विचार

माओवादी प्रतिनिधि मण्डलको भारत भ्रमण : भाजपालाई बुझ्ने अवसर

माओवादी केन्द्रको एउटा प्रतिनिधिमण्डल भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा गएको थियो । पाँच सदस्यीय उक्त टोलीमा रहेकी माओवादी नेता सत्या पहाडी आफ्नो अनुभवबारे लेख्छिन्- यस भ्रमणबाट भाजपाबारे गहिराइमा गएर बुझ्न पाइयो । भारतको पछिल्लो विकास, प्रगति र आर्थिक प्रारूपको जानकारी हासिल भयो ।

माओवादी प्रतिनिधि मण्डलको भारत भ्रमण : भाजपालाई बुझ्ने अवसर

सन् २०२३ जुलाई २३–२८ हामी ६ दिने मैत्रीपूर्ण भारत भ्रमणमा थियौं। भारतीय जनता पार्टीले नेकपा (माओवादी केन्द्र) को प्रतिनिधि मण्डललाई निमन्त्रणा गरेको थियो। हाम्रो प्रतिनिधि मण्डलको नेतृत्व पार्टी उपाध्यक्ष कमरेड पम्फा भुसालले गर्नुभएको थियो।

अन्य सदस्यमा पार्टी सचिव कमरेड चक्रपाणि खनाल, स्थायी समिति सदस्य पंक्तिकार सत्या पहाडी, पार्टी केन्द्रीय समिति सदस्य द्वय रामेश्वर राय यादव र सुरेशकुमार राई थियौं।

‘भाजपाको जानिये’ (KNOW B.J.P.) थियो कार्यक्रमको नाम। भाजपाले यो कार्यक्रमअन्तर्गत विश्वकै विभिन्न मुलुकका राजनीतिक दलका प्रतिनिधि मण्डललाई मैत्रीपूर्ण आमन्त्रण गर्दोरहेछ। यो कार्यक्रमको मुख्य उद्देश्य भारतीय जनता पार्टी र यसको नेतृत्वको सरकारले देशमा गरेको उन्नति तथा प्रगतिबारे जानकारी दिनु रहेछ।

भाजपा संसारकै सबैभन्दा ठूलो राजनीतिक दल हो। यसका करिब १८ करोड पार्टी सदस्य छन्। यति ठूलो पार्टीको संगठन, व्यवस्थापन तथा सञ्चालन विधि तथा पद्धति सबैका लागि उत्सुकता र जिज्ञासाको विषय हुने नै भयो।

भाजपाबाट हाम्रो पार्टीले सिक्नुपर्ने थुप्रै उपयोगी विषय हुन सक्थे। साथै, छिमेकी देशका दुई महत्त्वपूर्ण राजनीतिक दल बीचको सम्बन्धलाई विकास तथा विस्तार गर्ने र आवश्यक सहकार्य गर्ने सोचसमेत भ्रमण कार्यक्रममा अन्तर्निहित थियो।

हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि प्रधानमन्त्रीका रूपमा भारतको औपचारिक भ्रमण गर्नुभएको सबैलाई स्मरण नै छ। यो भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो। यो सम्बन्धलाई भारतीय पक्षले पार्टी तहमा समेत विकास र विस्तार गर्न अभिरुचि राखेको पायौं। पार्टी तहको सुदृढ सम्बन्धले दुई देश र दुई देशका जनता बीचको सम्बन्धलाई अझ बलियो पार्ने छ भन्ने हाम्रो पनि बुझाइ र विश्वास थियो।

यही बुझाइ र भावनामा आधारित भएर पार्टीले प्रतिनिधि मण्डल गठन गरी भारत पठाउने निर्णय गर्‍यो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड प्रचण्डको सल्लाह, सुझाव र निर्देशनलाई आत्मसात् गर्दै हामी नयाँ दिल्ली प्रस्थान गर्‍यौँ।

जुलाई २३ को साँझ हामी काठमाडौंबाट नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियौं। हाम्रो टोलीलाई स्वागत गर्न विमानस्थलमा भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, सदस्य डा.नहकुल भारद्वाजलगायत उपस्थित हुनुभएको थियो। त्यो दिन साँझ हामी सिधै होटलमा गयौँ। निर्धारित तालिकाअनुसार भोलिपल्ट बिहानबाट भ्रमण कार्यक्रममा व्यस्त भयौं।

भ्रमण तालिका

जुलाई २४ को बिहान ९ बजे भाजपा केन्द्रीय कार्यालयको अवलोकन कार्यक्रम थियो। हामी त्यहाँ पुग्दा पार्टी कार्यालय परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री कमरेड प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भएका भेटघाटका तस्वीर सजाइएका थिए। स्वागतमा रातो कार्पेट बिच्छ्याइएको थियो। यसबाट हाम्रो भ्रमण टोलीलाई उच्च महत्त्व दिएको प्रष्ट हुन्थ्यो। भाजपाले माओवादी केन्द्रसँगको पार्टीगत सम्बन्धलाई उच्च महत्त्व दिएको बुझ्न सकिन्थ्यो। भ्रमणको प्रचारात्मक पक्षमा कुनै कमी हुन दिइएको थिएन।

हामीले त्यहाँ भाजपा उपाध्यक्ष बैजयन्त जय पाण्डासँग अन्तर्क्रिया गर्‍यौँ। साथै, भाजपाको युवा, महिला र प्रचार संयन्त्रसँग पनि विशेष छलफल र अन्तर्क्रिया भयो। भाजपाको विचार, नीति, सिद्धान्त र कार्यक्रमबारे हामीले धेरै कुरा बुझ्ने अवसर पायौँ। साथै, पार्टी संगठन सञ्चालको कार्यपद्धतिबारे पनि जानकारी लियौँ।

दिउँसो परराष्ट्र मन्त्रालयले दिवा भोजको आयोजना गरेको थियो। साँझ ६ बजे पुनश्च: पार्टी कार्यालयमा अध्यक्ष जेपी नड्डासँग प्रतिनिधि मण्डलको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भयो। उहाँसँग लामो छलफल भयो। फलतः कार्यक्रम तालिकामा भएको बार मेमोरियलको अवलोकन भ्रमण भोलिपल्ट बिहानलाई सार्नुपर्‍यो। रात्रिभोजपछि त्यो दिनको कार्यक्रम पूरा भयो।

तेस्रो दिन हामी निकै व्यस्त रह्यौं। बिहान बार मेमेरियल अवलोकन गर्‍यौँ। दिउँसो प्रधानमन्त्री संग्रहालयको अवलोकन गर्‍यौँ। थुप्रै अनौपचारिक भेटघाट र छलफल भए।

चौथो दिन उत्तराखण्डको राजधानी देहरादून जाने कार्यक्रम थियो। देहरादून विमानस्थलमा भाजपा राज्य अध्यक्षसहितको समूहले हाम्रो टोलीको स्वागत गर्‍यो। उनीहरू स्थानीय पहिरन र बाजागाजासहित विमानस्थलको स्वागत कक्षमा उपस्थित थिए।

देहरादूनबाट हामीलाई ऋषिकेश लगियो। ऋषिकेशमा भाजपा उत्तराखण्ड राज्य समितिले औपचारिक अभिनन्दन कार्यक्रम राखेको थियो। कार्यक्रम भव्य थियो।

पाँचौं दिन मुख्यमन्त्री पुष्कर धामीसँग भेटवार्ता भयो। त्यसपछि भाजपा प्रदेश समितिको कार्यालयमा गयौँ। प्रदेश अध्यक्ष, युवा तथा महिला विभागका नेताहरूले प्रदेशमा पार्टी सञ्चालन कार्यविधिबारे जानकारी गराए। हाम्रा लागि गोर्खाली समुदायले विशेष साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो। पाँचौं दिन राति ९ बजे हामी देहरादूनबाट दिल्ली फर्कियौँ।

भाजपालाई सुन्दा

संसारको सबैभन्दा ठूलो राजनीतिक दल भएको गौरव यसका नेता, कार्यकर्तामा छ। भाजपा संगठनको आधार ‘सेवाको भावना’ भन्ने उनीहरूको भनाइ पाइन्छ। पार्टीको सञ्चालन प्रक्रिया विधिसम्मत, संस्थागत र व्यवस्थित लाग्दछ। संगठनमा आबद्ध गराउँदा पार्टी, देश तथा जनताप्रतिको समर्पणको भावनाले प्रेरित गरिन्छ।

किसान, महिला, युवा, सीमान्तकृत जातीय समुदाय, आदिवासी र अल्पसंख्यकका संगठन पार्टीका अग्रणी मोर्चा मानिदा रहेछन्। अनुशासन, नीति अनुसन्धान, सञ्चार सम्बन्ध, तालिम तथा प्रशिक्षण, राजनीतिक पृष्ठपोषण तथा प्रतिक्रिया, कार्यक्रम तथा बैठक आयोजना, दस्तावेजीकरण तथा पुस्तकालय, विपद व्यवस्थापन, पार्टी अध्यक्षको औपचारिक भ्रमण तथा कार्यक्रम निर्धारण तथा व्यवस्थापन, प्रकाशन, प्रतिष्ठानहरूको समन्वय, निर्वाचन व्यवस्थापन, निर्वाचन आयोग, कानुन, पार्टी प्रकाशन, आईटी, वेभसाइट र सामाजिक सञ्जाल, विदेश गरी १८ वटा पार्टीं विभाग रहेछन्।

भाजपालाई कार्यकर्ता आधारित पार्टी मानिँदो रहेछ। यद्यपि, पार्टीको जनाधार पनि निकै बलियो छ। करोडौं भारतीय जनताले यो पार्टीलाई समर्थन गर्दै आएका छन्।

भ्रमण अनुभूति

भाजपाका आफ्नै प्रकारका विशेषता र विशिष्ठता छन्। यो पार्टी प्रविधिमैत्री छ। पार्टी नीति र गतिविधिको प्रचार-प्रसारमा विशेष ध्यान दिइँदोरहेछ।

पार्टी र सरकारबीच निरन्तर र सुमधुर समन्वय भाजपाको महत्त्ववपूर्ण ताकत हो। पार्टीका नीति सरकारका नीति तथा कार्यक्रममा अभिव्यक्त हुने र सरकारका नीति तथा कार्यक्रमको कार्यान्यवन पार्टीको प्राथमिकता बन्ने हुँदा सरकार र पार्टी बीचको समन्वय सजीव बन्दो रहेछ। त्यसैगरी, भाजपाले कुनै नीति बनाउनुअघि अनुसन्धानलाई विशेष प्राथमिकता दिँदो रहेछ।

भारतले पछिल्लो समय गरिबी न्यूनीकरण र आर्थिक विकासमा राम्रै उन्नति गरेको छ। भाजपाको नेतृत्वकालमा भारतीय विकासको प्रारूप स्थापित भएको पार्टीको बुझाइ देखिन्छ। पार्टीगत आधारमा सम्बन्ध विकास र विस्तार गर्दा मूलतः यी पक्षको जानकारी दिन र प्रचार गर्न सकिने, त्यसले विभिन्न मुलुकसँगको सम्बन्ध सुधारमा सफ्ट पावरको काम गर्ने भाजपाको बुझाइ देखियो। हाम्रो पार्टीको प्रतिनिधि मण्डललाई मैत्रीपूर्ण आमन्त्रण गर्नुको उद्देश्य पनि यही थियो जस्तो लाग्यो।

यस अर्थमा हामीले पनि भ्रमण सार्थक भएको अनुभूति गर्यौं। यस भ्रमणबाट भाजपाबारे गहिराइमा गएर बुझ्न पाइयो। भारतको पछिल्लो विकास, प्रगति र आर्थिक प्रारूपको जानकारी हासिल भयो। साथै, दुई पार्टी र दुई देश बीचको सम्बन्ध सुदृढ गर्न योगदान पुग्यो। तसर्थ भ्रमण सफल भएको महशुस भयो।

भ्रमण अवसरका लागि पार्टी अध्यक्ष कमरेड प्रचण्ड, भाजपा अध्यक्ष श्री जेपी नड्डाज्यूलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु।

(लेखक माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन् )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved