यतिबेला ग्रेटा गर्विग (Greta Gerwig) भनेर खोज्नुहोस् तपाईंको गूगलस्कृन गुलाबी भइहाल्नेछ, बार्बील्याण्ड जस्तै ! हो, ग्रेटा बार्बीकी आमा हुन् जसले (अमेरिकन पात्रोअनुसार) हिजो रातिदेखि आज दिउँसोभर जन्मदिन मनाउनेछिन्। ‘बार्बी’ (Barbie) फिल्मकी निर्देशक ग्रेटालाई तपाईं आज पनि जन्मदिनको शुभकामना ट्क्र्याउन सक्नुहुनेछ ।
सन् १९८३ अगस्त ४ तारिखका दिन अमेरिकाको क्यालिफोर्नियास्थित स्क्रामेन्टोमा जन्मिएकी ग्रेटाले फिल्म क्षेत्रमा पाइला चालेको सन् २००६ देखि हो । सन् २००७ मा यिनी जो स्वानबर्ग लिखित एवम् निर्देशित ‘हाना टेक्स द स्टेयर्स’ मा अभिनेत्रीका रूपमा देखिइन् ।
त्यसो त फिल्मको कथामा पनि उनको समेत हात थियो। खैर, फिल्म क्षेत्रमा यिनले देखिनेगरी हात हालेको अर्थात् फिल्म निर्देशन नै गरेको सन् २००८ मा बाहिरिएको ‘नाइट एण्ड विक्न्ड्स’ बाट हो। यो उनको स्वानबर्गसँगको सहलेखन एवम् सहनिर्देशन थियो ।
खैर, कसैसँग काँध नहाली यिनले काम गरेको पहिलो फिल्म अथवा भनूँ सोलो फिल्ममेकिङमा प्रवेश गरेको सन् २०१७ मा बाहिरिएको ’लेडी बर्ड’ बाट हो। जुन फिल्मले उनलाई डिरेक्सन (मष्चभअतष्यल) र स्कृनप्ले (screenplay) दुवै विधामार्फत् ओस्कार मनोनीतसमेत गरायो। त्यसलगत्तैको ‘लिटिल विमेन’ ले पनि उनलाई ओस्कारको मनोनयन सूचीमा समेट्न सक्यो।
तर, बक्स अफिसका आधारमा हेर्ने हो भने उनको आजसम्मकै सर्वाधिक सफल फिल्म हो ‘बार्बी’, जुन यतिबेला विश्वभरका हलहरूमा प्रदर्शनरत छँदैछ । त्यसो त, क्रिस्टोफर नोलनको ‘ओपनहायमर’लाई रिलिजअघिदेखि नै टक्कर दिँदै आइरहेको ‘बार्बी’लाई कृटिक्सहरूले पनि सर्वाधिक रुचाइरहेकै छन्। खैर, विवादबाट अछुतो भने यो फिल्म पनि रहन सकेन ।
विश्वस्तरमा पाठक राख्न सफन अमेरिकाको दैनिक पत्रिका ‘द न्यू योर्क टाइम्स’ ले यिनै बार्बी डिरेक्टर ग्रेटा गर्विगसँग बार्बीकै सेरोफेरोमा रहेर कुराकानी गरेको छ। ‘म धन्य भएकी छु’ बाट संवाद सुरू गरेकी ग्रेटाले कुराकानीको अन्त्यमा भने भनेकी छन्– म शून्य भएकी छु !
आखिर करिअरकै सफल फिल्म बनाएपछि पनि किन शून्य भएको महसुस गर्छिन् ग्रेटा ? आउनुहोस्, न्यू ओर्क टाइम्स र ग्रेटाबीचको संवादको नेपाली अनुवाद पाठ गरौँ ।
फिल्म चलेको पहिलो हप्ताको रौनक पक्कै विशेष रहेको हुनुपर्छ ! कस्तो रह्यो अनुभूति ?
म त एकदमै धन्य भएँ । आश्चर्यचकितै भएँ । शब्दहरू नै भेटिरहेको छैन ठ्याक्कै कसरी वर्णन गरूँ ! फिल्म रिलिज भएको पहिलो दुईदिन म न्यू योर्क सिटीका विभिन्न थिएटरहरू पुगेँ। मानिसहरूबाट प्रतिक्रिया लिएँ, फिल्म राम्रो बनेछ त ? त्यो पक्का गर्न पनि म हिँडेँ । तर, साँच्चै नै मान्छेहरू गुलाबी भएर हिँडिदिँदा वास्तवमै अद्भूत महसुस भयो। मेरो पागलभन्दा पागल, बौलाहा सपनामा पनि मैले यस्तो वास्तविक पिंङ्कवर्ल्डको कल्पना गरेकी थिइनँ । म धन्य भएकी छु ।
फिल्मले दर्शकहरूलाई छोइरहेको छ है भनेर ढुक्क हुन तपाईंले त्यस्तो निश्चित केही कुरा भेट्नुभयो कि ?
पक्कै पनि मैले आफूले तनमन लगाएको विषय भएपछि म त यसमाथि यसै पनि ढुक्क हुन खोज्छु नै । तर, प्रायः यसको प्रभाव सडकमा हिँडिरहेका खुसी अनि उत्साही मानिसहरूमा देख्न सकिन्छ। हामीले चाहेको पनि यस्तै थियौँ कि केही यस्तो कुरा दिन सकूँ जून मानिसहरूले साथमा अनुभूत गर्न सकून् । स–साना कुरा जसले मानिसहरूलाई एकसाथ जोड्न सकोस् ।
अनि अर्को कुरा मेरो निर्माता डेभिड हेमनले मलाई एउटा मेल फर्वार्ड गरेका थिए, स्कटल्याण्डको कुनै एउटा सानो शहरमा बस्ने कसैले लेखेको– त्यहाँको कुनै लोकल स्ट्रग्लिङ थिएटरले हप्ताभरिको टिकट ‘बार्बी’को लागि पहिलो दिनमै बिक्री गरेछ । “देखाउँदैछ शहरले !” खुसी भएर यस्तै भन्थे रे !
साथै, मलाई व्यक्तिगतरूपमै पनि मेरा भाइ, बुहारी, बच्चाहरू, साथीभाइहरूले फिल्म हेरेर राम्रो लागेको प्रतिक्रिया दिइरहेका छन् । स्क्रामेन्टोका १५–१६ वर्षीय बच्चाहरूले मलाई टेक्स्ट नै गरेर लेखेका छन्, “त्यो पोर्से वाला जोक्स सही लाग्यो !” जे होस्, यस्तै यस्तै कुराले गर्दा लाग्छ, फिल्म राम्रो बनेछ ।
हलिउडमा यतिबेला मानिसहरू यही भनिरहेका भेटिन्छन्, “आखिर, ग्रेटाले यो कसरी गर्न सकी ?” हुन पनि, थिएटरमा चल्ने फिल्म यति सानो बजेटमा बनाउन कसरी सम्भव भयो ? यो अजिब प्रोजेक्टका क्रममा चुनौतीहरू त पक्कै सामना गर्नुपर्यो होला ? त्यसका बाबजुद अन्तिमसम्म दोस्रो सोचलाई आउन नदिई कसरी लागिरहन सक्नुभयो ?
सुरुदेखि नै यो स्कृप्ट नोहासँग मिलेर लेख्ने सल्लाह थियो । हामीले जब लेखेर सिध्यायौँ तब नै मलाई के थाहा भयो भने, यो फिल्मलाई मेरो आफ्नै निर्देशन चाहिन्छ । र अर्को के कुरामा म स्पष्ट थिएँ भने ‘यो भर्सनमा यदि उनीहरूले काम गर्न चाहेनन् भने, यो बन्नेवाला छैन !’
त्यसपछि मार्गट, जो यसकी स्टार हुनुका साथै निर्माता पनि हुन्, उनले भनिन् कि, “म उनकै तरिकाले यसलाई गर्न चाहन्छु ।” त्यसपछि, कास्ट र बाँकी साझेदारहरूले पनि यही भर्सनलाई साथ दिएपछि अचानक हामीसँग त एउटा ठूलो टिम नै पो तयार भइसकेछ जो यो प्रोजेक्टलाई लिएर वास्तवमै उत्साहित थियौँ ।
खैर, मभित्रको एउटा अंशले त यस्तो पनि सोच्छ कि, यो प्रोजेक्ट यति अजिब भएकै कारणले हामीमध्ये कसैलाई पनि के थाहा थिएन भने कहाँबाट काम सुरु गर्ने! र यहीकारण नै एउटा अद्भूत मज्जा यसमा काम गर्नुले हामीलाई दियो। त्यसैले, कहिल्यै यस्तो भनिएन कि ‘ओहो ! यो अजीव कामले दिएको मज्जा कसरी लिन सक्छौँ ?’ र मज्जा मज्जामै जुन अजीव काम भयो, सायद दर्शकहरूले चाहनुभयो, यो काम बाँच्नुपर्छ !
फिल्मको इन्साइटिङ इन्सिडेन्ट त काफी दिमाग घुमाउने किसिमको छ । तपाईंको टिमको प्रतिक्रिया कस्तो थियो होला जब तपाईंले यो भन्नुभयो, “खैर, खाँटी कुरो त तब सुरू हुन्छ जब बार्बीको मनमा मृत्युबारे अदम्य विचार आउन थाल्छ !”
मलाई थाहा छ, हामीले यो फिल्म यसैगरी सुरू होस् चाहेका थियौँ, कुनै जाँतो घुमेजसरी। र जब उसले त्यो संवाद बोल्छे, फिल्म मानौँ लगभग सबै सकियो ! फिल्म सकिनै लाग्दा के गरिन्छ ? जसोतसो फेरि पनि सामान्य अवस्थामा ल्याउन खोजिन्छ । उसले त्यस्तै कोसिस गर्छे तर कसरी गर्ने ऊ केही मेसो पाइरहेकी छैन । के हुँदैछ तबसम्म थाहा पाउन मुस्किल हुन्छ जबसम्म जे हुनुछ, त्यो हुँदैन । र, जसले त्यो बनाउँदैछौँ, हामी केही टोलीलाई बाहेक अरूका लागि त मलाई लाग्छ, त्यो एउटा ‘आस्तिक कर्म’ नै हो ।
र जब दर्शकको लागि फिल्म खुला गरियो मैले साथीहरूलाई सोधेथेँ, “गाइज, तिमीहरूलाई कहिल्यै मरूँ-मरूँ त लागेन नि ?” डेढ वर्षदेखि रोकेर राखेको लामो श्वास फेर्दै उनीहरू मेरो प्रश्नमाथि खुब हाँसे ।
जे होस्, हामीले त्यो देखाइयो, जो मैले सधैँ मेरो दिमागभित्र सुन्दै अनि मनको आँखाले देख्दै आइरहेकी थिएँ ।
बजारमा एउटा हल्ला छ नि, मटेलका कार्यकारीहरू त्यो दृश्य हटाउनु भनेर तपाईंकहाँ पुगेका थिए रे, जहाँ अरियना ग्रिनबेल्टको पात्र सासाले बार्बीलाई सेक्सिस्ट र फेसिस्ट भएको आरोप लगाएकी हुन्छे ! के यो साँचो हो ?
यस्तो पनि होइन कि उनीहरू आए र भने, “यो सबै बन्द गर !” जहाँसम्म त्यो दृश्यको कुरा छ, एउटा स्मार्ट पात्रले बार्बीसँग बार्बीकै विरुद्ध बोल्दा तार्किक भएर बोलेको हुनुपर्छ, राम्रो जानकारी राखेरै बोलेको हुनुपर्छ । त्यसो त मेरी आमाले पनि बार्बीलाई त्यति रुचाउने होइन, जसकारण पनि मैले धेरैथोरै कुराहरू जान्ने मौका पाएकै थिएँ । र, मलाई के थाहा थियो भने तपाईं बोल्नुभएन भने अर्को कोही बोल्नेवाला छैन !
तर, यसको मतलब मटेलले “ओहो ! कति राम्रो ! हामीले खुब मनपरायौँ ।” भनेका पनि होइनन् । यसरी पूर्ण समर्थन, पूर्ण अनुमति प्राप्त भएको पनि होइन । मटेलले, “तँ जे गर्दैछेस्, राम्रो हुँदैछ, यसैगरी अघि बढ्दै जा !” भनेको पनि होइन ।
खैर, तपाईंलाई चाहिने कुरा भनेको त्यही नै हो । ममा एउटा आस्था सधैँ के थियो भने, यो सबै देखेपछि उनीहरूले विरोध गर्नेछैनन् बरु अपनाउनेछन् । र आखिरीसम्म सायद ती दृश्य राख्ने मेरो चाहना नै बलियो भएर उभिरह्यो होला, त्यसलाई फ्याँक्ने अरूको चाहनाभन्दा ।
त्यो दृश्यले त्यसपछि मलाई खुब मनपरेको एउटा ठट्टा ल्याउँछ जहाँ आरोपमाथि प्रतिवाद गर्दै बार्बी भन्छे, ‘म फेसिस्ट हुँदी हुँ त यो रेलवेज र बिजनेशको फ्लो नियन्त्रण गर्न सक्थेँ होला ! त्यसैले, म फेसिस्ट होइन !’
फिल्ममा यस्ता कत्ति ठट्टा छन् जसबारे मलाई के लागेको हो भने– हुनसक्छ ३ वा ७ जनाले मात्रै बुझ्लान् यस्ता कुराहरू। तर, तिनकै लागि भए पनि म यी दृश्य हटाउने छैन !
यस्तै, साताको अन्त्यतिर म एउटा थिएटरमा पुगेकी थिएँ । अर्को त्यस्तै एउटा जोक थियो, “सम्झिन्छस्, प्राउस्ट बार्बी ? उति साह्रो बिकेन नि त्यो !” यसमाथि दुईजना दर्शक यस्तो मरीमरी हाँसे नि… मैले अनि मनमनै भनेँ, “हो, यो तिमीहरूकै लागि थियो । तिमीहरूले बुझ्यौ । अहो ! यहाँ यो अजीव मस्ती हेर्न आइपुगेर मैले ठिक गरिछु ।”
आखिर बार्बी बच्चाको लागि हो या वयस्कहरूका लागि ? भन्ने सवालले ठाउँ पाइरहँदा, त्यस्ता लाइनहरूको बीचमा मलाई अचानक आफू बच्चा हुँदाको याद ताजा भयो । जब मैले नबुझेको जोकमा ममी-बुवा भने जोडजोडले हाँस्ने गर्नुहुन्थ्यो, मभित्र एउटा जिज्ञासाले बत्ती बाल्ने गर्थ्यो । आखिर, के बुझेर हाँसेको होला ? के कुरो होला? बडो खसखस हुन्थ्यो ।
मसँग त्यस्तो कुनै स्पष्ट चित्र त छैन आज, कि वयस्क वा बच्चाका लागि बनेका शोहरूबाट कुन कुरामा मैले आखिर त्यस्तै अनुभव गरेथेँ। तर, मेरो ममीबुवाले मलाई त्यस्ता अनेक शोहरू देखाउन लैजानुहुन्थ्यो, कहिलेकाहीँ त त्यस्ता एक वाण दुई सिकार भनेजस्ता ठट्टाहरू पनि हुन्थे। जुन हेर्दा मलाई संसारलाई एउटा सानो झ्यालबाट हेरिरहेछु झैं लाग्थ्यो। र मचाहिँ मानौँ टुक्राटुक्रालाई सँगै जोड्न खोजिरहिछु जस्तो! खैर, जे होस्, यस्तो कुराले मलाई शो को मज्जा लिनबाट रोक्ने काम भने गर्दैन थियो।
धेरैभन्दा धेरै दर्शकले प्रतिक्रिया जनाएको एउटा दृश्य थियो, अमेरिका फराराको त्यो मनोवाद! जहाँ ऊ भन्छे कि समाजमा महिलाहरूले कसिलो डोरीमाथि हिँड्नुपरेको छ। त्यो क्षणबाट तपाईंले अपेक्षा गरेको चिज के थियो?
सुरुदेखि नै अमेरिकाले यो सिन (scene) गरुन् भन्ने चाहेथेँ र उनले गरिन् पनि। र जब हामीले उनका जीवनका यथार्थ भोगाइ, अनुभवहरूलाई पनि समेटेर यसमाथि काम गर्यौँ, तेस्रो टेकमा हुनुपर्छ उनले त्यो मनोवाद गरिरहँदा, म वास्तवमै रोइरहेकी थिएँ, उनी आफै पनि रोएथिन् र साथै त्यहाँ उपस्थित सबैजना रोइरहेका थिए। महिला मात्र होइन, पुरुष पनि रोइरहेका थिए।
त्यति नै बेला अचानक मलाई लागेको हो, जुन डोरीबारे ऊ बोल्दैछे, त्यो डोरी सायद महिलाले मात्रै नभएर पुरुषले पनि र सबैसबैले महसुस गर्ने, अनुभूत गर्ने चिज हो। सबैको जीवनमा त्यो डोरी मौजुद छ भन्ने मलाई त्यतिबेलै लाग्यो।
हरेक मानिस त्यो डोरीदेखि डराउँदो छ जसमाथि एउटा मात्र पाइला थोरै पनि यताउता टेके सबै ध्वस्त हुनेछ। र त्यो मनोवाद गरिरहँदा उसले ती सबै सबैलाई त्यो डरलाग्दो डोरीबाट ओर्लिएर सजिलो गरी हिँड्न मानौँ अनुमति दिइरहेकी होस्। र यही कुराको अनुभूतिकै लागि थियो सायद त्यो क्षण। उनीभित्र कोलाबरेटर, एक्टर र अर्टिस्टलाई लिएर एउटा द्विविधा पनि थियो, जसको उत्तर पनि मलाई लाग्छ यसैले वर्णन गरिदियो।
तपाईंले अनुमान लगाउनुभएको छ तपाईंको यो कामको एक धारका पण्डितहरूले कुन हदसम्म निन्दा गरिरहेका छन् र आफ्ना बार्बीहरू जलाइरहेका छन्?
नाइ, मैले गरिनँ। तर, पक्कै सिद्धतका साथ लागिपर्नुभएको होला। मैले यो फिल्म कोही कसैलाई पनि बाँकी नछुटाएरै सबैसबैकै लागि निमन्त्रणा बनोस् भन्ने चाहेथेँ। कि सबैजना आउन् र कुनै न कुनै रूपमा यसको हिस्सा बनुन्। चाहे महिला, चाहे पुरुष जो पनि यसमा झुमोस् र आफ्ना लागि अनावश्यक चिजलाई चिनेर त्यसलाई त्यागिदिन सकोस्! र तिनीहरू जो यति सिद्धतका साथ यसको हिस्सा बन्न तल्लीन छन्, आशा गर्छु उनीहरूले पनि त्यही सुकुन पाए होलान् यसबाट जुन अरूअरूले पाए।
फिल्मको क्लाइमेक्स कसरी फुर्न गयो, जहाँ नव–मानुषी–बार्बी यथार्थ दुनियाँकी रिसेप्सनिस्टकहाँ पुग्छे र आफूले गाइनेकोलोजिस्टलाई भेट्न चाहेको उद्घोष गर्छे?
यसबारे म त्यतिबेलासम्म पनि पक्का थिइनँ जतिबेला रिहर्सलमा मार्गटसँगै म ती लाइनहरू पढ्ने गर्थेँ। त्यो कस्तो हुनुपर्ने हो मलाई आफूभित्र महसुस त थियो तर, जब मार्गटले गरी तब मात्र म पक्का भएँ। कस्तो भयो भने, ’हो, मैले खोजेको यस्तै त हो नि! यही त हो नि!’, भनेजस्तो। हुन त त्यो क्लाइमेक्स थोरै मूर्खताजस्तो तर पनि इमानदारीजस्तो! एकैसाथ धेरैथोक जस्तो!
अन्त्यमा, कस्तो लागिरहेछ? के यो मुभी कुनै फ्रेन्चाइजको सुरुवात हो? या फेरि ’बार्बी’ आफैमा एउटा निश्चित अन्त्यसहितको पूर्णकथा हो?
ठ्याक्कै, अहिलेकै क्षणमा त म एकदम सन्तुष्ट छु। एकदम तृप्त। हरेक फिल्म सकाएपछि मलाई यस्तै एक किसिमको महसुस हुन्छ, मलाई लाग्छ अब मैले भन्नुपर्ने केही पनि कुरा बाँकी छैन। अब के नै भन्नू छ र सबथोक त भनेर सकियो। मलाई कसैको सपनामा छेकबार बन्नु त छैन, तर, साच्चै नै यतिबेला म सम्पूर्णतः रित्तिएकी छु। म शून्य भएकी छु।
Facebook Comment
Comment