ब्लग

तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ…

आचार्यको जीवनमा आधारित ‘बायोपिक चलचित्र’ पनि बनेको छ । उनको बारे जान्न चाहनेहरूका लागि यो सहयोगी बन्नेछ । 

तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ…

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…

भक्तराज आचार्यको यो गीत गीतजस्तो मात्रै पनि लाग्दैन । एकटक सुनिरहँदा लाग्छ, यो कुनै दर्शन हो, कुनै योजना हो । र, हो जिउने एक माध्यम ।

प्रिय गायक आचार्यको निधनले स्तब्ध बनाएको छ । मेरो पुस्ता जान्ने नहुँदै उनको स्वर बस्यो । जब उनका गीत सुन्न थालेँ, अनि उनको स्वर दुर्घटनाले खोसेको थाहा पाएँ । त्यति बैलै मेरासामु दुःखको पहाड उभिएको थियो । ‘यति राम्रो स्वर कसरी बन्द हुनसक्छ ?’ अनुत्तरित प्रश्नले मनमा हानेको थियो ।

कालजयी गीतमा उनको आवाज बाँचिरह्यो, बाँचिरहनेछ ।

अहिले परदेशमा सुन्छु—

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन
अल्झेँ कहीँ त केभो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ…

अनि लाग्छ, यो गीत मेरै लागि हो । हामीजस्तै परदेशीका लागि हो । सपना देख्नेहरूका लागि हो । परदेशबाट स्वदेशको माया गर्नेहरूका लागि हो । र, निरन्तर सङ्घर्ष गर्नेहरूका लागि हो ।

अति सुन्दर लाग्ने उनको अर्को गीत हो—

जीवन भनूँ त घात छ
मृत्यु भनूँ त सास छ
दोधारैमा बाँचूँ कति
हर गीतमा चित्कार छ…

यो गीतको शब्द-शब्दको व्याख्या गर्न सकिन्छ । यति जटिल गीतलाई सरल तरिकाबाट दिल-दिमागमा बस्नेगरी गाउन कमैले सक्छन्, त्योमध्येका एक थिए आचार्य ।

यसैको दोस्रो अन्तरा छ—

न बास छ
न आश छ
मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु
उठूँ भनेर त्यही
असारेमास छ…

यी शब्दहरूले हाम्रो अहिलेको परिवेश बोलिरहेका छन् । शब्द, सङ्गीत र स्वरको बेजोड मिश्रण नै उनको खास शक्ति थियो भन्ने मेरो बुझाइ हो ।

हजार गीत गाउने मेरो स्वरलाई
हजार स्वर दिने मेरो शब्दलाई
कसोरी म भेटूँ, म देखूँ उनीलाई
यो मृत्यु छिचोली अँगालूँ उनीलाई…

उनका गीतमा आँसु छ, प्रेम छ, दर्शन छ अनि छन् हजार सपनाहरू। र, छ हाम्रो समाजको प्रतिविम्ब। उनको स्वर यति कर्णप्रिय लाग्छ कि एउटै गीत दोहोरिरहँदासमेत दिक्क लाग्दैन । आचार्यलाई भजन शिरोमणिको उपमा दिइएको छ तर, उनलाई यत्तिमा सीमित गर्नु हुन्न । यदि त्यसो भयो भने उनीमाथि अन्याय हुन्छ ।

मुटु जलिरहेछ, यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा, आँसु त्यसै बगेछ…

उनको यो गीत पनि मानिसको जिब्रोमै झुन्डिएकोमध्ये हो । याद यति बलियो हुन्छ कि मानिस त्यसमै रमाउँछ, त्यसमै बाँच्न सक्छ। कुनै यादहरू यस्ता हुन्छन्, जसले अनायासै आँसु खसालिदिन्छन् ।

एक सङ्गीत साधक गायकको खुसी भनेकै गायन हो । तर, ती नै गायक ३० वर्षदेखि गाउन सक्ने अवस्थामा थिएनन् । यो अवस्थामा उनको मुटु कति जल्यो होला, आँसु कति बग्यो होला, त्यो कल्पना पनि गर्न सकिँदैन । भक्तराजको जीवनमा परेको बज्रपातको पीडा कहेर सकिँदैन ।

उनको जे सामर्थ्य हो, त्यो नै उनीबाट खोसियो । उनका लागि त यो पीडाको महाभारत थियो । अरूका लागि पनि यो दर्दनाक दृश्य थियो ।

हजार सपनाबीच अस्ताए भक्तराज, यसरी भएका थिए स्वरविहीन

आचार्य आशीर्वाद लिएर होइन, भुइँबाट उठेका गायक तथा सङ्गीतकार थिए । उनका दुइ छोराहरू सत्य र स्वरूपले पनि बुबाको पथ पछ्याइरहेका छन् । दुईभाइको नै नेपाली सङ्गीत आकासमा छुट्टै छवि बनिसकेको छ ।

आचार्यको जीवनमा आधारित ‘बायोपिक चलचित्र’ पनि बनेको छ । उनको बारे जान्न चाहनेहरूका लागि यो सहयोगी बन्नेछ ।

आचार्यले सङ्गीतको एकै धार पछ्याएनन् । उनले भजन गाए, बालगीत र आधुनिक गीत गाए । जसले गर्दा सबै पुस्तासँग उनको सिर्जनामार्फत परिचय भइरह्यो । आचार्य नेपाली सङ्गीतको एउटा युग हुन्, आफैँमा एउटा इतिहास हुन् ।

एक महान् सङ्गीत साधकप्रति हार्दिक श्रद्धाञ्जली ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved