आरजु राणा भन्छिन्,- बजेटमा पोषणको पैसा काटिएर आउने सुनियो, गलत हुँदैछ

नेपालभ्युज

आरजु राणा भन्छिन्,- बजेटमा पोषणको पैसा काटिएर आउने सुनियो, गलत हुँदैछ

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कुपोषण अन्त्यका लागि राज्यले बजेटमा उच्च प्राथमिकता दिनुपर्ने बताएकी छिन् ।

ग्रामीण विकास तथा सशक्तीकरण केन्द्रले काठमाडौंमा आयोजना गरेको पोषणसम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै सभापति राणाले पोषणसँग बालबालिकाको भविष्य जोडिएको र देशको भविष्य बालबालिका भएकाले आगामी बजेटमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘आगामी बजेटमा पोषणको पैसा अझै काटिएर आउने सुनियो । त्यसमा सबै पक्षबाट लबिइङ हुन जरुरी छ,’ उनले भनिन् ।

सभापति राणाले विद्यालयमा पोषणको पैसा घटाउने, कक्षा पनि घटाउने सरकारी नीतिको आलोचना गरिन् । ‘पोषणका लागि विद्यार्थीले पाउने खर्च आठबाट पाँच कक्षामा झारिँदै छ । त्यो पनि १५ रुपैयाँले के आउँछ ?’ उनले सोधिन्, ‘सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? यसमा लबिइङ जरुरी छ ।’

आफूले संसदीय समितिबाट कृषि क्षेत्रमा बजेट बढाउन प्रयत्न गरिरहेको भन्दै राणाले यो पनि कुपोषणसँग जोडिने बताइन् ।

कार्यक्रममा पोषण क्षेत्रमा कार्यरत विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति दिएका थिए भने देशभरबाट उपस्थित सहभागीले ग्रामीण क्षेत्रमा पोषण सुनिश्चितताका लागि पर्याप्त बजेटको व्यवस्था गर्न तीनै तहका सरकार तथा गैरसरकारी संस्थाको ध्यानाकर्षण गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved