जिम्मेवार अभिभावकको नाताले मैले मेरो बाबुलाई वर्षमा एकचोटी लामो दूरीको ज्ञानमूलक भ्रमण गराउने प्रयास गर्छु । बाबु स्वप्निल र म पोहोर साल मार्दी हिमाल गएका थियौँ ।अन्नपूर्ण र माछापुछ्रे हिमाललाई नजिकबाट देख्न सकिने यो ठाउँ निकै रमणीय छ । मानव सभ्यतासँग खासै गाँसिने मौका नपाए पनि प्राकृतिक दृष्टिकोणले मार्दीको पदयात्रालाई विशेष बनाउँछ ।
यसपटक भने हामीले सबैभन्दा ठूलो जिल्ला डोल्पा र त्यसको पनि विशेष गरी शे-फोक्सुन्डो ताल जाने निर्णय गर्यौँ । हामी बुटवलबाट नेपालगञ्ज हुदैँ डोल्पा (जुफाल) एयरपोर्ट पुग्यौँ । जुफालबाट बाटोमा माथिल्लो भेरी र फोक्सुन्डो मिसिएको हेर्दै हामी जीपमा सुलिघार पुग्यौँ । सुलिघार बाट हाम्रो पैदल यात्रा सुरू भयो।
हामी शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गर्यौँ । यस राष्ट्रिय निकुञ्जको विशेषता भनेको लोप हुन लागेका पशुपक्षी र वन्यजन्तु पाइनु हो । यहाँ कस्तुरी मृग, हिम चितुवा, नाउर (Blue Sheep) आदि पाइँदो रहेछ । पहिलो दिन हामी ६ घण्टा हिडेर कँगनी हुँदै छेप्का पुग्यौँ । दोश्रो दिन छेप्काबाट बिहानै ७ः०० बजे हिडेर साँझ ५ः०० बजे रिङ्ग्पो पुग्यौँ, जहाँ ताल छ।
ताल पुग्नुभन्दा १ घण्टा अगाडि बाटोमा गजबको झर्ना छ । त्यही झर्नाले पैदल यात्रुलाई स्वागत गरेर सबै थकान बिर्साइदिन्छ । तेश्रो दिन ताल लाई विभिन्न कोण बाट हेरेर रमाइलो गर्न सकिन्छ ।
प्राय: मान्छेहरू First View Point सम्म जाने गर्छन् । जहाँबाट ताल राम्रो सँग हेर्न सकिन्छ । यो ताल यति शान्त छ तर, यो विद्रोही पनि छ । यहाँ हिउँ पर्दा पनि यो ताल जम्दैन। ठाडो उकालो छ। चट्टानको बीचबाट बाटो छ । अलि सचेत भएर हिँड्नुपर्छ ।
ताल हेरेर दिउँसोको खाना खाएर हामी त्यही दिन रेची पुगेर साँझको बास बस्यौँ । चोथौ दिन ९ घण्टा हिँडेर सुलिघार पुग्यौँ । सुलिघारबाट गाडीमा दुनै पुग्यौँ । डोल्पाको सदरमुकाम दुनै सानो बजार भए पनि रमाइलो छ। जुफाल दुनैमा स्याउखेती गरिँदोरहेछ । पूर्वाधार नभएका कारण सो स्याउ बाजार नपुग्दै खेर गएको देख्दा अचम्मित त भएनौँ तर, नरमाइलो भने पक्कै लाग्यो।
दशैंको बेला भएकाले फूलपाती हेर्न हामी दुनैको कालिकामन्दिर गयौँ । धर्मको नाममा अन्धविश्वास व्यापकरूपमा पायौँ । मानव सभ्यताको विकासलाई यस अन्धविश्वासले ढिलो गराएको महसुस भयो । मोटरसाईकलमा हामी अर्को बजार र तीर्थस्थल श्री आदिशक्ति बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर हेर्न गयौँ । यहाँ १० वटा देवीको कथा सुन्यौँ । तिमध्ये मुख्य जसलाई दशैंको महत्त्वपूर्ण देवी मानिन्छ यही ठाउँको भन्ने थाहा पायौँ । जुन किंवदन्ती हो । भारत सरकारको अनुदानमा यो मन्दिरलाई व्यवस्थित बनाइएको रहेछ ।
बुद्ध र हिन्दू धर्मावलम्बी धेरै भएको यस ठाउँमा आदिवासी र जनजाति समुदाय बहुसंख्यक रहेछन् । नेशनल पार्क, मन्दिर, बजार घुम्दा मलाई एक सान्दर्भिक कथाको याद आयो । यहाँ पाइने कस्तुरी मृग माइटोमुनि हावा लाग्नेबित्तिकै कस्तुरीको बास्ना खोज्दै दौडिन्छ रे, अनि सिकारीचाहिँ जताबाट हावा लागेको हुन्छ त्यतै बसेर मृगलाई कुर्दोरहेछ, जब मृगअनुकूल अवस्थामा भेटिन्छ, सोही समयमा सिकारीले सिकार खेल्छ । मृगले सिकारीको चपेटामा फसेपछि बल्ल थाहा पाउँछ कि जुन बास्नाको लागि उ दौडिएको थियो त्यो उसकै नाइटोमुनि थियो।
नेपाल अनि यो डोल्पा जिल्लाको अवस्था कस्तुरी मृगको जस्तै छ। यहाँ मान्छेले भन्दा अन्धविश्वास फैलाउन सक्ने पुरेतले शासन गरेका छन्। चेतना फैलाउन सक्ने नेता भन्दा पैसा खर्च गर्नसक्ने नेताले चुनाव जित्ने गर्छन्।
जडिबुटीको उपलब्धताका कारण यहाँका स्थानीयले व्यक्तिगत आर्थिक उन्नत्ति त गरेका होलान् तर सभ्यता विकासको हिसाबले यहाँको जनसंख्या धेरै पछाडि रहेको हामीले पायौँ । २०७४ सालको स्थानीय निकायको चुनावमा समेत आफूलाई देवताको संज्ञा दिएका व्यक्तिले जितेको भन्दा हामी अचम्मित भयौँ ।
यहाँको विद्यालय भन्दा व्यवस्थित मन्दिर छ । Motherland phoksundo english medium school को बेहाल देख्दा यहाँको शैक्षिक स्तरोन्नतीमा सरकारले ढिला गर्न नहुने महसुस जो कसैलाई हुन्छ । सरकारले सहुलियत दिएर भए पनि विद्यालय, कपडा, स्वास्थ्य सेवा इत्यादिको व्यवस्था गराउनुपर्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले सबैभन्दा ठूलो जिल्ला डोल्पालाई विशेष ध्यान दिनुपर्छ । यसले समग्र देशको आर्थिक विकासमा टेवा दिने सम्भावना छ । यहाँका उत्पादन गाँजा र स्याउ अनि ओखरलाइ कच्चा पदार्थका रूपमा मात्रै भन्दा पनि finished manufactured good को रूपमा बेच्दा आर्थिक क्षेत्रलाई पनि टेवा पुग्छ ।
यति सुन्दर सभ्यता र परिदृश्य हुँदा पनि डोल्पामा पर्यटन क्षेत्रको विकास भएको छैन । यसको लागि मुक्तिनाथ, रारा हुँदै शेःफोकसुन्डोको बाटो छिटो बन्नुपर्ने देखिन्छ । त्यसको लागि मध्यपहाडी लोकमार्गको काम छिटो सम्पन्न हुनुपर्छ।
भ्रष्टाचारले डोल्पा लाई पनि छाडेको छैन । चिया पिउने बास बस्ने ठाउँमा स्थानीय निकायले गरेको अनियमियताबारे स्थानीयले कुरा गरेको सुन्दा संसदीय व्यवस्थाको महँगो मिश्रित निर्वाचन प्रणालीले हिमाली जिल्लामा झन् काम नगरेको पाइयो । खुलेआम जसले पैसा दिन्छ उसैलाई भोट भनेजस्तो भाष्य निर्माण भएको रहेछ ।
डोल्पा जिल्लाले प्रगति त गरेको छ तर सुस्त गतिमा, जुन गतिमा यो जिल्लाको विकास हुनुपर्ने हो भएको छैन। विप्रेषणबाट मात्रै चलेको देशले पर्यटनमा सम्भावना छ भन्ने बिर्सिएकै हो ? भन्ने प्रश्न यात्रा भरि आइरह्यो।
यो पैदल यात्रा गर्ने पर्यटन स्थल हो तर, दुनै जुफालसम्म पुग्न सडक मार्ग त बर्बाद नै छ । त्यहाँ पुग्दासम्म दुई दिन लाग्छ । जसकारण शरीर थकित भइसकेको हुन्छ । पैदलयात्रा गर्न निकै कठिन हुन्छ। हवाईमार्गबाट जान टिकट पाउनै मुस्किल रहेछ । टिकटका लागि पनि पहुँच चाहिने रहेछ।
सहज ढंगले अनलाईनबाट टिकट पाइने अवस्था पनि छैन। यो समस्या तत्काल समाधान गर्ने हो भने आन्तरिक र बाह्य पर्यटकको जिल्लामा घुइँचो लाग्छ। तीनै तहको सरकारले यसबारे गम्भीर भएर सोच्नैपर्छ। सबै नेपाली एक पटक पुग्नैपर्ने ठाउँ हो शे-फोक्सुन्डो ताल ।
Facebook Comment
Comment