क्रिकेटमा नेपालले भारतसँग यसरी लिनसक्छ फाइदा

नेपाली क्रिकेट टिमलाई उपलब्ध गराउने घरेलु मैदान कहाँको भन्नेबारे जयशंकरले खुलाएका छैनन् । कप्तान पौडेलका अनुसार होम ग्राउण्डले क्रिकेटमा ठूलो प्रभाव पार्छ ।

क्रिकेटमा नेपालले भारतसँग यसरी लिनसक्छ फाइदा

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो छ । खानपान, रहनसहन, भाषा, संस्कृति, रीतिरिवाज धेरै तरिकाले नेपाल र भारतको साइनो गाढा छ । समय समयमा नेपाल र भारतबीचको साइनो गीत-संगीतले पनि जोड्छ, संस्कृतिले जोड्छ । साथसाथै पछिल्लो समयमा खेलले पनि जोड्ने गरेको छ । त्यो हो क्रिकेट ।

क्रिकेट यस्तो खेल हो, जुन नेपाल र भारतमा उत्तिकै लोकप्रिय छ । दुवै देशमा क्रिकेट क्रेज देख्न सकिन्छ । नेपालमा क्रिकेटको विकाससँगै भारतका नागरिकको नजर पनि पर्न थालेको छ ।

नेपालका तत्कालीन उदाउँदा बलर सन्दीप लामिछानेले इन्डियन प्रियमिर लिग (आइपीएल)मा डेब्यू गरेपछि नेपाल र भारतबीच क्रिकेट खेलको सम्बन्ध बढ्न थालेको महसुस गरिएको थियो । खुला सीमा, सहज आवतजावतले पनि दुई देशबीचको सम्बन्ध सुमधुर छ । केही वर्षयता क्रिकेटले पनि दुई देशलाई जोडेको छ। नेपालमा क्रिकेटको विकाससँगै भारतसँगको मित्रता बढ्दैछ ।

 

नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा निकै पछाडि छ । दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्ने तयारीमा रहे पनि नेपालमा अहिले पनि सुविधा सम्पन्न क्रिकेट रंगशाला छैन । सरकारले छुट्याउने वार्षिक १–२ करोडको बजेटले क्रिकेट रंगशाला बन्न दशकौं लाग्न सक्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भ्रमणमा नेपालले धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाउन राखेको प्रस्तावमा भारत सकारात्मक रहेको जनाइएको थियो । फाप्ला बाहेकको क्रिकेट रंगशाला निर्माणमा पनि भारतबाट नेपालले राम्रो प्रस्ताव राखेर सहयोगको अपेक्षा गर्न सक्छ ।

२०८० पुस महिनामा भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आए । उच्चस्तरीय भ्रमणका लागि आएका विदेशमन्त्री जयशंकरले नेपालका क्रिकेट खेलाडीलाई भारतीय क्रिकेट मैदान ‘होम ग्राउन्ड’ अर्थात् घरेलु मैदानका रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको त्यतिबेलै कप्तान रोहित पौडेलले बताएका थिए ।

क्रिकेट टिमसँगको भेटघाटलाई जयशंकरले महत्त्व दिएको उनी आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा पनि स्पष्ट देख्न सकिन्छ । उनी नेपाली क्रिकेट टिमका सदस्य र क्यानका पदाधिकारीसँग प्रसन्न मुद्रामा देखिएका थिए ।

क्रिकेट संघका पदाधिकारी र खेलाडीसँग भारतीय विदेशमन्त्री एस जयशंकर

खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयाँल भारतीय क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघबीच औपचारिक सम्बन्ध हुनुपर्ने बताउँछन् । त्यसो भएमा भारतले नेपालका लागि थुप्रै खालका सहयोग गर्न सक्ने उनको धारणा छ ।

‘हाम्रा खेलाडीले भारतीय क्रिकेटबाट प्रेरणा लिन सक्छन् । भारतका मैदानमा खेल्न पाए भने, त्यहाँका टुर्नामेन्टमा खेल्न पाए भने पनि धेरै सिक्छन्’, फुँयालले भने, ‘त्यहाँका टिममा नेपाली खेलाडी अनुबन्धन हुन पाए भने धेरै सहयोग पुग्छ ।’

संसारभरको क्रिकेटमा भारतीय क्रिकेट बोर्ड बीसीसीआइले धेरै सहयोग गरेको छ । नेपाली क्रिकेटको संरचनामा निकै सहयोग गर्न सक्ने उनको बुझाइ छ ।

नेपाल भ्रमणको क्रममा जयशंकरले कप्तान पौडेलसहितको टिमलाई भेटेर क्रिकेटका लागि सहयोग गर्ने वचन दिए । आगामी जुन महिनामा हुने टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाललाई सहयोग गर्ने आश्वासन दिएर उनले हौसला पनि बढाइदिए ।

पत्रकार अजय फुँयाल

खेल पत्रकार विनोद पाण्डे दक्षिण एशियाकै क्रिकेटको श्रेय भारतलाई दिन्छन् । श्रीलंका, बंगलादेश, अफगानिस्तानको क्रिकेट अहिले जुन अवस्थामा छ, भारतीय क्रिकेटकै सहयोगका कारण भएको उनको ठम्याइ छ ।

भारतको घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफी, इरानी ट्रफीलगायतमा खेल्न दिने हो भने नेपालको क्रिकेट माथिल्लो स्तरमा पुग्न सक्ने उनी बताउँछन् । ‘नेपाली क्रिकेट एक्सपोजरको हिसाबमा अझै पछाडि छ, भारत त्यसका लागि ठूलो बजार हो’, पत्रकार पाण्डे भन्छन्, ‘त्यसबाहेक नेपाली टोलीको तयारीका लागि भारतको क्रिकेट बोर्ड (बीसीसीआई) ले आर्थिकका साथै प्रशिक्षणमा सहयोग गर्ने हो भने प्रतिस्पर्धात्मक हिसाबमा नेपालको क्रिकेटले ठूलो छलाङ मार्न सक्छ ।’

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल भारतीय विदेशमन्त्री जयशंकरले खेलाडीलाई भेट गर्नु निकै सकारात्मक भएको बताउँछन् । ‘हामीलाई भेट्नु एकदमै राम्रो काम हो । त्यसमा अलिकति आसा छ’ उनले भने, ‘भारतले नेपाललाई सघाउन सक्ने धेरै कुरा छन् । आइसब्रेक गर्न हामी अघि बढ्नुपर्छ । विस्तारै सम्बन्ध बढाउनुपर्छ ।’

अनुभवी खेल पत्रकार विनोद पाण्डेले क्रिकेटको आँखाबाट हेर्दा नेपाल र भारतको सम्बन्ध टाढैजस्तो देख्छन् । उनले एउटा अपजस नेपाल क्रिकेट संघ (क्यान) लाई पनि दिएका छन् । नेपालभन्दा भारतको क्रिक्रेट निकै माथिल्लो स्तरमा रहेको कारणले चाहेर पनि सँगै लिएर जान नसकिरहेको हो कि भन्ने उनको आशंका छ ।

क्रिकेट राम्रोसँग बुझेका पत्रकार पाण्डे भन्छन्, ‘अर्को व्यवस्थापन पक्षमा विगतमा नेपाल क्रिकेट संघको धेरै कमी कमजोरी रहेका कारण पनि भारतसँग नेपालको सम्बन्ध एउटा छिमेकीको रुपमा मात्र रहेको छ । नेपाल सन् २०१८ यता एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भएकाले भारतलाई अब नेपालसँग सम्बन्ध बढाउन सजिलो अवसर छ ।’

पत्रकार विनोद पाण्डे

अब नेपाली क्रिकेटले भारतसँग एक्सोपोजर भिजिटमा जोड दिनुपर्ने अग्रवालको सुझाव छ । ‘नेसनल टिम, अन्डर नाइन्टिनको टिमलाई भारतको राम्रो टिमसँग म्याच खेल्ने वातावरण बनाइदिन सक्छ । अर्को कुरा भौतिक संरचना निर्माणमा पनि भारतले सहयोग गर्छ सक्छ । नेपाली टिमलाई भारतको एकेडेमी फेसिलिटी चाहिएको छ,’ उनी भन्छन् ‘जसरी नेपालले क्रिकेटमा विकास गरिरहेको छ त्यसरी नै क्रिकेट कूटनीति पनि आवश्यक  छ ।’

कप्तान रोहित पौडेल भारतका विदेशमन्त्रीसँग भेट्दा एकदमै खुसी भएको बताउँछन् । आगामी दिनमा बीसीसीआईबाट गर्ने सहयोगको बारेमा पनि कुरा भएको भन्दै उनले भारतले होम ग्राउण्ड दिनु नै ठूलो कुरो भएको बताए ।

‘हामीले केही भन्नुभन्दा अगाडि नै उहाँले भन्नुभएको हो । दश वर्षमा अफगानिस्तानले क्रिकेटमा गरेको प्रगतिमा मेरो विचारमा बीसीसीआईको ठूलो भूमिका छ । उहाँहरूले अफगानिस्तानलाई होम ग्राउन्ड दिनुभएको थियो ।’ उनी भन्छन् ।

नेपाली क्रिकेट टिमलाई उपलब्ध गराउने घरेलु मैदान कहाँको भन्नेबारे जयशंकरले खुलाएका छैनन् । कप्तान पौडेलका अनुसार होम ग्राउण्डले क्रिकेटमा ठूलो प्रभाव पार्छ । त्यहाँ फरक परिस्थितिमा खेल्न पाइन्छ । फरक-फरक विकेट हुन्छन् । त्यहाँको टीमसँग खेल्न पाउँदा ठूलो फाइदा हुन्छ । रोहितले अफगानिस्तानले गरेको प्रगतिसँग आफूहरूको सम्भावित अवसरलाई जोडेर हेरेका छन्।

काठमाडौंस्थित भारतीय राजदूतावासले पनि बेला-बेला राष्ट्रिय क्रिकेट टोलीलाई खेल सामग्री उपलब्ध गराउने गरेको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल

धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धबाहेक क्रिकेट दुई देशबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नयाँ सफ्ट पावर बन्न सक्ने पत्रकार पाण्डे बताउँछन् । ‘भारतको दक्षिण एसियाली मुलुक (श्रीलंका, पाकिस्तान, माल्दिभ्स) सँग सम्बन्ध स्थिर हुन नसकेको अवस्थामा नेपाली भूमिलाई तटस्थ मैदानको रूपमा अगाडि बढाएर क्रिकेटबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ,’ उनी भन्छन् ।

खुला सीमा भएको छिमेकी देश संसारकै लिडिङ पोजिसनमा भए पनि त्यसको फाइदा लिन नेपालले नसकेको सम्पादक फुयाँल बताउँछन् । ‘क्रिकेटकै कारण आर्थिक, राजनीतिकरूपमा पनि जोड्न सकिन्छ । उदाहरणका रूपमा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सन्दीप लामिछाने अनुबन्धन भएको भाषणमै उल्लेख गरेका थिए । क्रिकेटलाई कूटनीतिको रूपमा पनि जोडन् सकिन्छ र जोडनु पनि पर्छ । यो महत्त्वपूर्ण छ ।’ उनले भने ।

पूर्वकप्तान पवन अग्रवाल नेपालले क्रिकेटमा भारतबाट निकै फाइदा लिनसक्ने सम्भावना देख्छन् । ‘भौगोलिकरूपमा नेपाल र भारत जति नजिक छौँ, त्यति नै फाइदा लिन सक्नुपर्ने हो ।’ उनी भन्छन्, ‘भारत क्रिकेटको सुपर पावर हो । हाम्रो पहुँच पनि छ । तर, त्यहाँको सुविधा र फाइदा लिन पाएका छैनौं । सकेका छैनौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved