नाटक

नौरतीको कोख : कर्णालीको हिउँभन्दा चिसो !

डाक्टरलाई नै तथाकथित उपल्लो जातको देखाउनु र तथाकथित निम्न जातको पात्रलाई नै पिउन बनाउनु हिजोको जातीय विभेदको अभ्यासले आजसम्म पनि समाजमा परकम्प भने छोडिरहेकै छ भन्नुको नाटकको संकेतार्थ हो।

नौरतीको कोख : कर्णालीको हिउँभन्दा चिसो !

मण्डला थिएटरमा मञ्चनरत नाटक ‘हिउँभन्दा चिसो’ हेरेर कसको मन कठ्याङ्ग्रिन्न होला? साच्चै, यो कर्णाली प्रदेश सरकारले हेर्‍यो कि  कि हेरेन होला? गण्डकीमै पनि कति दुर्गम गाउँहरू छन् जहाँ कैयौं नौरतीहरूले प्रसूति सेवा नपाएकै कारण, प्रसव पीडाका बेला यातायातको सुविधा नपाएकै कारण अकालमा प्राणसँग कुस्ती खेलिरहनपर्छ। कहिले कालको मुखबाट आफू बाँचेर त फर्किन्छन्, कहिले बच्चा गुमाउँछन् र जिउँदो लास भइदिन्छन्। त्यस्तै जिउँदो लास हो हिउँभन्दा चिसोकी नौरती जसमा प्राण हालिदिएको छ फगत एउटा खेलौनाले!

मैले सरकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष तिर्दै आएको कर कहाँ जान्छ होला? विकट ठाउँमा बाटो किन पुग्दैन होला? पर्याप्त एम्बुलेन्स, औषधि र चिकित्सक किन पुग्दैनन् होला? किन नौरतीहरूले २१औं शताब्दीमा पनि उपचार अभावका कारण मर्नुपरेको होला? के तपाईंले सरकारलाई कर तिर्नुभएको छैन? म चाहन्छु, यो नाटक सरकारमा संलग्न सबैले हेरुन्, विशेषगरी, स्वास्थ्य सरोकारीहरूले!

अब, बाँकी कुरा गरौँ।

सौरभ शुक्ला लिखित हिन्दी नाटक ‘बर्फ’को नेपाली रूपान्तरण हो- ‘हिउँभन्दा चिसो’। नाटकको अनुवाद नम्रता केसीले र निर्देशन सोमनाथ खनालले गरेका हुन्। सौरभ शुक्लाको पुत्लालाई भारतको काश्मिरबाट केसी र खनालले नेपाली हुलियामा ढालेर नेपालको कर्णाली भित्र्याए। र त्यो हुलियामा प्राण हाल्ने काम गरे कलाकारहरूले। कलाकारहरूले शुक्लाको त्यस पुत्लामा यसरी प्राण हालिदिए कि मानौँ त्यो नै असली सौरभ शुक्ला हुन्। कलाकारहरू रेनुनाथ योगी र गोविन्द सुनारको अभिनयले नाटकमा यसरी प्राण हालिदियो जसरी डा. सिद्धान्त प्राण हालिदिन्छन् नाटकको चाइनिज गुडियामा।

सुरुमा त नाटक हरर हो कि जस्तो पनि नलागेको होइन। गोपी र डा. सिद्धान्तबीचको रहस्यमयी संवाद, मञ्चको गथिक साजसज्जा र साउन्ड छनोटले कतै यो भुतिया कथा त होइन! जस्तो पनि लागेको हो। नौरतीले आत्माहरू बोलाउनु र रहस्यमयी हर्कतहरू गर्नुले पनि कथाले जादुयी मोड लिनसक्ने संकेत नदिएको होइन। यस्ता तमाम संकेतहरू आउँदै रहँदा दर्शक राम्रैसँग हाँसेका पनि हुन्। यतिबेलासम्म दर्शकभित्र १०० मा १ प्रतिशत मात्रै भए पनि कथा भुतिया या त जादुयी हुनसक्ने आशंका छँदैथियो। तर, अन्तिममा मात्रै गोपी जे बखान गर्दो थियो, नौरतीको पीडाको जुन कथा सुनाउँदो थियो- त्यो शत प्रतिशत सत्य हो भन्ने स्पष्ट हुन्छ। त्यो पूर्ण विश्वासको विन्दुमा पुगिसक्दा दर्शकको हृदयमा यति धारिलो हतियारले मानौैं प्रहार हुन्छ- त्यसको पीडाले भर्खरसम्म नाटकलाई हल्का लिँदै घरिघरि हाँस्दै जिस्किँदै गरेका दर्शक अब पूर्णतया जड भइदिन्छन्, स्तब्ध भइदिन्छन्।

त्यसो त, नाटकको अन्त्य प्रेडिक्टेबल नै हो। तर, मनमनै धेरैवटा प्रेडिक्सन भइरहने हुँदा नाटकको अन्त्यभन्दा एक पलअघि अर्थात् उपान्त्यसम्म पनि दर्शकको संवेदना एउटा विन्दुमा पुगेर एकठ्ठा हुन सकिरहेका थिएनन्। र नाटकको अन्त्यमा मात्र बाँडिएका ती सम्पूर्ण संवेदनाहरू एउटी कोख मरेकी आमाको पीडामाथि पुगेर रोकिन्छन्। तब सबै चाञ्चल्यहरू गायब भइदिन्छन्। एउटा शोक उत्पन्न हुन्छ, एउटा वैराग्य घटित हुन्छ। अबेरसम्म दर्शकले श्वास थामेर बसिरहेको पत्तो पाउनेछैनन्। नाटकभरि ठाउँ ठाउँमा हाँस्दै जिस्किँदै गरेका दर्शकहरू मञ्चबाट बाहिरिँदै गर्दा खाली स्तब्धता लिएर निस्किन्छन्।

जसरी, नाटकले गौण रूपमा जातीय विभेदको मुद्दालाई छोएको छ त्यसमा चातुर्य र सौन्दर्यको उत्तिकै ठाउँ बनाएका छन्। एउटा आचार्य थरको डाक्टरलाई नेपाली थरको पिउनले आफ्नै घरभित्र बाँधिएको अवस्थामा समेत ‘ज्यू, हजुर’ गर्दै मुखैमा आतिथ्यको कोसेली टक्र्याउनु कथाको माग वा नैतिक जिम्मेवारी मात्र नभएर एउटा आइरनी पनि हो। समाजमाथिको व्यङ्ग्य पनि हो, होइन र? भलै डा. आचार्यले पिउन गोपी नेपालीको घरमा जान वा उसको हातबाट खान-पिउन कुनै हिचकिचाहट राखेको देखिन्न- समयसँगै चेतनाको विस्तार भइरहेको प्रमाण त यो अवश्य हो।

तर, डाक्टरलाई नै तथाकथित उपल्लो जातको देखाउनु र तथाकथित निम्न जातको पात्रलाई नै पिउन बनाउनु हिजोको जातीय विभेदको अभ्यासले आजसम्म पनि समाजमा परकम्प भने छोडिरहेकै छ भन्नुको संकेतार्थ हो।

त्यसो त नाटकको मुख्य मुद्दा हो- सत्यको सापेक्षता! नाटकले भन्छ- हेर्ने र बुझ्ने सरोकारीहरूको नजरअनुसार सत्य र भ्रमको निर्धारण हुन्छ। डा. सिद्धान्तलाई मिथ्या लागिरहेको कुरा नौरतीका लागि जीवनको सबैभन्दा ठूलो सत्य हो। र डा. को सत्य नौरतीका लागि अपराधतूल्य झुट!

हुन पनि, एउटी आमाको मरेको कोखभन्दा चिसो यो संसारमा अर्को के होला? त्यस्तो अवस्थामा सायद जो कोही पनि भ्रमलाई झुट मानेर जिउँदिने कोसिस गर्दो हो।

अँ साच्चै, फेमिनिजमको आँखाबाट हेर्दा पनि यो एउटा सशक्त कथा बोकेको नाटक हो। जसको मुख्य पात्र नौरतीले जति नै मर्नलायक कारणहरूका बीच पनि बाँच्ने साहस र संघर्षलाई निरन्तरता दिएकी छ। परिस्थिति र पात्रहरूसँग भइपरी आउँदा लड्नसमेत पछि परेकी छैन।

त्यसो त नाटकको सबैभन्दा कोमल र सुन्दर पक्ष हो यसको प्रेम। जुन प्रेम गोपी र नौरतीबीच देखाइएको छ त्यो तमाम प्रेमी र प्रेमिकाहरूका लागि एउटा नमुना प्रेम हुनसक्छ।

पुनश्च:

र यो नाटकको सफलताको आधा हिस्सा सर्लक्कै नौरतीको भूमिका निर्वाह गरेकी रेनुनाथ योगीलाई दिँदा फरक नपर्ला। त्यो अभिनयलाई खाली अभिनय मान्न किन किन म तयार छैन!

जाँदाजाँदै, पुन: एकपटक यो नाटक र यथार्थबीचको संयोगलाई औंल्याउँदै सोध्न मन हुन्छ-सरकार, अझै कहिलेसम्म नौरतीहरूले मरिरहनुपर्छ हँ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved