रश्न उब्जियो, किताब बेच्ने मानिसले किताब पढ्छन् होला ? खासगरी सडकमा किताब बेच्नेहरूले । अब पसलमा किताब बेच्नेहरू त ‘शिक्षित’ भइहाले । उनीहरू त ‘अवश्य’ पढ्छन् ।

त्यहीबीच हल्का वर्षा सुरू भयो । एकजना दिदी प्लास्टिकले किताब छोप्न भ्याइनभ्याइमा थिइन् । सोधेँ— तपाईंले किताबहरू पढ्नुहुन्छ पनि ?

ती दिदीले थोरै हिच्किचाउँदै भनिन्— कहाँ पढ्नु नि बैनी, नाम मात्र चिन्ने हो । अर्को कुरा समय पनि हुन्न । अनि यो पढेर के बुझ्नु । किताबहरू बेच्नका लागि अक्षरहरू सिक्नैपर्‍यो, खै बा-आमाले पढाएनन् । के गर्नू ।

चोर

एकपटक मेरो कोठाबाट अचानक केही किताबहरू हराए । हुन त म आफैँ किताब किन्ने मानिस हैन । सापटी लिँदै पढ्ने, फिर्ता गर्ने, कहिलेकाहीँ ‘पच’ पार्ने गर्छु । तर, किताब नभेटिँदा साह्रै तनाव भयो । घरभर खोज्दा पनि भेटिएन । ‘कसैले चोर्‍यो होला’ भनेर लख काटेँ । किताब हराएको केही दिनअघि घरमा को-को आएका थिए भनेर लिस्ट नै बनाएँ । घरमा टन्नै मानिस आएका थिए । पूजा पनि थियो । मेरो कोठामा पनि मानिसहरूको आवतजावत थियो । चोर पत्ता लगाउन अप्ठ्यारो भयो । आएका सबै मानिसहरूमाथि व्यक्तिगत अनुसन्धान गर्न थालेँ ।

को मानिस किताब पढ्ने खालको छ । कसले किताब पढ्दैन । कसको घरमा किताब सङ्कलन छ ? कसकोमा छैन ? म सरलक होल्मसभन्दा कम भइनँ । किताब किन्न रुचि भएको को-को छ, किताबमा पैसा खर्च नगर्ने को को छ ? को हेर्दै चोरजस्तो देखिन्छ ? को देखिन्न ? ४,५ जना किताब पढ्नेखाले देखिए । तर, चोर को हो ? ठ्याक्कै भन्न सकिएन । न त ‘फिंगर प्रिन्ट’ न त ‘सिसिटिभी फूटेज’ । घटनास्थलमा धेरै समय घोरिएर बिताएँ । तर, प्रमाणहरू फेला पार्न सकिनँ ।

तपाईंलाई लागिरहेको होला एउटा किताबका लागि कसले यत्रो तनाव लिन्छ ? जाबो २/४ सयको किताब न हो । तर, त्यो किताब मेरो थिएन । हेर बेइज्जत ! त्यो किताब एकजना साथीबाट ल्याएकी थिएँ । एक महिना, दुई महिना,तीन महिना हुँदै १,२ वर्ष भइसकेको रहेछ । ‘पच’ पारिसकेको रहेछु ।

यसो सोचेँ, ओहो ! जीवनका हरेक मोडमा किताब पढ्ने मानिस एकपटक चोर हुने नै रहेछ । किताब ‘पच’ पार्ने चक्र घुमिरहने रहेछ । मूल कुरो बुझिसकेपछि त्यो किताब खोज्न छाडेँ । कुनै चोरी कति मीठा हुन्छन् । यसै पनि वातावरणीय हिसाबले एउटा किताब धेरै जनाले पढ्नु राम्रो । आउनुहोस्, किताब चौरौँ र रुख जोगाऔँ ।

सञ्जाल

किताबका फोटाहरू सञ्जालमा राख्ने चलन बढेको छ । किताब किन्दै लेखकलाई ट्याग गरेर फोटोहरू हाल्ने ट्रेन्ड नै चलेको छ । त्यसो गर्दा कम्ता ‘कूल’ देखिँदैन । किताब पढ्ने मानिस भनेपछि यसैपनि ‘बौद्धिक’ इमेज आइहाल्छ हामीमा । लाग्छ, ओहो ! त्यो मान्छेले त यति धेरै पढ्छ । किताबको किरै हो ।

‘त्यस्तो किताब पढ्ने मानिस त विद्वान् होला है ?’ मानिसहरू यसै सोच्छन् । सञ्जालमा होमो स्यापियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमन्स, किताबको फोटो राखिएन भने त समाजबाट बहिष्कृत नै भइन्छ होलाजस्तो लाग्छ । एकपटक किताबको फोटो राख्नुपर्‍यो भनेर त्यो किताब किन्न पनि गएकी थिएँ ।

लेखक र पाठकबीच पनि दूरी घटेको छ । एक जमाना थियो, पाठकलाई लेखकको अनुहार पनि थाहा हुदैनथ्यो । भेट्नु, अटोग्राफ लिनु त परैको कुरा । तर अहिले अटोग्राफ लिने, लेखकसँग बसेर क्याफेमा कफी पिउने चलन छ । एकपटक एउटा किताब साह्रै मन परेर लेखकलाई डीएम गरेँ ।

प्रशंसाले भरिएको डीएम देखेर लेखक पुलकित भए । उनको खुसीको सीमा रहेन । तर, एकछिन उनको अनुरोध आयो, डीएम बाहिर टाइमलाईनमा लेखिदिनुहोस् न । यस्ता मीठा शब्दहरूको लोभ लाग्यो । कृपया ! यो बाहिर पनि सार्वजनिक गरिदिनुहोस् । ओहो ! म त ट्वाँ परेँ । एक जमानाका लेखक थिए, जो पाठकको प्रतिक्रिया सुन्न नपाइ मरे, अहिलेका लेखक छन्, जो प्रतिकृया सुन्न नपाउँदा तड्पिन्छन् ।

मैले उनको कुरा मानिनँ, मौन बसेँ । उनले केही हप्तापछि फेरि त्यही अनुरोध गर्दै म्यासेज पठाए । म फेरि मौन बसेँ । लेखक रिसाए । ठुस्स परे । प्रशंसा पाँउदा फलो गरेका उनले केही समय पछि अनफलो गरे । केही मेन्सनहरूको रिप्लाई पनि गरेनन् । यसरी लेखक र पाठकबीचको सम्बन्ध सकियो । मानिस प्रशंसाको भोको हुन्छ । प्राकृतिक कुरा हो । लेखक पनि मानिस नै हो ।

भाइरल

मानसिक स्वास्थसम्बन्धी मेरो एउटा लेख चर्चित भयो । फोन, मेसेज, कल आएको-आयै गर्‍यो । त्यो दिन जति म सायदै कहिले व्यस्त थिएँ होला । रिप्लाई गर्दा गर्दै दिन-रात बितिरहेको थियो । हल्का भाइरल भएको थियो उक्त लेख । कहिल्यै फोन नगर्ने साथीहरूले फोन गरिरहेका थिए । केहीले माफी पनि मागिरहेका थिए । घरका परिवारले पनि इज्जत दिइरहेका थिए । बाहिर छिमेकका मानिसले पनि लेखका कुरा गरिरहेका थिए । साह्रै आनन्द आइरहेको थियो । आफूले सबैको ध्यान खिच्दा कम्ता मजा आउँदैन । म त हावामा उडिरहेको थिएँ । त्यो लेखको चर्चा केही हप्ता सेलाएन । जहाँ, जाँदा पनि मैले त्यो लेख पढेको थिएँ नि भन्ने प्रतिक्रिया पाइरहन्थेँ । यो सुन्दा सुन्दा ‘ए यो मान्छेले मेरो लेख पढ्यो होला कि नाइँ’ भनेर सोच आउन थालिसकेको थियो ।

सायद तीन हप्तापछि, बहिनी र म घरतिर घुम्न निस्किएका थियौँ । साँझतिर शीतल हावा चलिरहेको थियो । हाम्रो चटपटे खाने प्लान बन्यो । छिनभरमै मुखमा पानी भरियो । ‘दाइ अलि पिरो है’ बहिनी भन्दै थिइन् । कतिखेर चटपटे बन्ला र मुखमा हालेर आनन्द लिन पाइएला भनेर हामी ढुकिरहेका थियौँ । चटपटे तयार भयो । चटपटे हातमा लिएर पहिलो चम्चा के मुखमा हालेकी थिएँ, मन चिसो भयो । मभन्दा ठ्याक्कै अघि बसेर चट्पटे खाइरहेकी बहिनीले खाएको कागज फालिन । कागज पत्रिकाको थियो । त्यो भुइमा लत्रिरहेको कागजमा मेरो लेख थियो । त्यही भाइरल लेख ।

कता-कता आकाशमा उडिरहेकी म जमिनमा पछारिएँ जस्तो भयो । मन बिग्रेजस्तो भयो । आफ्नो हैसियत झरेजस्तो लाग्यो । फेरि अर्को मनले सोचेँ ‘यो चटपटे बेच्ने दाइले मेरो लेख पढे होलान् कि नाइँ’ अवश्य पढे होलान् । यस्तो हिट लेख नपढ्ने कुरा पनि हुन्छ ? ह्वाट ननसेन्स ? ‘चटपटे खाएर फर्किरहँदा पनि मेरो आँखा त्यही कागज र चटपटे बेच्ने दाजुमाथि नै थियो । उनी निरन्तर चटपटे बेचिरहेका थिए । कागज डस्टबिनमा पुरिइसकेको थियो ।

खलासी भाइ

म यात्राको सौखिन मान्छे, म खाल्डोभित्रको फकिर । म भ्यागुते फकिर ।

एकदिन एकजनासँग बानेश्वरमा झगडा गरेर म घर फर्किँदै थिएँ । जावलाखेलबाट गाडी चढेँ । गाडी चढेको एकैछिनमा सहचालक भाइ भाडा उठाउन आइहाले । कति हतार हो भाडा उठाउन पनि । त्यो भाइ हेर्दै कस्तो गरिब थियो । मैलो लुगा । मैलो कपाल । दाँत पनि पहेँला । जुत्ता पनि पुरानो । गाडीमा चढ्ने मानिसहरू भने सफा सुग्घर थिए । हेर्दै धनी र शिक्षित देखिने मानिसहरू । त्यो भाइ बकुल्लाको भीडमा कागजस्तो देखिन्थ्यो । उसले बोल्ने भाषा पनि ठाडो ठाडो थियो । म घरी-घरी सोच्थेँ, ह्या यो भाइले गाडीको माहोल बिगारेको छ यार ! भाडा उठाउन जाँदा पनि मानिसहरू पर-पर सर्न खोज्दै गर्थे । किनभने उ ठुस्स गन्हाइ पनि रहेको थियो ।

मनमनै सोचेँ, शिक्षाले मानिसलाई कति फरक पार्छ । यदि यो केटोले सानैमा पढ्न पाएको भए ? राम्रो स्कूल जान पाएको भए ? आज यस्तो जिन्दगी बाँच्न पर्थेन । न त उसँग संस्कार थियो, न त राम्रो जीवन । उ पाताल लोकको प्राणीझैँ देखिन्थ्यो ।

ऊ मकहाँ भाडा माग्न आयो, ‘दिदी भाडा ।’ भाडा दिन भनेर पर्स खोलेँ । लौन ! त्यहाँ त पैसै छैन । यता पल्टाउछु छैन, उता पल्टाउछु छैन । खङ्ग्रिङ्ग भएँ । सातो गयो । हुन त धेरै पैसा बोकेको पनि थिएन । त्यस्तै हजार पन्ध्रसय बोकेको थिएँ । तर, पैसा हराएछ । सायद झगडा गरेर फर्कदाको झोँकमा कतै खसालेँ । त्यो भाइ टुलुटुलु हेरिरहेको थियो ।

मलाई के गरूँ कसो गरूँ भयो । एन्जाइटी बढ्न थाल्यो । केही सीप नलागेर अरुले सुन्नेगरी नै भने, भाइ मसँग त पैसा नै रहेनछ । वरपरका सबै मानिसले मतिर ट्वाल्ल पर्दै हेरे । मलाई लाज त लागेकै थियो । तर, त्यो समस्याबाट निस्कने उपाय पनि थियो । गाडीमा कोही त होला, जसले भन्ला ‘पैसा पो हराएछ, म तिरिदिन्छु नि’ भनेर । धनी, शिक्षित, सफा, सुकिला-मुकिला, संस्कारी, उच्च वर्गका मानिसहरू भएको भीडमा मलाई के-के टेन्सन ? ह्या म पनि बेकारमा आत्तिएको ! म सहयोग गर्छु, म सहयोग गर्छु भन्दै आउलान् र झगडा पर्ला भन्ने पो पिर पर्न थाल्यो ।

तर, कोही चुइँक्क बोलेनन् । अहँ, माखो पनि यताउति सरेन । म निर्दोष आँखाले ‘सहयोग’ मागिरहेकी थिएँ । तर, हेर्दै धनी, शिक्षि, सफा, सुकिला-मुकिला, संस्कारी, उच्च वर्गका मानिसहरू आ-आफ्नो सिटतिर फर्कँदै पूर्ववत् अवस्थामा बसेँ । हेर्दै शिक्षित र सहयोगी देखिने वर्गबाट पिठ्युँमा छुरा खाएपछि म अरु विकल्पहरू सोच्नतिर लागेँ ।

फेरि संवाद अगाडि बढ्यो ।

‘दिदी, कसरी दिने त भाडा ?’

‘ए भाइ इ-सेवा चलाउछौ ? इ-सेवामा हाल्दिउँ ?

‘दिदी हाम्रो त यस्तो मोबाइल छ’ भन्दै किटकिटे मोबाइल पो देखायो उसले ।

त्यो भाइ अरुसँग भाडा उठाउन थाल्यो । घर नजिक आउँदै थियो । झर्नेबेला हुँदै थियो । ममा डर बढ्न थाल्यो । चालक पनि हेर्दै डरलाग्दो देखिन्थ्यो ।

भाडा दिइनँ भने कतै गाडीको सिट पुछ्न लगाए भने ? मनको बाघले खान थाल्यो । फोन गरेर कसैलाइ बोलाउँ भनेको फोनमा पनि जिरो ब्यालेन्स रहेछ । ओहो मेरो दिन, हरे !

चोकमा गाडी रोकियो । सबैजना विस्तारै झरे । डराएकी म सबै गएपछि झर्छु भनेर अन्तिमसम्मै बसेँ । अन्तिममा झर्नैपर्‍यो । सहचालक भाइ ढोकाको तल उभिएर पैसा गन्दै थियो । उसले मलाई देखेको पनि थिएन ।

‘भाइ मसँग त पैसै भएन’ गाडीबाट झरेर मैले भनेँ । ‘धत ! त्यस्तो कुरामा पनि टेन्सन लिने हो । छाड्दिनुस् भाडा । कहिलेकाहीँ यस्तो भइहाल्छ नि ! बरु तपाईंलाई अर्को गाडी चढ्नुपर्ने भए यी लिनुस्’ भन्दै भाइले पचासको नोट मेरो हातमा थमाइदिन खोज्यो ।

मलाई त्यतिबेला भक्कानिएर रुन मन लाग्यो । उसलाई धन्यवाद भन्दै अँगाल्न मन लाग्यो । तर, हेर्दै फोहोर, अशिक्षित, असंस्कारी र निम्न वर्गको मानिस छिनभरमै जाउँ-जाउँ भन्दै ढ्याप्प-ढ्याप्प बसको ढोकामा हान्दै बस चढ्यो । एकैछिनमा ऊ टाढा पुगिसकेको थियो ।

किताब र लेख नपढ्ने मानिस

मलाई किताब नपढ्ने मानिस मनै पर्दैन । आई हेट देम ! अझ त्यस्ता मानिसहरूको सङ्गत गर्न नपरे कति जाति हुन्थ्यो जस्तो लाग्छ । कहिलेकाहीँ बाटोमा हिँड्दा किताब नपढ्ने मानिसहरू छुइन आउँछन् । मलाई साह्रै गिजमिज लाग्छ । घर आएर हत्तपत्त नुहाइहाल्छु । कहिलेकाहीँ त तीनपटकसम्म साबुन लगाँउछु । अत्तर पनि छर्कनपर्ने हुन्छ । किताब नपढ्ने मानिसहरूको शरीरबाट कस्तो ह्वास्स गन्ध आएझैँ लाग्छ ।

हामी स्कूलमा पढ्दा पनि किताब नपढ्ने मानिसका छोराछोरीहरू हुन्थे । उनीहरूसँग हामी सङ्गत गर्दैनथ्यौँ । उनीहरू पछाडिका बेन्चमा बस्थे । किताब नपढ्ने मानिसहरूको घर कस्तो हुन्छ होला, के खान्छन् होला भनेर हामी अड्कल काटिरहन्थ्यौँ । उनीहरू जङ्गलतिर बस्छन् भन्ने पनि सुन्नमा आउँथ्यो ।

हामी त कस्तो बौद्धिक हो । हामी किताब पढ्ने मानिस हो । हामीले सारा संसार बुझेका छौँ । यो संसार हाम्रो हो । यो आकाश-धर्ती सबै हाम्रो हो । हाम्रो अनुभव मात्र अनुभव हो । हामीले सारा अनुभव पढेका छौँ । हामीले खुसीहरू पढेका छौँ । हामीले दुःखहरू पढेका छौँ । हामीले प्रेम पनि पढेका छौँ । हामीले यौन पनि पढेका छौँ । हामी सबै पढिदिन्छौँ र अक्षरभित्रै बाचिदिन्छौँ । हामीलाई यी कुराको वास्तविक अनुभव गर्नैपर्छ भन्ने छैन । किनकि हामी सबै पढिदिन्छौँ ।

हामी किताबै पढेर देश हाँकिदिन सक्छौँ । हामी किताबै पढेर रकेट चलाइदिन्छौँ । यो संसारको रिमोट त हाम्रो हातमा छ । यी किताब नपढ्नेहरू ‘अनुभव पनि ज्ञानको एउटा स्रोत हो’ भन्दै हिँड्छन् । ह्वाट ननसेन्स ! ‘किताबबाट बाहिर निस्केर संसार बुझ्ने गर, संसार पढ्ने गर रे ! द हेल, किराहरूलाई खाल्डो नै संसार लाग्छ ।

किताब नपढ्ने मानिसहरूको दिमाग नै हुँदैन । उनीहरूको निर्णय गर्ने क्षमता नै हुँदैन । उनीहरू कुसंस्कारी हुन्छन् । सभ्यता के हो उनीहरूलाई के थाहा । धन्न हामी किताब पढ्नेहरू आयौँ र सभ्यताको विकास भयो । नत्र त यी किताब नपढ्नेहरूले हामीलाई ढुङ्गे युगमै राख्ने रहेछन् ।

किताब पढ्नुपर्छ । ज्ञानको एकमात्र स्रोत हो किताब । किताबले बौद्धिकता बढाउँछ । वैचारिक सोच ल्याउँछ । किताबले मानिसलाई सभ्य बनाउँछ । राम्रो संस्कार हुर्काउँछ । तर्क गर्न सिकाउँछ । इतिहासदेखि लिएर मानव सभ्यताका पाठहरू सिकाउँछ, बुझाउँछ ।

कल्पनाको उडान भराउनेदखि लिएर मनोरञ्जन दिने गर्छ । यो कुरा किताबबाहेक अरु कुराले दिनै सक्दैन । त्यसैले मलाई किताब नपढ्ने मानिसहरू मनै पर्दैन । म उनीहरूको सङ्गत कहिल्यै गर्दिनँ ।

किताब बढ्नेहरू यसै भन्छन्, “मानिस भएर जन्मेपछि हरसमय असल हुने प्रयत्न गर्नुपर्छ । अरुको सहयोग र सन्तोषको जिन्दगी नै जीवनको उदेश्य हो ।”

यस्तो नचाहिँने कुराको पनि हद हुन्छ नि, मान्छेको जीवन लक्ष्य चुप लागेर खुसी भएर बाँच्नु हैन । फैलिनु हो, फैलाउनु हो । अरु प्राणीहरूमाथि विजय हासिल गर्नु हो । गर्नु परे अत्याचार पनि गर्ने हो । त्यसका लागि गर्न परे युद्ध गर्ने हो । मार्ने पनि हो मर्ने पनि हो ।

झन् हामी किताब पढ्नेहरू छौँ र हात हतियार र प्रविधिको विकास भएको छ । युद्धहरू भइरहेका छन् । यिनै हतियारबाट प्रयोग गरी कुनै दिन संसारबाट किताब नपढ्नेहरूलाई हामीले नामेट पार्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved