हेनरी किसिन्जर बुधबार बिते । उनी यस्तो उदाहरण थिए, जसले महाशक्ति अमेरिकाले हामीलाई भन्ने कथा र हामीले संसारमा गर्नसक्ने तरिकाबीचको अन्तर बताउँछ । उनको विदेश नीति एक अवसरवादी र प्रतिक्रियात्मक मोडको शक्ति-अभ्यास केन्द्रित तर, त्यसबाहिर छुटेको मानवजातिका लागि चिन्ताले भरिएको थियो ।
उनको अमेरिका पहाडमाथिको शहरजस्तो ठ्याक्कै रङ्गरोगन गरिएको संस्करण थिएन । उनले यो भनाइ कहिल्यै अप्रासङ्गिक ठानेनन् कि ‘विचार आफ्नै शैलीमा आउँछन् जान्छन तर, शक्तिले त्यस्तो गल्ती गर्दैन ।’
सन् १९६९ देखि सन् १९७७ सम्म किसिन्जरले आफूलाई इतिहासकै सबैभन्दा शक्तिशाली कार्य-संयन्त्रका रूपमा स्थापित गरे । समयको त्यो खण्डमा उनी राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्रीसम्मका पदमा बस्ने एक मात्र व्यक्ति थिए ।
यी दुई धेरै फरक प्रकारका काम थिए । तर, त्यसले उनलाई अमेरिकी विदेश नीतिलाई आकारित र कार्यान्वयन गर्न एक साथ जिम्मेवार बनायो । यदि उनको जर्मन-यहुदी उत्पत्ति र अंग्रेजी उच्चारणलाई छोडिदिने हो भने उनी अमेरिकी शक्ति संयन्त्रको एक स्वाभाविक अवतार थिए । बीसौं शताब्दीको अमेरिकी सुरक्षा अवस्थाको विस्तार र गति एक यस्तो जीवजस्तो थियो, जो अझ धेरै फैलिएर मात्र बाँच्न सक्थ्यो ।
किसिन्जरले अवकाश लिएको ३० वर्षपछि मैले शीतयुद्धोत्तरभन्दा ठूलो सेप्टेम्बर ११ पछिको राष्ट्रिय सुरक्षा संयन्त्रमा ८ वर्ष काम गरे । राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रूपमा मेरो जिम्मेवारी भाषण लेखन र सञ्चार थियो । म आफ्नो काम गर्दा हामीले गरेका काममा भन्दा अमेरिकाले हामीलाई भनेका कथामा ध्यान केन्द्रित गर्थे ।
ह्वाइट हाउस संस्थापनको उच्च तहमा बस्नु विश्वकै शक्तिशाली सेना र अर्थतन्त्र कज्याउने शीर्ष संस्थाको शीर्ष स्थानमा बसेर ‘हामी यो सत्यलाई स्स्पष्ट गर्दछौँ कि मानिस समानरूपमा सिर्जना भएका छन्’ को क्रान्तिकारी कथा समात्नु हो । तर, म अमेरिकी नेतृत्वमा सम्मिलित विरोधाभास दृढतापूर्वक सामना गर्थे । हाम्रो सरकारले निरङ्कुश शासकलाई हतियार दिन्छ भन्ने ज्ञान कति खतरनाक छ, जबकी यसले बयानबाजीमा भने निरङ्कुशता उखेल्न चाहनेलाई अपिल गर्दछ । निरङ्कुशता पराजित गर्न खोज्ने असन्तुष्टलाई सहयोग गर्नु हाम्रो राष्ट्रको नियम छ । जबकी युद्धाचरण, विवाद समाधान र वाणिज्यिक प्रवाहको सवालमा तिनले असुविधाजनक अवस्थामा पनि अमेरिकालाई क्षमा र अनुसरण गर्दछन् ।
किसिन्जर त्यस्तो गत्यात्मकतासँग असहज थिएनन् । उनको विश्वासनीयता हाम्रो अडान के हो भन्नेमा भन्दा पनि हामीले के गर्यौँ भन्नेमा थियो । यहाँसम्म कि ती कामले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनबारे अमेरिकी अवधारणालाई शून्यमा झारेको किन नहोस् ।
उनले भियतनाम युद्धलाई लम्ब्याउने, कम्बोडिया र लाओसमा पनि युद्ध विस्तार गर्ने काम गरे । त्यहाँ अमेरिकाले दोस्रो विश्वयुद्धमा जर्मनी र जापानमा भन्दा बढी बम खसाल्यो । ती अन्धाधुन्ध बम आक्रमण र विष्फोटले नागरिकको हत्या गर्यो । तर, भियतनाम युद्धको अन्त्य हुँदा त्यसको शर्तमा कुनै सुधार गरेन । भियतनाम युद्ध अन्त्यको शर्तले अमेरिकी पराजयको असन्तुष्टि कति लामो छ भन्ने मात्र साङ्केतिक अभिव्यक्ति गर्दछ ।
यो विडम्बनाको कुरा थियो कि यथार्थवादको यो मार्का शीतयुद्धको उच्चस्थानमा पुग्यो, जो स्पष्टरूपमा विचारधारामा आधारित द्वन्द्व थियो ।
किसिन्जरले त्योबेला स्वतन्त्र विश्वको पक्षबाट नरसंहार अभियानलाई समर्थन गरे । पाकिस्तानले बंगालीमाथि र इन्डोनेसियाले इष्ट टिमोरीमाथि गरेको नरसंहार त्यसका उदाहरण थिए, जसलाई अमेरिकाले समर्थन गरेको थियो । चिलीमा निर्वाचित वामपन्थी राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या र निरङ्कुश सैनिक विद्रोहको आधार खडा गर्ने काममा सहयोग गरेबापत् उनी आलोचित छन् ।
उदारतापूर्वक प्रतिरक्षा गर्दा किसिन्जरले सोभियत संघसँगको लोकाचारको प्रतिनिधित्व गरे । अन्ततः त्यसले सोभियत संघ र कट्टरपन्थी साम्यवादको अन्त्य भयो । त्यस सवालमा साध्य हैन, साधनको औचित्यका रूपमा त्यो लोकाचारलाई हेरिएको थियो । तर, विश्वको धेरै ठूलो जनसंख्या हिस्सा र स्वयम् अमेरिकी सीमान्तकृत वर्ग, समुदायका लागि अमेरिकाले एक भयानक क्रूरताको सन्देश बोक्यो । त्यो हो— हाम्रो लोकतन्त्र हाम्रा लागि मात्र हो, उनीहरूका लागि हैन ।
चिलीमा एलेन्डेको विजयभन्दा केहीअघि किसिन्जरले भनेका थिए— चिलीवासी मतदाताका लागि उनीहरूले आफ्नोबारे आफैँ निर्णय गर्न बाँकी छोडेका सवाल धेरै महत्त्वपूर्ण छन् । के यी गर्नलायक कुरा थिए ? किसिन्जरलाई जस दिइने सबैभन्दा ठूलो तथ्य हो— अरुको निर्णयलाई आकारित गर्न अमेरिकी मागलाई बेवास्ता गर्नेका लागि भविष्यमा अमेरिकाले त्यसको मूल्य थोपर्छ भन्ने विचार ।
लाओसमाथिको अन्धाधुन्ध बम विष्फोट, चिलीमा भएको सैनिक विद्रोह र पूर्वी पाकिस्तान (हिलेको बंगालादेश) मा भएका हत्याले शीतयुद्धको नतिजामा कसरी योगदान पुर्याएको थियो भनेर बुझ्न गाह्रो छ । तर, विश्व मामिलामा दुईवटा घटनाले किसिन्जरको असंवेदनशीलतालाई माफी दिए । उनले अमेरिकी महत्त्वको दृष्टिकोणबाट दुई निरङ्कुश शासन व्यवस्था भएका देशमा परिणामात्मक सफलता निकाले ।
सोभियत संघसँगको एक सम्झौता, जसले बढ्दो हतियारको होडबाजीलाई कम गर्थ्यो । अर्को सोभियत-चीनबीचको दूरी बढाएर चीनलाई खुल्ला विश्व व्यवस्थासँग एकीकृत गर्नू । फलतः बन्द चीन खुला भयो । यहीबाट करोडौं मानिसलाई गरिबीबाट बाहिर निकाल्ले चिनियाँ आधार खडा भए ।
चीनमा ती सुधार सुरू गर्ने तङ स्याओ फेङ तिनै नेता थिए, जसले त्यानआनमेन स्क्वायर प्रदर्शनकारीमाथि दमनको आदेश दिएका थिए भन्ने तथ्यले किसिन्जर नीतिको विरासतलाई दुविधाग्रस्त बनाउँछ ।
एकातिर अमेरिका-चीन पुनर्सम्बन्धले शीतयुद्ध अन्त्यको परिणाम र चिनियाँ जनताको जीवनस्तर सुधारमा योगदान पुर्यायो । अर्कोतिर चिनियाँ कम्युनिष्ट पार्टी अमेरिकाको प्रमुख भूराजनीतिक शत्रु र विश्व राजनीतिमा अधिनायकवादी प्रवृतिको अग्रदस्ता भएर उदायो ।
आज चीनले १० लाखभन्दा बढी उइगुरीलाई बन्दी शिविरमा राखेको छ र ताइवानमाथि आक्रमण गर्ने धम्की बारम्बार दिइरहन्छ । यो स्थिति किसिन्जर कुटनीतिले समाधान दिन बाँकी छोडेका विषय हुन् ।
सरकारबाट बर्हिगमनपछि किसिन्जरले आफ्नो बाँकी आधा जीवन बिताए । यो अवधिमा उनले जे चिजलाई प्रज्वलित गरे, त्यो पूर्वअधिकारीका लागि आकर्षक व्यावसायिक परामर्शलाई व्यवसाय बनाउन द्विपक्षीय मार्ग निर्माण गर्नु थियो । जो आज एक विश्वव्यापी सम्पर्क प्रवृति भएको छ ।
दशकौंसम्म उनी राजनेता र टाइकुनहरूको प्रतिष्ठित भेलामा अतिथि बनिरहे । सम्भवत: यस कारणले कि उनमा केही व्यक्तिहरू किन शक्तिशाली छन् र शक्ति अभ्यासका लागि न्यायोचित छन् भनेर बौद्धिक रूपरेखा प्रस्तुत गर्ने क्षमता थियो ।
उनले त्यस्ता धेरै स्वकेन्द्रित किताब लेखेका छन्, जसले विश्व मामिलामा स्वयम् उनको दैवज्ञ प्रतिष्ठाको रङ्गरोगन गर्दछ । हेनरी किसिन्जरजस्ता मान्छेले लेखेको इतिहासमा महाशक्तिका बमबारी अभियानपीडितको कथा हुँदैन । न त लाओसका ती बालबालिकाको कथा नै हुन्छ, जो विष्फोट हुन बाँकी बम पड्किएर फोहोर फाल्ने क्रममा मारिए । ती नपड्किएका बम विश्व मामिलाका त्रासद यथार्थ थिए ।
रणनीतिक दृष्टिकोणबाट किसिन्जरलाई यो पक्कै थाहा थियो कि महाशक्ति हुनुका मंसाहारी-त्रुटि इतिहासले माफ गर्दिन्छ । भियतनाम युद्ध अन्त्यको केही दशकपछि अमेरिकाले बमबारी गरेका देश नै अमेरिकासँग विस्तारित व्यावसायिक साझेदारी खोजिरहेका थिए ।
बंगलादेश र पूर्वी टिमोर अहिले स्वतन्त्र राष्ट्र छन् र अमेरिकी सहयोग प्राप्त गरिरहेका छन् । चिलीमा आज सहश्राब्दी-समाजवादीको सरकार छ, जसको रक्षामन्त्री एलेन्डेकी नातिनी छन् । महाशक्तिले आफूले गर्नुपर्ने काम गर्दछ । इतिहासको चक्र घुम्दछ । तपाईंको स्थान यसले निर्धारण गर्दछ कि त्यसबाट तपाईं श्रापित हुनुहुन्छ वा माथि उठ्नुभएको छ ।
तर, सनक र यथार्थवादको विश्वदृष्टिले विवेकसँग गल्ती गर्दछ । कथा के हो, त्यो महत्त्वपूर्ण छ । अन्ततः बर्लिन पर्खालको जुन कथा अघि आयो, त्यो चेसबोर्डमा प्रायोजित ताल र चालबाट निस्केको थिएन । त्यसको कारण थियो, पूर्वी जर्मनीका जनता पश्चिमी जर्मन सँगसँगै बस्न र बाँच्न चाहन्थे । अर्थशास्त्र, लोकप्रिय संस्कृति र सामाजिक आन्दोलनले काम गरेका थिए । सबै त्रुटिका बाबजुद हामीसँग एक राम्रो प्रणाली र राम्रो कथा थियो ।
विडम्बनाको कुरा के छ भने हेनरी किसिन्जरको आकर्षणको कथा उनी एक अनौठो अमेरिकी भएको तथ्यबाट उत्पन्न भयो । हिटलरले आफ्नो शैतानी सिकञ्जाभित्र जकड्दै गर्दा उनको परिवार नाजी जर्मनीबाट मुस्किलले उम्किएको थियो । किसिन्जर अमेरिकी सेनामा सामेल भएर जर्मनी फर्किए, यातना शिविरबाट मान्छेलाई मुक्त गरे ।
उनको अनुभवले उनलाई राज्यको शक्तिप्रति सतर्क बनाएको थियो र त्यो अनुभव उनका लागि विचारधारा थियो । तर, यसले उनलाई एक उत्पीडित राष्ट्रको व्यक्तिप्रतिको सहानुभूतिमा मात्र रहन दिएन । न त युद्धोत्तर महाशक्ति अमेरिकाले अर्को सम्भावित युद्ध रोक्नका लागि मूल्यमान्यता, कानून र निष्ठाको जालोभित्र रहन नै उत्प्रेरित गर्यो ।
जस वा विश्वासनीयताको आधार आखिर तपाईंको विरोधीले के सन्देश पठाउँछ र तपाईं उसलाई के-कस्तो जवाफ वा सजाय दिनुहुन्छ भन्ने मात्र हुँदैन । यो पनि हुन्छ कि तपाईं कहाँ हुनुहुन्छ, के भन्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ । मानवीय सम्बन्धभन्दा अर्को राजकीय सम्बन्धको कुनै पूर्णता अपेक्षा गर्न हुँदैन । तर, अमेरिकाले आफ्नो कपट र पाखण्डको मूल्य बारम्बार तिरेको छ । यो युद्ध वा वार्ताको परिणामभन्दा धेरै छ वा थोरै मापन गर्न गाह्रो छ ।
दशकौंदेखि हाम्रो लोकतन्त्रको कथा धेरै मानिसका लागि खोक्रो बन्न पुगेको छ । उनीहरूले हाम्रा ती कार्यलाई बाकाइदा औंल्याउन सक्दछन्, जहाँ लोकतन्त्रको अर्थ अमेरिकी चासो र सरोकारको विस्तार मात्र बनेको छ । त्यसैगरी, विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि हाम्रो आग्रह बलिया शासकले बेवास्ता गरेका छन्, उनीहरू आफ्नो औचित्य पुष्टि गर्न अमेरिकी पापलाई औल्याउँदछन् ।
अब इतिहासले एक चक्कर मारिसकेको छ । संसारभरि नै हामी अधिनायकवाद र जातीय राष्ट्रवादको पुनरुत्थान भइरहेको प्रष्टै देख्न सक्दछौँ । सबैभन्दा बढी युक्रेनविरुद्ध रुसी युद्धमा यो देखिन्छ । गाजामा इजरायली सैन्य कारबाहीलाई अमेरिकाले समर्थन गरेको छ, जुन कारबाहीले एकै झड्कामा नागरिकलाई मारिरहेको छ । यसले विश्वलाई फेरि एकपटक यो बुझ्न प्रेरित गरेको छ कि अन्तर्राष्ट्रिय कानून, मान्यता र मापदण्डप्रतिको अमेरिकी प्रतिबद्धता छनोटपूर्ण छ ।
देशभित्रै पनि यसबीच हामीले देख्यौँ कि लोकतन्त्र कसरी रिपब्लिकन पार्टीको एक भागको शक्तिको भोकको अधीन भएको छ। यहाँ जो-जति बढी सन्की छ, उति नै बढी नेतृत्व सफल हुने स्थिति छ । जब कुनै उच्च आकांक्षा हुँदैन, हाम्रा कार्यलाई अर्थ प्रदान गर्ने कथा पनि हुँदैन । राजनीति, भूराजनीति सबै शून्य योगफलको खेल मात्र हुन्छ । आज हामी जुन प्रकारको संसारमा छौँ, यही ठीक होजस्तो भएको छ ।
यी सबै कुराको दोष हेनरी किसिन्जरको काँधमा राख्न सकिँदैन । धेरै तरिकाले उनी अमेरिकी राष्ट्रिय सुरक्षा अवस्थाका लेखक र सर्जक थिए । तर, यो पनि आफैँमा एक सावधानीपूर्ण कथा मात्रै हो । हामी जति अपूर्ण हुँदै जान्छौँ, अमेरिका बाँच्नका लागि हामीलाई हाम्रै कथा चाहिन्छ ।
त्यस्तो कथाले हामीलाई देशभित्र एक बहुजातीय लोकतन्त्रमा राख्छ र बाहिर रुस र चीनभन्दा अलग गर्दछ । हामीले त्यस्तो कथामा जोड दिनुपर्दछ, जसले यो भनोस् कि हाम्रा बालबालिका र लाओसका बालबालिकाको गरिमा र मूल्य समान छ । चिलीका जनतालाई त्यही आत्मनिर्णयको अधिकार छ, जुन अमेरिकामा हामीलाई छ । यो सोच अमेरिकी राष्ट्रिय सुरक्षाको एक हिस्सा हुनुपर्दछ । किसिन्जर युगको विडम्बना के थियो भने हामी आफूलाई अप्ठ्यारो पर्दा यो बिर्सन्छौँ ।
(द न्यूओर्क टाइम्सबाट अनुदित)
Facebook Comment
Comment