‘नयाँ शक्ति बन्छ, म सधैँ नमस्कार गर्ने ठाउँमा बस्दिनँ’

'पहिचानको आन्दोलनलाई सबैले समर्थन गर्नुपर्छ'

 धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्राय: गाउँतिरै भेटिन्छन् । पाखा-पखेरोतिरै भेटिन्छन् । र, श्रम गरिरहेकै भेटिन्छन् । उनलाई सहरसँग त्यत्ति प्रेम छैन । सहर पुगूँ-पुगूँ नि लाग्दैन उनलाई । पुगिहाले पनि यताउता भुल्दैनन् । सोझै काम गर्छन् र फेरि आफ्नै कार्यक्षेत्र फर्किहाल्छन् ।

‘नयाँ शक्ति बन्छ, म सधैँ नमस्कार गर्ने ठाउँमा बस्दिनँ’

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ प्राय: गाउँतिरै भेटिन्छन् । पाखा-पखेरोतिरै भेटिन्छन् । र, श्रम गरिरहेकै भेटिन्छन् । उनलाई सहरसँग त्यत्ति प्रेम छैन । सहर पुगूँ-पुगूँ नि लाग्दैन उनलाई । पुगिहाले पनि यताउता भुल्दैनन् । सोझै काम गर्छन् र फेरि आफ्नै कार्यक्षेत्र फर्किहाल्छन् ।

यसपटक पनि उनी छोटो समयका लागि सङ्घीय राजधानी काठमाडौं आएका थिए । यहाँ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसम्मलाई भेटे । अहिले उनी फर्किसकेका छन् । फेरि पनि उनी त्यही भित्ता-पाखाहरूमा भेटिन थालेका छन् ।

राजनीति गर्ने उनको आफ्नै ‘प्याटर्न’ छ । चर्चामा रहेका प्याटर्नहरूभन्दा फरक छ उनको राजनीतिक प्याटर्न । उनी प्रशासनिक काम र बाहिर श्रम बराबरी गर्छन् । अझ बढी देखिएको उनको पाटो श्रमकै हो । त्यसैले सञ्चारमाध्यमदेखि समर्थकसम्मले पनि उनको त्यही पाटोलाई बढी चर्चामा ल्याउँछन् ।

उनी हरेकले श्रम गर्नैपर्ने धारणा राख्छन् । सबै ‘नकमाएको धन खाने’ मात्रै भएको र त्यसले देश कङ्गाल बन्दै गएको उनको समकालीन धारणा हो ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय सदस्य निर्वाचन अघिसम्म त्यति चर्चमा नरहेका उनी त्यस निर्वाचनमा निर्वाचित भएयता चर्चामै छन् । यद्यपि उनी २०७४ सालकै स्थानीय निर्वाचनमा प्रमुख पदको उम्मेदवार बनेका थिए । तर, पराजित भोगे । यसपछि पुन: ४ वर्ष धरानमा ‘खानेपानी अभियन्ता’ का रूपमा काम गर्दै आएका उनले पछिल्लो निर्वाचनमा सबै दललाई पछाडि पार्दै स्वतन्त्ररूपमा निर्वाचित बने ।

उनै हर्क काठमाडौं आएको मेसो मिलाएर भेटेर केही कुराकानी गरियो । भेटमा भएका कुराकानीका आधारमा निर्मित यो सामाग्री—

‘ढिलोचाँडो नयाँ शक्ति बन्छ, धरामा मात्रै सीमित हुन्नँ’

हर्क ढिलोचाँडो नयाँ शक्ति निर्माण हुने बताउँछन् । आफू जहाँ पुगेपनि जनताको आकांक्षा त्यही रहेको सुनाउँछन् उनी । “म जहाँ पुगेपनि जनता त्यसै भन्छन् । म जनताको विपरीतचाहिँ जान्नँ । तर, जनताले भनेको खण्डमा नयाँ शक्ति बन्छ र अहिले जनताको आकांक्षा त्यही रहेको बुझेको छु,” उनी भन्छन् ।

त्यो नयाँ शक्तिमा सारा देशभक्त, पाखुरामा विश्वास गर्ने र श्रम गर्नेहरू जोडिने उनको तर्क छ । “श्रम गर्नेहरू त्यहाँ हुनेछन् । देशभक्तहरू जोडिनेछन् । काम गर्न चाहनेहरू जोडिनेछन् । पुराना शक्तिदेखि वाक्क-दिक्क मानेकाहरू जोडिनेछन् । जे होस्- त्यहाँ बिल्कुलै सक्रिय र सोच्ने मान्छेहरू मात्रै जोडिन्छन्,” उनले भने ।

उनी थप्छन्— समय र जनताले माग गरे केही नाइँ भन्दिनँ । तर, फेरि पनि उनीहरूको मागविपरीत जान्नँ । समयले माग्यो, जनताले मागे; तैँले यो काम गर, यसमा फीट छस् भने म धरानमा मात्रै सीमित हुन्न । यसो हेर्दाखेरि त्यो देखिन्छ । हरेक मान्छेको आँखामा एउटा-एउटा सपनाहरू छन् । त्यो सपनाको पात्र कोही होला । बा ! म पो हो कि, हरेक मान्छेको आँखाको नानीमा एउटा सपना छ । शक्ति बन्छ, अहिलेचाहिँ त्यो एउटा यस्तो शक्ति बन्छ । अहिलेको फोहोर-मैला सबै बगाएर लाने शक्ति बन्छ । म जहिल्यै पनि नमस्कार गर्ने ठाउँमा मात्रैचाहिँ हुँदिनँ । मेरो नमस्कार अहिलेचाहिँ खेर गइरहेको छ ।

त्यहाँ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पनि जोडिन्छन् ? भन्ने जिज्ञासामा उनले बोल्न रुचाएनन्, भने— त्यहाँ बालेनजीलाई जोड्न आवश्यक नै छैन । उहाँ मेरो साथी हो । उहाँ यहाँ हुनु वा नहुनु भन्ने कुरा फरक हो,” उनी भन्छन् ।

‘जे भइरहेको छ, त्यो पर्याप्त छैन’

हर्क अहिले भइरहेको काम पर्याप्त नभएको बताउँछन् । सरकारमा रहेका मन्त्रीहरूले गरेको काम नेपाल देशका लागि पर्याप्त नभएको उनको बुझाइ छ ।

“मन्त्रीहरूले जे गरिरहनुभएको छ, त्यत्तिले हुँदैन । देशका लागि त्यो पर्याप्त हुँदैन । जनताको जनजीवन कस्तो छ, के चाहिरेका छन् उनीहरू, ती सम्पूर्ण कुराहरूलाई अध्ययन गर्नुपर्छ,” उनी भन्छन् ।

राजनीतिक गर्नेको मनमा देशप्रतिको माया हुनैपर्ने हर्कको भनाइ छ । “देशभक्तिबिनाको मान्छेले राजनीति गर्‍यो भने त्यहाँ व्यापार मात्रै हुन्छ । अहिले त्यही भइरहेको छ । घरी सुनको कुरा, घरी शरणार्थीको कुरा, घरि एनसेलको कुरा, घरी जग्गाको कुरा; यी एक हिसाबले व्यापार नै हो । व्यापार नै भइरहेको छ,” हर्क भन्छन् ।

कुनै दलबाट प्रतिनिधित्व गर्दै सरकारमा मन्त्री भएकाहरूसँग अध्ययन/अनुसन्धान नै नभएको उनी बताउँछन् । अध्ययन/अनुसन्धानबिना काम गर्दाको परिणाम देश र जनताको पक्षमा नहुने बुझाइ उनीसँग छ । “पहिलो कुरा त सरकारमा रहेकाहरूसँग अध्ययन/अनुसन्धान नै छैन । काठमाडौंमा मात्रै बसेर के हुन्छ र ? गाउँमा बस्नुपर्‍यो नि । १५ दिन बस्दा के हुन्छ र ? म जहिल्यै पनि जनतासँग काम गर्छु । जनताको आवाज सुन्नुपर्‍यो नि ! एकपटक भोट माग्ने अनिचाहिँ माथि गएर बसिरहने त हुँदैन नि । सम्बन्धित ठाउँको अध्ययन हुनुपर्छ अनि मात्रै जनतहितमा काम गर्न सकिन्छ,” उनले भने ।

जनताको पक्षमा काम गर्नका लागि जनतासँग प्रत्यक्षरूपमा जोडिनुपर्ने भनाइ उनको छ । र, अहिले सरकारमा रहेकाहरूले जनतासँग नजोडिएको उनी बताउँछन् ।

‘पहिचानको आन्दोलनलाई सबैले समर्थन गर्नुपर्छ’

अहिले पूर्वमा पहिचान आन्दोलनको उभार उठेको छ । त्यसको सम्मान गर्नुपर्ने हर्कको धारणा छ । पहिचान सबैलाई बराबरी देख्ने संस्कार रहेको उनी बताउँछन् ।

“पहिचानको मुद्दामा मेरो बुझाइ फरक छ । सबै मान्छेहरू सम्मानित हुनुपर्‍यो । सबै मान्छेलाई सम्मान गर्ने एउटा धारणाचाहिँ पहिचान हो । समानता, समताको अर्को नामचाहिँ पहिचान हो,” उनले भने ।

अहिले यो तथ्यलाई नबुझेर विवाद भइरहेको उनको बुझाइ छ । “जे भइरहेको छ पूर्वतिर, ती पनि नेपाली नै हुन् । मेरो संस्कार, मेरो संस्कृतिलाई राज्यले मानिदेओस् भन्ने, आदीमकालदेखि बसेकाहरूलाई नैतिक समर्थन छ । म कार्यपालिका प्रमुख हुँ, आफैँ लाग्नु त भएन । तर, मेरो नैतिक समर्थन सधैँ छ । आफ्नो संस्कार खोज्नेहरूलाई सम्मान किन छैन र ?,” उनले भने ।

पहिचानसहितको देश सुन्दर हुने भनाइ उनको छ । त्यसमा राज्यशक्तिले पहिचान खोज्नेहरूलाई दबाउन नहुने उनको बुझाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved