अबिच्युअरी

सपना भुलाइ सारा, आँसु पिएर जाऊ… !

वरिष्ठ गायक तथा संगीतकार वैद्य अरूलाई सपनामै भुलाएर आफूभने बिहीबार मध्यराती अस्ताए, अनि धेरैलाई आँशु बगाउन बाध्य बनाए । अब संगीतप्रेमीमाझ उनलाई स्मरण गर्ने कोसेली बनेका छन्, ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ’ र यस्तै गीतहरू ।

सपना भुलाइ सारा, आँसु पिएर जाऊ… !

‘सपना भुलाइ सारा, आँसु पिएर जाऊ
मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ…

शक्रबार बिहानै सामाजिक सञ्जालमा गीतका यी पङ्क्ति तारन्तार पोस्ट भए । यी पङ्तिसँगै श्रद्धाञ्जली पनि व्यक्त गरिएका थिए । यी र यस्तै गीतमा कालजयी स्वर दिएका योगेश वैद्यको निधनसँगै उनको नाममा श्रद्धाञ्जली व्यक्त गर्नेको ओइरो थियो, त्यही गीतलाई सम्झिएर ।

वरिष्ठ गायक तथा संगीतकार वैद्य अरुलाई सपनामै भुलाएर आफू भने बिहीबार मध्यराति अस्ताए, अनि धेरैलाई आँसु बगाउन बाध्य बनाए । अब संगीतप्रेमीमाझ उनलाई स्मरण गर्ने कोसेली बनेका छन्, ‘सपना भुलाइ सारा, आँसु पिएर जाऊ’ र यस्तै गीतहरू।

वैद्यको निधनले संगीत क्षेत्र स्तब्ध छ । उनको भौतिक शरीर बाँकी नभए पनि नेपाली साङ्गीतिक आकाशमा उनको मखमली स्वरमा गुन्जायमान बनेका गीतले कालजयी बनेर सम्झाइरहने छ ।

नेपाली सुगम संगीतका धरोहर वैद्यले गाएको कालजयी गीतको सूची निकै लामो छ । तर, त्यसमध्ये पनि यो अति नै उम्दा गीत थियो । यो गीतले एक समय तहल्का नै मच्चाएको थियो । अहिले पनि उत्तिकै सुनिने गीतमा पर्छ ।

‘सपना भुलाइ सारा’सँगै, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’जस्ता गीतमा वैद्यले स्वर दिएका थिए । नेपाली गीत/सङ्गीतको स्वर्णकाल मानिएको अघिल्ला केही दशकमा एक उज्ज्वल नक्षत्र थिए उनी ।

वैद्य संवत् २००३ साल नागपंचमीका दिन काठमाडौंको नरदेवीमा जन्मिएका थिए । सानै उमेरदेखि गायनमा लागेका उनले प्रेमध्वज प्रधान, फत्तेमान, माणिक रत्नलगायतसँग लामो संगत गरे ।

उनका सबैजसो समकालीन साथी पनि भौतिक संसारबाट बिदा भइसकेका छन् । वैद्य अस्वस्थताका बाबजुद पनि संगीत क्षेत्रमै थिए । वैद्यको कर्णप्रिय गीतमा नेपाली जनमानसले एउटा बेग्लै स्वाद पाएको थियो । मौलिक लय चट्ट पसेको र त्यही नै उनेको गीतको विशेषता हो ।

सानै उमेरदेखि गाउन सुरू गरेका वैद्यको गायन अभिरुचि मात्र थियो । सानो छँदा रेडियोमा बजेका गीत सुनेर गुनगुनाउने गर्थे । सुरू-सुरूमा हिन्दी गीत नै गाउँथे । नेपाली गीत खासै थिएनन् । पछि विस्तारै नेपाल गाउन थाले ।

२०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आएका थिए । त्यो बेलामा युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि वैद्य एकाएक चर्चित भए । त्यतिबेला चलेको भाषिक आन्दोलनमा सक्रिय भएका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरणलगायतको समर्थन थियो ।

सुमधुर स्वर उनको ईश्वरीय वरदान नै थियो । विस्तारै-विस्तारै आफ्नो परिवेश र छेउछाउमा भएका विभिन्न सांस्कृतिक कार्यक्रमतिर बोलावट हुँदा उनले भाग लिएर गाउन थाले ।

०००

वैद्यले १२ वर्ष ९ महिनामै एसएलसी गरेका थिए । त्रिचन्द्र कलेजबाट बीएस्सी गरे । उनको गीतयात्रा रोचक छ । थाहै नपाइ रेडियो नेपाल पुगेका उनले गीत रेकर्ड गराएका थिए । उबेला इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याएका थिए ।

रेडियोमा निर्देशक थिए, भोग्यप्रसाद शाह । उनीलगायत थुप्रै कलाकारसामु वैद्यले दुई दर्जनजति गीत सुनाए । गीत थिए तत्कालीन अवस्थामा चर्चित भारतीय गायक मोहम्मद रफी, तलत महमुदलगायतको ।

सबैले वैद्यको स्वरको तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो । लगतै वैद्यको आवाजको गीत रेकर्ड भयो ‘ कति प्यासी छ जिन्दगी’ । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भएको थियो त्यो ०२२ सालमा ।

त्यसपछि उनले एउटा नेवारी गीत गाए, ‘जीवन जिगु…’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी.. सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी… ।

यसरी नै उनी चर्चित बन्दै गए । २०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी’ गाएपछि उनको चर्चा झनै चुलियो । सरकारी जागिरे उनी सौखले मात्र गाउँथे । तर, नाम कमाउँला भन्ने सोच थिएन ।

सरकारी जागिरे भए पनि संगीतप्रतिको उनको निष्ठा र मोह कहिल्यै कम भएन । त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरे । उनले तीन दशकभन्दा बढी समय सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे ।

सरकारी जागिरेको पनि गीत/सङ्गीत क्षेत्रमा सक्रियताले नेपाली साङ्गीतिक धरातलमा सबैमा फेरि खुसीको लहर थियो । वैद्य बजाउन र गाउनुमा पनि उत्तिकै प्रवीण थिए ।

त्यो बीचमा उनी धेरै गीत गाएर लोकप्रिय बने । ‘कति प्यासी छ जिन्दगी’ गीत गाएको २ वर्षपछि उनले ‘नेपाल मेरो उपहार भो’ गीत गाए । त्यो गीत मबीबी शाहले लेखेका हुन् । २०२७ सालमा रेकर्ड भएको त्यो गीतले पनि वैद्यलाई थप चर्चित बनायो ।

‘सपना भुलाइ सारा…’

२०४४ सालमा वैद्यले ‘सपना भुलाइ सारा’ गाए, जुन गीत आजपर्यन्त मर्मस्पर्शी छ । यो गीत रेकर्ड हुँदा रचनाकार को हुन् भन्ने वैद्यलाई थाहै नभएको उनी निकट बताउँछन् ।

उनको त्यो गीतले नेपाली संगीत क्षेत्रले फेरि नयाँ स्वाद पायो । यो गीत र स्वर सुनेर नेपाली गीतका पारखी उनको गायनप्रति झनै आकर्षित भए । परिणामस्वरूप उनको माग बढ्यो । गीतका लागि सङ्गीतकार र रचनाकारको ताँती लाग्न थाल्यो । संगीतमा सधैँ सक्रिय रहन मन पराउने वैद्यले साङ्गीतिक जीवनमा थुप्रै पुरस्कार पाएका थिए ।

वैद्यको आठ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि पनि निरन्तर संगीत साधनामा लागिरहे । मिर्गौला प्रत्यारोपण गरेको केही वर्षपछि उनी फेरि गम्भीर बिरामी भए । प्यारालाइसिसबाट थलिएर ओछ्यान परे ।

संगीतमा सात दशक बिताएका वैद्य नेपाली संगीतलाई ठूलो गुन लगाएर विदा भएका छन् ।

पछिल्ला पुस्ताको प्रेरणाको स्रोत

वरिष्ठ गायक तथा संगीतकार वैद्यको योगदान नेपाली संगीत क्षेत्रमा अतुलनीय रहेको सङ्गीतकर्मी बताउँछन् । उनले नेपाली संगीतलाई छिमेकी मुलुकका कलाकारजस्तै प्रतिस्पर्धामा उत्रने बनाउनुपर्ने बताउने गरेको वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा सुनाउँछन् ।

उनी भन्छन्, ‘उहाँ आफ्नो आवाजका मौलिकतालाई विश्वभर फैलाउन सक्नुपर्छ भन्ने भावना राख्नुहुन्थ्यो । भारतीय गीतजस्तै नेपाली गीत पनि विश्वभर फैलाउन चाहनुहन्थ्यो ।’

वैद्य नेपाली सुगम संगीतको संरक्षक रहेको वरिष्ठ गायक यम बराल बताउँछन् । उनीपछिका पुस्तालाई संगीतमा निरन्तरता दिन प्रेरणा जगाइराख्ने काम पनि वैद्यले गरेको बराल सम्झन्छन् ।

उनी भन्छन्, ‘मेरो र समकालीन सङ्गीतकर्मीका लागी वैद्य आदरणीय, पूजनीय, पात्र हुनुहुन्थ्यो । समकालीन गायकमध्ये मेरो स्वर राम्रो मान्नुहुन्थ्यो । मलाई अघि बढाउन उहाँको धेरै ठूलो योगदान छ । नेपाली संगीतकर्मीले धेरै प्रगति गरुन् । राम्रा गीत सिर्जना होस् । नेपालको संगीत क्षेत्रले उज्ज्वल भविष्य पाओस्, नेपाली गीतसङ्गीत माथि जाओस् भन्ने उहाँको चाहना थियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved