अबिच्युअरी

हजार सपनाबीच अस्ताए भक्तराज, यसरी भएका थिए स्वरविहीन

डाक्टरले क्यान्सर भएको घोषण गर्दै निको नहुने बतायो । घाउ निको नहुनेभएपछि २०५० तिर उनको जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् । सुरिलो त्यो स्वर स्रोतामाझबाट हरायो । ‘जीवन भन्नु त घात छ । मृत्यु भन्नु त सास छ’ भक्तराजले आफ्ना लागि नै गाएको जस्तो बन्यो यो गीत पनि ।

हजार सपनाबीच अस्ताए भक्तराज, यसरी भएका थिए स्वरविहीन

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…

स्रोताले गायक मात्रै चिन्छन् । अझै भनौँ स्वर मात्रै चिन्थे होला, जतिबेला रेडियो नेपालबाट लाइभ गायन हुने गर्दथ्यो । तर, एउटा गायकले जीवनमा के के भोग्छ ? कस्ता आरोह-अवरोध पार गर्छ ? स्रोतालाई थाहा नहुन पनि पनि सक्छ ।

‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ…’ भक्तराज आचार्यले गायको गीतमा भनिएझैँ उनको जीवन पनि त्यस्तै बित्यो ।

हजार सपनाहरूको माया गर्दागर्दै जीवनको ८१ बसन्तमा रहिरहँदा उनी अस्ताए, त्यो पनि बाँच्ने रहर हुँदाहुँदै । सोमबार अपराह्न भौतिक शरीर त्यागेका उनका कति सपना पूरा भए, कति सपना अधुरा रहे त्यो भक्तराजलाई नै थाहा होला ।

यहाँ कतिपयलाई थाहा भएका नभएका उनका जीवनका केही आरोह अवरोहलाई प्रस्तुत गरिएको छ ।

०००

कुनै बेलाका चर्चित गायक भक्तराज आचार्य पूर्वी नेपालमा काठमाडौं आएका हुन् । पूर्वी नेपालमा रोगको महामारी फैलिएपछि उनको परिवारको डुम्सीपाडा भारतमा बसाइँ गयो । त्यहीँबाटै भक्तराजको सङ्घर्षको जीवनको कथा सुरू भयो ।

भक्तराज सानो हुँदा नै उनका पिता बलभद्रको देहावसान भयो । उनकी आमा रेनुकाले चिया बगानमा मजदुरी गरिन् । त्यतिबेला उनी साढे एक वर्षका थिए । भक्तराज भारतको डुअर्सको चियाबगान पुगेका थिए ।

एकजना गायक उनको डुम्सीपाडामा आएपछि भक्तराजमा पनि सङ्गीतको मोह जाग्यो । उनकी आमाले मजदुरी गरेर स्कूल पठाएकी थिइन् । स्कूल छोडेर उनी सङ्गीत सिक्न थाले ।

आमाको इच्छा थियो, ‘छोरा पढेर राम्रो मान्छे होस् तर, गीत गाउने काम नगरोस्’ । तर, भक्तराजको बानी ठीक उल्टो थियो । उनको सपना भने गायक बन्ने नै थियो ।

उनी आफ्ना सपनाको पछाडि दौडिरहे । भारतमै उनका जीवनका ३१ बसन्त बिते । विस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गयो । कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो ।

भक्तराजले चिया बगानमै खुबै गीत गाए । त्यहाँ हिन्दी र नेपाली गीत गाउँथे । आफ्नो गायक बन्ने सपना बोकेर काँधमा हार्मोनियम बोके उनी काठमाडौं आए । काठमाडौं आउँदै गर्दा उनले बाटोमा भनेका थिए, ‘सबैलाई भनिदिनू भक्तराज आचार्य बस् चढेर सपना पूरा गर्न हिँड्यो ।’

०००

जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको भक्तराजको लगाव जारी नै रह्यो । तीसको दशकको सुरुआतसँगै उनको साङ्गीतिक जीवनले मोड लियो ।

विसं २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भयो र उनले स्वर्णपदक प्राप्त गरे ।

यस गीतका सङ्गीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्णपदक प्राप्त गरेकाका थिए ।

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भए भक्तराज । त्यसयता विसं २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए ।

दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए । उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत कोएर, ब्यालेट, ब्यानटाटा (कविता गायन) र फिल्मको पार्श्व गायनसमेत गरेका छन् । युगल गीत भने चारवटा मात्रै गाएका छन् ।

०००

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यले आधुनिक सुगम सङ्गीतका धेरै गीत गाए, धेरै चर्चामा छन् । यसैले नेपाली सुगम सङ्गीतमा आचार्यको विशिष्ट स्थान छ ।

उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक रहेका उनका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूका माया लागेर आउँछ’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

भजन, आधुनिक र लोकगीतमा स्वर तथा सङ्गीत दिएका भक्तराज नेपाली सुगम सङ्गीतलाई उचाइमा पुर्‍याउन योगदान दिए । नेपाली सङ्गीतमा यतिका योगदान दिएका उनै स्रष्टा निरन्तर अघि बढ्दैगर्दा सङ्गीत क्षेत्रमा ब्रेक लाग्यो, जब अकल्पनीय घटना भयो ।

अनि स्वरविहीन भए

जीवन भन्नु त घात छ
मृत्यु भन्नु त सास छ
न बास छ न सास छ
मान्छेहरूकै त्रास छ ।

भक्तराजको यो गीतले भनेजस्तै उनको पनि यस्तै नियति भोगे । यो गीत जस्तै यहाँ मान्छेहरूकै त्रासको सिकार मात्र बनेनन् उनी हमलामै परे । जसले उनको स्वर्णिम साङ्गीतिक जीवनमै ब्रेक लगाइदियो ।

साँच्चै आदतले मान्छेलाई केके गर्दाेरहेछ । कसैलाई केही आदत, कसैलाई केही तर भक्तराजलाई गीत गाउने आदत थियो । एकदिन उनले साथीलाई गीत गाएर सुनाए । उनको सुमधुर गीतबाट ती साथी प्रसन्न भए ।

दुवैजना बौद्धको बाटोमा हिँड्दै थिए । हिँड्दै गर्दा बौद्धमा एउटा भट्टी आइपुग्यो । उनीसँग प्रसन्न भएका साथीले केही पिऊँ भनेर अनुरोध गरे । रात धेरै बितेका भक्तराजले साथीको प्रस्ताव स्वीकारेनन् । तर, साथीले जबरजस्ती गरे ।

तर, उनले मान्दै मानेनन् । बरु भक्तराजले साथीलाई भित्र भट्टीमा पिउन पठाए, आफू बाहिरै बसेर कुर्ने बताए । सोहीअनुसार साथी एक छिनमा आउने भन्दै पिउन छिरे ।

सपना भुलाइ सारा, आँसु पिएर जाऊ !

साथी एक्लै भित्र छिरेर पिए । त्यहाँ अरू कोही ग्राहकहरू पनि थिए । भित्रछिरेका साथीले पाएपछि बाहिर निस्कन लाग्दा आफूसँग पैसा नपाएको पत्तो पाए ।

भट्टीवालाले आफूसँग पैसा नभएको र पैसा भएको साथी बाहिर कुरिरहेको बताउँछन् । तर, पैसा नतिरी भाग्न लागेको भन्ने सोचेर उनीमाथी आक्रमण हुन्छ । बाहिर रहेका भक्तराजलाई पनि आक्रमण गरियो । उनको टाउकोमा गहिरो चोट लाग्यो । दर्जनौँ टाँका लगाउनुपर्‍यो ।

किन उनीमाथि पनि आक्रमण भयो, यो कुरा स्वयम् भक्तराजलाई नै थाहा होला । पछि आक्रमण गर्ने मान्छे समातियो । उसले उपचार खर्च पनि गर्‍यो ।

तर, ऊ को थियो किन कारबाही भएन ? किन अज्ञात राखियो ? यो कुराको रहस्य अझै खुलेको छैन । यो रहस्य नखोलीकन भक्तराज अस्ताएका छन् । फेरि फर्काै सोही घटनातर्फनै । उनीमाथि सामूहिक हमला भएको रात उनले गुलाम अलीलाई भेटेर आएका थिए । गुलाम अलीलाई गीत सुनाएर आएका थिए ।

आक्रमणको केही समयपछि भक्तराजको टाउकोको चोट निको हुँदै थियो । तर भक्तराजको जिब्रोमा सेतो दाग देखियो । त्यो २०४९ को कुरा थियो ।

उपचारको लागि लगियो । तर, डाक्टरले क्यान्सर भएको घोषण गर्दै निको नहुने बतायो । क्यान्सरको कारण आक्रमण नै प्रभाव थियो । घाउ निको नहुने भएपछि २०५० तिर उनको जिब्रो काटियो ।

त्यसपछि उनले गाउन सकेनन् । सुरिलो त्यो स्वर स्रोतामाझबाट हरायो । ‘जीवन भन्नु त घात छ । मृत्यु भन्नु त सास छ’ भक्तराजले आफ्ना लागि नै गाएको जस्तो बन्यो यो गीत पनि ।

अनि भक्तराज आवाजविहीन बने । स्वरविहीन बने । भक्तराजले २०४९ पछि गाउन नसके पनि उनले गाएका कालजयी गीत सधैँ अमर छन् र अमर रहिरहनेछन् । उनको स्वर हुँदा खचाखच भरिने उनको घर सुनसान बन्यो । साथीहरू टाढिन थाले । आफन्तहरू विस्तारै पराइ हुन थाले । भक्तराजको बाटोलाई पछ्याउँदै आज उनका दुई छोराहरू सत्य र स्वरूप अगाडि बढिरहेका छन् । उनीहरू पनि नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved