अभिनेत्री चर्चा

मधु-मार्लिन एन्ड अ रिभर अफ मेलानकली!

बाँचुञ्जेल एउटै क्षेत्रमा जीवन समर्पण गरेका दुई फरक भूगोलका मधु र मार्लिन, धर्तीमा ढिलो छिटो उदाए पनि उत्तिकै आयु बाँचेर अस्ताए! अल्पायुको मृत्युलाई एकैछिन बोध नगरी हेर्ने हो भने उनीहरूबीचको यो संयोगलाई पक्कै सुन्दर भन्न मिल्दो हो।

मधु-मार्लिन एन्ड अ रिभर अफ मेलानकली!

उनीहरूबीच समानता कति थियो, थिएन? त्यो बेग्लै कुरा हो। तर, उनीहरूबीच भिन्नता जति थियो- त्यो पनि समानान्तर थियो। कहिल्यै नभेटिएर पनि एक-अर्काका सम्मुख भएर बाँचिरहने नदीका दुई किनाराजस्तै उनीहरूको पृथक अस्तित्व! विपरीत भएर पनि उस्तै! उस्तै भएर पनि बेग्लै!

हो, आज हामी बलिउडकी सदावहार अभिनेत्री मधुबाला र हलिउडकी वान एन्ड अन्ली अभिनेत्री मार्लिन मुनरोका चर्चा गर्नेछौँ। त्यसो त यी दुई हस्तीहरूको समानताको चर्चा यसअघि पनि मनग्ये भइसकेकै छ। तर, यसमा तपाईं के बढी पाउनुहुनेछ भने कसरी यिनीहरूको भिन्नतामा पनि एउटा म्याग्नेटिक मियो छ जसले यिनीहरूलाई एकै ठाउँ खिचिरहन्छ। एउटा यस्तो चुम्बकीय सेन्टरपोल जसले साउथ पोल र नर्थ पोललाई रहस्यमयी काइदाले सँगसँगै उभ्याइरहन्छ!

आउनुस्, यी दुई किनारका डगरै डगर डुली हिँडौँ। दुई किनारमा भेटिने बालुवा, माटोलाई दाँजी हेरौँ, सिपी, मोतीलाई जाँंची हेरौँ।

१. उमेर र आयु

त्यसो त गणितकै आधारमा ज्येष्ठता तौलिइन्छ भने मार्लिन जन्मका आधारमा मधुबाला भन्दा ७ वर्ष दिदी हुन्। तर, फेरि मृत्युले जन्मलाई बाँध्छ भने दिदी-बहिनीको हिसाब फच्या भएको छ। सन् १९२६ मा जन्मिएकी मार्लिन ३६ वर्षको उमेरमा सन् १९६२ मा अस्ताइन्। अनि ७ वर्ष ढिलोगरी सन् १९३३ मा जन्मिएकी मधुबाला ७ वर्ष ढिलो नै अस्ताइन्। सन् १९६९ मा आफ्नो अन्तिम श्वास फेरेकी मधुबाला पनि ३६ वर्षको उमेरमा नै बिदा भइन्।

बाँचुञ्जेल एउटै क्षेत्रमा जीवन समर्पण गरेका दुई फरक भूगोलका मधु र मार्लिन, धर्तीमा ढिलो छिटो उदाए पनि उत्तिकै आयु बाँचेर अस्ताए! अल्पायुको मृत्युलाई एकैछिन बोध नगरी हेर्ने हो भने उनीहरूबीचको यो संयोगलाई पक्कै सुन्दर भन्न मिल्दो हो। खैर …

फूल हो उमेर, फुलेर सकिन्छ।
धुवाँ हो आयु, उडेर सकिन्छ।।

२. नाममे क्या रखा है?

मधुबाला र मार्लिन मुनरो दुवैको नाम ‘म’ बाट आउनु अर्को एउटा मीठो संयोग हो। जसको अमूर्त स्वाद तपाईंभित्रको निराकार जिब्रोले पनि पक्कै पाइसकेको हुनुपर्छ। जतिबेला मधुबाला मुमताज बेगम थिइन् त्यतिबेला उनलाई यो नाम देविका रानीले दिइन्। अनि मार्लिनलाई पनि मार्लिन मुनरो नाम उनका धर्म पिता अल्बर्ट वेनेले दिएका हुन्। दुवैले पाएका यी नयाँ नामको प्रयोजन पनि एउटै थियो- सिनेमा जगतमा सहजै नोटिस हुनु र जनजिब्रोमा सजिलै झुण्डिनु!

खैर, यो त उपनामको चर्चा भयो जहाँ दुई नामको स्ट्राइकर अक्षर मिल्न गयो। अब यिनको असली नाम अर्थात् जन्मनामको चियो गरौँ। अँ, मधुबालाको बर्थनेम हो- मुमताज जेहान बेगम!

यस्तै, मार्लिनको बर्थनेम हो- नोरमा जिन मोर्टेन्सन (Norma Jeane Mortenson) ‘अ’ बाट सधैँ ‘अक्षर’ हुनुपर्छ छैन, ‘अ’ बाट कहिलेकाहीँ ‘अर्थ’ पनि त हुन पाउँछ! आउनुस्, हामी यी नामको अर्थ केलाऔँ।

पहिला बर्थनेमको पनि फर्स्ट नेमलाई लिऊँ। मुमताजको अर्थ हुनेरहेछ- उत्कृष्ट! यस्तै, नोरमाको अर्थ हुनेरहेछ- कुलीन! अब ‘अ’ पछि ‘आ’ बाट ‘आशय’तर्फ जाऊँ! के तपाईंलाई यी दुई नामको आशय एकै भएको आभास भयो?

अब मिडलनेमको पालो। मधुबालाको ‘जेहान’ लाई लिऊँ या त मार्लिनको जिन … आखिर दुवैको अर्थ एउटै- ईश्वरको कृपा! कतै यो पाइलैपिच्छेको संयोग पनि ईश्वरकै कृपा त होइन?

अनि लास्टनेम? भइगयो! केही चिज यस्ता हुन्छन् जसलाई नचलाउनु नै सुन्दर हुन्छ। यो भिन्नतालाई भिन्नता नै रहन दिँदा पो अघिल्ला संयोगहरूको विशेषता रहने हो। आखिर यति धेरै समानता खान र मोर्टेन्सनबीचमा देखिनुले नै यसरी नाम केलाउने जाँगर चलेको हो।

होइन भने, नाममा आखिर के नै पो राखिएको हुन्छ र?

३. करियर- ९ दुना १८

हुन पनि, नाममा के हुन्छ? जे हुन्छ त आखिर काममा पो हुन्छ। काम पनि हेर्नुस् न, दुवैले कसरी? को जानोस्? एकै रोज्न पुगेछन्- अभिनय! संयोगलाई कसैगरी यदि आकारमा ढाल्न मिल्थ्यो त सबैभन्दा बढी क्षेत्रफल ओभर्ल्याप्ड भएको यिनको जिन्दगीको अंश नै करियर हुन्थ्यो होला।

खैर, जन्मिँदा ७ वर्ष ढिलो जन्मिएकी मधुबाला नै करियर निर्माणमा भने छिटी देखिएकी छन्। आफ्नो पहिलो फिल्म मधुबालाले (बेबी मुमताजको नामबाट) बाल कलाकारका रूपमा ९ वर्षको उमेरमा खेलिन्। मार्लिनले भने (९ दुना?) १८ वर्षको उमेरमा मात्रै करियर सुरू गरिन्। करियर छिटै सुरू गरेकाले पनि होला मार्लिनको दाँजोमा मधुबालाले अन्दाजी ५० बढी फिल्महरूमा काम गरेकी छन्। मधुबालाले आफ्नो जीवनकालभरिमा ७३ बढी फिल्ममा काम गरिरहँदा मार्लिनले भने २९ फिल्म मात्रै दिन सकिन्। दुवै आ-आफ्नो समयका हाइयेस्ट पेड भए पनि परिवेशले यिनीहरूको आर्थिक जीवनमा पनि भिन्न भिन्न भूमिका खेलेको छ।

मधुबालाले बाँचेको परिवेशको कुरा गरौँ। भारतमा त्यो समय सिनेमा क्षेत्रमा महिलाहरूको प्रवेश हुनु सजिलो कुरा थिएन। त्यसमाथि महिलाले बुर्काले ढाकिनुपर्छ भन्ने मूल्यमान्यता राख्ने इस्लाम समुदायले त अहिले पनि सिनेमाजगतमा अरूका छोरीहरूलाई हेर्न रुचाए पनि आफ्नै छोरीहरूलाई देख्न सक्ने मानसिकता भने पर्याप्त बनाइसकेको छैन। र आजभन्दा शताब्दीअघि त भारतीय सिनेमाले प्रतिभावान अभिनेत्री पाउनु दुर्लभ कुरा हुन्थ्यो। यसका बाबजुद एक-से-एक अभिनेत्री भित्र्याउन भने भारतीय सिनेजगत सफल भएको कुरालाई पनि नकार्न भने सकिन्न। खैर, यस सफलताका पछाडि संघर्षका आफ्नै कथा होलान्। कमसेकम, अहिलेको जस्तो सजिलो पक्कै थिएन।

त्यस्तो दुर्लभ-विकट परिवेशमा सिनेमाको दैलो टेक्न पुगेका पोटेन्सियल अभिनेत्रीहरूलाई फर्किन नदिने एउटै काइदा थियो- दरिलो पारिश्रमिक! मधुबालाकै सिनेमा प्रवेशको कुरा गर्ने हो भने पनि उनका बाबुले सुरूमा इन्कार गरेकै हुन्। तर, राम्रो पारिश्रमिकको अफर भएपछि उनी छोरीको करियर कै लागि भनेर दिल्लीबाट बम्बई (हालको मुम्बई) आए। यसरी, संकिर्ण समाज भएकै कारणले केही त राम्रो भएको थियो। मधुबालाले बाँचेको परिवेशले कमसेकम अभिनेत्रीहरूको आर्थिक पक्षलाई सुरूदेखि नै सबल बनाउन सहयोग गर्यो।

उता अमेरिकी माहोल फेरि बेग्लै थियो। त्यहाँ महिलाहरूले काम गर्नु, फिल्म खेल्नुलाई त्यति आपत्तिजनक नजरले हेरिने थिएन। कमसेकम, त्यो परिस्थितिबाट अमेरिकी समाज केही कदम अगाडि बढिसकेको थियो। अर्को शब्दमा भनूँ भने, बलिउडको दाँजोमा हलिउडमा अभिनेत्रीहरूको लस्कर भेटिनु न ठूलो कुरो थियो न त नौलो नै!

खैर, मार्लिनजस्ती अभिनेत्री भने हलिउडका लागि समेत दुर्लभ नै थिइन्। तर, दुर्भाग्यवश यो कुरा मार्लिन आफैँलाई भने ढिलोगरी थाहा भयो। १५ बढी फिल्ममा काम गरिसकेपछि बल्ल मार्लिनलाई आफ्नो लोकप्रियता र मूल्यको हेक्का भयो। तब मात्र उनले आफ्नो पारिश्रमिक आफ्नो मेल को-याक्टरको सरह नै हुनुपर्ने माग राखिन्! ढिलोगरी आँखा खुलेको मार्लिनलाई, भनिन्छ कि, अझै पनि रोयल्टी आइरहन्छ!

४. भेनस गडेस एन्ड अ थिम फर अ सङ!

करियरकै कारण उनीहरू दुवैले विश्वभर ख्याती कमाए। यता मधुबालालाई ‘भेनस अफ इन्डियन सिनेमा’ को ट्याग मिल्दा उता मार्लिनलाई पनि ‘भेनस अफ हलिउड’ भनेर पुकारियो। दुवैका नाममा गीतहरू रचिए।

मधुबालाको नाममा ग्रिस गायक स्टेलिओस काजान्टिदिस (Stelios Kazantidis) ले लेखी गाएको गीत यतिबेला पनि इन्टरनेटमा भेट्न सकिन्छ। मधुबालालाई सम्बोधन गरी लेखिएको उक्त गीत आफ्नो समयमा यति हिट रह्यो कि सन् २००४ मा ग्रिसको राजधानी एथेन्समा भएको ओलम्पिक क्लोजिङ सेरेमनीको उपलक्ष्यमा ग्रिक गायकद्वय अन्ना भिसी (Anna Vissi) र एन्टोनिस रेमोस (Antonis Remos)ले सोही गीत प्रस्तुत गरेका थिए। ७० हजार बढी प्रत्यक्ष दर्शकहरूको माझमा उक्त गीत पर्फम गरिएको थियो। भनिन्छ कि, चीनबाट मात्रै ५२.६ मिलियन दर्शकले उक्त प्रस्तुति हेरेका थिए।

त्यसो त मार्लिन मुनरोका नाममा पनि विश्वका विभिन्न देशका विभिन्न गीतकार एवं गायकहरूले गीत कोरे-गाएका छन्। एल्टन जोनको ‘विन्ड अफ द केन्डल’, डेबी ह्यारीको ‘प्लाटिनम ब्लन्ड’, किचेन अफ डिस्टिङ्सन्सको ‘ह्वेन इन हेभन’ लगायत दर्जनौं गीत मार्लिन मुनरोका नाममा गाइएका छन्।

५. कुकुर सौख र समाजसेवा

९ र १८ एकअर्कामा मात्र सम्बन्धित होइनन्। यी अंक यी दुई डिभाका हकमा पनि सम्बन्धित रहे। अघि पनि भनेकै थिएँ, करियरको सुरुवात मधुबालाले ९ वर्षको उमेरमा गरिन् भने मार्लिनले १८ मा। तर, कुकुरको हकमा भने यो ९ र १८ को हिसाब ठ्याक्कै उल्टिएको छ।

कुकुर पाल्नु यी दुवैका लागि ठूलो सौखको विषय थियो। भनिन्छ, आफ्नो जीवनकालभरि मधुबालाले १८ वटा कुकुर पालेकी थिइन्। त्यस्तै, मार्लिनले पनि आफ्नो जीवनकालभरि जम्मा ९ वटा कुकुर पालेकी थिइन्।

योबाहेक दुवैलाई समाजसेवामा समेत उत्तिकै रुचि थियो। बाचुञ्जेल नै दुवैले च्यारिटी क्याम्पेनमा सक्रिय सहभागिता जनाइरहे। भनिन्छ दुवैले बालबच्चा, रोगी र विपन्नहरूलाई दिल खोलेर आर्थिक सहयोग गर्ने गरेका थिए।

६. रोग

रूपमा अतुलनीय र सीपमा बेबदल यी दुवै अभिनेत्रीको अर्को समानता हो- रोगग्रस्त जिन्दगी!

मुटुमा प्वाल लिएर जन्मिएकी मधुबालालाई पर्दामा हामी जति हँसमुख देख्छौँ उनले बाँचेको जिन्दगी उति नै कष्टपूर्ण थियो। रोगका कारण उनी सुटिङकै बीच पनि बेहोस भइराख्थिन्। नाक र मुखबाट रगत बगिरहन्थ्यो। जीवनको पछिल्लो कालखण्डमा त उनले आफूसँगसँगै अक्सिजन र निजी डाक्टर लिएरै हिँड्नुपर्यो।

रोगकै कारण यिनले आफ्नो हनिमुनमा समेत निजी डाक्टरलाई साथै लिएर हिँड्नुपर्यो। सानोतिनो बिराम हुन्थ्यो त आफ्नो नयाँ नयाँ दाम्पत्य बिथोल्ने रहर कसले पो गर्दो हो? आफ्नो नायक-गायक पति किशोर कुमारसँग लन्डन पुगिरहँदा पनि मधुबालाले आफ्नो डाक्टरलाई आफ्को छायाँ बनाई साथै लिएर हिँडिन्।

मधुबाला शारीरिक रोगसँग लडिरहँदा उता मार्लिन भने मानसिक रोगसँग लडिरहिन्। यातनापूर्ण बाल्यकाल भोग्दै हुर्किएकी मार्लिनमा बाइपोलार डिसर्डर, इन्सोम्निया आदिको सिकार भइन्। साथै, मानसिक पीडाबाट भाग्न उनले ड्रग्सको साहारा लिइन्। र त्यसैको लतबाट बच्न पछि उनले समेत थेरापी लिन पर्‍यो।

यी यावत समस्याले उनको शारीरिक र मानसिक स्वास्थ्य यतिसम्म ध्वस्त भइसकेको थियो कि जीवनको उत्तरार्द्धतिर उनले आफ्ना निजी डाक्टर (हाइमन इन्जलबर्ग) र निजी थेरापिस्ट (डा. राल्फ ग्रिनसन) लाई शुटदेखि भान्छामासमेत साथै लिएर हिँड्नुपर्ने अवस्था आएको थियो।

७. मातृत्व

कुनै पनि नारीका लागि आमा हुनु कति महत्त्व, गरिमा र व्यग्रताको विषय हुन्छ! तर, दुर्भाग्यवश! मधु र मार्लिन दुवै रोगका कारण नै आमा हुनबाट वञ्चित भए। सबै संयोगहरू सुखद कहाँ हुँदारहेछन् र?

मुटुको समस्या (Ventricular Septal Defect) का कारण मधुबालालाई डाक्टरले गर्भधारण गर्नबाट नै रोक लगाएका थिए।

त्यस्तै, मार्लिनले पनि गाइनोसम्बन्धी रोग (Severe Endometriosis) का कारण मातृसुखको अनुभूति लिन पाइनन्। उनले पटकपटक गर्भपात बेहोर्नुपर्‍यो। जसकारण उनको शारीरिक र मानसिक दुवै स्वास्थ्य झनझन कमजोर हुँदै गयो।

मार्लिनको गर्भपातको प्रसङ्ग निस्किरहँदा मधुबालाकी आमालाई पनि सम्झिऊँ! मधुबाला ११ सन्तानमध्येकी पाँचौं सन्तान हुन् जसको पहिलोपटक शिशुअवस्थामै मृत्यु भएन। हो, उनकी आमा आयसा बेगमबाट जन्मिएका उनीभन्दा अगाडिका चारै सन्तानको शिशु अवस्थामै मृत्यु भएको थियो।

८. पिता : कतै पासो, कतै चासो!

दुई फरक भूगोलबाट आएर पनि यति धेरै मेलानकलीलाई म्युचुअल प्वाइन्टमा पुगेर बाँचिरहेका यी दुई सिताराहरूबीच केही भिन्नता यस्ता पनि छन्। जुन भिन्नताबीच पनि एउटा समानता व्याप्त पाइन्छ। मानौँ मधु ९ हो भने मार्लिनले ११ हुनु पनि भिन्न हुनु जनाउँथ्यो! तर, मधुले ९ भइरहँदा मार्लिन १८ भइदिएकी छ जसले भिन्नतामा पनि एउटा संयोगको सम्बन्ध स्थापित गरेको छ। आउनुस्, एउटा त्यस्तै भिन्नताको संयोगको चर्चा गरूँ- पिता!

हो, मार्लिनको बाबू को थिए? आजसम्म पनि यो चासो र खोजीकै विषय हो। बचपनमा मार्लिनलाई उनकी आमा ग्ल्याडी बेकरले एउटा फोटो देखाउँदै भनेकी थिइन्- यही हो तेरो बाबु!

त्यही स्मृतिबाट मार्लिनले जिन्दगीभर आफ्नो बाब’को फोटोभित्रको त्यो अनुहार सम्झिने कोसिस गरिरहिन्। उनलाई आफ्नो बाबुजस्तो उमेरको जो देखे पनि आफ्न्सी बाबु हो कि? झैं लाग्थ्यो। बाबुको खोजीमा उनी यतिसम्म तल्लीन थिइन् कि भनिन्छ, मार्लिनले आफ्नो दिमागभित्र इमाजिनरी बाबु जन्माएकी थिइन् जोसँग उनी बोल्थिन्, आफ्ना भावनाहरू, पीडाहरू पोख्ने गर्थिन्। र पछिल्लो कालखण्डमा त उनलाई यो काल्पनिक बाबुले सिजोफ्रेनिक समेत बनाए। उनी हुँदै नभएको बाबुलाई यथार्थमै भेट्न जान्थिन्। खैर, बाबु भएको भए? एकै झलक देख्न पाएको भए? एकैपटक भेट्न पाएको भए? भन्ने तमाम अनुत्तरित प्रश्नलाई मार्लिनले आफूसँगसँगै चिहानमै लिएर गइन्।

तर, उता मधुबाला भने आफ्नो बाबुको प्रेमले ओतप्रोत भएर हुर्किइन्। बाबुको प्रेम मात्र नभएर मधुबालाको जिन्दगीमा बाबुको चर्को नियन्त्रण समेत रहने गर्थ्यो। कतिसम्म भने कुन फिल्म खेल्ने? कुन नखेल्ने? कोसँग काम गर्ने? कोसँग नगर्ने? मधुबालाका यस्ता सबै निर्णयहरू उनका बाबु अतुल्लाह खानले गर्ने गर्थे। उनीमाथि उनको बाबुको कतिसम्म नियन्त्रण थियो भने उनी शुटका बेलाबाहेक बाहिर निस्किनसमेत पाउने थिइनन्। अन्तर्वार्ताका लागिसमेत मधुबाला बाहिर निस्किन पाउने थिइनन्।

दिलीप कुमारसँगको ७-७ वर्षदेखिको प्रेमसम्बन्ध पनि भनिन्छ, उनकै बाबुका कारण टुट्न गयो। उनका बाबु र दिलीपकुमारबीच उत्पन्न समस्या कोर्टसम्म पनि पुग्यो। यही कारणले दिलीपकुमारसँग उनले सधैं एउटा दूरी बनाइरहन पर्‍यो र अन्तत: उनीहरूबीच पानी बाराबारको स्थितिसमेत आइलाग्यो। खैर …

सिसा हो या दिल हो आखिर टुट जाता है!

९. प्रेम, विवाह र वियोग

दिलीप कुमारसँगको प्रेममा मात्र होइन मधुबालाको दिल सिसासरी अनेक नाउँमा धेरैपटक टुटेको थियो। तीमध्ये केहीका किस्सा सम्झिन ठूलो मिहेनत गर्नुपर्दैन।

लतिफ, हरेकको जिन्दगीमा एउटा लतिफ हुन्छ- पहिलो प्रेम! निर्दोष र निस्वार्थ भइकन पनि यो प्रेम अधूरै छोडिन्छ। मधुबालाको बचपनको प्रेम लतिफपनि दिल्लीमै छुटे जब सिनेमामा करियर बनाउन उनी सधैँका लागि बम्बई आइन्। भनिन्छ, बसाइँ सरेर आउनेबेला मधुबालाले लतिफलाई रेड रोज उपहारमा दिइराखेर आएकी थिइन्। जुन रेड रोजलाई लतिफले सम्हालेर राखेका थिए। भनिन्छ, मधुबालाको मृत्युको खबर सुनेपछि लतिफ त्यही रेड रोज लिएर उनको चिहानमा पुगे। भनिन्छ, त्यो रोजलाई उनले मधुबालाको शवसँगै राखिदिए।

त्यसो त निर्देशक कमल अमरोहीसँग पनि मधुबालाको प्रेम निकै अघि बढिसकेको थियो भनिन्छ। अमरोही र मधुबालाबीच विवाहको कुरासम्म चलिसकेको थियो। उनीहरूको प्रेमसम्बन्धका विषयमा मधुका बाबु अतुल्लाहले पनि स्वीकारोक्ति जाहेर गरेका थिए। भनेका थिए- ‘यदि, भोलि गएर यिनीहरूले विवाह नै गरे भने पनि मलाई त्यसमा कुनै आपत्ति हुनेछैन।’

तर, पहिल्यै विवाहित अमरोहीले मधुबालाको शर्तअनुसार आफ्नी पहिलो पत्नी मीनाकुमारीलाई त्याग्न नसक्ने बताएपछि उनीहरूको प्रेम सम्बन्ध टुटेको थियो। साथै, यही कारण मधुबाला र मीनाकुमारीबीचको मित्रता पनि चिसिन पुग्यो! मधुबालाले न त अमरोहीलाई जीवनसाथी पाइन् न त बचपनदेखिकी साथी मीनाकुमारीलाई साथी राखिरहन सकिन्!

त्यसपछि, अभिनेता प्रेमनाथसँगको प्रेमको अन्त्य धार्मिक भेदका कारण भयो। भनिन्छ, पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टोसँग पनि मधुबालाको प्रेम थियो। मधुबालालाई नै हेर्न भनी भुट्टो मुगल-ए-आजमको सेटमा आइबस्थे! खैर, दिलीपकुमारसँगको सम्बन्धलाई दाउमा राखेर भुट्टोसँग मधुबाला नजिक भइरहन सकिनन्। तर, न त दिलीपकुमारसँगको यिनको प्रेम सफल भो न त रास्ट्रपति भुट्टोसँग फर्किने बाटो नै उनले भेटिन्।

अन्तिममा भारतीय संगीतका हस्ती गायक एवं अभिनेता किशोर कुमारसँग उनको विवाह भयो। तर, विवाह भएकै वर्ष उनको मुटु रोग डाय्ग्नोज भयो। त्यसपछि, किशोर कुमारले उनलाई आफूले हेर्न नसक्ने भन्दै माइत फिर्ता लगिदिए। महिना-दुई महिनामा भेट्न नपुगेका पनि होइनन् उनी, उपचार खर्च पनि बेहोरिदिएका हुन्। तर, मधुबाला जीवनभर जुन प्रेमका लागि भौंतारिइरहिन् आखिर उनका कुनै पनि प्रेमीले उनलाई त्यो प्रेम दिन सकेनन्। जस-जसलाई मधुबालाले चाहिन् कुनै न कुनै कारणवश तीबाट उनले सधैँ टाढा मात्रै हुनुपर्‍यो।

जग ने छिना मुझ से मुझे जो भी लगा प्यारा
सब जिता किया मुझ से में हरदम ही हारा

कतै जगजित सिंहको यो गजल इन्दिवरले ‘मधुबाला’ कै नाउँमा लेखेका त होइनन्?

त्यसो त प्रेम र दाम्पत्य सुख मार्लिनको भागमा पनि परेन।मार्लिन त अझै यौन तथा र घरेलु हिंसामा पनि परिन्। बाबु नचिनेकी र मानसिकरूपमा अस्वस्थ आमाकी सन्तान मार्लिन बाल्यकालमै धर्मपुत्रीका रूपमा ११ ठाउँ पुगिन्। विभिन्न अनाथालय चहारिन्। त्यसक्रममा उनी बाल्यकालमै यौन हिंसामा परिन् र यो क्रम कैश्वर्य र वयस्क हुँदै गर्दासम्म पनि रोकिएन।

उनको सबैभन्दा चर्चामा आएको सम्बन्ध भने अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीसँगको हो। अभिनेता पिटर लफोर्डले मार्लिन र केन्नेडीको परिचय गराइदिएका हुन्। र भनिन्छ, केन्नेडीले मार्लिनलाई खाली यौनवस्तुका रूपमा प्रयोग गरे र मन भरिएपछि आफ्नो भाइ रोबर्ट एफ केन्नेडीलाई समेत सुम्पिदिए। सुम्पिए भन्नु भन्दा पनि यहाँ ‘बाँडे’ भन्नुपर्दो हो!

नाटककार आर्थर मिल्लरसँग विवाह हुनुपूर्वसम्म मार्लिनको जीवनमा धेरै पुरुष आए तर उनलाई दु:ख, कष्ट, घाउ, चोट मात्रै दिएर गए।

मात्र १६ वर्षको कलिलो उमेरमा उनले आफ्नो छिमेकी पुलिस अफिसर जेम्स डहटीसँग विवाह गरिन्। सुरूमा सबैथोक ठीक भए पनि उनको श्रीमानको सरुवा भइसकेपछि र उनले पनि मोडलिङ गर्न थालेपछि उनीहरूबीचको प्रेम सामान्य आकर्षणसमेत बाँकी नरही खोक्रिँदै गयो। र मात्र ४ वर्षको अन्तरालमा उनीहरूको सम्बन्ध सकियो।

त्यसपछि सन् १९५४ मा २५ वर्षको उमेरमा तत्कालीन बेसबल स्टार जो डि म्याग्गिओसँग उनले दोस्रो विवाह गरिन्। तर, डि म्याग्गिओले मार्लिनमाथि अभद्र व्यवहार गर्ने र हातपात गर्नेजस्ता कामहरू गरे। दुईको सम्बन्ध टक्सिक रहन गयो। मार्लिनले के लगाओस्? के नलगाओस्? कोसँग काम गरोस्? कोसँग नगरोस्? डि म्याग्गिओ सबै कुरा आफ्नै नियन्त्रणमा राख्न खोज्थे। हरेक दिनको मानसिक यातना एवं शारीरिक हिंसा सहन नसकेर विवाहको मात्र ९ महिनापछि नै मार्लिनले डि म्याग्गिओविरुद्ध छोडपत्रका लागि मुद्दा हालिन्।

र त्यसको करिब १ वर्षपछि उनले नाटककार आर्थर मिल्लरसँग तेस्रो विवाह गरिन्। मार्लिनलाई ६ वर्षदेखि जान्दै आएका मिल्लरले विवाहअघि आफ्नो अघिल्लो श्रीमतीलाई छोडपत्र दिएका थिए। तर, जति नै प्रयास गर्दा पनि मार्लिनबाट सन्तान नभएपछि उनीहरूले पनि आफ्नो ८ वर्षको दाम्पत्यलाई तोडे। खैर, अघिअघिका सम्बन्धहरूबाट जस्तो मिल्लरबाट उनले घरेलु हिंसा वा मानसिक यातना भने भोग्नुपरेन। मिल्लरसँगको डिभोर्सको छोटो समयपछि नै मार्लिनको मात्र ३६ वर्षको उमेरमा मृत्यु भयो।

पुनश्च:

कहिलेकाहीँ सोच्छु, अमेरिकाजस्तो सम्भ्रान्त भनिएको, विकसित भनिएको, उदार भनिएको मुलुकमा पनि एउटी विश्वचर्चित अभिनेत्रीको जीवन यो हदसम्मको दयनीय कसरी हुनसक्छ? तुलनात्मक रूपमा हेर्ने हो भने अनुदार र परम्परागत भनिएको भुगोलमा मधुबालाले कमसेकम वस्तुसरह अपमानित जीवन जिउनु त परेन! शिरमाथि कसैको हात हुनु र नहुनुले कति फरक पार्नेरहेछ है?

मधुबाला र मार्लिन मुनरो! मुमताज जेहान र नोरमा जिन! समान मेलानकली बाँचेर पनि कति बेग्लै! अनि बेग्लै परिवेशमा बाँचेर पनि व्यथाहरू उस्तै!

नदीका यी दुई किनारा जो एक-अर्कालाई टाढैबाट देखेर आफैँ हुँ कि भनेर झुक्किरहन्छन्। जो ऐना हेरेझैं एक-अर्कालाई हेरेर रुझिरहन्छन्। त्यो नदी जसलाई यिनैले किनारा हालेका छन्, त्यो कतै यिनकै आँसुको बहाव त होइन?

पर्दा उठाएर त हेर मनुवा, देअर फ्लोज अ रिभर अफ मेलानकली!

Sriju Saral <[email protected]>


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved