मनोरञ्जन क्षेत्रमा कस्तो रह्यो २०७९ साल, क-कसलाई गुमायो ?

मनोरञ्जन क्षेत्रमा कस्तो रह्यो २०७९ साल, क-कसलाई गुमायो ?

काठमाडौं।  २०७९ सालमा नेपाली मनोरञ्जन क्षेत्रमा निकै उतारचढाव देखियो।  यो सालमा जम्माजम्मी ५२ चलचित्र प्रदर्शन हुँदा एक दर्जन जति पनि हिट हुन सकेनन् । यो वर्ष चलचित्रलाई दर्शकले खासै रुचाएनन् । यद्यपि, चलचित्रको कमाइ भने अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिन्छ ।

२०७९ सालको सुरुमै प्रदर्शन भएको चलचित्र ‘ए मेरो हजुर ४’ देखि वर्षको अन्तिम चैत २४ गते ‘बहाव’ प्रदर्शनसँगै २०७९ वर्षका लागि नेपाली चलचित्र रिलिज टुंगिएको छ।

यस वर्ष ‘कबड्डी ४’, ‘छक्कापञ्जा ४’,  ‘प्रेमगीत ३’, ‘२ नम्बरी’, ‘फूलबारी’, ‘महापुरुष’, ‘झिंगेदाउ’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर ४’ जस्ता चलचित्रहरूले राम्रो कमाइ गर्न सफल भए भने अन्यले खासै दर्शकलाई तान्न सकेनन् ।

यो वर्ष  नेपाली चलचित्र ‘प्रेमगीत ३’ विदेशी भाषामा समेत प्रदर्शन भई निकै चर्चा पायो । यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एक मात्र फिल्म ‘प्रेमगीत ३’ नै बन्यो ।

२०७९ सालमा चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त र चलचित्र कलाकार संघको अध्यक्षमा वरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भए।

त्यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोक गायिका रीता थापा मगर नर्विरोध निर्वाचित भइन् । वर्ष २०७९ मा निर्देशक सुदर्शन थापा, दायाहाङ राई, स्वेता खड्का र राजेश पायल राई लगायतका कलाकारहरु आमा-बुबा बने ।

यो वर्ष चलचित्रका केही अभिनेता रअभिनेत्री तथा केही कलाकारहरू विवाह बन्धनमा बाँधिए । केकी अधिकारी, सलोन बस्नेत, नीता ढुंगाना, सुरक्षा पन्तले आफ्ना प्रेमी-प्रेमिकाहरूसँग विवाह गरे ।

नायक पुष्प खड्काले व्रतबन्धसमेत यही वर्षमा गरे । यसैगरी, अभिनेत्री वर्षा शिवाकोटीको विवाह र सम्बन्धविच्छेद् यही वर्षमा भयो।

यस वर्ष केही उत्कृष्ट कलाकारहरुको निधनले मनोरञ्जनात्मक क्षेत्रमा ठूलो क्षति पुग्न गयो, राजेन्द्र लम्साल र निर्देशकद्वय प्रदीप सरकार र प्रताब सुब्वाको निधन भयो ।

बलात्कार मुद्दामा थुनामा रहँदै आएका अभिनेता पल शाहले पनि यहि वर्ष सफाइ पाएर रिहा भए । त्यस्तै, यही वर्ष प्रदर्शन गरिने भनिएको चलचित्र ‘प्रसाद-२’ को विविध कारण बस प्रदर्शन मिति रोकियो ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको सम्बन्ध यसै वर्ष टुंगियो । त्यस्तै, कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखिको प्रेम सम्बन्धको अन्त्य भयो ।

र यसै वर्ष भारतीय चलचित्र ‘एनिमल’ का लागि दौडधुप गरिरहेका अभिनेता विपीन कार्कीले उक्त चलचित्रबाट हात झिक्नुपर्‍यो ।

वर्ष २०७९ ले गुमाएका कलाकर्मी

२०७९ साल सुरु भएपछि नेपाली कला, गीत संगीत र फिल्म क्षेत्रले १० व्यक्तित्वलाई गुमाएको छ । यीमध्ये केही कलाकर्मीको दुर्घटना, हत्याजस्ता घटनाबाट अस्वाभाविक निधन भएको छ ।

निर्देशक हेमबहादुर लामा

जेठ १ गते फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भयो । उनको हृदयाघातका कारण अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो ।

उनले निर्देशन गरेको फिल्म ‘आदर्श नारी’ त्यस बेलाको सफल फिल्म मानिएको थियो । यही चलचित्रबाट क्याप्टेन विजय लामा, मोहन निरौला, अंशुमाला शाही, सन्नी रौनियार जस्ता कलाकार नेपाली चलचित्रमा उदाएका थिए ।

लोक गायिका दिलमाया सुनार

असार ११ गते लोक तथा दोहोरी गायिका दिलमाया सुनार राजधानीको नेपालटारस्थित डेरामा मृत अवस्थामा भेटिइन् ।  राति पौने ११ बजे घरबेटीले उनको कोठाको ढोका खुल्लै रहेको र उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

सुर्खेत घर भएकी ३० वर्षीया दिलमायाले आफूलाई बाँच्न कठिन भएको भन्दै फेसबुकमा स्ट्याटससमेत लेखेकी थिइन् । अनुसन्धानको क्रममा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

छायाँकार विदुर पाण्डे

साउन २५ गते छायाँकार विदुर पाण्डेको हृदयाघातका कारण निधन भयो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि सितापाइलास्थत निवासबाट आफैँ गाडी चलाएर शहीद गंगालाल अस्पताल गएका उनको उपचारको क्रममा निधन भएको थियो ।

कागबेनी, भुइँमान्छे, स्वर, पण्डित बाजेको लौरीलगायतका फिल्मको छायाँकार रहेका उनले म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोसमेत छायाकंन गरेका थिए ।

गायक-कलाकार-डिजाइनर  उद्धवराज भट्टराई (जुँगे)

जुँगे भट्टराईका उपनामले ख्याति कमाएका कला निर्देशक, डझेस म्यान, डझेस डिजाइनर, कलाकार तथा देउडा गायक उद्धवराज भद्मराईको ६६ वर्षको उमेरमा भदौ १८ गते निधन भयो । लामो समयदेखि क्षयरोग र दमको समस्याबाट पीडित उनको उपचारका लागि बैतडीबाट काठमाडौं आउने क्रममा चितवनमा बसमै निधन भएको थियो।

जीवनभर नेपाली फिल्म क्षेत्र र यसमा संलग्न कलाकारको सेवा गर्दै आएका भद्मराई जमानाका बाघ निर्देशक स्व. प्रकाश थापाको फिल्म सन्तानबाट फिल्मको कला निर्देशनमा प्रवेश गरी साँढे चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा कला तथा भेषभूषा निर्देशक तथा डिजाइनरको रूपमा काम गरेका थिए ।

निर्देशक अरुणकुमार झा

‘सोल्टिनी’, ‘चण्डाल’, भुतुक्कै भए निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक अरुणकुमार झाको पुस २४ गते ७२ वर्षको उमेरमा हृदयघातबाट निधन भयो। विभिन्न रोगसँग जुध्दै आएका उनको दोस्रोपटक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।

‘सोल्टिनी’, ‘चण्डाल’, भुतुक्कै भए निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक झाले सोल्टिनीकी नायिका मेघा पोखरेलका साथ दोस्रो विवाह गरेका थिए। झाले केही सिरियल र वृत्तचित्र पनि निर्देशन गरेका थिए।

लेखक तथा निर्देशक छेतेन गुरुङ

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको भदौ २३ गते निधन भयो । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि काठमाडौंको मेट्रो अस्पतालमा राखिएकामा उपचारका क्रममा उनको निधन भएको हो।

गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर-३’ को स्क्रिप्ट लेखेका थिए। उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ र ‘प्रेमगीत-३’ ले राम्रो व्यापार गर्‍यो ।

गुरुङ नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए।

लोकगायिका नीरा छन्त्याल

माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका नीरा छन्त्यालको निधन भयो।

माघे संक्रान्तिको अवसरमा पोखरमा हुन लागेको सांगीतिक कार्यक्रमका लागि पोखरा प्रस्थान गर्ने क्रममा भएको प्लेन दुर्घटनामा प्लेनमा सवार ७२ सहित उनको पनि निधन भएको थियो ।

उनले नेपाली लोकगायनको क्षेत्रमा विभिन्न चर्चित गीतहरू गाएकी छिन् ।

कलाकार पदमप्रसाद पौडेल

‘पदम बा’ को नामले परिचित कलाकार तथा अभिनेता पदमप्रसाद पौडेलको ९० वर्षको उमेरमा माघ २४ गते बुढानीलकण्ठस्थित आफनै निवासमा निधन भयो । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका उनलाई करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित आफ्नै निवासमा लडेर टाउकोमा सामान्य चोट लागेपछि थला परेका उनको परिवारले चिकित्सकको निगरानीमा घरमै आराम गराएर राख्दै आएको थियो।

लामो सयमसम्म पत्रकारिता र शिक्षण पेशा अपनाई कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता पौडेलले विभिन्न फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनका विभिन्न भूमिकामा अभिनय गर्दै आएका पदमले फिल्मी क्षेत्रमा पदम बाको रूपमा पहिचान बनाएका थिए ।

लोकगायक राजेन्द्र लम्साल

लोकप्रिय लोकगायक राजेन्द्र लम्सालको फागुन २२ गते ६० वर्षको उमेरमा निधन भयो। उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्यासँग जुध्दै आएका उनको हृदयघातका कारण स्पेनका एक अस्पतालमा निधन भएको थियो। रेडियो नेपालका अब्बल दर्जाका गायक उनी १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए भने केही समय अघिदेखि नै अस्वस्थ थिए।

उनको जापान टोकियो लोक दोहोरी गीतमा सर्वाधिक लोकप्रिय बन्न पुगेको थियो। उनको कागती गेडी खुर्सानीको ढेडी, आमा तिम्रो दूधको धारा, पारी पर्‍यो भीर, निलो पछ्यौरी, शिरमा रिबन, भीरको टुनी हो, राइनासकोटको भीर, गैरी खेतमा मूल, आउ है मेलैमा, आमा छाती चिरिन्छ, पोखराको माटेपानी, पानी पर्दा उसैलाई, मर्स्याङ्दीको पुल, ज्याग्दी खोला किनारै, ‘मुसलधारे पानी पर्‍या छ’ जस्ता दर्जनौं गीत लोकप्रिय छन्। उनका श्रीमती, तीन छोरा तथा एक छोरी छन्। उनका छोरा सागर लम्साल बलेु लोकप्रिय हास्यकलाकार तथा मोडल हुन् ।

निर्देशक प्रताप सुब्बा

ख्यातिप्राप्त फिल्म निर्देशक प्रताप सुब्बाको ७९ वर्षको उमेरमा चैत्र २ गते भारतको सिलगढीस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भयो। दार्जिलिङमा जन्मेर जीवनभर नेपाली फिल्म तथा कला क्षेत्रको सेवा गर्दै आएका उनले स्नातकसम्मको अध्ययनपछि बंगाली भाषाको ‘पहाडी हात छानी’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए ।

निर्देशक प्रतापले नेपाली फिल्म क्षेत्रलाई ‘परालको आगो, मसाल, कहीं उज्यालो कहीं अँध्यारो, दिदी, चट्याङ, भीष्मप्रतिज्ञाजस्ता फिल्मको लेखन र निर्देशन कार्य गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved