सवारी दुर्घटनाका पीडितको नाममा

हाल १५ देखि २९ वर्षसम्मका मानिसको अकाल मृत्युको मुख्य कारण सवारी दुर्घटना बनेको छ । दुर्घटनामा घाइते हुनु र मलेरिया, क्षयरोगजस्ता रोगले भेट्नु एउटै जस्तो हुन पुगेको छ । यसको कारण मृत्युको दर बढिरहेको छ । प्रत्येक वर्ष दुर्घटनामा ज्यान गुमाउने १३ लाखमध्ये ९० प्रतिशत विकासोन्मुख देशकै हुन्छन् ।

सवारी दुर्घटनाका पीडितको नाममा

प्रत्येक नोभेम्बरको तेस्रो आइतबार सवारी दुर्घटनापीडित विश्व दिवसका रूपमा मनाइन्छ । दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा सर्वप्रथम सन् १९९३ देखि बेलायतबाट यो दिवस मनाउन थालिएको थियो । त्यसपछि विश्वका अन्य देशमा पनि दिवस मनाउन थालिएको छ । सवारी दुर्घटनामा धेरैले आफन्त गुमाएका छन् । घाइते, अङ्गभङ्ग भएका छन् । यो एउटा मानवनिर्मित अत्यन्तै पीडादायी समस्या हो ।

सम्बन्धित परिवारलाई प्रत्येक क्षण, प्रत्येक दिन र प्रत्येक वर्ष पीडा भइरहेको छ । त्यही दुःख सामूहिक रूपमा सम्झिने, उनीहरूको नाममा कुनै राम्रो काम गर्ने, अकाल मृत्युबाट जोगाउन सामूहिक प्रयत्न गर्ने दिवस हो यो । संयुक्त राष्ट्र संघले यसलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

सवारी दुर्घटना एउटा मानव अधिकार र बाँच्न पाउने अधिकारको हनन पनि हो । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले आधारभूत मानव अधिकारको परिकल्पना तथा व्याख्या गरेको छ । अहिले सेफर मोबिलिटी राइट अर्थात् सुरक्षित यात्राको अधिकारमाथि नै प्रश्न उठेको छ । जुन मानवअधिकार माथिको अप्रत्यक्ष प्रहार हो । ग्लोबल रोड सेटी एम्बेसडर मिचेल योह (Michelle Yeoh) ले भनेकी छन्, “संसारका सडकमा प्रत्येक दिन ज्यान गुमाइरहेका हजारौं लाई सम्झिने यो एउटा क्षण हो ।”

प्रत्येक दिन अनाहकमा सडकमा ५ सय बालबालिकाले ज्यान गुमाइरहनु परेको छ । मुख्य गरेर ‘तीव्र गति’ दुर्घटनाको मुख्य कारण बनेको छ । त्यसैले सरकारले तीव्र गति नियन्त्रण गर्न विशेष रूपमा कानूनको निर्माण गर्नु आवश्यक छ । उक्त अवसरमा मिचेलले उक्त ग्लोबल इभेन्टमा उत्साहपूर्वक सहभागी बन्न प्रेरित समेत गरेकी थिइन् ।

सडक सुरक्षाका स्वर्ण नियमहरूलाई सधैँ पालना गर्ने, सवारीमा अशक्त व्यक्तिलाई प्राथमिकता दिने, सडक सुरक्षाबारे जनस्तरमा चेतना फैलाउने, सुरक्षित र तोकिएको मापदण्ड तथा अपाङ्गतामैत्री सडक निर्माणमा चासो राख्न आवश्यक छ ।

सम्बन्धित निकायलाई सचेत गराउने, तोकिएको स्थान, नियममा बसेर सार्वजनिक सवारी चलाउने, सडक दुर्घटनामा तत्काल उद्धार र आवश्यक सेवा पुर्‍याउनुपर्छ । शान्ति कायम गर्न पहल गर्ने, विभिन्न निकायका सरोकारवालालाई सडक सुरक्षा नीति निर्माण कार्‍यान्वयनमा पहल, सडक सुरक्षा अभियानका कार्यक्रममा समन्वय तथा सहकार्य गर्दै सडक सुरक्षाका सबै कार्यक्रममा ऐक्यबद्धता व्यक्त गर्ने प्रतिबद्धता पनि जनाउनु आवश्यक छ ।

सवारी दुर्घटनाबाट जीवनभर पीडित भएका, मृतकका आफन्तलाई सहयोग गर्न नेपालमा केही वर्ष अघिदेखि दिवस मनाउन थालिएको छ । घाइते र मृतकका परिवारलाई सहयोग पुर्‍याउनु, उनीहरूलाई सम्झनु, जोगिने उपाय खोज्नु दिवसको उद्देश्य हो । सडक सुरक्षाबारे विभिन्न गतिविधि गर्न कोष स्थापना गरेर पीडितलाई सहयोग पनि सुरू भएको छ ।

नोभेम्बरको तेस्रो आइतबारलाई ‘वर्ल्ड डे अफ रिमेम्बरेन्स फर रोड ट्राफिक भिक्टिमका रूपमा मनाइन्छ । त्यस दिवसमा सवारी दुर्घटनाको असर, न्यूनीकरणका लागि अपनाइएका विधि, प्रक्रियाबारे आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ । अब गर्नुपर्ने आवश्यक कार्ययोजनाबारे सबैले जानकारी लिन सक्छन् । यो बाहेक सडकलाई अझै सुरक्षित बनाउन सबैको जिम्मेवारीबारे बुझ्ने अवसर मिल्छ ।

आफन्तजनले भोग्नुपरेका भावनात्मक, व्यवहारिक दुर्दशालाई न्यूनीकरण गर्न केही सहयोग पुगोस् भन्ने यसको उद्देश्य हो । विश्वभर र अझै विशेषगरी विकासोन्मुख देशहरूमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिका कारण बालबालिकाको भयरहित र सुरक्षित यात्राको अधिकार उपभोगमा अवरोध भएको छ ।

विश्वभर दुर्घटनाका कारण प्रत्येक दिन करिब ५ सय बालबालिकाले ज्यान गुमाइरहेका छन् । अन्य हजारौं बालबालिका अपाङ्गताको अवस्थामा जीवन गुजारिरहेका छन् । यस्तै थुप्रै बालबालिकाले आफ्ना अभिभावकसमेत गुमाएका छन् । यो अवस्थामा उनीहरूको जीवन गुजारा पनि निकै नै कष्टपूर्ण बनिरहेको छ ।

सवारी दुर्घटनाका कारण भएको यस्तो दूर्दशाले देशको विकास र उनीहरूको स्वास्थ्यमा समेत विभिन्न प्रकारका चुनौती थपिरहेका छन् । यस्ता चुनौती सम्बोधन गर्न तत्काल प्रभावकारी कदम चाल्नु अत्यावश्यक भइसकेको छ । सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले दिगो विकास अवधारणा प्रस्तुत गर्‍यो । प्रचलित सहस्राब्दी विकास लक्ष्यलाई यसले प्रतिस्थापन गर्ने उदेश्य राखिए पनि सडक सुरक्षालाई उल्लेख गरिएको थिएन ।

विश्वभरका नीति निर्मातामा सडक सुरक्षाले प्राथमिकता नपाएकाले यसो भएको थियो । अहिले धेरैले यो तथ्य अनुभूति गरेका छन् । हाल १५ देखि २९ वर्षसम्मका मानिसको अकाल मृत्युको मुख्य कारण सवारी दुर्घटना बनेको छ । दुर्घटनामा घाइते हुनु र मलेरिया, क्षयरोगजस्ता रोगले भेट्नु एउटै जस्तो हुन पुगेको छ । यसको कारण मृत्युको दर बढिरहेको छ ।

प्रत्येक वर्ष दुर्घटनामा ज्यान गुमाउने १३ लाखमध्ये ९० प्रतिशत विकासोन्मुख देशकै हुन्छन् । संयुक्त राष्ट्रसंघले सवारी दुर्घटनाका कारण सार्वजनिक स्वास्थ्य र विकासमा गम्भीर असर पुर्‍याएको तथ्य पहिचान गरेको छ । नयाँ मस्यौदाको रूपमा तयार पारिएको दिगो विकासको लक्ष्यमा विभिन्न देशका सरकारले दुर्घटनालाई आधा घटाउने लक्ष्य लिएका छन् । ‘सेभ किड्स लाइभ्स्’ नामक अभियानले विश्वभरका राजनीतिक नेताहरूलाई तथ्यबारे आवश्यक जानकारी प्रदान गर्ने र कार्‍यान्वयनमा प्रेरित गर्ने लक्ष्य लिएको छ ।

नेपालमा पनि नासा फाउन्डेसन, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी लगायतका संस्था यस खालका अभियानमा क्रियाशील छन् । यदि यस अभियानमा हामी सफल हुन सकेनौँ भने विश्वका अझै धेरै बालबालिकाले दुर्घटनामा ज्यान गुमाउने जोखिम हुनेछ । त्यसैले हामी सबैले यो अभियानमा साथ दिन आवश्यक छ ।

सवारी दुर्घटनाका पीडित परिवारको अवस्था अत्यन्तै डरलाग्दो र दुखद् छ ।

  • परिवारको सदस्य गुमाउँदाको पीडा छ ।
  • उपचारमा ठुलो घरायसी खर्च हुँदा गरिबी बढेको छ ।
  • सामाजिक र पारिवारिक असन्तुलन बढेको छ ।
  • थुप्रै परिवार आर्थिक समस्यामा फसेका छन् ।
  • घाइतेको उपचार र पुनर्स्थापनामा समस्या छ ।
  • परिवारका सदस्यको व्यक्तित्व विकासमा असर परेको छ ।
  • प्रियजनको बिछोडको पीडाले मनोवैज्ञानिक असर पनि ठूलो छ ।

यी भए निजी र पारिवारिक असर । राष्ट्रको उत्पादकत्व न्यून हुनु, आर्थिक असन्तुलन बढ्नु, युवा शक्ति क्षय हुनु, गरिबी बढ्नु, सामाजिक, राजनीतिक असन्तुलन बढ्नुजस्ता दीर्घकालीन असर पनि देखिन्छन् । तर राष्ट्रले भोग्ने असरको तुलनामा पीडित परिवारले भोग्ने पीडा अझ दर्दनाक छ ।

संसारभरका पीडितको समस्या एकै किसिमको छ । उनीहरू इन्टरनेसनल रोड भिक्टिम पार्टनर संस्थामार्फत् सङ्गठित भएका छन् । पीडितको हित, सम्झना, परिवारमा केही सहयोग गर्ने प्रयासमा छन् ।

नासा फाउन्डेसनलगायतका संस्थाहरू विश्व अभियानको एउटा अङ्ग बनेका छन् । त्यसले ठुलो उपचार नभए पनि पीडितलाई सान्त्वना प्रदान गर्नेछ । सडक सुरक्षा सामाजिक, भावनात्मक, आर्थिक एजेन्डा पनि हो । कति विधवा होलान् । कति बालबालिका टुहुरा भए होलान् । पीडा देखेका हामीले पनि यस क्षेत्रमा केही नगरे कसले गर्ने ?

(लेखक नेपाल अटोमोवाइल्स एसोसिएसनका कार्यकारी निर्देशक हुन् ) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved