‘मेरो ह्वाँ त त्यस्तो हुनुहुन्न’

यसो हेर्दा सबैजना आफ्नाका लागि भगवान् श्रीराम नै सावित भएका छन् । किनकि दिदी-बहिनीहरू त भनिरहनुहुन्छ, “सबै केटाहरूको जात एउटै हो । सबका सब बोका हुन् । तर मेरो ह्वाँ त त्यस्तो हुनुहुन्न ।”

‘मेरो ह्वाँ त त्यस्तो हुनुहुन्न’

कुनै क्याफेको कफी टेबल अगाडि बसेर मुसुक्क हाँस्दै, क्यापिचिनोको चुस्की तानेर, अफकोर्स भन्दै मुन्टो हल्लाउँदै गरेको दृश्य ।

म दुई घण्टादेखि उनीहरूको कुरा सुन्दा मनमनै कतिकति बेला हाँसेर मुर्छा परिरहेकी हुन्छु । र, कहिलेकाहीँ त्यही तातो कफी तिनीहरूको मुखमा पोल्ने गरी फ्याँकेर हिँडौँ जस्तो हुन्छ, कुनै हलिउड फिल्मको हिरोइनजस्तो । तर, फेरि आफैँलाई भन्छु— कन्ट्रोल लेडी कन्ट्रोल योरसेल्फ ।

सोच्नुस् त, जब तपाईंलाई थाहा हुन्छ कि सामुन्ने बसेकावाला मस्त फेकराह है । अनि तपाईं सुनिरहनुहुन्छ । तपाईंलाई थाह छ, यो मान्छेको एक-एक शब्द बकवास हुन् नेपाली नेताहरूको जस्तो । तर, तपाईं नेपाली हनुमान जनता जसरी होमा हो थप्दै मुन्टो हल्लाउनुहुन्छ ।

यो शक्ति फेरि यसै आउँदैन । यसको लागि तपाईंसँग एक विशेष किसिमको कला हुनुपर्छ, सुन्न सक्ने कला । सुन्ने सँगसँगै सहन सक्ने कला । म राम्रो स्रोता हुँ । अनि त्योभन्दा राम्रो अबसर्भर । साइलेन्ट अबसर्भर । म जब कसैसँग भेट्छु निकै कम बोल्छु, अनि धेरै सुन्छु । कतिपय ठाउँमा त बोल्दै बोल्दिनँ । अनि धेरैजसो ठाउँमा फिस्स हाँसिदिन्छु । त्यसैले कतिलाई म एकदम शान्त लाग्छ, कतिलाई गोबर, कतिलाई घुसघुसे अनि कतिलाई मिस्टिरियस ।

विगत एक दशकको कुरा गरौँ । मैले आफ्नो बारेमा धेरै कुरा सुन्न पाएँ । कतिले बोल्ड भने त कतिले कडा, कतिले ल्याङल्याङेसमेत भने । म सायद विभिन्न मेहफिलमा बदनाम पनि भएँ र सायद मेरो नामको अलिअलि चर्चा पनि भयो । केही दिनयता यसो घोत्लिएँ । आखिर के हो त पुरुष मनोविज्ञान अर्थात् मेन साइकोलोजी ? म जान्न चाहन्थेँ । उनीहरूको मनोविज्ञान । जस्तै उनीहरूको लागि सम्बन्ध के हो ? उनीहरू एउटा केटी मात्रलाई कुनरूपमा हेर्छन् ? उनीहरूले आफूलाई र अरुलाई कसरी सम्मान गर्छन् ? कसरी बोल्छन् ? उनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? जीवन के हो ? धर्म के हो ? प्रेम के हो ? वास्तवमा म केटाहरूको साइकोलोजी बुझ्ने प्रयास गरिरहेको थिएँ । मानौँ यो संसारमा केटाहरूको साइकोलोजी बुझ्ने मेरै जिम्मा हो । मैले सबको ठेक्का लिएर बसेको छु ।

म र मेरा केही साथीहरूको विश्लेषणमा यो समाजमा विभिन्न किसिमका पुरुष रहेछन् । यो कुनै आधिकारिक अनुसन्धान होइन । यो मजस्ता सामान्य महिलाहरूले आफूसँग जीवनमा ठोक्किन आउने युवक वा पुरुषहरूमाथि गरेको सामान्य अबसर्भभेसन हो । यसमा केही राम्रा वा नराम्रा पात्र छुटेका पनि हुन सक्छन् ।

केही साथीहरूले सोधिरहनुहुन्छ, तपाईंलाई मन पराउने त कति होलान् कति । अब उनीहरूलाई कसले बताओस् आजकल रिलेसनसीप, बिहे, लभ, अनि केटाहरूसँगको वार्तालाप भनेपछि मलाई बान्ता नै आउन थालेको छ । धेरै भइसक्यो मैले ग्यास्टिकको औषधि खान थालेको ।

एक चिनेको साथीले भन्नुभयो, तपाईंसँग केटा मान्छेको कन्फिडेन्स खाइदिने इनर्जी छ । त्यति तारिफ सुनेपछि मलाई के चाहियो र ! त्यो दिनदेखि अलिकति लो फील गर्न थालेकी म त्यही कुरा सम्झन्छु अनि मेरो अनुहार हिरा जसरी चम्कन्छ । मभित्र कुटकुटके कन्फिडेन्स जाग्छ । त्यसपछि यसो आजसम्म आफूले भेटेका गफ गरेका वा डेट नै गरेका केटाहरू सम्झिएँ । अनि यसो विश्लेषण गर्न मन लाग्यो । कन्फिडेन्स त खाइदिएँ होला, यसो सातो पनि खाइदिउँ?

म्याटिरियलिस्ट शो अफ केटा

आफूसँग भएको कुरा देखाउनु त हो । तर, नभएका कुरा अरुसँग मागी-मागी देखाउनु यिनीहरूको रोग हो । किनकि यिनीहरूलाई लाग्छ, ईएमआई तिर्न बाँकी भएको गाडी, अनि खाता रित्तो भएको चार/पाँचवटा डेबिट कार्ड अनि एउटा क्रेडिट कार्ड नदेखाए जीवन व्यर्थ जान्छ । पर्समा पैसा नहुँदा आई डन्ट क्यारी क्यास भन्ने यिनीहरूको कार्ड पनि रित्तो नै हुन्छ ।

क्यासको मुख नदेखेको वर्षौँ भइसक्छ । तर, पनि कसै न कसैलाई फसाएर फाईभ स्टार होटलमा गएर विदेशबाट मामाको छोराले लोनमा किनेर पठाइदिएको आईफोनबाट एउटा सेल्फी खिचेर डिनर टुनाईट एट सोल्टी भनेर पोस्ट गरेर निस्किएपछि मात्रै यिनीहरूको दिन पूरा हुन्छ । यस्तालाई लाग्छ यत्तिको जीवनशैली देखेरै केटीहरू हाम फालेर यिनका पछि लागेर आउँछन् । यिनीहरूलाई नै लाग्छ, केटी भनेको वस्तु हो । उनीहरूलाई यस्तै जीवनशैली देखायो भने त केटीहरू कलियुगकी सीता बनेर सबै छोडेर यिनकै पछि-पछि लाग्छन् ।

यिनीहरूलाई शो अफकै विशेष शोख हुन्छ । गफ गर्दा शोअफ झुक्किएर कहीँकतै भेटिहालिएछ भने बस्न टिक्न नदिने गफ दिन्छन् । यिनीहरूलाई लाग्छ एउटा गाडी भए केटी मान्छेहरू खुट्टै उचालेर यिनका पछि आउँछन् । र, अङ्ग्रेजी लवजमा बोल्नु यिनीहरूको विशेष लक्षण हो । हे हाउ आर यू ? वाना मिट फर कफी ?

स्वास्नीका पोई सुगर ड्याडी

यस वर्गमा पर्नेलाई आफ्नी श्रीमतीको बखान गाएर कहिल्यै फुर्सद नै हुन्न । तर, सामाजिक सञ्जालको प्राईभेट म्यासेजबाट यिनीहरूको कालो चिठ्ठा कुनै दिन पब्लिकमा उत्रियो भने जीवनभर नकाबपोस हुँडार जीवन अपनाउन बाध्य हुन्छन् ।

यिनीहरूलाई मिनेट-मिनेटमा देखाउन त पर्‍यो आफ्नी प्रियसँग सम्बन्ध कति सुमधुर छ भनेर । यति र उति माया गर्छु भन्दै मिनेट-मिनेटमा फोटो पोस्ट पनि गरिरहेका हुन्छन् । उता प्राईभेट म्यासेजको दुनियाँमा अर्की पाँचजनालाई अनरिक्वीटिड प्रेम अर्थात् कहिल्यै प्राप्त हुननसक्ने प्रेमका बारेमा बुझाउन एउटा म्यासेज वर्षौँदेखि टाईप गरेर बसेका हुन्छन् । मानौँ, यसमा उनीहरूले पिएचडी हासिल गरिसकेका छन् ।

अमिताभ र रेखाको फिल्म सिलसिलाको अभिताभवाला डायलग यिनीहरूको फेबरेट हुन्छ । तु यहाँहोती तो केसा होता ? तु ये बातपे हस्ती । तु उस वातपे हेरानहोती । यस्तो गीत र सायरी पेल्ने विवाहित पुरुषहरू तपाईंको कुरा सुनिदिएजस्तो गर्छन् । भावनात्मकरूपमा साथ दिएजस्तो गर्छन् । तर, यिनीहरू सुगर ड्याडी अर्थात् चिनी-बाउ कहिल्यै बन्न सक्दैनन्, किनकि यिनीहरू आफैँ आफ्नी श्रीमतीको पैसाले पालिएका हुन्छन् ।

अनि अर्का हुन्छन्, जो प्रोपर सुगर ड्याडी बन्नै यस धर्तीमा प्रकट भएका हुन्छन् । यस्ताले भर्खर-भर्खर दुनियाँ देख्न निस्केका सोझासाझा केटीहरूलाई लालायित पार्छन् । ‘तिम्रो दुनियाँ त यस्तो हो’, ‘तिमी यो डिर्जभ गर्छौ’ भन्दै प्रलोभनमा पार्छन् । यिनीहरूको आफ्नो मासिक कमाइको केही हिस्सा यसकै लागि भनेर छुट्याएका हुन्छन् । यिनीहरूले अलिअलि कताकता ख्याल राखेजस्तो गर्छन् । ‘खाना खायौ ?’, ‘सन्चै छ्यौ ?’लगायत भनेर हरबखत सोधिरहन्छन् । अनेकौँ सपना सजाउँदै अघि बढ्न निस्किएका नानीहरूको लागि यिनीहरू बाटो छेक्ने प्रमुख जाल हुन् । अनि तातो पानी पिएको फोटो पठाउ भन्ने यिनीहरूको खेलको पहिलो सुरुवात हो । उता श्रीमतीको फोटो राख्दै मेरो जिन्दगानी, मेरी महारानी, मेरो सबथोक भन्दै सम्बन्धमा सुमधुर भन्दै श्रीमतीका मन पनि राखिरहेका हुन्छन् । यस्ता पुरुषहरू समाजका विशेष किटाणु हुन् । यिनलाई तह लगाउन विशेष खालको किटनाशक औषधिको आवश्यक छ ।

बौद्धिक आत्ममुग्धता

यी पुरुषहरू विशेष प्रकारका समूह हुन् । यिनीहरूलाई संसारको सबै कुराको ज्ञान हुन्छ । जस्तै कुन किताब, कुन फिल्म, कस्तो कहानी, साइन्स, साहित्य । कुन तारा, कति बजेर कति मिनेटमा आकाशमा कुन डाइरेक्सनतिर गएको थियो । त्यो फिल्मको कहानी लेख्दा निर्देशकको दिमागमा के-कस्ता ट्वीस्ट आएका थिए र त्यो ट्वीस्टलाई कसरी उनले फिल्ममा उतारे । कुन लेखकले कहिले आफ्नो १५औं किताब निकाल्दै छ र त्यसको लागि लेखकले यिनीसँग के कस्ता सल्लाह लिएका थिए ?

एक्लै आफैँमा रमाउँछु जस्ता कुराहरू केटीहरूलाई आफ्नो चङ्गुलमा फसाउने प्रमुख जाल बुनिरहने माकुरा हुन् । तर, रमाउने यिनीहरू केटीहरूको एउटै कुरामा मात्रै हो ।

केटीले यिनीहरूको यस्ता बौद्धिक कुराको मतलब गरिनन् भने यिनीहरूको महादेवको तीन नेत्र खुलेझैँ गर्छन् । यो ल्वाँदे केटीलाई केही थाहा रहेन्छ । र, चासो दिएर सुनियो भने यिनीहरूलाई चिट्ठा परिहाल्यो । यिनीहरूसँग हरेक कुराको जवाफ छ । र, सबै कुरा यिनीहरूलाई आफ्नै बेतुके लजिकले जित्नुपर्ने हुन्छ । बुझेका र पढेका यिनले केही पनि हुँदैनन् । यिनीहरू सुरू-सुरूमा खासै भाउ दिएजस्तो गर्दैनन् । तर, पछि दिमागको गिदी ह्याप्स पार्छन् ।

यिनीहरू आफ्नो प्रोफाइल प्राइभेट्ली मेनटेन गरिरहने प्रजातिका हुन्छन् । यस्ता केटालाई लाग्छ, उनीहरू कोहीसँग एकैछिन गफगाफ गरिरहेका छन् भने पनि अरुले सुनाइदिरहोस् कि उनीहरूले कति इन्टेलिजेन्ट छन् । अनि गमक्क परेर आफ्नो तारिफ सुन्न कान ठाडा पारिरहेका हुन्छन् ।

एन्टी फेमिनिस्ट

तपाईं फेमिन्स्टि त हैन नि ? यो प्रश्न कसैले सोध्यो भने बुझ्नुस् त्यो मान्छेले फेमिनिज्मको परिभाषा बुझेको छैन वा यिनीहरू एन्टी फेमिनिस्ट हुन् । यिनीमध्ये केही फेमिनिज्मको परिभाषा यसरी गर्छन् । ‘यो केटीको पखेटा पलाएको छ’ यो आईमाईका जातलाई त आजकल भन्नै हुँदैन, कि रोइहाल्ने कि बात लगाउने । अहिले त यी आईमाईलाई जे गर्न नि छुट छ ।’

यिनीहरूसँग समानताबारे छलफल गर्न सकिँदैन । छलफल सुरू भयो भने मान्नुस्, त्यहाँ महाभारत हुनेवाला छ । फेमिनिज्मको आडमा बिजनेस चलाइरहेका छन् । डलरबाजी भन्ने आरोप लगाउने यिनीहरूको थेगो नै हो । यिनीहरू केटीहरूलाई खासै भाउ दिएजस्तो गर्दैनन् । घरमा बुहारी चाहियो भनेर आमाबुबाले हैरान पारेका छन् भने खोज्नु न त भनेर सबै ठाउँ चहार्छन् ।

किनकि लभम्यारिज यिनीहरूको बसको कुरै होइन । बल्लबल्ल हुन्छ यिनीहरूको एरेन्ज म्यारिज । घरमा श्रीमतीदेखि त लुरुक्क पर्छन् । तर, पनि बाहिर भने एल्फामेल इनर्जी बरकरार राख्दै महिलावादीलाई गाली नगरी यिनीहरूलाई खाएको हजम हुँदैन । महिलाहरूसँग आमनेसामने कुरा गर्नसक्ने आँट त यिनीहरूको कहिल्यै हुँदैन । तर, कहीँ-कतै कोही महिला साथी भएछन् भने यिनीहरूको जीवन सार्थक हुन्छ । त्यो सम्बन्ध श्रीमतीसँग लुकाउनुको पीडा यी महाशयहरूलाई थाहा छ ।

अरु केटाजस्तो म हैन

‘म अरु केटाजस्तो होइन है’ भन्ने यिनीहरूको मूलमन्त्र हो । केटाहरू केटी भनेपछि मरिहत्ते गर्छन् भन्ने कुरालाई यिनीहरू आफ्नो यही मन्त्रले ढाकछोप गर्ने प्रयास गरिरहेका हुन्छन् ।

यिनीहरूलाई माया प्रेम भावनात्मक सम्बन्धसँग केही लिनु-दिनु छैन । आफ्नो मूड चले संसारका सबै चिज छोडेर पछि लाग्छन् । अलिकति छिसिक्क भए मरेबाँचे बाल दिँदैनन् । म र मेरो इगो भन्ने चिज यिनीहरूलाई प्रिय हुन्छ । तर, कोही केटीले एक इशारा गर्नपर्छ यिनीहरू लोट्टै पर्छन् । यिनीहरूलाई अरुको मन दुखाउँदा पनि नराम्रो लाग्दैन । आफ्नै नजरमा पटक-पटक गिर्न सक्ने यिनीहरू विशेषखाले धोकेबाजहरू हुन्छन् ।

आत्ममुग्धताले भरिपूर्ण यो प्रजातिलाई लाग्छ कि संसार पूरै यिनीहरूकै वरपर घुमेको छ । इमोस्नल म्यानिप्युलेटिभ हुन्छन् यिनीहरू । आफ्ना कमजोर मनोबल लुकाउने प्रतिरक्षामा हरबखत अरुलाई प्रहार गर्ने यिनीहरू पटकपटक आफू नाङ्गिएको पत्तो पाउँदैनन् । यिनीहरूमा म र मेरो भन्ने एटिटिउडले भरिपूर्ण भएको संसारमा यिनीहरूको विश्वास गरियो भने जिन्दगीभर धोका पाइन्छ ।

ब्याकअप प्लान

यो मसला सबै प्रजातिमा पाइन्छ । तर, केही केहीमा भने अलि चाहिनेभन्दा बढी नै मसलाले भरिपूर्ण हुन्छ । यिनीहरू २० जना केटीहरूलाई एकैचोटी म्यासेज गर्छन् । तीमध्ये ५ ले त म्यासेज हेरिहाल्छन् नि । तीमध्ये दुईले त रिप्लाई गर्लान् अनि एकसँग त भेट होला भन्ने विशेष खालको फरमूलामा चलेका हुन्छन् । केहीगरी झुक्किएर कसैको रिप्लाई आए उत्तिखेरै आफूले पठाएको ५० ओटा म्यासेज बिर्सन्छन् ।

यिनीहरूसँग हरबखत कोही न कोही ब्याकअपमा भइरहन्छ । त्यसैले कहिले कोसँग के कुरा गरेको थाहा पाउन विशेष खालको मेमोरी पावर हुनुपर्छ । उत्तिखेरै रुनसक्ने, उत्तिखेरै हाँस्नसक्ने अनि उत्तिखेरै तिमीले छोडेर गए त मेरो जिन्दगी तहसनहस हुन्छ भन्ने यिनीहरूलाई छोडिएमा इगो हर्ट भने हुन्छ ।

तर, आफ्नो बाल पनि बाँका गर्दैनन् । कहिलेकाहीँ यिनीहरू हेलोको जवाफमा घरमा बिहेको कुरा चलाउन पठाउँछन् । कहिले एक्स्ट्रा इमोस्नल भएर रोएर हत्ते प्राण लिइदिन्छन् । केही यतिसम्म रियलिस्ट हुन्छन् भने अरु भन्या त्यस्तै हो अब बिहे भने गरिहालम् भनेर बिहेको कार्डसम्म छपाइसकेका हुन्छन् ।

अब यो कलियुगमा भारतीय क्रिकेटर विराट कोहलीबाहेक माया गर्ने श्रीमान् त कतै छैनन् जस्तो छ । यसो हेर्दा सबैजना आफ्नाका लागि भगवान् श्रीराम नै सावित भएका छन् । किनकि दिदी-बहिनीहरू त भनिरहनुहुन्छ, “सबै केटाहरूको जात एउटै हो । सबका सब बोका हुन् । तर मेरो ह्वाँ त त्यस्तो हुनुहुन्न ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved