फिल्म समीक्षा :

ओपनहायमर : रुन्चे वैज्ञानिक, आइन्सटाइन र भगवद् गीता

त्यसो त यो फिल्मलाई बुझ्न फिजिक्सप्रति सामान्य ज्ञान, नभए पनि, त्यसप्रति चासो मात्रै भए पनि हुन जरुरी भने छ। किनभने, यो फिसन र फ्युजनबिचको युद्ध हो। ओपनहायमर र स्ट्रसबिचको लडाइँ! प्लुटोनियम र हाइड्रोजनबीचको वार!

ओपनहायमर : रुन्चे वैज्ञानिक, आइन्सटाइन र भगवद् गीता

यतिबेला संसारमा सबैभन्दा बढी चर्चा या त क्रिस्टोफर नोलनको भइरहेको हुनुपर्छ या त फिजिसिस्ट जे.आर. ओपनहायमरको या फेरि दुवैको होइन भने अभिनेता किलियन मर्फीको! तपाईँलाई लाग्यो होला तीनमध्ये कुनै एकको नाम तोकेर किन नलिएको होला ? किन यत्रो द्विविधा? तर, यति नै बेला यी तीनमध्ये एक रोज्नु साँच्चै नै धर्मसङ्कटभन्दा अरू केही होइन।

यदि कुनै पनि स्वरूपमा एउटा आत्मा भन्ने तत्त्वले यो भौतिक दुनियाँको खबर राख्न सक्छ भने भौतिक शास्त्री स्वर्गीय जुलियस रोबर्ट ओपनहायमरको अभौतिक आत्माले एक्टर किलियन मर्फीको भौतिक अस्तित्वमाथि आश्चर्य मान्दै नयाँ खोज वा अनुसन्धान गर्नेथ्यो होला।

मर्फीलाई लिएर ओपनहायमरको आत्मासँग यतिबेला पक्कै यस्ता प्रश्न होलान् – आखिर एउटै मान्छे दुई समयमा कसरी बाँच्न सक्छ? वर्तमानमै समेत छाम्नै नमिल्ने भूत भइसकेको भूतकालको मान्छेको आत्मा एउटा (वैज्ञानिक पनि होइन) अभिनेताले कसरी छाम्न सक्छ? साँच्चै, किलियन मर्फीले २ घण्टा ५५ मिनेटको फिल्ममा ओपनहायमरलाई एक जिन्दगीभन्दा कम बाँचेका छैनन्।

ओपनहायमरलाई थ्योरीमा पनि नचिनेको दर्शकले पनि फिल्म हेरिसक्दा मानौँ रोमरोम चिन्छन्, पत्रपत्र चिन्छन्।

फिसन भर्सेज फ्युजन

आउनुस् अब ओपनहायमर फिल्मको कुरा गरौँ। ओपनहायमर नोलनको १२औँ फिल्म हो। किलियन मर्फीलाई प्रमुख पात्रको रूपमा उभ्याइरहँदा फिल्ममा मर्फीको विपरीत खलपात्रका रूपमा नोलनले रोबर्ट डनी जुनियरलाई उभ्याएका छन्।

फिल्मलाई प्यारालल्ली दुई भागबाट अघि बढाइएको छ। पहिलो हाफ ‘फिसन’ मा ओपनहायमरको नजरबाट (कलर स्क्रिनमा) कथा बगेको छ भने दोस्रो हाफ ‘फ्युजन’ मा लुइस स्ट्रसको नजरबाट (ब्ल्याक एन्ड ह्वाइटमा) कथा भनिएको छ।

श्यामश्वेत स्क्रिनमा स्ट्रसले कथा भन्नु र ‘ओपनहायमर’ले रङ्गिन स्क्रिनमा भन्नुले एउटा उल्लेख्य बिम्ब बोकेका छन्। यी दुई बिम्बलाई थप स्पष्ट बनाउन नोलनले नाम पनि ‘फ्युजन’ र ‘फिसन’ राखिदिएका छन्।

सधैँ न्युक्लियर फ्युजन रियाक्सनको पक्षमा वकालत गरेका स्ट्रसले श्यामश्वेत स्क्रिनमा कथा भन्नुले उनले संसारलाई हेर्ने कुटिल नजरलाई सङ्केत गर्छ। स्ट्रसले सधैँ संसारको विध्वंसको कल्पना गरेका थिए। उनले सधैँ नै संसारलाई खरानीमा परिणत भएको हेर्न चाहे। जुनमध्येको एक संसार ओपनहायमरको (चारित्रिक) संसार पनि थियो।

त्यस्तै, एटम बमका पिता भनेर चिनिने ओपनहायमरले सधैँ तुलनात्मक रूपमा कम विध्वंसकारी फिसन रियाक्सनको समर्थन गरे र सधैँ युद्धको अन्त्य हुनुपर्छ, बम पड्काइन हुँदैन भन्ने वकालत गरिहिँडे। यिनै ओपनहायमरले रङ्गिन स्क्रिनमा आफ्नो कथा भन्नुले यिनले सधैँ संसारको गतिशीलता र जीवनको निरन्तरताको कामना गरेको बिम्बित गरेको छ।

विषाक्त स्याउ

पानीका अनगिनत तरङ्गहरूको टलपलको दृश्यबाट ओपनहायमरको कथा सुरु हुन्छ। अर्थात् चेन रियाक्सनप्रतिको उसको डरसँगै! केरकारका क्रममा उनलाई सोधिएको छ, ‘के अमेरिकामा हुँदा तँ खुसी थिइस्?’ उसको जवाफ नकारात्मक हुन्छ।

युनिभर्सिटी ताकाका दिनहरू सम्झिँदै ऊ भन्छ, ‘म खुसी थिइनँ अमेरिकामा। घरको नियाँस्रो लागिरहन्थ्यो। बडो संवेदनशील र भावुक थिएँ। ब्रह्माण्ड र गुप्त रहस्यहरूको तरानाले अति सताउने गर्थे। ल्याबमा उस्तै बेकम्मा साबित भइरहेको थिएँ। एक्स्पेरिमेन्ट भन्नासाथै कपाल दुखेर आउँथ्यो!’

यो बयानसँगै हामी उसैसँग उसको फ्लासब्याकमा जान्छौँ। ल्याबमा उसले काम बिगार्छ र गाली खान्छ। उसको ट्युमर (प्याट्रिक ब्ल्याकेट)ले उसलाई गाली गर्छन्। सबै विद्यार्थीलाई ल्याबबाट छुट्टी मिल्दा उसलाई भने सजायस्वरूप ल्याबमै एक्स्पेरिमेन्ट गर्न भनिन्छ।

लगत्तैको दृश्यमा ओपनहायमरले स्याउमा विष इन्जेक्ट गरेको दृश्य देखिन्छ। तर, सबेरै बिहान आत्तिँदै ऊ ल्याबमा पुग्छ। उसको फेवरेट प्रोफेसर निल ब्रोले खानै लागेको विषाक्त स्याउ ऊ किराले दुलो पारेको रहेछ! भन्दै खोसेर डस्टबिनमा हुर्‍याइदिन्छ।

यहाँनेर त्यो स्याउ सर आइज्याक न्युटन (Sir Issac Newton) सँग सापटी मागेर नोलनले फिजिक्सको बिम्बस्वरूप प्रयोग गरेका छन्। जुन फिजिक्सलाई ओपनहायमरले विषाक्त तुल्याइदिन्छ र लगत्तै ग्लानीबोधमा पिल्सिदिन्छ, पछुताइदिन्छ। जसरी एटम बम बनाएर ऊ जिन्दगीभर पछुताइरह्यो।

टाइम एन्ड स्पेसमाथि एकपछि अर्को दमदार फिल्म बनाउँदै आएका नोलनले ओपनहायमरमार्फत पनि एउटा वैज्ञानिक आविष्कारको कथा त भनेका छन् नै। तर, यो कथा मात्र आविष्कारको वरिपरि घुमेको छैन बरु यो कथा त आविष्कारकको आविष्कारप्रतिको अस्वीकार र असन्तोषसँग बढी घनिष्ठ छ।

युद्धको कथाभित्र युद्धहरूका कथा

त्यसो त यो फिल्मलाई बुझ्न फिजिक्सप्रति सामान्य ज्ञान, नभए पनि, त्यसप्रति चासो मात्रै भए पनि हुन जरुरी भने छ। किनभने, यो फिसन र फ्युजनबिचको युद्ध हो। ओपनहायमर र स्ट्रसबिचको लडाइँ! प्लुटोनियम र हाइड्रोजनबीचको वार!

त्यसो त यो ओपनहायमरले आफैभित्र आफैसँग लडेको संवेदनाको लडाइँ पनि हो। र यो स्ट्रेसले एउटा निर्दोषसँग लडेको भ्रमको युद्ध पनि हो।

किट्टीसँग विवाह हुनुअघि ओपनहायमर जिन ट्याटलकसँग सम्बन्धमा देखिन्छन्। त्यसो त किट्टीसँग विवाह भइसकेर बच्चासमेत भइसक्दा पनि जिनसँग उसको अफेयर कायमै

थियो। खैर, विवाहअघिकै एक दृश्यलाई लिऊँ जहाँ दुईबिच शारीरिक संसर्ग हुन्छ। सम्भोगका क्रममा एक ठाउँ जिन भगवत् गीताको किताबबाट ओपनहायमरलाई एक लाइन पढ्न लगाउँछे। जसले श्री कृष्णको यस्तो वाणी बोल्छ, ‘म अब मृत्यु हुँ। यो संसारको म नाशक हुँ।’

आइ एम बिकम अ डेथ, द डिस्ट्रोयर अफ वर्ल्ड्ज्!

भगवत् गीताको किताब र प्रसङ्ग सम्भोग गरिरहँदा आउनुलाई अधिकांश हिन्दुहरूले (विशेष गरी भारतमा) भगवत् गीताको अपमानका रूपमा हेरिरहेका छन्। खैर, यो लाइन यहाँ किन आयो? यो कुरा तल गर्दै रहौँला।

अहिलेलाई भने स्ट्रस र ओपनहायमरबिचको द्वन्द्वलाई बुझौँ। के सोभियत संघ (रुस)लाई ओपनहायमरले मानहट्टन प्रोजेक्टको सुराक दिएकै हुन्? आखिर स्ट्रेसले किन विवादमा ताने ओपनहायमरलाई?

फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन

भनिन्छ, फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन! स्ट्रस र ओपनहायमरबिचको पहिलो भेट नै उति न्यानो हुन सकेको हुँदैन। जहाँसम्म स्ट्रस सम्झिन्छन् पहिलो भेटमै

ओपनहायमरले उनको नाम गलत उच्चारण गरेका हुन्। र उनले आपत्ति जनाउँदै आफूलाई ‘स्ट्राउस’ नभएर ‘स्ट्रस्’ सम्बोधन गर्न अनुरोध गरेका हुन्।

लगत्तै, स्ट्रेसले तलाउछेउ टहल्दै गरेका अल्बर्ट आइन्स्टाइनसँग ओपनहायमरको परिचय गराइदिन खोज्छन्। तर, आफूहरूको पहिल्यै चिनजान भएको भन्दै ओपनहायमर एक्लै पुग्छन् आइन्स्टाइनलाई भेट्न।

स्ट्रस बिस्तारै उनको पछि लाग्छन्। तर, स्ट्रस त्यहाँ पुग्दासम्म आइन्स्टाइनले आफ्नो बाटो तताउँछन्। स्ट्रेसले बोलाउँदा पनि आइन्स्टाइन सुने नसुन्यै हिँडिदिन्छन्।

स्ट्रसको मनमा चिसो पस्छ। उनीहरूको पहिलो भेटको यही दृश्य ब्ल्याक एन्ड ह्वाइट भर्सन अर्थात् स्ट्रसको लेन्स अफ स्टोरीमा बारबार दोहोरिरहने दृश्य हो।

हीरा काट्न हीरा नै चाहिन्छ!

यता ओपनहायमरको लेन्समा भने दोहोरिरहने दृश्य हो आगोको विशाल मुस्लो! पानीको शृङ्खलाबद्ध तरङ्गहरू! ब्रह्माण्ड र अनगिन्ती तारामण्डल। खैर, आइन्स्टाइनलाई उनले पनि पटकपटक नसम्झिएका भने होइनन्।

दोस्रो विश्वयुद्ध जारी छँदैथियो। अमेरिकालाई यो सबमा पर्नु थिएन। विभिन्न देश एवं विभिन्न व्यक्तित्वहरू (आइन्स्टाइन समेत) ले अमेरिकाले तयारी अवस्थामा आफूलाई राख्नुपर्छ भनी सुझाइरहेका थिए।

चारैतिरबाट एउटै सुझाव आइरहेपछि अमेरिकाले यसबारे बेलायतसँग छलफल सुरु गर्छ। तर, तयारी गर्ने कि नगर्ने भन्ने निर्णयबिन्दूसम्म नपुग्दै १९४१ डिसेम्बरमा जापानले अमेरिकामाथि आक्रमण गर्छ।

त्यसपछि भने अमेरिकाले तयारीलाई तीव्र तुल्याउँछ। आफूमाथि हमला भएपछिको करिब ४ वर्षभित्र अमेरिकाले जापानको दुई सहर हिरोसिमा र नागासकीमा एटम बम खसाल्छ।

जसमध्ये नागासाकीमा खसालिएको ‘द ग्याजेट’ नामक बम ओपनहायमरको नेतृत्वमा बन्छ। हिरोसिमालाई लक्षित गरी युरेनियमद्वारा बम निर्माण हुँदै गर्दा ओपनहायमर चाहन्थे युरेनियमजस्तै फिसन रियाक्सनमै प्लुटोनियमको प्रयोग गरी बम बनाउन सकूँ।

ता कि, हिटलरको मृत्युपछि उसले छेडेको युद्धको बिँडो थाम्न तम्सिएको जापानलाई रोक्न पर्याप्त होस् तर, त्यसले सिङ्गो विश्व भने खरानी नहोस्।

परमाणु बमका पिता ओपेनहाइमरले किन पढ्थे गीताका श्लोक ?

उनी यस्तो बम बनाउन चाहन्थे जसले विश्व सिध्याउन आँधो साँढेजसरी एकोहोरो कुदिरहेको  जापानलाई घाइते बनाउन सकियोस् तर बाँकी संसारलाई त्यसले नछोओस्!

तर, हाइड्रोजन बमका पिता भनेर चिनिने एड्वार्ड टेलरको प्रस्ताव भने हाइड्रोजन बम थियो। जसले फ्युजन रियाक्सनअन्तर्गत काम गर्थ्यो र सारा विश्वलाई खरानी बनाउन सक्ने ल्याकत राख्थ्यो।

टेलरको उक्त क्यालकुलेसन लिएर तत्काल आइन्स्टाइनलाई भेट्न गएको पनि ओपनहायमर सम्झिन्छन्। म्यानहट्टन प्रोजेक्टका तत्कालीन डिरेक्टर उनी विश्वलाई सिध्याउने कि बौलाहा तालमा चलिरहेको विश्वयुद्ध रोक्ने? उनकै हातमा हुन्छ।

तर, टेलरको प्रस्तावलाई ठुकराउँदै उनले विश्वयुद्धको समाप्ति रोज्छन्। गोला बारुदको वर्षा रोक्न एटम बम बनाउँछन्। हीरा काट्न हीरा नै चाहिन्छ भनेजस्तै सायद विध्वंस रोक्न विध्वंस नै चाहिनेरहेछ! कस्तो प्याराडक्सिकल सुनिएको! होइन?

खैर, ०.३ किलोटनको अनुमानित प्रोजेक्ट असलमा अनुमानभन्दा कैयौँ गुणा ठूलो भएर निस्किन्छ। अनुमान गरिएको भन्दा १५ किलोटन ज्यादा पावरमा इतिहासकै पहिलो एटम बम पड्किँदा सबै रमाइरहेका छन्। तर, एटम बमका पिता आफै भने भित्रभित्रै त्रस्त छन्। विध्वंसबाट

विश्वलाई बचाउन खोज्दा खनिएको बाटै बाटो भोलि विश्व सखाप पार्ने विध्वंस भित्रिने हो कि? ओपनहायमरलाई यो उपलब्धि कम गल्ती ज्यादा लाग्न थालिदिन्छ।

शत्रुमाथि विजय प्राप्त गरेको र विश्वयुद्ध रोक्न सफल भएको खुसीयालीमा उनको भव्य स्वागत सत्कार भइरहँदा उनी भने आफैभित्र पीडा, पश्चात्ताप र ग्लानिले थिचिएका छन्।

सफल प्रक्षेपणपछि भाषण गर्न जाँदा पनि उनले आफ्नो आविष्कारप्रति गर्व गर्न सकिरहेका छैनन्। तालीको गडगडाहटमा उनले विश्व थर्थराउने गरी विनाश निम्तिँदै गरेको महसुस गरिदिन्छन्। हाँसिरहेका मानिसहरूलाई रोइरहेका देखिदिन्छन्। अचानक श्रवण शक्ति हराइदिन्छ। उनी के यथार्थ र के भ्रम छुट्टाउन असमर्थ भइदिन्छन्। एक किसिमको ह्यालुसिनेशनबाट उनी गुज्रिन्छन्।

द ग्याजेट

त्यसो त उनले यस बमलाई ‘द ग्याजेट’ नाम पनि यसै दिएका होइनन्। त्यति बेला अमेरिकामा प्रविधिको बढ्दो विकाससँगै सभ्यतामाथि परिरहेको असरबारे व्यापक चर्चा र बहस हुने गर्थ्यो। ग्याजेटको बढ्दो आविष्कार र फैलँदो प्रयोगले कालान्तरमा सभ्यतामाथि पार्नेजस्तै नकारात्मक आविष्कार

आखिर एटम बमले पनि त पार्ने नै थियो मानव सभ्यतामाथि, विश्वमाथि! आफ्नै प्रोजेक्टमाथिको व्यङ्ग्य स्वरूप उनले ‘द ट्रिनिटी’ नामको बमलाई पुनः अर्को नाम दिए- द ग्याजेट! उनलाई पहिल्यै थाहा थियो- जे बन्दैछ त्यसले विश्वको सखाप पार्नेछ!

उनले यो तथ्यलाई कहिल्यै स्विकार्न सकेनन् कि यो विध्वंसकारी बम उनैले बनाएका हुन्। उनी यही स्वीकार र अस्वीकारको लडाइँ आफैभित्र जिन्दगीभर लडिरहे। विजयलगत्तैको भाषणमा समेत उनले भनेका छन्, ‘तपाईँहरूलाई प्राप्त यो उपलब्धिका लागि बधाई!’

रुन्चे वैज्ञानिक र युद्ध विराम

फिल्ममा एउटा दृश्य छ जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनसँग उनी भन्छन्, ‘मलाई यस्तो लाग्छ, मेरो हातमा रगत लतपतिएको छ!’ जसको प्रतिक्रियास्वरूप राष्ट्रपति ट्रुमन कोटबाट रुमाल झिकेर दिँदै व्यङ्ग्य गर्छन् र उनको भावुकताको खिल्ली उडाउँछन्।

र जसै ओपनहायमर त्यहाँबाट उठेर हिँड्न लाग्छन् राष्ट्रपति आक्रोश पोख्न पनि भ्याउँछन्, ‘एटम बम बनाउनेले यस्तो रुन्चे कुरा गर्न कसरी सुहाउँछ? यस्ता रुन्चे वैज्ञानिकलाई यो ढोकाबाट आइन्दा

छिर्न नदिनू!’

‘डोन्ट लेट द्याट क्राइबेबी ब्याक इन हियर!’

यसरी उनी आफ्नो भावुकताका कारण रुन्चे वैज्ञानिकको बिल्ला भिरेर हिँड्ने त गर्थे नै अमेरिका र म्यानहट्टन प्रोजेक्टप्रति पूर्ण बफादार भएर काम गरिरहँदा पनि, विश्वकै भलाइका बारे सोचिरहँदा पनि उनले आफ्नै साथी स्ट्रसले आफूविरुद्ध लगाएको आरोपका कारण दोषी भएर बाँचे।

भलै, कालान्तरमा उनीमाथिको चार्ज फिर्ता त भयो तर, उक्त घटनापछि उनी अघिझैँ अविवादित भने रहेनन्। बाँचुन्जेल विवादमा तानिइरहे।

खैर, रोचक कुरा त के भने स्ट्रसले विश्वास गरेर आफ्नो लागि बोल्न झिकाएका (रामी मलेकको पात्र) डा. हिलले स्ट्रसकै विरुद्धमा बोलेपछि केस उल्टिएर ओपनहायमरको पक्षमा पल्टिदिन्छ।

र यी डा. हिल तिनै हुन् जसलाई ओपनहायमरले कहिल्यै रुचाएनन्। तर, मनोविज्ञानलाई केलाउने हो भने (अरू सबैले त विश्वास जितिकन पनि विश्वासघात गरिसकेका थिए) डा. हिल मात्रै एक त्यस्ता पात्र थिए जसले ओपनहायमरको विश्वास जित्नुथियो। सायद, उनलाई लाग्यो- झुटो बयान दिएर कागकै हुलमा

मिसिइरहनुभन्दा सत्य बोलेर बकुल्ला हुन पाए बल्ल ओपनहायमरले आफूलाई एकै झलक भए पनि रुचाएर हेर्थे कि? यसरी स्ट्रस-ओपनहायमरबीच डा. हिलले युद्ध विराम लगाइदिए।

ओपनहायमर-आइन्स्टाइन रहस्य

र फिल्मको अन्त्यमा मात्रै स्ट्रसको दृश्यमा दोहोरिरहने आइन्स्टाइन र ओपनहायमरबीचको त्यो खुलदुलीपूर्ण भेटको रहस्योद्घाटन हुन्छ।

ओपनहायमरको लेन्सबाट जब यो दृश्य देखाइन्छ तब मात्रै थाहा लाग्छ कि उनीहरूबिच भएको संवादले आखिर स्ट्रससँग कुनै सरोकार राख्दै राख्दैन।

खोक्रो इख पालेर स्ट्रसले दुवै पक्षलाई दुःख पो दिइरहेको रहेछ।

त्यस भेटमा आइन्स्टाइनले भनेका रहेछन्, ‘यो प्रोजेक्टमा तँ सफल नै भइस् भने पनि तेरो कामको कदर हुनेछैन। यिनीहरूले तँलाई अवार्ड समेत दिनेछैनन्। दिनेछन्, धेरै ढिलो र दिँदा पनि तँलाई होइन त्यो अवार्ड तँलाई अवार्ड दिनेहरूकै लागि दिइनेछ!’

नभन्दै, त्यस्तै हुन्छ पनि! हाय, वैज्ञानिकहरूको

भविष्यवाणी!

त्योबाहेक अघिल्लो भेटमा टेलरको हाइड्रोजन बमको क्यालकुलेसन देखाएको प्रसङ्ग कोट्याउँदै ओपनहायमरले सोधेका रहेछन्,

‘सम्झिनुहुन्छ अल्बर्ट?’

आइन्स्टाइनले सोधेका रहेछन्,

‘मजाले सम्झिन्छु। साँच्चै के भयो त्यसको?’

र यही प्रश्नको जवाफले भने आइन्स्टाइन चिढिएर हिँडेका रहेछन्,

‘मलाई लाग्छ, हामीले त्यो गर्यौँ!’

हुन पनि ओपनहायमरजस्तो रुन्चे वैज्ञानिकका लागि हाइड्रोजन बम पड्काउनु र प्लुटोनियम पड्काउनुले कुनै फरक अर्थ राख्न कहाँ सक्दो हो? प्लुटोनियम पड्काए पनि हाइड्रोजन पड्काए पनि बम त आखिर बम नै हो।

मृत्यु त आखिर मृत्यु नै हो। विध्वंस त आखिर विध्वंस नै हो। ओपनहायमरले यो बुझे कि तत्काल जापानलाई विध्वंसबाट रोकेजस्तो देखिए पनि भोलि यही प्रविधिको विकासले विश्वकै विनाश पनि निम्त्याउने नै छ।

फरक यति मात्र हो हाइड्रोजनले एकै झट्कामा गर्न सक्ने काम प्लुटोनियमले समय लिएर गर्नेछ, बस्!

खैर, ओपनहायमरले बम बनाएको भए पनि वा नबनाएको भए पनि युद्ध त छेडिइसकेकै थियो। मृत्युको जन्म ढिलो चाँडो भइसकेकै थियो। हिटलरले छेडेको विध्वंस जापान र जापानले छेडेको विध्वंस अमेरिकामा परावर्तन भइदिएको मात्र न हो!

भगवत् गीता र ओपनहायमर

साँच्चै, करङ केलाउने काइदामा मेरुदण्ड छुट्न कहाँ पाउँछ र! होइन? आखिर, भगवत् गीताबाट त्यो श्री कृष्णवाणी सम्भोगकै क्रममा त्यहाँ किन राखियो?

फर नाऊ, आइ एम बिकम द डेथ, द डिस्ट्रोयर अफ वर्ल्ड्ज्!

ओपनहायमरको भाइ फ्र्याङ्कका अनुसार उसमा भगवत् गीताको प्रभाव यति परेथ्यो कि ओरिजिनल भाषामै पढ्नका लागि भनेर युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट उनले संस्कृत भाषा पढेका थिए। तत्कालीन समयमा युनिभर्सिटीमै संस्कृतमा स्नातकोत्तर गर्ने उनी एक्ला थिए। खैर, फिल्मभित्रकै कुरा गरौँ।

याद गर्नुस् त, त्यो बम पड्किरहँदा विस्फोटको कुनै आवाज थिएन नि है? ओपनहायमरले श्रवणशक्ति गुमाएको बेला थियो त्यो। आखिर, त्यो कथा हामी उसको लेन्सबाट, उसको अनुभूतिका आधारमा सुनिरहेका थियौँ। आउनुस् हामी फेरि त्यहाँ पुगौँ।

ओपनहायमरले श्रवणशक्ति गुमाएको छ। किनभने उसको मस्तिष्कभित्र त्योभन्दा भयानक स्वर मच्चिरहेको छ। पीडाको, ग्लानिको पश्चात्तापको! प्रकाशको मुस्लो व्याप्त थ्यो चारैतिर तर उसको संसार मानौँ अँध्यारो भइदिएको छ। १८.३ किलोटनको त्यो विस्फोटले आकाशमा मशरुम क्लाउड बनाउँदो छ। त्यस विस्फोटको तापले वातावरण यतिसम्म उष्ण भइदिएको छ कि स्टिलको टावरसमेत बरफ पग्लिएझैँ पग्लिएर बाफ बनेर उड्दो छ। यो भयङ्कर विनाशको घडीमा एउटा वैज्ञानिकको रूपमा मात्रै होइन मामुली एउटा आम पुरुषको रूपमा पनि उसले आफूलाई दोषी पाएको छ। जिन ट्याटलगसँग सम्भोग गरिरहँदाको उसको श्वास-प्रश्वास त्यो बम विस्फोटको आवाजसँग मानौँ साटिइरहेको छ। मस्तिष्कभित्र किताब पढ्दै जिन भन्छे-

‘आइ एम बिकम द डेथ, द डिस्ट्रोयर अफ वर्ल्ड्ज्!

यही कुरा ऊ यथार्थमा भन्छ। किनभने, जिनलाई जस्तै उसले यो संसारलाई पनि गिजोलेर छोडिदिएको छ! के का लागि? मर्नका लागि!

त्यो दृश्य सम्झिनुहुन्छ? जहाँ ओपनहायमरलाई उसकी स्वास्नी किट्टीले मुर्छा परेर काँप्दै गरेको अवस्थामा फेला पार्छे। र ऊ काँप्दै जिनलाई आफूले मरिरहेको अवस्थामा भेटाएको बताउँछ। उसको अन्तस्करणमा जिनको सुसाइडलाई लिएर गहिरो ग्लानीबोध छ। उसले गिजोलेर मर्नलाई छोडिदिएको धेरै संसारमध्ये जापान मात्र होइन जिन ट्याटलक पनि एउटी हो!

पुनश्च:

अँ साँच्चै, केही दृश्यहरू सम्झिन झन्डै बिर्सिएकी! यस्ता दृश्य जसलाई नसम्झिए नोलनभित्रको डिरेक्टर रिसाउनेछ।

कोर्टरूममा ओपनहायमरमाथि केरकार चल्दो छ। उसकी स्वास्नी किट्टी पछाडि बसेर लोग्नेको बयान सुन्दी छे। बयानभर उसको नजर जमिनमै टिकिरहेको हुन्छ तर, एउटा बिन्दूमा पुगेर उसका आँखा जमिनबाट माथि उसको लोग्नेमाथि पर्छ। यो बिन्दूमा आइपुग्दा किट्टीको आँखाले

व्यक्त गरिरहेको त्यो संवेदना र त्यहाँ निमेषभरलाई घटित त्यो सर्रियल घटना … वाह! प्रतीक, कति सटिक!

साथै, म्यानहट्टन प्रोजेक्टकै दौरान ओपनहायमर, स्ट्रसलगायतका समकालीन वैज्ञानिकहरूको एक मिटिङ गोलो टेबलमा चल्दो छ। टेबलको मध्यभागमा राखिएको फूलसहितको फूलदानीले स्ट्रस र क्लाउज फक्सलाई एक अर्कासम्म पुग्न गाह्रो भइरहेको छ।

थोरै थोरै गर्दै फूलदानी सार्ने काइदा र आखिरमा टेबलबाट फूलदानीलाई गायबै पार्ने काइदाले कलात्मकताको पराकाष्ठा नाघेको छ। यस्ता कैयौँ सिम्बोलिजमपछाडिको सबटेक्स्ट बुझ्न सक्ने हो भने फिल्म राम्रो मात्र नभएर नभएर मीठो पनि छ।

यस्तै, ओपनहायमरले हिन्दू दर्शन र भगवत् गीताबाट अतिप्रभावित मानिने अमेरिकी कवि टी.एस. इलिअट (T.S. Eliot) को कविता सङ्ग्रह ‘द वेस्टल्याण्ड’ (The Wasteland) पढ्नुले पनि उनको भगवत् गीतासँगको सम्बन्धको गहिराइ देखाउँछ।

मर्फीले फिल्ममा ओपनहायमरलाई आफूभित्र समेटेजस्तै कतै, ओपनहायमरले पनि आफूभित्र श्री कृष्णलाई आरोपण गरेका त थिएनन्? कतै लाग्थ्यो कि उनलाई कृष्णका धेरै रूपमध्ये काल अर्थात् मृत्यु आफैभित्र छ ?

‘म अब मृत्यु हुँ। म सर्वनाशक हुँ!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved