सिरिज रिभ्यू

‘द रेलवे मेन’ : इमान्दार हिरोहरूको कथा

सिरिजका अर्का प्रमुख पात्र बाबिल खान उर्फ इमाद रियाज हुन् । इरफान खानका छोरा बाबिलको अभिनय कस्तो होला भन्ने धेरैमा कौतुहलता थियो । बाबिलले स्क्रिनमा पिता इरफानलाई बिर्साइदिन्छन् । सिरिजमा बाबिल नवनियुक्त रेल पाइलट इमाद रियाजको भूमिकामा छन् ।

‘द रेलवे मेन’ : इमान्दार हिरोहरूको कथा

सन् १९८४ डिसेम्बर २ को रात । भारतको भोपाल सहर चैनले निदाउन सक्दैन । सुरूमा त मानिसहरू के भएको हो भन्नेसम्म थाहा पाउँदैनन् । हावामा फैलिएको अदृश्य विषले एकाएक मानिसहरूले ज्यान लिन्छ । सडक, घर, गाडी, मानिसहरू जता पनि ढलेका दृश्य देखिन्छन् ।

मध्यप्रदेशको भोपालमा रहेको यूनियन कार्वाइड इन्डिया लिमिटेडमा भएको ग्यास लिकले १५ हजार मानिसको ज्यान लिन्छ । ५ लाखभन्दा बढी मानिस यसबाट प्रभावित हुन्छन् ।

इतिहासमा यसलाई भयावहपूर्ण औद्योगिक दुर्घटनाको रूपमा हेर्ने गरिन्छ । झन्डै ४ दशकअघिको त्रासदीपूर्ण यो घटनालाई वेब सिरिज ‘द रेलवे मेन’ ले पुन: सम्झाइदिएको छ । तर, सिरिजको कथा भोपाल रेल जंक्सनभित्र मात्र घुम्छ ।

नेटफिल्क्समा रिलिज भएको ४ भागको सिरिजमा उक्त दुर्घटनाको समय भोपाल रेल जंक्सनका कर्मचारीले निभाएको मानवतापूर्ण कर्मलाई देखाइएको छ ।

यशराज फिल्मको ब्यानरको पहिलो सिरिजको निर्देशन शिव रवैलले गरेका छन् । सिरीजमा के-के मेनन, आर माधवन, इमरान खानका छोरा बाबिल खान, दिव्येदु, जुहि चावला मुख्य भूमिका छन् । यसको लेखन आयुष गुप्ताले गरेका हुन् ।

मानव इतिहासको एउटा कहालिलाग्दो दुर्घटनामा आधारित भएर बनाइएको सिरिजमा सामान्य मानिसले असामान्य परिस्थितिमा कसरी काम गरेका थिए भन्ने देखाइएको छ ।

अमेरिकन केमिकल कम्पनी युनियन कार्वाइडमा सुरक्षा कमजोर रहेको एक विज्ञ टोलीले औंल्याए पनि त्यसको सुधारका लागि व्यवस्थापन उदासीन देखिन्छ । विज्ञ टोलीले एक प्रतिवेदन पेश गर्दै तत्काल सुरक्षाका उपाय अपनाउन सुझाव दिए पनि उक्त प्रतिवेदन दराजको एक कुनामा थन्काइन्छ । केही कर्मचारीले प्रतिवेदन कार्यान्वयनको आवाज उठाए पनि उनीहरूको आवाज दबाइन्छ ।

सुरक्षाका उपाय अपनाउनुपर्नेमा तमाम सुझावलाई लत्याउँदै कम्पनी चलिरहन्छ । सम्बन्धित निकाय यसलाई बेवास्ता गर्छ । यही लापरवाहीको परिणाम १९८४ डिसेम्बर २ को रात मिथाइल आइसो साइनाइट (एमआईसी) ग्यास लिक हुन्छ र हजारौंको ज्यान लिनेगरी सहरभर विषाक्त हावा फैलिन्छ ।

भोपाल रेल जंक्सनका प्रमुख र त्यहाँका अन्य कर्मचारीले आफ्नो ज्यानको प्रभाह नगरी कसरी आम नागरिकलाई बचाउन प्रयास गरेका थिए भन्ने वरपर नै सिरिजको कथा घुमेको छ । ग्यासको प्रभाव क्षेत्रमा रहेका नागरिकलाई उद्धार गरेको अर्को ठाउँमा पठाउन सीमित स्रोत साधन र जनशक्तिबीच उनीहरूको प्रयास मानवताको उज्वलन्त उदाहरणको रूपमा प्रस्तुत गरिएको छ ।

सिरीजमा भोपाल रेल जंक्सनको स्टेसनका मास्टर इफ्तेखार सिद्दीकोको भूमिकामा के-के मेनन देखिएका छन् । उनले भोपाल आउँदै गरेको गोरखपुर एक्सप्रेस रोक्न सके धेरै मानिसको ज्यान जोगाउन सकिने भन्दै त्यसलाई रोक्न प्रयास गर्छन् । तर, यसमा रेलवेको कम्युनिकेसनमा आएको खराबीका करण समस्या भइरहेको हुन्छ । रेस्क्यु रेल मगाएर मानिसलाई सुरक्षित स्थानमा सार्न उनको प्रयास जारी रहन्छ ।

रेलवेकै एक कर्माचारी विजया छोरीको विवाहका लागि केही रकम नपुगेपछि स्टेसन मास्टरसँग पैसा मागेर घर जान्छिन् । तर, उनी घर पुग्न पाउँदिनन् । बाटोबाट फर्किएकी विजयाको रेलबेको मिटिङ हलमा मृत्यु भएको दृष्य निकै कारुणिक ढंगबाट देखाइएको छ ।

पुलिस कन्सटेबलको नक्कली भेषमा भोपाल जंक्सनको पैसा लुट्न त्यहाँ पुगेका बलवंत सिंह (दिव्येंदु) को सिरीजमा अहम भूमिका छ । उनी त्यहाँ पुगेको केही समयमा नै भोपालमा ग्यास लिक हुन्छ । उनी पैसा चोर्नतर्फभन्दा स्टेसन मास्टरको निर्देशनअनुसार यात्रुको रक्षाका लागि खटिन्छन् । उनको आफ्नो असली परिचय नखुलोस् भन्नेमा सचेत देखिएको सिरिजमा देखाइन्छ ।

उद्धारको काममा खटिएकै बेला स्टेसन मास्टर बेहोश हुन्छन् । त्यही मौकामा सिंहले आफ्नो पुरानो योजना मुताबिक सेफको साँचो निकालेर पैसा झिक्छन् । करिब १ करोड पैसा निकालेका उनलाई किन किन त्यो निको लाग्दैन । त्यति नै बेला रेलवेका अधिकारी र प्रहरी अधिकृत सेफको पैसा खोज्दै आइपुग्छन् ।

सेफ खाली देखेपछि रेलवेका कर्मचारीले स्टेसन मास्टर पैसा लिएर भागेको आसय व्यक्त गर्दै जीएम सेन्ट्रल रेलवे रति पाण्डेय (आर माधवन) लाई रिपोर्ट गर्छन् । रति पाण्डेयसहित सेफ पुन: खोल्दा पैसा जस्ताको त्यस्तै देखिन्छ । त्यतिबेलासम्म सिंहले पैसा सेफमा नै फिर्ता गरिसकेका हुन्छन् । स्टेसन मास्टरलाई आफ्नो कारण चोरको आरोप लाग्न सक्नेमा उनी सचेत देखिएका छन् । यो घटना पछि उनले आफ्नो नयाँ जीवन सुरू गर्छन् ।

सिरिजका अर्का प्रमुख पात्र बाबिल खान उर्फ इमाद रियाज हुन् । इरफान खानका छोरा बाबिलको अभिनय कस्तो होला भन्ने धेरैमा कौतुहलता थियो । बाबिलले स्क्रिनमा पिता इरफानलाई बिर्साइदिन्छन् । सिरिजमा बाबिल नवनियुक्त रेल पाइलट इमाद रियाजको भूमिकामा छन् । उनले यस अघि यूनियन कारवाइडमा काम गरिसकेका हुन्छन् । उनका एक साथीको यही कम्पनीमा काम गर्दा गर्दै पहिले नै ग्यासका कारण मृत्यु भएको हुन्छ । त्यसबाट उनी विक्षिप्त हुन्छन् ।

त्यसपछि उनले रेलवे जोइन गर्छन् तर, त्यही पुरानो कम्पनीबाट लिक भएको ग्यासका कारण पहिलो दिनको काम सकिन नपाउँदै उनको मृत्यु हुन्छ ।

उनले सहर र सहरका बासिन्दालाई बचाउनु आफ्नो कर्तव्य ठान्छन् र भन्छन्— ये मेरी बस्ती है, मेरा सहर है ।

इमादले यसरी आफ्नो ठाउँप्रतिको माया दर्शाउँदै अन्तिमसम्म उद्धारको प्रयास जारी राख्छन् । इटारसी जंक्सनमा निरीक्षणका लागि आएका रेलवेका जीएम रति पाण्डेय (आर माधवन) ले भोपालको अवस्था थाहा पाएपछि उद्धारका लागि केन्द्रमा गरेको अपिल र आफ्नै पहललाई स्क्रिनमा जीवन्त ढंगबाट देखाइएको छ ।

भारतको कर्मचारीतन्त्र, नेताहरूको ढिलासुस्ती र चर्को औपचारिकतालाई तोड्दै पाण्डेयले रेस्क्यू रेलका लागि पहल लिन्छन् र भोपाल पुग्छन् । तर, भोपाल आउँदै गरेको रेल रोक्न असमर्थ हुन्छन् । तर, त्यसलाई संकेत गर्न स्टेसन मास्टरको निर्देशनअनुसार रेलवेका एक कर्मचारीले आफ्नो प्राण फाल्दै डेटोनेटर पड्काएर संकेत गर्छन् ।

सहरमा यति ठूलो दुर्घटना हुँदा पनि सरकारले उद्धारको पहल लिन नसकेको विषयलाई सिरिजामा प्रष्ट देखाइएको छ । अझ एन्टीडोज पठाउन पहल गरेकी रेलेवे डिजी राजेश्वरी जांगलेलाई रोक्न दलालहरूले घुस रकम पठाएको दृष्यले वर्तमान समयलाई पनि चित्रित गरिरहेको हुन्छ । जांगलेको भूमिकामा जुही चावला छिन् ।

सिरिजमा युनियन कार्वनाइडको लापरवाहीबारे खोजी गरिरहेका एक पत्रकारको भूमिकामा छन सनी हिन्दूजा । पत्रकारको भूमिकामा ग्यास फ्याक्ट्रीबारे तयार पारिएको रिपोर्टको खोजीमा हुन्छन् उनी । उनलाई त्यही एक एक कर्मचारीले उक्त रिपोर्ट उपलब्ध गराउँछन् । पछिका दिनमा उनले कम्पनीका मानिसबाट भोग्नुपरेको धम्की पनि देखाइन्छ । प्लान्टका हेड अमेरिकी नागरिक फिलिपले प्रमाणहरू लुकाउन गरेको प्रयास पनि सिरिजमा समेटिएको छ ।

भोपाल ग्यास दुर्घटनाको समयका पुराना फुटेजसमेत सिरिजमा प्रयोग गरिएको छ । जसले सिरिजलाई अझ वास्तविक बनाएको छ । सिनेमाटोग्राफी र अभिनयलाई यसरी प्रयोग गरिएको छ कि दर्शकले सिरीजमा ४० वर्ष पहिले कै समय अनुभूत गर्दछन् ।

सिरिज हेरिरहँदा कता-कता डकुमेन्ट्रीजस्तो लाग्न सक्छ तर, के-के मेननजस्ता दिग्गज कलाकारको अभिनयले दर्शकलाई सिरिजमै फर्काइदिन्छ ।

इन्दिरा गान्धीको हत्या भएकै समयमा यो दुर्घटना भएको थियो। गोरखपुर एक्सप्रेसमा सवार एक सिख परिवारले गुण्डाको एक समूहबाट हिंसाको सामना गर्छन् । रेलका गार्डले आफ्नो ज्यान जोखिममा पारेर पनि उनीहरूको सुरक्षा गरेको दृश्यले त्यो समय चलेको सिखविरोधी गतिविधि देखाउन खोजेको छ ।

ग्यास दुर्घटनाका मृतकको सामूहिक दाहासंस्कारको दृश्यले कोभिडको समयको याद दिलाउँछ । सिरिजले इमानदार गुमनाम हिरोहरूको कथा बोलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved