केआई सिंहले भैरव रिसाललाई जासुस भनेपछि…

केआई सिंहले भैरव रिसाललाई जासुस भनेपछि…

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भयो । वयोवृद्ध उमेरमा पनि सक्रिय रहेका रिसालले विसं २०१३ देखि २०१७ सम्म हालखबर पत्रिकामा काम गरे भने विसं २०२० देखि २०४२ सम्म राष्ट्रिय समाचार समिति (रासस)मा काम गरे ।

राससमा काम गर्दाका अनुभव समेटेर रिसाल र घननाथ ओझाले ‘त्यति बेलाको पत्रकारिता’ शिर्षकमा किताब लेखेका छन् । यो किताबमा उनले डा. के आई सिंहसँग अन्तवार्ता लिन जाँदाको रोचक अनुभव लेखेका छन् । विद्रोही स्वभावका सिंहले २००८ सालमा सिंहदरबार कब्जाको प्रयास गरेका थिए । सिंहदरबार कब्जाको असफल प्रयासपछि उनी चीन गएर बसे । तत्कालीन राजा महेन्द्रले चीनबाट फिर्ता बोलाएर सिंहलाई प्रधानमन्त्री बनाए ।

प्रधानमन्त्री भइसके पनि सिंहको स्वभाव भने खरो थियो ।

२०२१ मा सिंहलाई राजसभा स्थायी समिति (आजको राष्ट्रियसभा जस्तो)को सभापति नियुक्त गरियो । तर, उनी शपथ ग्रहण गर्न गएनन् । राजाले दिएको पद नै अस्वीकार गरेपछि राससले रिसाल र ओझालाई सिंहको अन्तर्वार्ता लिन खटायो । सिंहको अन्तवार्ता लिन भनेर रिसाल र ओझा पुगे, पुतलीसडक ।

त्यतिखेर डा. सिंह पुतलीसडकमा डेरा गरेर बस्थे । पत्रकारद्वय रिसाल र ओझालाई देख्ने बित्तिकै सिंहले सोधे, “तपाईंहरू त सरकारी मान्छे के जासुसी गर्न आउनुभयो ?”

यसपछि रिसाल र ओझाले जासुसी नभई अन्तर्वार्ता लिन आएको भने । सिंहको स्वभाव कस्तो थियो भने उनी हरदम आक्रोशित भइरहन्थे । आफूलाई अध्यक्ष बनाइएको राजसभाबारे उनले रिसालसँग भनेका थिए, “यो राजसभा भनेको मिर्जापुरी लोटा जस्तो हो । यसको फेदमा जग छैन, जता होचो उतै ढल्कन्छ, यो त राजाले आफूलाई शासन गर्न सजिलोको लागि बनाएको अङ्ग मात्र हो, यो केही होइन, यो हावा हो ।”

राजसभाकै बारेमा सिंहले आलोचना गरेपछि रिसाल र ओझाले पञ्चायती व्यवस्थाका बारेमा पनि प्रश्न गरे । सिंह पनि के कम उनले भने, “यो कुनै प्रणाली होइन, यो त राजाले Design गरेको शासन सञ्चालन गर्न सजिलो पार्ने उपाय मात्र हो । मैले आँटे भने एकै तोपले उडाइ दिनसक्छु ।”

यसो भनिरहँदा सिंहले आफ्नो टेबलमा राखिएको सानो तोपतिर देखाए । ‘पञ्चायत उडाउँछु’ भनेर सिंहले देखाएको तोप पाकिस्तानका राष्ट्रपति अयुब खाँले उपहार दिएका थिए । रिसाल लेख्छन्, “उनको कोठामा एउटा टेबुल थियो, त्यसमा एउटा पित्तलको तोप थियो । पाकिस्तानका राष्ट्रपति अयुब खाँ नेपाल आउँदा उनलाई त्यो तोप उपहार दिएको रहेछ । त्यो तोपलाई देखाउँदै डा. सिंहले भने मैले चाहेँ भने पञ्चायती व्यवस्थालाई त्यो तोपको एकै गोलाले खत्तम गर्न सक्छु ।”

रेकर्ड अन्तर्वार्तामै पूर्वप्रधानमन्त्रीले पञ्चायती व्यवस्थाकै आलोचना गर्नु रिसाल र ओझाका लागि चानचुन विषय थिएन । नेताहरुले आफ्नो बोली फेरिरहनु कुनै नौलो कुरा होइन ।

नेताहरुको यस्तो बानी थाहा पाएका रिसाल र ओझाले सिंहलाई उनले बोलेका कुराहरू जस्ताको तस्तै लेखेर सही गरिदिन आग्रह गरे । सिंहले सही पनि गरिदिए, डराउने त सिंहको स्वभावै थिएन ।

तर, पछि राससको समाचारमा भने उनले पञ्चायत, राजसभाविरुद्ध बोलेका कुरा छापिएनन् । “पछि समाचार प्रवाह हुँदा सभापति पदमा जान इच्छा नगरेको भन्नेसम्म गयो, अरू कुरा प्रवाह हुन सकेन,” रिसाल र ओझाले आफ्नो किताबमा लेखेका छन् ।

मित्रताबीच आक्रोश

यद्यपि, रिसाल र सिंहबीच गहिरो दोस्ती थियो । सिंह चीनबाट फर्केदेखि नै रिसाल उनको विषयको रिर्पोटिङ गर्थे । २०१५ सालको चुनावको विषयमा सिंहले सर्वोच्च अदालतमा मुद्दा हाले । उनले मुद्दा हालेको विषयको विस्तृत रिर्पोटिङ गर्ने पनि रिसाल नै थिए । यही कारणले सिंह रिसालसँग प्रभावित थिए ।

सन् १९७१ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर पाकिस्तानबाट चीन पुगे । तर, यो खबर नेपालका धेरै उच्च पदस्थलाई थाहा थिएन । रिसालले यो खबर सुनाए सिंहलाई र सिंहले ‘साँच्चै तपाईं मेरा परममित्र हुनुहुन्छ,’ भन्दै प्रशंसा गरे ।

यो मित्रताबीच पनि सिंहले एकपटक रिसाललाई झपारेका छन् । २०१४ साल कार्तिक २८ मा सिंहले प्रधानमन्त्री पदबाट राजनीमा दिए । तर, पछिल्लो दिन राजदरबारले विज्ञप्ति जारी गरेर सिंह नेतृत्वका सरकार विघटन भयो भनेर भन्यो ।

पत्रपत्रिकाले पनि सिंह नेतृत्वको सकार विघटन भयो भनेर समाचार छापे । यतिखेर रिसाल हालखबर नामको पत्रिकामा काम गर्थे, उनले पनि सिंह नेतृत्वको मन्त्रीमण्डल विघटन भनेर समाचार छापे । तर, विघटन भनेकोमा सिंह भने रिसाएका थिए । सरकार विघटन भएको पछिल्लो दिन सिंहसँग रिसालको भेट भयो । भेट्ने बित्तिकै सिंह गर्जिए, “यही हो पत्रकारिता ? राजीनामा स्वीकृत भएको भन्नु पर्नेमा किन विघटन ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved