ब्लग

दुई छिमेकीको दृढ सङ्कल्प र नेपालको लघुताभास

दृढ सङ्कल्प बोकेर हिँडेका दुई छिमेकीको विश्वास गुमाएर होइन, आर्जन गरेर मात्रै देश अघि बढ्न सक्छ । होइन भने हामी भूराजनीतिक जटिलतामा जसरी फसिरहेका छौँ, यहाँबाट पार पाउन मुस्किल छ । अब भूराजनीतिक सन्तुलन वा समन्वय नमिलाएसम्म नेपालजस्तो मुलुकको स्थिरता र समृद्धि सम्भव छैन ।

दुई छिमेकीको दृढ सङ्कल्प र नेपालको लघुताभास

यो वर्ष (२०२४) को प्रारम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई मन्दिरको प्राणप्रतिष्ठा गरे र एउटा मन्दिर शिलान्यास गरे । जनवरी २२ मा अयोध्यामा राम मन्दिर र फेब्रूअरी १४ मा यूएईको अबुधावीको स्वामिनारायण मन्दिरमा प्राणप्रतिष्ठा गरेपछि मोदीले फेब्रूअरी १९ मा उत्तर प्रदेशमा कल्की मन्दिर शिलान्यास गरे ।

यो वर्ष भारतमा निर्वाचन पनि हुँदैछ, जसको प्रारम्भमा प्रधानमन्त्री मोदीले सांस्कृतिक पुनर्जागरणको नयाँ यात्रा सुरू भएको, कालचक्र घुमेर भारतको पक्षमा आएको बताएका छन् । आगामी पाँच वर्ष भारतको कूटनीति यही सांस्कृतिक जगमा हुने देखिएको छ । यसलाई मोदीका अत्यन्त विश्वासप्राप्त मानिने भारतका विदेशमन्त्री एस जयशंकरले पछिल्लो पुस्तक ‘ह्वाई भारत म्याटर्स’मार्फत पनि उजागर गरिदिएका छन् ।

सबैभन्दा महत्त्वपूर्ण त पाँच सय वर्षपछि बनेको राम मन्दिर र मध्यपूर्वको एउटा इस्लामिक केन्द्र अबुधावीमा स्वामीनारायण मन्दिर निर्माण र मोदीको सहभागिता थियो । “वास्तवमा यो मेरो कल्पनाभन्दा टाढा थियो । म साक्षी बनेँ,” मोदीले कल्की मन्दिर उद्घाटनपछि भनेका छन्, “पहिला कल्पनाभन्दा निकै टाढाको विषय आज यथार्थ भएको छ, मध्यपूर्वमा हिन्दू मन्दिर । हाम्रो पुस्ताको जीवनकालमा यस्तो अवसर प्राप्त हुनुजस्तो सौभाग्य अरु के हुन्छ ?”

भारतले कासीको धर्तीमा विश्वनाथ धामको वैभव स्थापित गरेका छन् । वास्तवमा यही कालखण्डमा कासीको कायाकल्प भएको छ । उज्जैनको महाकाल मन्दिरमा त्यस्तै परिवर्तन भएको छ । जसलाई मोदी महाकालको महालोक भन्न रुचाउँछन् । उनले सोमनाथ गुजरातको विकास हुँदै उत्तराखण्डको केदारघाटीमा पुनर्निर्माणको गौरव पनि सुनाइरहेका छन् ।

भारतको नयाँ मन्त्र छ, विकास र विरासत । मोदीले विगतमा ‘सबका साथ, सबका विकास, सबका प्रयास र सबका विश्वास’ भन्ने नारा तय गरेका छन् । यसै सन्दर्भमा उनको नयाँ शब्द छ, ‘विकास पनि, विरासत पनि’ ।

भारतभर मन्दिर मात्र बनिरहेको छैन, मोदी सरकारको प्रयासमा देशभर नयाँ मेडिकल कलेज सञ्चालन भइरहेका छन् । विश्वका विभिन्न ठाउँमा चोरीका कारण पुगेका भारतीय प्राचीन मूर्ति फर्काउने क्रममा भारत छ । यो परिवर्तनको प्रमाण हो, जसमा समयको चक्र घुमिरहेको छ । मोदी भन्छन्, “एक नयाँ दौरले हाम्रो ढोका ढक्ढक्याइरहेको छ । हामी यो आगमनको दिल खोलेर स्वागत गरौँ ।” यो भनेको भारतको नयाँ सांस्कृतिक पुनर्जागरण हो ।

उनले यही समयमा दूरगामी निर्णय गर्ने जनाउ पहिल्यै दिएका थिए । उनको भनाइ थियो— यही समय हो र सही समय हो ।

जनवरी २२ मा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदा मोदीले भारतमा नयाँ कालचक्रको सुरुवात भइसक्यो भनेका थिए । “प्रभु श्रीरामले जब शासन गरे, त्यसको प्रभाव हजारौं वर्षसम्म पुग्यो । रामलल्लाको विराजमानसँगै आगामी हजार वर्षसम्म भारतका लागि नयाँ यात्राको शुभारम्भ भइरहेको छ,” मोदीको अर्थपूर्ण भनाई छ, “भारत स्वतन्त्रताको अमृतकालमा राष्ट्र निर्माणका लागि सहस्र शताब्दीको सङ्कल्प केवल अभिलाषा मात्र होइन, यस्तो सङ्कल्प जसले हाम्रो संस्कृतिले हरेक कालखण्डमा जिएर देखाएको छ ।”

मोदीको दृढ सङ्कल्प हेर्दा लाग्छ, उनी तत्कालै अवकास लिने मूडमा छैनन् । “इश्वरले मलाई राष्ट्ररूपी मन्दिरको नवनिर्माण गर्ने दायित्व सुम्पेका छन् । म राष्ट्ररूपी मन्दिरलाई भव्यता दिन, यसलाई गौरव दिन रातदिन लागिरहेको छु,” मोदी दृढतासाथ भन्ने गर्छन्, “आज भारतले कसैको अनुसरण गरिरहेको छैन, हामी अरुका लागि उदाहरण बनिरहेका छौँ । हामी पाँचौँ ठूलो अर्थतन्त्र भयौँ । पहिलोपटक भारतीय यान दक्षिण चन्द्रमाको सतहमा भारत पुग्यो ।”

आज भारतमा शक्ति पनि अनन्त छ, सम्भावना पनि अपार छ । मोदी थप्छन्, “आज हामीसँग भारत निर्माणका लागि हजारौं-करोडौं हात छ, हिँड्नका लागि लाखौं करोडौं पाइला छन् ।”

यो दृढ सङ्कल्प मोदीको मात्र होइन, उत्तरी छिमेकी चीनका राष्ट्रपति सि चिनफिङको पनि उत्तिकै छ । हामी आज दुवै शक्तिशाली छिमेकीको बीचमा मात्र छैनौँ, आकास र जमिनजस्तो सैद्धान्तिक धरातल बोकेका दुई देशबीचमा पनि अवस्थित छौँ । भारत अहिंसाद्वारा स्वतन्त्रता हासिल गरेर प्रजातान्त्रिक मुलुकका रूपमा बाँचिरहेको छ । अन्तर्राष्ट्रिय जगत्‌मा लोकतन्त्र र शान्तिका पक्षमा ऊ उभिँदै आएको छ ।

अर्कोतर्फ चीन हिंसात्मक सङ्घर्षबाट सत्ता कब्जा गरेर आएको हुनाले उसको फरक शैली छ । जापानी उपनिवेशविरुद्ध र च्याङ्काईसेकविरुद्ध उग्रराष्टवादी आन्दोलनको पृष्ठभूमिबाट चीनको अहिलेको पुनर्उदय सम्भव भएको हो ।

आज भारत र चीन दुवै देशको नेपाललाई हेर्ने दृष्टिकोणमा भने केही फरक छ । चीनलाई तिब्बतसँग चासो छ । नेपाली भूमि चीनविरुद्ध कतिपय देशले प्रयोग गर्ने हुन् कि भन्नेमा चीनको चासो छ । नेपालको अस्थिरताले चीनसँगको सीमानामा प्रभाव पार्छ र यसले क्षेत्रीय राजनीतिमा नै प्रभावित पार्छ भन्ने चीनको मान्यता देखिन्छ ।

भारतलाई पनि खुला सिमाना कसरी सुरक्षित गर्ने र अझ स्पष्टरूपमा सिमाना खुला राखेर कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ । नेपालको बढ्दो राजनीतिक सङ्क्रमणकालले सुरक्षा जटिलता पैदा गर्दै आएको उसको ठम्याइ छ ।

पछिल्लोपटक नेपालको खुला सीमाबाट उत्पन्न हुने सुरक्षा चिन्ताबाट मुक्त गरिदिन भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली संसदीय प्रतिनिधिमण्डललाई आग्रह गरेको विषय सञ्चारमाध्यममा आएको थियो ।

नेपाल-भारत सीमा क्षेत्रमा विगतमा माओवादी थिए, अहिले विभिन्न विखण्डकारी समूह, उग्रवादी समूह छन् । यसबाट उत्पन्न हुने सुरक्षा जोखिमको भय भारतले महसुस गरेको छ । नेपालको हितलाई प्राथमिकतामा राखेर छिमेकीको सुरक्षा चासो सम्बोधन गर्नु सरकारले पहलकदमी लिनु आवश्यक छ ।

जटिल क्षेत्रीय राजनीतिक वातावरणमा नेपालले आफ्नो हितअघि बढाउने र दुवै छिमेकीको सुरक्षा चासो सम्बोधन गर्ने गरी सरकार र यहाँका राजनीतिक दलअघि बढ्नु आवश्यक छ । ठूला दल सबैभन्दा गम्भीर हुनुपर्नेछ ।

सत्तामा हुँदा एउटा प्रतिबद्धता, विपक्षमा हुँदा अर्को व्यवहार गर्ने दलीय प्रवृतिले पनि नेपालमा छिमेकी भारत र चीनको विश्वासमा कमी आएको छ । दुई दृढसङ्कल्प बोकेका देशको बीचमा रहेर नेपालले जसरी विश्वास गुमाउने र लघुताभासमा फस्ने प्रयास गर्दैछ, यसले मुलुकलाई तल पुर्‍याउने छ ।

राजनीतिक नेतृत्वमा अविश्वासको अवस्थामा परिवर्तन ल्याउनु जरुरी भइसकेको छ । दृढ सङ्कल्प बोकेर हिँडेका दुई छिमेकीको विश्वास गुमाएर होइन, आर्जन गरेर मात्रै देश अघि बढ्न सक्छ । होइन भने हामी भूराजनीतिक जटिलतामा जसरी फसिरहेका छौँ, यहाँबाट पार पाउन मुस्किल छ । अब भूराजनीतिक सन्तुलन वा समन्वय नमिलाएसम्म नेपालजस्तो मुलुकको स्थिरता र समृद्धि सम्भव छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved