अबिच्युअरी

‘जब तानाशाह मर्छ, उसको शासन समाप्त हुन्छ, जब शहीद मर्छ, उसको शासन सुरू हुन्छ’

रुसी विपक्षसँग अब सर्वथा वरिपरि घुमिरहने एक मिथकीय नायकको प्रतिक बाँकी छ । नाभाल्नी पुटिनलाई ठट्टामा ‘बंकरका हजुरबा’ भन्थे । नाभाल्नी जिउँदो छँदा पुटिन सबैभन्दा डराउने विपक्षी नेता उनै थिए । जब नाभाल्नीको मृत्यु भयो, पुटिनले आफूलाई झनै खराब अवस्थामा पाएका छन् ।

‘जब तानाशाह मर्छ, उसको शासन समाप्त हुन्छ, जब शहीद मर्छ, उसको शासन सुरू हुन्छ’

जब रुसको आर्टिक गुलागमा अलेक्सेई नाभाल्नीको मृत्य भएको खबर संसारभर फैलियो, टिप्पणीको हिमपहिरो नै आयो । त्यस्ता टिप्पणीमा राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक उनलाई रुसका प्रमुख विपक्षी नेता, सबैभन्दा साहसी, परिष्कृत र पश्चिमाजस्तो देखिने राजनीतिज्ञका रूपमा शोक गरियो ।

नाभाल्नीको राजनीतिक सङ्घर्ष ध्रुवीय दण्डगृह (पोलर पेनाल कोलनी) को आततायीतासँगै समाप्त भयो । यो एक प्रकारको राज्य-प्रयोजित हत्या थियो, जसले उनको जीवन र भाग्यलाई ‘धेरै हदसम्म रुसीजस्तो’ बनाउँछ ।

रुसमा क्रूर र छली निरङ्कुश शासनविरुद्ध नैतिक प्रतिरोधको लामो परम्परा छ । नाभाल्नी पनि त्यही शृङ्खलाको एक भाग बन्न पुगे ।

नाभाल्नी आफूलाई ‘एक असन्तुष्ट’ भन्न मन पराउँदैनथे । आफ्नो सार्वजनिक जीवनको प्रारम्भदेखि नै उनले आफूलाई एक ‘पेशेवर राजनीतिज्ञ’ का रूपमा प्रस्तुत गरे । उनले त्यस्तो करिअर रोजे, जसले राजनीतिक दल र आन्दोलनको नेतृत्व गर्दछ । सार्वजनिक बहसमा भाग लिन्छ, चुनाव लड्न, जित्छ, सार्वजनिक पद धारण गर्दछ र आफ्नो राजनीतिक कार्यक्रम कार्यान्यवन गर्दछ ।

उनले खुल्लमखुल्ला यो घोषणा गरेका थिए कि उनी शीर्ष पद रुसी महासङ्घको राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्दैछन् । उनी यो लक्ष्यका लागि गुणसम्पन्न पनि थिए । उनमा राम्रो परिहास चेतना (सेन्स अफ ह्यूमर) थियो । उनी करिस्मापूर्ण, प्रतिभासम्पन्न, बुद्धिमान, सुन्दर र ‘टेलिजेनिक’ व्यक्तित्व थिए ।

एक राजनीतिक कार्यकर्ताका रूपमा उनी अत्याधुनिक र गैररुसीजस्तो पनि लाग्थे । किनकि उनी असाध्यै मिडियाप्रेमी थिए । उनले आफ्नो शक्ति विस्तारका लागि ईन्टरनेट र सामाजिक सञ्जालको शक्ति ग्रहण गर्थे ।

नि:सन्देह नाभाल्नी एक असाधारण सङ्गठक र व्यवस्थापक थिए । उनी भ्रष्टाचार विरुद्धको लडाइँको जगमा राजनीतिक संयन्त्रको विकास गर्न सफल थिए । विशाल रुस राज्यको परिप्रेक्ष्यमा उनले आफ्ना क्षेत्रीय प्रभाग निर्माण गरेका थिए ।

यी क्षमताले नाभाल्नीलाई रुसी विपक्षी नेताबीच एक अद्धितीय व्यक्तित्व बनाएको थियो । पछिल्लोदशक वा त्योभन्दा बढी समयदेखि रुसको विपक्षी राजनीतिमा उनी मात्र एक यस्ता व्यक्ति थिए, जसले राजनीतिक मुद्दामा हजारौं मानिसलाई सडक प्रदर्शनमा उतार्न सक्थे । कुनै पनि लोकतान्त्रिक मुलुकमा नाभाल्नीलाई एक सफल राजनीतिज्ञ मान्नुपर्ने हुन्छ ।

तर, पुटिनको रुस लोकतन्त्र हैन । पछिल्ला वर्षहरूमा यो भ्रष्ट अधिनायकवादी राज्यबाट ठग र क्रूर तानाशाहीमा विकसित भयो । आजको दिनमा रुसमा कसैले कुनै प्रकारको राजनीतिक करिअर बनाउन सक्दैन । तपाईं या त क्रेमलिन तानाशाहको बफादार सेवक हुन सक्नुपर्दछ, या त सधैँ मौन बस्न सक्ने सामान्य जनता । अबफादारी र विपक्षतालाई दमन गरिन्छ ।

नाभाल्नीलाई यो कुरा अरु कसैलाई भन्दा बढी राम्रोसँग थाहा थियो । सन् २०२० मा उनलाई पुटिन प्रहरीका गुप्तचर दस्ताका स्नायू एजेन्टले विष पिलाएका थिए । आफूलाई तुरुन्तै गिरफ्तार गरी जेल हालिने छ भन्ने राम्रोसँग थाहा हुँदाहुँदै पनि जर्मनीमा उपचार गराएर उनी मस्को फर्किए ।

उनको यो विवेकहीनजस्तो लाग्ने कदमलाई कसरी व्याख्या गर्ने ? यही दुर्भाग्यपूर्ण बिन्दुबाट नाभाल्नीको वास्तविक रुसी कथा सुरू हुन्छ । यो कथा रुसी बुद्धिजीवी, साहित्यकार, राजनीतिक विपक्षी, सत्य बोल्ने परम्पराको इतिहास र आध्यात्मिक जीवनका लागि अर्ध-धार्मिक खोजसँग सम्बन्धित छ ।

नाभाल्नीको त्रासद मृत्युबारे रुसी लेखक दिमित्री ग्लुखोभस्कीको टिप्पणी चकित पार्ने खालको छ । उनी लेख्छन् कि केही वर्षयता नाभाल्नी मासु र रगत, अधिमांस र अरु सबै प्रकारका विरोधाभासले भरिएका थिए । नाभाल्नी आफ्ना छनोट, साहस र नैतिक कर्मका कारणले धार्मिक मिथकको ‘अपमानजनक नायक’ जस्तो बनेका थिए ।

ग्लुखोभस्की अगाडि थप्छन्— पछिल्ला वर्षहरूमा नाभाल्नीको जीवन सन्तजस्तो थियो र उनको मृत्यु एक शहीदको जस्तो भयो ।

रुसी बुद्धिजीवीहरूको एक मुख्य विशेषता नैतिक आदर्शहरूको निरन्तर खोजी हो । त्यस्तो एक विशिष्ठ सामाजिक समूह सन् १८३०-४० को दशकमा देखा परेको थियो । नैतिक पूर्णताको यस्तो बलियो चाहना दुईभिन्न बौद्धिक परम्पराको सङ्गमबाट जन्मिएको थियो ।

एक—धार्मिक । पूर्वी इसाई बाइजान्टिन धर्मबाट उत्पन्न । र अर्को— धर्मनिरपेक्ष प्रबोधन नैतिकताको विरासत । रुसी बुद्धिजीवीहरूको बौद्धिक लोकाचार अन्तर्आत्माको धारणासँग सम्बन्धित हुन्छ ।

विवेकको प्रष्टतासहित अन्तस्करण र सत्यको सिद्धान्तअनूरूप अटल जीवन बिताउनु रुसी बौद्धिकहरूमा लामो समयदेखि गहिरो जरा गाडेको सामाजिक आदर्शमध्ये एक हो । ऐतिहासिक रूपमा रुसी बुद्धिजीवी जारकालीन निरङ्कुशतासँग टकराएको अवस्थामा उदाएका थिए ।

जारकालीन नोकरशाही संयन्त्रसँगको प्रतिपक्षताले रुसी बुद्धिजीवीलाई सही आचरण र के ठीक के बेठीक हो भन्ने विश्वासको आधार दियो भन्न सकिन्छ । एक महत्त्वपूर्ण रुसी सांस्कृतिक इतिहासकार बोरिस उस्पेन्स्कीले भनेझैँ रुसी बौद्धिकताको विशेषता जारकालीन द्विविभाजनीयता र प्रतिपक्षतासँग अन्तर्निहित र उत्पति हुन्छ ।

बौद्धिकहरू सर्वथा प्रतिपक्षमा हुन्छन् । बौद्धिक तिनै हुन्, जो आफ्नो नैतिक मूल्य-मान्यताका लागि दमनकारी राज्य प्रणालीको नोकरशाही लोकाचार विपरीत हुन्छन् ।

एक विशिष्ट सामाजिक समूहका रूपमा रुसी बुद्धिजीवीले सोभियत सङ्घको पतनसँगै ऐतिहासिक छाप छोडेका छन् । तर, यसका नैतिक सिद्धान्त भने सोभियत सङ्घसँगै गायब भएनन् । ती शास्त्रीय रुसी साहित्यका रचना पढेर आएका थिए । रुसी मानिसले ती मूल्यलाई अन्तस्करणमा राखेका छन् । ती साहित्य र रचना रुसी बुद्धिजीवीका प्रयास र उत्पादन थिए ।

मध्ययुगीन रुसी साहित्य पूर्णतः धार्मिक प्रकृतिका थिए । १९औं र प्रारम्भिक २०औं शताब्दीका उपन्यासले रुसी समाजमा शिक्षात्मक कार्य क्षमता प्रदर्शन गरे । तिनले मान्छे भएर आत्मसम्मानपूर्ण जीवन कसरी बिताउने भनेर सिकाउन खोजे । असल र खराबबीच कहिल्यै अन्त्य नहुने सङ्घर्षबारे विमर्श गरे । सत्य र असत्यको बीच कुनै एकको छनोट गर्नुपर्ने अनिवार्य आवश्यकताबारे सावधान गराए ।

सोभियतकालीन असन्तुष्टहरूको आफ्नै नैतिक दाबी थियो । ती आफूलाई राज्य र प्रणालीसँग असन्तुष्ट मात्र ठान्दैनथे । बरु यो भन्थे कि असन्तुष्ट सोभियत सदस्यका आफ्नै नैतिक सिद्धान्त छन् । यो मनोवृत्ति रुसी साहित्यको ‘अर्ध-धार्मिक’ सारबाट आकारित थियो। तसर्थ, उनीहरू आफूलाई ‘अनैतिक सोभियत प्रणाली’ का विध्वंसक मात्र मान्दैनथे ।

सन् १९७६ मा जन्मिएका नाभाल्नी नयाँ पुस्ताका यस्तै रुसी थिए । उनी साम्यवादको पतन र सोभियत सङ्घको विघटनको समयमा किशोरावस्थामा थिए । तर, उनका नैतिक दृष्टिकोण निर्माण गर्ने कारक तत्वका रूपमा विगत दशकका रचनाले काम गरेजस्तो देखिन्छ । रुसी साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

नाभाल्नीले आफ्नो निधनभन्दा केही समयअघि लेखेर रुसका प्रमुख विपक्षी पत्रकार सेर्गेइ पार्कहोमेन्कोलाई पठाएको महत्त्वपूर्ण पत्रमा केही शास्त्रीय रुसी रचना, खासगरी एन्टोन चेखबका कथाहरू र दोस्तोभस्कीका कथाका अध्याँरा टुक्रासँगका तुलना उल्लेख गरेका छन् । त्यो पत्र तीनवटा सल्लाहको सार खिचेर समाप्त भएको छ ।

एक—रुसी शास्त्रीय रचना पढ्न पर्दछ । दुई—हामीले तिनलाई राम्ररी बुझेका र जानेका छैनौँ र तीन—हाम्रो च्यानलको सदस्य बन्नुस्, हामी त्यहाँ सत्य बोल्छौँ ।

यहाँ रुसी साहित्य र नाभाल्नीको सत्यप्रतिको गहिरो अनुरागको सिधा सम्बन्ध फेला पार्न कुनै गाह्रो छैन । सत्य बोल्ने असन्तुष्ट रुसी परम्परा पत्रमा विद्यमान छ । सन् १९७४ को अलेक्जेन्डर सोल्जेनित्सिनको निबन्ध ‘फाइफ नट बाई लाइज’ सत्य बताउने परम्पराको सबैभन्दा राम्रो प्रतिविम्ब हो ।

जे होस्, एलेक्साई नाभाल्नीको नैतिक शुद्धता, व्यक्तिगत साहस र आफ्ना सिद्धान्तमा निर्भयतापूर्वक उभिने दृढताले दुई दशक लामो ‘रुसी दैत्यराज’ (रसियन लेभियथन) ले उनलाई दमन गर्नुपर्ने रुसी पीडितहरूको लामो सूचीको लाइनमा लगेर उभ्यायो ।

रुसी विपक्षसँग अब सर्वथा वरिपरि घुमिरहने एक मिथकीय नायकको प्रतिक बाँकी छ । नाभाल्नी पुटिनलाई ठट्टामा ‘बंकरका हजुरबा’ भन्थे । नाभाल्नी जिउँदो छँदा पुटिन सबैभन्दा डराउने विपक्षी नेता उनै थिए । जब नाभाल्नीको मृत्यु भयो, पुटिनले आफूलाई झनै खराब अवस्थामा पाएका छन् ।

क्रेमलिन तानाशाहलाई सोरेन किर्केगार्डको यो प्रसिद्ध शुत्र सम्झना गराउन उचित होला— जब तानाशाह मर्छ, उसको शासन समाप्त हुन्छ । जब शहीद मर्छ, उसको शासन सुरू हुन्छ ।

(स्टहोम सेन्टर फर इस्टर्न युरोयिन स्टडिजको वेबसाइटबाट) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved