साथीले किन फिर्ता गर्दैन सापटी पैसा ?

पैसा चलायमान चीज हो । आज एकजनासँग हुन्छ, भोलि अर्कैसँग हुन्छ । पैसाको यही विशेषताअनुरूप आफ्नो समस्या टारिदिनेको समस्या पनि टारिदिन सकिन्छ; अर्को तेस्रो मान्छेसँग सापटी लिएर । तर, अधिकांशको गुनासो यही रहन्छ— उसलाई ठूलो समस्या पर्दा सहयोग गरियो, आफूलाई पर्दा पाइएन ।

साथीले किन फिर्ता गर्दैन सापटी पैसा ?

साथीले सापटी माग्यो
मैले दिएर पठाएँ
त्यसपछि न सापटी फिर्ता आयो
न साथी फिर्ता आयो  ।

कवि अर्जुन पराजुलीको यो कवितांशले सापटी पैसा फिर्ता नआउँदाको पीडा बोल्छ । हामीकहाँ पैसाका कारण घर-व्यवहार, काम-काज र व्यापार-व्यवसायमा गाह्रो पर्दा साथीभाइ, आफन्तजन तथा चिनजानका मानिससँग सापटी माग्ने संस्कृति छ ।

मागिएको व्यक्तिले सहज रूपमा नै पैसा देओस् भनेर दुःख बिसाउने चलन मात्रै छैन, उहिले प्रेमीहरूले ‘देउरालीलाई साक्षी राखी सँगै मर्ने, सँगै बाँच्ने’ कसम खाएभन्दा गम्भीर तवरले बाचा र प्रतिबद्धता गर्नेसमेत जनाइन्छ । पैसा सापटी लिनका लागि ज्यू-हजुरीसमेत गरिन्छ ।

उसो त पैसा चलायमान चीज हो; एकअर्कालाई आपत्‌विपद् पर्दा सापटीका रूपमा सहयोग गर्नु राम्रो संस्कृति हो । त्यही सोचेर हुनुपर्छ, मागेको बेला फ्याट्टै सापटी दिने मान्छेहरू पनि हुन्छन् । तर, त्यहीबीच हुन्छन्, ‘खोला तरेर लाठी बिसिर्नेहरू’ । जो, सापटी लिएर आफ्नो दु:ख-अभाव त टार्छन् तर, अभाव टारिदिनेहरूलाई बिर्सिन्छन् ।

कवि पराजुलीको कवितांशको मुख्य अर्थ यही नै हो सायद । जुन समस्या पछिल्लो समय अझ बढेको महसुस हुन्छ । त्यसखाले गुनासा र दुखेसोहरू सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भेटिन्छन् ।

०००

तिम्रो ढाँट्ने बानीले, बोल्न बाध्य गरायो 
राम्रो थियो हाम्रो सम्बन्ध पैसा सापटी दिएपछि बोलचाल हरायो
पैसा सापटी दिएपछि साथी हरायो ।

यो गीत वरिष्ठ लोकगायक बद्री पँगेनीको सृजना हो । यस गीतमा उनले पैसा सापटी दिँदा मानिसहरू कसरी समस्यामा परिरहेका छन् भन्ने देखाएका छन् ।

यो गीतमा सायद धेरैको पीडा लुकेको हुनुपर्छ । त्यसैले यो गीत धेरैले मन पराए पनि । त्यसरी हेर्दा लाग्छ, यो समस्या थोरै मान्छेहरूको मात्रै समस्या होइन, यो एक बहुल समस्या हो । किनकि सापटी लिएका धेरैले परेको बेलामा सहयोग गर्छु भनेर बाचा गरेपनि त्यो बाचामै सीमित हुन्छ ।

घरबेटीले कोठाबाट निकाल्दा पैसा सापटी लानेहरू आफ्नो ग्यास सकिएर चिया-चिउरा खाँदा पनि सम्झिँदैनन् । छोराछोरीको ‘स्कूल फी’ तिर्न नसकेर परीक्षाबाट वञ्चित हुँदा सापटी लिनेहरू आफ्नो कलेजको तिर्नेबेला हुँदा भोलिभोलि भनेर पन्छिन्छन् । उपचार नपाएर ज्यान नै जाने अवस्थामा सापटी लिनेहरू आफूलाई ओखतीमुलो चाहिँदा फोन नै उठाउँदैनन् । यो सत्य हो, भोग्नेहरूलाई थाहा हुनुपर्छ ।

यही र यस्तै समस्यालाई विम्बित गर्ने एउटा भनाइ सामाजिक सञ्जालमा भाइरल छ । त्यहाँ भनिएको छ— तपाईं कसैको एउटा दुःख सुनेर पैसा त सापटी दिन सक्नुहुन्छ । तर, फेरि तपाईंले आफ्नो सयौँ दु:ख सुनाउँदा पनि पैसा फिर्ता ल्याउन सक्नुहुन्न ।

सापटी दिएर फिर्ता लिन नसकेकाहरू यथार्थलाई काव्यिक बनाउँछन् र भन्छन्- नेपाल एउटा त्यस्तो देश हो । जहाँ आफूले दिएको सापटी पैसा फिर्ता माग्न आफूलाई पैसा किन चाहिएको हो भनेर कारण देखाउनुपर्छ ।

सापटी दिँदा उल्टै जेल

माथि नै भनियो, पैसा चलायमान चीज हो । आज एकजनासँग हुन्छ, भोलि अर्कैसँग हुन्छ । यो पैसाको विशेषता पनि हो । पैसाको यही विशेषताअनुरूप आफ्नो समस्या टारिदिनेको समस्या पनि टारिदिन सकिन्छ; अर्को तेस्रो मान्छेसँग सापटी लिएर ।

तर, अधिकांशको गुनासो यही रहन्छ— उसलाई ठूलो समस्या पर्दा सहयोग गरियो, आफूलाई पर्दा पाइएन ।

यो समस्याको ग्राफ पछिल्लो समय ह्वात्तै बढेको महसुस हुन्छ । सामाजिक सञ्जालदेखि चिया गफसम्म यसखाले गुनासा सुनिन्छन् ।

सामाजिक सञ्जालमा यस्तै अर्को दुखेसो भेटियो— पैसा सापटी माग्दा समस्या देखाएर धरधरी रुने तर, साथमा भएर पनि फिर्ता नगर्नेहरू धेरै देखिए ।

यसखाले पोस्ट्हरू आफ्नो पनि पीडा बोलेको भन्दै धेरै कमेन्ट र शेयर भएका देखिन्छ । जे होस्, यसो भन्न सकिन्छ कि अभावमा सापटी लिने संस्कृति बढ्यो तर, सापटी दिनेहरूको समस्या टारिदिने संस्कृति हरायो ।

आफन्तज तथा साथीभाइको समस्या बुझी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएरसमेत सापटी दिनेहरू जेल पुगेको घटनाहरू छन् हामीकहाँ । सापट माग्दा आपत् परेको देखाउने तर, फिर्ता गर्नेबेला टाढिने अझ हराउने,सम्पर्कमा नै नआउनेहरू प्रशस्तै छन् यदाकदा ।

पैसा सापटी लिने र ब्यालेन्स नभएको खाताको चेक (चेक बाउन्स) दिएका कारण धेरै मानिसले बैङ्किङ कसुर मुद्दा खेपेका छन् । प्रहरी रिपोर्टहरू यही बताउँछन् ।

रिपोर्टहरूका अनुसार प्रहरीमा आउने उजुरीहरूमध्ये करिब ६० प्रतिशत आर्थिक लेनदेनकै हुन्छ । आर्थिक लेनदेनअन्तर्गत बैङ्किङ कसुर, लेनदेन र ठगीका मुद्दा हुन्छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा देशभर बैङ्किङ कसुरसम्बन्धी १२ हजार बढी मुद्दा दर्ता छन् । बैङ्किङ कसुरका मुद्दामध्ये ९९ प्रतिशत चेक बाउन्ससम्बन्धी छन्  । चेक बाउन्सका मुद्दा पनि आधाजसो सापटी तथा लेनदेनकै छन् ।

आधाजसो व्यावसायिक कारोबारका भएपनि आधाभन्दा बढी लेनदेन र सापटीकै रहेको अनुसन्धान र अभियोजनामा संलग्न प्रहरी अधिकारीहरूको भनाइ छ । आर्थिक वर्ष २०७९/८० मा बैङ्किङ कसुरसम्बन्धी १२ हजार ६ सय ७२ मुद्दा दर्ता थिए । २०७८/७९ मा ५ हजार ३ सय ३८ मात्रै उजुरी थिए । पछिल्लो आर्थिक मन्दीले लेनदेनको कारोबार बढेको छ । कारोबारसँगै समयमा नै फिर्ता नगर्ने र मुद्दा प्रहरी चौकी हुँदै अदालतसम्म पुगिरहेको घटना हामी देख्न सक्छौँ ।

ठूला-ठूला रकम माया मार्न नसक्नेहरू मुद्दा-मामिलामा गएपनि अधिकांश सापटी दिनेहरू चित्त दुखाएरै बस्ने गरेका हुन्छन् । किनकि अधिकांश सापटी सानो रकमका हुन्छन् र दिएको प्रमाण पनि हुँदैनन् । यस्ता घटनामा पैसा फिर्ता माग्नेलाई लाज लाग्न सुरु हुन्छ तर, फिर्ता दिनुपर्नेलाई लाज हुँदैन ।

यसरी आजित भइरहेकाको पीडा सामाजिक सञ्जालमा बारम्बार देखिन्छन् ।

सापटी पैसा फिर्ता नआएपछि सामाजिक सञ्जालमा गरिएका पोस्ट्हरू । 

सापटी फिर्ता नदिँदा हत्या !

सापटी दिएको पैसाका कारण सम्बन्ध बिग्रिनु अहिले सामान्यजस्तै बनिसक्यो । अहिले त सापटी दिएको पैसा फिर्ता नपाउँदा अपहरणदेखि हत्यासम्मका हिंसात्मक घटनासमेत भइरहेका छन् ।

सापटीको एउटा निश्चित भाका हुन्छ तर, भाका कट्दासमेत पैसा तिरिँदैन । त्यसपछि विवाद सुरु हुन्छ । विवाद उत्कर्षमा पुगेपछि त्यहाँ ज्यान नै लिनेसम्मको घटना हुन्छन् ।

अघिल्लो सोमबार मात्रै झापाको शिवसताक्षीस्थित झिलझिलेका एक युवाको उनकै नजिकका साथीको हत्या गरे । उनले लेनदेन नमिलेपछि धारिलो हतियार प्रयोग गरी साथीको हत्या गरेको स्वीकारेका छन् ।

२०७८ मंसिरको घटना हो । गट्ठाघरमा सँगै चिया खाएका साथीलाई हनुमन्ते पुर्‍याएर हत्या गरे, कारण थियो आर्थिक लेनदेन । २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङका ३० वर्षीय प्रेम विश्वकर्माले चिर्पट प्रहार गरेर सूर्यविनायक ३ का राजन श्रेष्ठको हत्या गरेका थिए ।

युवा सङ्घका नेता राजनले २५ लाख रुपैयाँ सापटी लिएका थिए । तर, फिर्ता नगरेपछि हत्या भएको थियो ।

सापटी पैसा फिर्ता नपाएपछि भएका हत्याका घटना प्रकाशित समाचारहरू ।

२३ कात्तिक २०८० मा अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्धाको ज्यान लिएको थियो । २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका थिए ।
६ फाल्गुन २०७९ सर्लाहीमा लेनदेन विवादका कारण गाडीले किचेर हत्या भएको थियो ।

२०७९ असार अन्तिम साता सापटी दिएको पैसा फिर्ता माग्दा नदिएको रिसमा एक जनाले बारामा एक वृद्धको हत्या गरेका थिए ।

५ वर्षअघि बारामा पैसा फिर्ता नदिएको भन्दै पैसा दिनुपर्ने व्यक्तिको सानो छोराको अपहरण गरी हत्या भएको थियो । अपहरणकारी छिमेकी नै थिए ।

किन गर्छन् बेइमानी व्यवहार ?

समस्या टरेपछि सकेसम्म सापट दिनेले माग्नुभन्दा पहिले उसको पैसा फिर्ता दिएमा फेरि-फेरि व्यवहार गर्न सजिलो हुन्छ । त्यसो हुन नसकेको अवस्था छ भने एकपटक माग्नेबित्तिकै फिर्ता दिएमा अथवा त्यतिबेला आफूसँग नभए यो समयसम्म दिन्छु भनेर प्रतिबद्धता जनाउन सकिन्छ । यसरी पहिलो भाकामै फिर्ता दिएमा अर्को पटक व्यवहार गर्न सजिलो हुन्छ ।

तर, सापट दिनेलाई नै माग्न लाज हुनेगरी झुलाइरहने स्वभावका मानिसहरूले जसोतसो झेल्लान् तर, बेइमानी व्यवहारले समाजमा शीर ठाडो पारेर बाँच्न गाह्रो हुने समाजशास्त्री निर्मला ढकालको विश्लेषण छ ।

उनी भन्छिन्, “आम मान्छेले आफूलाई परेको समस्या छिट्टै बिर्सने हुन्छन् । आपत् पर्दा कसैले सहयोग गरेको छ भने त्यो गुन बिर्सँदै जाने चलन छ । यसरी हेर्दा चेतनशील दाबी गर्ने तर, स्वभावैले स्वार्थी प्राणी देखिन्छ, मानिस । आफूलाई पर्दा कस्तो कुरामा गुन लगाएको छ, त्यो देख्दैनन् । किनकि मानिस व्यक्तिवादी भयो । आफूले पहिला कस्तो कठिन घडीमा आप्त पर्दा सहयोग मागेको थिएँ भन्ने भुल्छन् र पछि पनि त्यस्तै पर्छ कि भने सोच्दैनन् । आफू र घर, परिवारलाई मात्रै केन्द्रमा राख्नेहरूले सापटी रकम फिर्ता गर्न चाहँदैनन् ।”

सापटी पैसा फिर्ता नहुने आमसमस्याबारे सामाजिक सञ्जालमा भेटिएको ट्रोल ।

निष्ठा र चारित्रिक ‘सर्टिफिकेट’ नै सापटी

कसैले समस्या टारिदिएपछि उसले माग्नुभन्दा पहिले उसको पैसा फिर्ता दिएमा फेरि-फेरि व्यवहार गर्न सजिलो हुन्छ । तर, यो जान्दाजान्दै पनि धेरैजसोले नगर्नुमा उनीहरूको नियत ठिक नभएको बुझ्न सकिने अभिनेता तथा प्रवचक निखिल उप्रेती बताउँछन् । बहुसङ्ख्यकमा यस्तो नियत भएकैले इमानदार कोही मानिसलाई ठुलो समस्या पर्दा पनि सापटी पाउने अवस्था नआएको उनको बुझाइ छ ।

उप्रेती भन्छन्,”हाम्रो समाज जसरी गठन भयो, लेनदेनबाटै हो । आपसमा मिलीजुलीबाटै हो । पहिला वस्तु-वस्तु साटासाट हुन्थ्यो । पछि पैसाको बन्यो र कारोबार भयो । जब पैसा आयो तब मान्छे स्वार्थी हुन थाल्यो । पैसा भनेको धन सम्पत्ति हो । धन सम्पत्तिको उपयोगिता बहुजन हितायको लागि हो । कोही कसैको आवश्यकतामा पैसा काम लागेन भने कहिले काम लाग्ला त ? यसैले जो कसैको लागि भए पनि समस्यामा काम लागेन भने त्यो पैसाको काम नै छैन । यसरी अरूको समस्या नबुझेर सापटी फिर्ता नदिने मान्छे समाजमा काम छैन ।”

पैसाको कारोबारले निष्ठा र चरित्रको मूल्याङ्कन गर्न भए पनि धेरैजसो यसमा चुक्ने गरेका उप्रेतीको विश्लेषण छ ।

“कोही यस्ता हुन्छन्, जो सापटी लिएर फजुल खर्च हिँड्ने । बिना परिश्रम सजिलै आएको पैसाको महत्त्व नहुने भएपछि खर्च उडाएर सक्ने । र, पछि फिर्ता दिनुपर्दा मेहनत गरेर कमाउनुपर्छ, अनि फिर्ता गर्न मन नगर्नेहरू हुन्छन् । एउटा स्तरबाट मानिस झर्दै गएपछि मान्छेले झुट बोल्न थाल्छ । सजिलै झुट ओकल्न थाल्छ । पैसाको मामलामा दिन चाहने, दिन नचाहने र दिँदै नदिने तीन किसिमका व्यक्ति हुन्छन्,” उनी भन्छन् ।

सापटी फिर्ता नआउँदा माग्दामाग्दा लाजै मानेकाहरूले व्यङ्ग्यात्मक रूपमा गरेका पोस्ट् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved