उपेन्द्रको शक्ति क्षय, आइपुगे राजनीतिक ‘करिअर’को कठोर घुम्ती !

राजनीतिका महत्वाकांक्षी खेलाडी मानिएका उपेन्द्र यादव १७ वर्षको अवधिमा पटकपटक सत्ताको रसमा डुबे । पटकपटक सरकार ढाल्ने र बनाउने किङमेकर रहे । पछिल्लो पटक आफैँ प्रधानमन्त्री बन्ने दाउमा थिए । तर, उपप्रधानमन्त्री पद समेत संकटमा परेको छ । 

उपेन्द्रको शक्ति क्षय, आइपुगे राजनीतिक ‘करिअर’को कठोर घुम्ती !

काठमाडौं । २०६३ माघमा तत्कालीन अन्तरिम संविधान जलाएर मधेश विद्रोहमार्फत राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादव यतिबेला राजनीतिक ‘करिअर’कै कठोर घुम्तीमा आइपुगेका छन् ।

त्यतिबेला मूलधारका सबै दललाई चुनौती दिएर मधेशको एजेन्डामार्फत पहिलो संविधान सभामा बलियो उपस्थिति जनाएका उपेन्द्र १७ वर्षपछि निरीह अवस्थामा पुगेका हुन् ।

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हुँदै जनता समाजवादी पार्टी (जसपा)सम्म आइपुग्दा उनको शक्ति क्रमशः घट्दै गयो । जसपाका अध्यक्षसमेत रहेका यादवलाई अन्ततः समयक्रमले पार्टीको महाधिवेशनकै मुखमा राष्ट्रिय राजनीतिमै शिथिल अवस्थामा ल्याइपुर्‍यायो ।

२०६४ को चुनावमा ५२ सिट बनाएर संसद्को चौथौ ठूलो शक्ति आर्जन गरेका २०७९ को निर्वाचनमा १२ सिटसहित सातौँ शक्तिमा झरेका थिए ।

आइतबार फेरि पार्टीका १२ जना सांसदमध्ये ७ जना पार्टीबाट अलग भएपछि पाँचजना सांसदका नेता भएका छन् । अब उनको हैसियत आठौँ दल हो, यसअघि उनी चौथो थिए ।

सत्ताका ‘किङमेकर’को शक्ति क्षीण

राजनीतिका चतुर र महत्त्वाकाङ्क्षी खेलाडी मानिएका उनी १७ वर्षको अवधिमा पटकपटक सत्ताको रसमा डुबे । पटक-पटक सरकार ढाल्ने र बनाउने किङमेकर रहे । पछिल्लोपटक आफैँ प्रधानमन्त्री बन्ने दाउमा थिए ।

नेकपा (समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने समझदारी गरेका सूचना बाहिरिँदै गर्दा पार्टी नै फुटेपछि अहिलेको उपप्रधानमन्त्री नै धरापमा परेको छ ।

आधा दर्जनभन्दा बढीपटक मन्त्री बनेका उनी प्रधानमन्त्री भन्ने महत्त्वाकाङ्क्षा राख्दै भन्थे, “हामीले पटक-पटक अरूलाई प्रधानमन्त्री बनायौँ । म एक मधेसीको छोरा राष्ट्रिय पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने अवसर किन नपाउने ?”

एमाले र कांग्रेस एक ठाउँ बसेनन् भने सत्ताको ‘किङमेकर’ आफैँ भइरहनेछु भन्ने जसरी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’लाई थाहा छ, उसैगरी उपेन्द्रलाई पनि एमाले र कांग्रेस एक ठाउँमा नभए आफू र एकीकृत समाजवादी सत्ताको ‘किङमेकर’ बन्ने सपना जाग्यो । यसैले देउवासँग मिलेर आलोपालो प्रधानमन्त्रीको सपनामा सम्झौता सजाएको चर्चा छ ।

ओली-प्रचण्डका लागि जसपा विभाजन स् एक तीर, दुई शिकार !

सोहीअनुसार एमाले-माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धनबाट अलग भएर सत्ता समीकरण फेर्न लागेको चर्चा भइरहँदा पार्टी फुटेर यादवको शक्ति कमजोर भएको हो । बरु, १२ वर्षअघि एमालेबाट अलग भएर सङ्घीय समाजवादी पार्टी बनाउँदै उपेन्द्रकहाँ पुगेका अशोक राई फेरि एमालेकै निकट आइपुगेका छन् । अझ भनौँ उपेन्द्रको शक्ति क्षय भएर एक्लिएका छन् । आफैँ सरकारमा रहेको गठबन्धन भत्काउन खोज्दा आफ्नै दल जोगाउन सकेनन् ।

त्यसो त उनी २०७९ को आम निर्वाचनमा जनताबाट अस्वीकृत भएका थिए । सप्तरी २ बाट उम्मेदवार उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले जितबाट रोके ।

२०८० वैशाखमा उपनिर्वाचन भयो । त्यो बेलामा बारा २ मा फेरि चुनाव लडेका उपेन्द्रले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई बल्ततल्ल हराउँदै सांसद छिर्न पाएका हुन् । चुनाव हारेको पाँच वर्ष नपुग्दै संसद् छिर्न आतुर हुनुको कारण थियो— सत्ता ।  उनी चुनाव जितेको वर्ष दिन नपुग्दै मन्त्री बने । गत २१ फागुनमा एमाले माओवादी गठबन्धन भएपछि २७ फागुनमा यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका हुन् ।

त्यो ५२ सिट, यो पाँच सिट !

पहिलो संविधानसभा चुनावमा देशको चौथो ठूलो दल थियो, सङ्घीय समाजवादी फोरम नेपाल । अध्यक्ष थिए, उनै यादव । त्यो बेला माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उनी २०६५ भदौमा परराष्ट्रमन्त्रीमा नियुक्त भए ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल काण्ड भएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो । नौ महिना मन्त्री भइसकेका यादवमा सत्तामा रत्तिसकेका थिए । प्रचण्ड नेतृत्वको सरकार ढलेको २० दिनपछि २०६६ जेठ ९ गते तत्कालीन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भयो ।

अघिल्लो सरकारमा छँदा लिएको मन्त्रीका स्वाद दोहोर्‍याउन चाहे । तर, बाधक बने पार्टीका नेता विजयकुमार गच्छदार । त्यो सरकारमा जान यादवले धेरै जोडबल गरे ।

तर, तत्कालीन फोरमका नेता गच्छदारले सरकारमा जान जिद्दी कसे । यादव र गच्छदारबीच विवादको विवादले पार्टी फुट्यो । २८ सांसद लिएर पार्टी फुटाएर गच्छदार नेपाल नेतृत्वको सरकारमा गए ।

जसपा विभाजनले सरकारलाई कस्तो असर पर्छ ?

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेका गच्छदार माधवकुमार नेतृत्वको सरकारमा सहभागी भए । सरकारमा जान आफूले खुट्टो उचालिरहेको अवस्थामा गच्छदारले पार्टी फुटाएर सरकारमा गएपछि यादव बाहिरै बस्न बाध्य भए । उनीसँग अब २४ सांसद मात्र थिए ।

०००

माधवकुमार नेपालले २०६७ असार १६ गते प्रधानमन्त्री पदबाट राजीनामा दिए । लामो समय कामचलाउ सरकार कायमै रह्यो । त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने । खनाल नेतृत्वको सरकारमा चारबुँदे सम्झौता गरेर उपेन्द्र यादव पनि सहभागी भइहाले ।

उनी उपप्रधान तथा पराराष्ट्रमन्त्री बने । तर, खनालको सरकार धेरै लामो समयसम्म टिकेन् । शान्ति प्रक्रियाका काम सम्बन्धमा तत्कालीन एनेकपा माओवादीसँग असमझदारी उत्पन्न भएपछि  मधेश केन्द्रित अरू दलहरूको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रणनीतिका कारण ६ महिना नपुग्दै सरकार ढल्यो । १२ भदौ २०६८ मा तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने ।

त्यसअघिका दुइटा सरकारमा उनी १५ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका उपेन्द्र भट्टराईको पार्टीमा सहभागी भएन । कारण थियो उनी बाहेकको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा त्यो सरकारको निर्णायक शक्ति थियो ।

डा.भट्टराईको नेतृत्वमा सरकार गठन हुने बेला फेरि जयप्रकाश गुप्ताले पार्टी विभाजन गरे । २०६८ जेठमा गुप्ताले फोरम फुटाएर १३ सभासद लिएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे ।

यादव झनै कमजोर बने  । गुप्ता सरकारमा सहभागी भएका थिए । झलनाथ खनाल नेतृत्वको सरकार ढाल्ने त्यतिबेला मुख्य योजनाकारमध्येकै जेपी गुप्ता मानिन्थे । त्यसपछि शक्ति घट्यो ।  सरकारमा जान नपाएपछि यादव लगातार आन्दोलनमा लागि रहे ।

०००

२०७० मा पहिलो संविधानसभा विघटन भएपछि भएको दोस्रो संविधानसभा चुनावमा उपेन्द्र यादवको पार्टीको शक्ति घट्यो । प्रत्यक्षमा दुई र समानुपातिकमा आठ सिट गरी १० सिटमा खुम्चियो ।

त्यसपछि पनि उनी सरकारमा जान पाएनन् । किनकि न कुनै निर्णायक शक्ति थिए, न धेरै सांसद नै । दोस्रो संविधानसभाभर उनी सरकारमा जान पाएनन्, आन्दोलनमै रहे ।

यादव सात वर्षपछि पुनः सत्तारोहण भए जेठ २०७५ मा । त्यो बेलामा तत्कालीन नेकपाका अध्यक्ष ओली प्रधानमन्त्री थिए । २०७४ को चुनावमा भने उनको दलको हैसियत धेरै ठूलो थिएन ।

१० सिट प्रत्यक्ष र ६ सिट समानुपातिक गरी १६ सिट थियो । तेस्रो मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको पृष्ठभूमिमा एमालेलाई ‘मधेस विरोधी शक्ति’ करार गर्दै उनको दल सङ्घीय समाजवादी फोरम चुनाव लडेको थियो । तर, चुनाव सकिएलगत्तै उनी ओलीको सरकारमा सामेल हुँदै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री भए ।

यादवले चरम सत्तालोलुप र अवसरवादी चरित्र देखाएको भन्दै आलोचना हुन्थ्यो ।

किन विभाजित भइरहन्छ उपेन्द्र यादवको दल?

फलतः २०७९ को चुनावमा उनको शक्ति झनै खिइयो । निर्वाचनमा उनी आफू मात्रै पराजित भएनन्, उनको दल जनता समाजवादी निकै कमजोर बन्यो । एमालेसँगको तालमेलका बाबजुद प्रत्यक्षतर्फमा जसपाले ७ सिट मात्रै जित्न सक्यो ।

समानुपातिकतर्फ पनि अपेक्षा भन्दा निकै कम ३.९९ प्रतिशत मत मात्र ल्याएर झुन्डिएर राष्ट्रिय दलको मान्यता पायो । जसपा ५ सिट समानुपातिक सांसदसहित १२ सिटमा सीमित भई संसद्को सातौँ ठूलो दल भयो ।

फेरि आइतबार उनको दल फुटेको छ । यादवले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित सात जना प्रतिनिधिसभा सदस्यले पार्टी विभाजन गरेपछि यादव पाँच सिटमा खुम्चिएका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रबार उडेर शनिबार अमेरिका पुगेका यादव आइतबार पार्टी विभाजनको खबर पाएलगतै फर्किएका छन् ।

जसपाको विभाजनलाई कतिपयले ‘प्रचण्ड नेतृत्वको सत्ता जोगाउने खेल’ भनेका छन् । कतिपयले उनको स्वेच्छाचारीपन भन्दै टिप्पणी गरेका छन् ।

भलै यादव सत्ताका भोगबिलासी किन नहोऊन्, मधेस आन्दोलनमार्फत देशमा सङ्घीयता र मधेशी अधिकारसहित राजनीतिक एजेन्डा स्थापित गर्ने नेता पनि मानिन्छन् । तर, उनी शक्ति क्षयीकरण हुँदै राजनीतिक करिअरमा सर्वाधिक कमजोर घुम्तीमा आइपुगेका छन् ।

आफ्नै सरकार ढाल्न खोजेको आरोप लागेका उनले अब पार्टी फुटेपछि उपप्रधानमन्त्री पदबाट राजीनामा दिन्छन् वा के हुन्छ हेर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved