प्रचुर सम्भावना बोकेर पनि संकटमा परेको ‘जलाल’

प्रचुर सम्भावना बोकेर पनि संकटमा परेको ‘जलाल’

काठमाडौं। उदयपूरको रामपुर बजारबाट पूर्वतर्फ लागेर करिब एक घण्टाको यात्रा तय गरिसकेपछि पुगिन्छ एक अनौठो गाउँ । जसको नाम हो ‘जलाल’ । जलालले वर्षमा दुई पटक रंग फेर्ने गर्दछ । यस्को अर्थ हो एकै वर्षको समयावधिमा जलाल कहिले मरुभूमि त कहिले हराभरा हुन्छ ।

श्रीलंका टप्पुको एक सानो हिस्सा ओगटेको जलालको कथा र ब्यथा आफ्नै छ । पूर्वमा तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएर बगेको सप्तकोशी छ । जसको सुसेलीले पुरै गाउँ पुरै समय गुञ्जयमान रहन्छ । पश्चिम, उत्तर र दक्षिणतर्फबाट भने जलाललाई बाक्लो खयरको जंगलले घेरेको छ ।

जुन जंगलले आफ्नो छुट्टै पहिचान र सुन्दरता बोकेको छ । निकै फराकिलो स्थानमा फैलिएको समथर चौर नियाल्दा नजरले भ्याउनै मुस्किल पर्छ । सप्तकोशीको किनार पनि भएकाले स्वच्छ हावाको वेग जोडतोडले बहिरहन्छ ।

गाउँमा स–साना खरका झुपडी छन् । सिमेन्टले बनेका घरले अधिकांश सहर-बजार ढाकिँदा यो गाउँलाई भने परम्परागत शैलीमा बनेका यी घरहरूले छुट्टै पहिचान दिएको छ । जलाल घुम्न जानेहरूले सप्तकोशीमा काठे डुंगा चढेर मनमोहक दृश्य हेर्दै रमाइलो अनुभव पनि बटुल्न सक्छन् ।

कसरी जन्मियो जलाल ?

२०४५ सालतिर सप्तकोशीले आफ्नो बाटो खोतल्दै जाँदा एउटा ठुलो बगर बनाएर छाडिदियो । त्यही बगरमा बिस्तारै मानिसहरूको बस्ती बस्न थालेपछि ‘जलाल’को जन्म भएको स्थानीय देशचन्द्र राई बताउँछन् ।

माझी र राई समुदायको बहुलता रहेको यस गाउँमा फाट्टफुट्ट क्षेत्रीहरूको पनि बसोबास छ ।

जलालको वर्तमान अवस्था 

सिसौली तारघाटको नामले परिचित ‘जलाल’ पछिल्लो समय भने खोक्रो बन्दै गइरहेको छ । जलाल आफैमा प्रकृतिको एक उपहार भए पनि विकासको दृष्टिले निकै पछाडि परेको छ । जग्गा जमिन प्रशस्त भए पनि उपादन हुँदैन । खेती गरेर जीवन धान्न नपुग्ने स्थानीय प्रेम कुमार पौडेल बताउँछन् । उनका अनुसार स्थानीय सरकारले अहिले बोरिङ त दिएको छ तर पर्याप्त स्रोत साधनको अभावले त्यसको सदुपयोग हुन सकेको छैन ।

उच्च शिक्षा र रोजगारीको खोजीमा युवाहरूले गाउँ छाडेका कारण पछिल्लो समय जलाल युवाविहीन भएको छ । युवाहरू चाडबाडमा बाहेक गाउँमा भेटिन मुस्किल छ । ७२ वर्षीय वृद्ध पौडेलले पनि आफ्ना छोराछोरी गाउँमा नबस्ने बताए ।

घरमा अहिले उनी र उनकी ७० वर्षीय श्रीमती जसमाया पौडेल मात्र छन् । पौडेलका दम्पती जस्तै अहिले जलालमा अधिकांश वृद्ध दम्पतीहरू सन्तानविहीन भएका छन् । कक्षा ५ सम्म पढ्नका लागि पल्लो गाउँ जानुपर्ने जलालका विद्यार्थीहरूले माध्यमिक तह पढ्न करिब डेढ घण्टाको जंगलको बाटो छिचोलेर उदयपुरको सेतीखोला पुग्न पर्ने बाध्यता छ । यहीँ अप्ठेरोका कारण प्राय:ले बीच मै पढाई छाड्छन ।

यदाकदा उच्च शिक्षा लिन चाहनेहरूले पनि गाउँ छाड्नै पर्ने बाध्यता रहेको स्थानीय कमला राई बताउँछिन् । विकासका पूर्वाधारको अनुहार देख्न नपाएको जलालमा राजनीतिज्ञहरू चुनावको बेला मात्र भोट माग्नलाई पुग्ने स्थानीयहरूको गुनासो छ । विकासका कामहरू कछुवाको गतिमा रहेको उनीहरू बताउँछन् ।

जलालको एक प्रमुख पहिचानको रूपमा स्थापित भएको सप्तकोशी पछिल्लो समय स्थानीयहरूको लागि अभिशाप बन्दै गइरहेको छ । कोशी कटानको पिरलोलाई सहँदै आएका स्थानीय निकै चिन्तित छन् । ‘कटान रोक्नको लागि त सरकारले कोशिस गर्‍यो । करोडौँ बजेट छुट्याएर त्रिकुटी पनि लगायो, तर बाढी आएर सबै बगाइदियो’, जितेन्द्र माझी बताउँछन् ।

लगानी गर्न आनाकानी

श्रीलंका टप्पुलाई व्यवस्थित गरेर विकास गर्नका लागि पटक-पटक प्रयास गरिएको बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की बताउँछन् । उनका अनुसार श्रीलंका टप्पुमा रहेको प्राकृतिक पर्यटकीय सम्पदाहरूका विषयमा पालिका सकारात्मक छ ।

यद्यपि, श्रीलंका टप्पु आफैमा एक असुरक्षित र अस्थायी स्थान भएकाले त्यहाँ लगानी गर्न पालिका हिचकिचाई रहेको छ ।

‘श्रीलंका टप्पु पर्यटकीय हिसाबले हेर्ने हो भने निकै नै सम्भावना बोकेको क्षेत्र हो । तर पनि त्यो ठाउँ सुरक्षित छैन’, उनले भने ‘यति बेला हामी श्रीलंका टप्पुलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्नभन्दा पनि कसरी त्यो ठाउँ जोगाउन सकिन्छ भनेर लागि परेका छौँ ।’

कोशीको कटानले अस्तित्व नै संकटमा परेको श्रीलंका टप्पुलाई जोगाउन पालिकाबाट धेरै प्रयासहरू भए पनि सबै प्रयास विफल भएको नगरप्रमुख कार्की स्विकार्छन् । उक्त कोशी कटान रोक्न दुई पटकसम्म त्रिकुटी (पानीको बहाव रोक्ने बाँध) लगाइयो ।

तर, अहिले त्यी त्रिकुटीको बाँधहरू सबै कोशीले बगाएर लगेको छ । मेयर कार्कीको भनाइ अनुसार कोशी कटान रोक्न पालिकाले प्रदेश, संघलगायत विभिन्न निकायसँग छलफल गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved