आलेख

मनध्वज र सुकदेवहरूका नाममा

हिजो पञ्चायतमा मण्डले थिए । भूमिगत गिरोह थियो । आज लोकतन्त्रमा आसेपासे छन् । बिचौलिया छन् । त्यसैले राज्यको चरित्र उनीहरूको चरित्रसँग एकाकार भएर अपवित्र, मैलो र अर्थहीन भएको छ ।

मनध्वज र सुकदेवहरूका नाममा

पटक-पटक सुन्नुपर्ने र सुनाउनुपर्ने केही प्रसंगहरू छन् । पहिलो प्रसंग छ माइतीघर, काठमाडौको ।

माइतीघरमा दैनिकजसो धर्ना, जुलुस र प्रदर्शन चलिरहन्छन् । कहिले उखुकिसान धर्ना बस्छन् र पसिनाको मूल्य माग्दछन् । कहिले मिटरब्याज पीडित माइतीघर आउँछन् र आँसुका कथा सुनाउँछन् । कहिले सहकारी पीडित आउँछन् र लालाबालाको नाना लुटिएको गीत गाउँछन् । कहिले आउँछन् फाइनान्सको चक्रव्यूहमा परेका निर्धा गाउँलेहरू । कहिले माइतीघरमा बलात्कारमा परेकी बालिकाको चित्कार सुनिन्छ, कहिले सुनिन्छ द्वन्द्वपीडितका पीडा र आक्रोश ।

असाध्यै चर्को घाम लागेको दिन पनि उनीहरू धर्नामा आउँछन् । झमझम पानी परेको दिन पनि उनीहरू धर्नामा आउँछन् । यी सबै प्रदर्शनमा एउटा साझा चित्र देखिन्छ । त्यो के भने, त्यहाँ उभिने मान्छेहरूको अनुहारमा हाँसो छैन । आक्रोश छ भित्र कतै र अपमानको पीडाले जलेको छ मन । माइतीघर धाउनेहरूको कथा सुन्दा लाग्छ, हाम्रो समाज आँशुको आहालमा डुबेको छ । न त राम्रो खाना छ, न त शौचका लागि पाइखाना । जो पीडित छ, उ परित्यक्त छ । जो पीडक हो उ दिनदहाडै राज्य, कानुन र प्रणालीलाई गिज्याउँदै मगनमस्त धन्दामा छ । अन्याय चलेकै छ । ठगी चलेकै छ । आश्वासन चलेकै छ । एउटा जिम्मेवार र लोकतान्त्रिक राज्यमा यस्तो अन्याय निरन्तर चल्न सम्भव हुन्छ कसरी ? ठगहरू राज्यका मालिक हुने र गरिबले प्रत्येक क्षण सास्ती पाउने देशमा समाजवाद बन्छ कसरी ?

दोश्रो प्रसंग छ मेरो मित्र सुकदेव महतोको । ऊ पूर्वी मधेसमा बस्छ । उसलाई राजनीति गर्ने पटक्कै फुर्सद छैन । राजनीतिको कुरा गर्दा उल्टो मलाई हकार्छ र भन्छ– ‘गफ गर्ने समयमा तरकारी रोप’ । उसले दश कठ्ठा भाडाको जमिनमा तरकारी लगाएको छ । समयअनुसार कहिले कोभी फलाउँछ, कहिले खुर्सानी । कहिले लौका फलाउँछ, कहिले टमाटर । जसै बारीमा लहलह तरकारी फल्छ, उ सपना देख्न थाल्छ । सपना उही एकधरो लुगा, दालभात र औषधिमुलो । केटाकेटीको फिस र आफ्नै ऐलानीमा सानो घर । तर, जब तरकारी किन्न बारीमा कथित व्यापारी (ठेकेदार) आउँछ, उ झसंग हुन्छ।

बारीमा उसको कुनै तरकारीको मूल्य तोकिन्छ १० रुपैयाँ किलो । त्यही तरकारी जब भान्सामा पुग्छ, त्यसको दाम पर्छ ११० रुपैयाँ । तरकारी फलाउने र खानेका बीचमा जुन सय रुपैयाँ हराउँछ, त्यो कहाँ जान्छ ? यो अंकको जादू न कृषिमन्त्रीलाई थाहा छ, न सरकारलाई । तर, यो जादू सर्वत्र छ ।

किन झस्कन्छ सुकदेव ? किनभने उ पहिलो दिनबाटै ठगिन थाल्छ । मानौँ, बारीमा उसको कुनै तरकारीको मूल्य तोकिन्छ १० रुपैयाँ किलो । त्यही तरकारी जब भान्सामा पुग्छ, त्यसको दाम पर्छ ११० रुपैयाँ । तरकारी फलाउने र खानेका बीचमा जुन सय रुपैयाँ हराउँछ, त्यो कहाँ जान्छ ? यो अंकको जादू न कृषिमन्त्रीलाई थाहा छ, न सरकारलाई । तर, यो जादू सर्वत्र छ । प्याजमा छ । लसुनमा छ । दाल र चामलमा छ । सुकदेव र सुकदेवहरू आजित हुन्छन् । न त अर्जी गर्ने ठाउँ छ, न त न्याय दिने राज्य।

सुकदेव त मात्र एउटा प्रतिनिधि नाम हो । खासमा यो ति हजारौँ निर्धा किसानहरूको कथा हो जो प्रत्येक साल घाटाको खेती गर्दछन् र सिंहदरबारलाई तरकारी खुवाउँछन् । तर, उनीहरू प्रत्येक साल गरिब र झन् गरिब हुँदै जान्छन् । कृषिको अनुदान कुम्ल्याउँछ अर्कैले, तरकारीमा घाटा खान्छ वास्तविक किसान । यो के भएको हो ? यो प्रश्नको जवाफ राज्यसँग छ ? छ भने, राज्यको खातामा कहाँ लेखिएको छ सुकदेव महतोको सपना ?

तेश्रो प्रसंग छ, मनध्वज विकको । जो पश्चिम दार्चुलामा बस्छ । झण्डै तीन वर्षअगाडि सेतीपारि भेट भएको ऊ मसँग बेलामौका म्यासेन्जरमा कुरा गर्छ । र, सुनाउँछ आफ्नो प्रवासको कथा । उसको प्रवास हो, भारतको कुमाउ, गडवाल, नैनीताल र त्यसमाथिका लेकहरू । प्रत्येक वर्ष उ र उसका साथीहरू कालीपारी काम गर्न जान्छन् । कोही स्याउ टिप्छन् । कोही बगैंचा गोड्छन् । कोही भारी बोक्छन् । कोही मोहल्लाहरूमा खबरदारी गर्छन् । केही होटेलको भुई पुस्छन् । कोही गोर्खा र कान्छा बन्छन् । प्रत्येक साल आफ्नो राष्ट्रवादलाई बन्धकी राखेर उनीहरू पसिना बनाउँछन्, थोरै रुपैयाँ जोहो गर्दछन् र घर फर्कन्छन् ।

यस्ता लाखौं मनध्वजहरूसँग नभनिएका अनेकौं कथाहरू छन् । रोजगारी नपाएका कथा । अपमान, भोक र विभेदका कथा । न त ती कथाहरू राज्यले सुन्छ, न त राजनीतिले । यी यस्ता कथाहरू हुन्, जुन कथाहरू सुनेर पग्लन्छन् कोशी, काली, सेती र कर्णालीहरू । तर, राज्यको मन कहिल्यै पग्लदैन ।

युवा अधिकारकर्मीहरू भन्छन्– नेपाली युवाको बेरोजगारी दर संसारमै उच्च छ । तर, पछिल्ला दशकमा कति उद्योग खुले ? कति रोजगारी खुल्यो ? कति बने ठूला परियोजना ? युवा श्रमलाई विदेशमा बेचेर सरकार विप्रेषणमा मस्ती मार्छ सिंहदरबारमा । न लाज छ, न सरम । सरकारले सुरु गरेको रोजगार कार्यक्रम ‘टिकटक’ बनाउँदै र ‘सेल्फी’ खिच्दैमा सकिन्छन् । न उत्तरदायित्व, न जिम्मेवारी बोध।

नागरिकका दुःखका कथालाई ‘रातो कार्पेट’ले छोपेर राज्य चर्को स्वरमा सत्ताको सफलता सुनाउँदै भन्छ– गज्जब हुँदैछ । उता मनध्वजहरू चिच्याउँदै सोध्छन्–के गज्जब हुँदैछ ? मनध्वज र राज्यका बीचमा जुन विरोधाभाष छ, त्यो विरोधाभाष किन देख्दैन हाम्रो राजनीति ? किन बुझपचाउँछ हाम्रो राज्य ?

सम्झौँ त, बितेका एक दशकमा राज्यले भीआईपीका नाममा कति उपचार खर्च गर्‍यो ? ठूलाहरू ज्वरो आउँदा राज्यको खर्चमा सिंगापुर, बैंकक वा दिल्ली धाउँछन् । तर देशमा न गतिलो अस्पताल बन्यो न सजिलै उपचार हुन्छ । भर्खरै राष्ट्रपति महोदयका नाममा राज्यले यता आधा करोड खर्च गर्‍यो, उता गाउँमा सिटामोल छैन ।

एक दिन गौशालाबाट पशुपतिनाथ मन्दिरतिर जाँदै गर्दा एउटी अभागी आमासँग भेट भयो । यो निकै अगाडिको कुरा हो । उमेरले ६५-६६ वर्षजस्तो लाग्ने ती आमाका आँखामा भर्खरै थामिएका आँसुका डोब प्रष्ट थिए । उनको छेउमा आधा खुट्टा कुहिएर झर्न लागेको ४० वर्ष जतिको पुरुष थियो । सायद उ असाध्यै पीडामा थियो त्यसैले मौन थियो । आफ्नो जवान छोराको उपचार गर्न एउटा खसी, कानका टप र बुहारीको पाउजू बेचर काठमाडौं छिरेकी ती आमालाई भाग्यले साथ छोडेको थियो । अस्पतालले बिरामीको खुट्टा काट्न भन्यो । तर, खुट्टा काट्न पैसा थिएन । त्यसैले हारेर उनीहरू गाउँ फर्किंदै थिए । बेखर्ची थिए । बसको टिकट काट्न पैसा माग्नुबाहेक उनीहरूसँग अरु कुनै उपाय थिएन ।

सम्झौँ त, बितेका एक दशकमा राज्यले भीआईपीका नाममा कति उपचार खर्च गर्‍यो ? ठूलाहरू ज्वरो आउँदा राज्यको खर्चमा सिंगापुर, बैंकक वा दिल्ली धाउँछन् । तर देशमा न गतिलो अस्पताल बन्यो न सजिलै उपचार हुन्छ । भर्खरै राष्ट्रपति महोदयका नाममा राज्यले यता आधा करोड खर्च गर्‍यो, उता गाउँमा सिटामोल छैन । एउटै देश, उस्तै नागरिकता, उही राष्ट्रियता र उस्तै मान्छे तर राज्यको ब्यवहारमा किन यतिधेरै विभेद ?

माथिका सन्दर्भहरू केही प्रतिनिधि मुलक मात्र हुन् । मुख्य कुरा हो मान्छेको कष्ट । किसान झन् गरिब र अझ गरिब हुँदैछन् । श्रमिकको श्रमको मूल्य छैन । भुइँमान्छेका दुःख उस्तै छन् । युवाहरूको पलायन र निराशा अझ चर्को छ । न विश्वविद्यालय गतिला छन् न अस्पताल र कलेज । पूर्वाधार छैन, उत्पादन छैन । मात्र फष्टाउँदो छ बिचौलियाको बजार र कमिसनको खेती ।

किन यस्तो भयो ? पटक-पटक आन्दोलन गरेर स्थापित राजनीतिक व्यवस्थाले हाम्रो जीवनलाई किन बदल्न सकेन ? किनभने, राजनीति फेरियो, तर राज्यको चरित्र उस्तै रह्यो । परिणाम, हाम्रो राज्य दलालहरूको बन्यो, वास्तविक नागरिकको राज्य बनेन । नेतृत्वमा राजनीतिक निष्ठा हरायो, सत्ता, शक्ति र सम्पत्तिको उन्माद चढ्यो । राजनीति, पार्टी र नेतृत्वमा यति धेरै सत्ता लिप्सा र अहंकार हावी भयो कि, आफ्नै इतिहासको भारी उठाउन पनि त्यसले सकेन । विस्तारै भ्रष्टाचार राजनीतिको आमप्रवृत्ति बन्यो ।

यिनै नीतिगत तथा संरचनागत कमजोरीको फाइदा उठाउँदै राज्यको शिखरमा बस्न पुग्यो दलाल र बिचौलिया जमात । जसले दलहरू, सरकार, प्रशासन, न्यायक्षेत्र सबैसँग साँठगाँठ गर्‍यो र राज्यको लोकतान्त्रिक चरित्रलाई नै फेरिदियो । त्यसपछि हाम्रो राज्य बन्यो– बिचौलिया राज्य । यसरी लोकतन्त्र दलतन्त्र बन्यो । र, हाम्रो समाजवाद बन्यो आसेपासे समाजवाद ।

त्यो यस्तो जमात हो, जो औपचारिक सरकारको काँधमा बस्छ र काँधमै दिसा गर्छ, काँधमै पिसाब फेर्छ । जसले सरकारलाई मात्र दुर्गन्धित बनाउँदैन, सबै औपचारिक संरचना, प्रणाली, राज्य र राजनीतिलाई नै दुर्गन्धित, मैलो र विश्वासहीन बनाइदिन्छ ।

अहिले हेर्दा हामीसँग दुईटा सरकार छन् । पहिलो देखिने सरकार । दोश्रो, नदेखिने सरकार । एउटा औपचारिक सरकार छ । जसको प्रधानमन्त्री छन् । उनीसँग केही मन्त्रीहरू छन् । कर्मचारी प्रशासन छ । विभिन्न औपचारिक राज्य संरचनाहरू छन् ।

दोश्रो छ, अनौपचारिक सरकार । अनौपचारिक सत्तामा (सरकार) छन् तिनै बिचौलियाहरू । त्यो यस्तो जमात हो, जो औपचारिक सरकारको काँधमा बस्छ र काँधमै दिसा गर्छ, काँधमै पिसाब फेर्छ । जसले सरकारलाई मात्र दुर्गन्धित बनाउँदैन, सबै औपचारिक संरचना, प्रणाली, राज्य र राजनीतिलाई नै दुर्गन्धित, मैलो र विश्वासहीन बनाइदिन्छ ।

बिचौलिया सत्ताको रजगज कस्तो छ, त्यसलाई देख्न कुनै रहस्य पर्गेल्नु पर्दैन । मात्र केही प्रश्नहरूमा विचार गरे पुग्छ । जस्तो एनसेल काण्ड कसरी सम्भव भयो ? ठूला करदाताहरूको कर कसरी मिनाह गरियो ? कहाँ जान्छ ठेक्कापट्टाको कमिसन ? ठूला परियोजनामा ऋण र कमिसनको चलखेल गर्ने को थिए ? कसरी हाम्रो वायुसेवा धारापमा पर्‍यो ? वाइडबडी काण्डका नायक को थिए ? शरणार्थी प्रकरणको जालो कसले बुन्यो ?

कुरा अरू पनि छन् । जस्तो सडक समयमा बन्दैन, पुल बन्नासाथ भाँचिन्छ र अस्पतालमा आएका मेसिनहरू आँगनमै खिया पर्छन् । बजेटभित्र पसेर करको दरमा हेरफेर गर्छ कुनै महाजन । तर, दोषीलाई किन कारबाही हुँदैन ? यही त जादू हो, जहाँ हातको सफाइ गर्दछन् बिचौलियाहरू र ढाकछाेप गर्छ हाम्रो सरकार।

किन यस्तो भयो ? किनभने यो भ्रष्ट राज्य हो । जसको शिखरमा छन् केही हजार मान्छेहरू । जो आफ्नो लुटको स्वर्ग बनाउन, देश, राज्य र लोकतन्त्रमाथि बेइमानी गरिरहेका छन् । यी तिनै मान्छेहरू हुन् जो कुनै बेला भूमिगत गिरोहका नाममा पञ्चायत चलाउँथे, त्यसपछि प्रजातन्त्र र आज लोकतन्त्र चलाउँछन् ।

किन यस्तो भयो ? किनभने यो भ्रष्ट राज्य हो । जसको शिखरमा छन् केही हजार मान्छेहरू । जो आफ्नो लुटको स्वर्ग बनाउन, देश, राज्य र लोकतन्त्रमाथि बेइमानी गरिरहेका छन् । यी तिनै मान्छेहरू हुन् जो कुनै बेला भूमिगत गिरोहका नाममा पञ्चायत चलाउँथे, त्यसपछि प्रजातन्त्र र आज लोकतन्त्र चलाउँछन् । मात्र मान्छे फेरिए र उनीहरूको नाम भूमिगत गिरोह रहेन । तर, काम उही र लुट उही ।

सिंहदरबार, बालुवाटार र राजधानीका थप केही दरबारहरूमा निर्बाध आउजाउ गर्ने त्यो समूहमा मानौं हजार मान्छेहरू छन् । ती हजार मान्छेहरूसँग छन् मानौं एकलाख आसेपासेहरू । यो देश तिनै एकलाख मान्छेहरूको स्वर्ग हो । उनैका मालिकले चलाउँछन् यो देश । तीन करोड मान्छेको भाग्य र भविष्य तिनै बिचौलियाहरूले निर्धारण गर्दछन्, हाम्रो लोकतन्त्र मुक दर्शक बन्छ र हेरिरहन्छ ।

अवस्य नै ०५१ सालको विद्रोहले भूमिगत गिरोह र बिचौलिया सत्तामा थोरै हलचल त ल्यायो, तर ०६३ ले फेरि पुनर्स्थापित गरिदियो । फेरि सुरु भयो तिनैको रजगज । तिनैको चञ्चलाश्री ।

को हुन् ती मान्छेहरू ? ती तिनै मान्छेहरू हुन् जो ठुल्ठूला अन्तराष्ट्रिय परियोजनाहरूको मध्यस्थता गर्दछन् । जो आयात निर्यातको नियम बनाउँछन् । ठेक्का पार्छन् । ठेक्का बाँड्छन् । ती तिनै मान्छेहरू हुन् जो राज्यबाट उपचार खर्च लिन्छन् । ती तिनै मान्छेहरू हुन् जो कालोधन र सेतोधनको व्यापार गर्छन् । उनीहरूले अडिट गर्नुपर्दैन । बेरुजु फर्स्योट गर्नुपर्दैन । राज्यलाई दायित्व तिर्नुपर्दैन । ती तिनै मान्छेहरू हुन जो वाइडबडीमा पनि छन्, ललिता निवासमा पनि । ती तिनै मान्छेहरू हुन् जो सरकारी सुविधा लिन्छन् ।

जो सरकारी सुरक्षामा हिँड्छन् । ती तिनै मान्छेहरू हुन् जो राज्यदोहनको षड्यन्त्र बुन्छन् र त्यसमाथि समाजवादको लेप लगाउँछन् ।
ती तिनै मान्छेहरू हुन् जसको न त किसानसँग कुनै साइनो छ, न त विपन्नसँग । बिचौलिया सत्ताले न त सुकदेव महतोको दुःख देख्छ, न त मनध्वज विकको ।

उनीहरूलाई न त मिटरब्याज पीडितको चिन्ता छ, न त सहकारी पीडितको । हाम्रो लोकतान्त्रिक सत्ता आज तिनै बिचौलियासँग अवैधानिक साँठगाँठ गर्छ र लोकतन्त्रको हुमर्त उडाउँछ । हाम्रो लोकतान्त्रिक सत्ताले आफ्नो सम्पूर्ण गरिमा तिनै मुठ्ठिभर बिचौलियाको पाउमा समर्पित गरेको छ । कस्तो दुर्भाग्य ?

निष्कर्ष के हो ? हिजो पञ्चायतमा मण्डले थिए । भूमिगत गिरोह थियो । आज लोकतन्त्रमा आसेपासे छन् । बिचौलिया छन् । त्यसैले राज्यको चरित्र उनीहरूको चरित्रसँग एकाकार भएर अपवित्र, मैलो र अर्थहीन भएको छ ।

यसको अर्थ के हो ? यसको अर्थ हो विगतका अन्दोलनहरूले राज्यको स्वरूप मात्र फेर्‍यो, चरित्रमा पञ्चायतको दाग मेटिएको छैन । स्वरूपमा राजा हटेको हो, चरित्रमा राजा अझै केन्द्र देखी टोलसम्म राज गर्छ । हामीले राज्यको स्वरूप त बदल्यौँ, तर चरित्र फेरिएन । त्यसैले, त यो बहुदलीय पञ्चायत हो । यो दलतन्त्र हो । अथवा यो हो आसेपासे समाजवाद । यो लोकतन्त्र होइन ।

दर्शनशास्त्रमा स्वरूप र चरित्रका सम्बन्धमा महत्त्वपूर्ण व्याख्या गरिएको पाइन्छ । दार्शनिक अभिमतले भन्छ कि वस्तुको भौतिक स्वरूपले चरित्रको अभिव्यक्ति गर्दैन । स्वरूपमा जतिसुकै रंगरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक मात्र । यो अभिमत पदार्थमा मात्र नभई समाज विज्ञान र राजनीतिमा पनि उसरि नै लागू हुन्छ । यसको अर्थ के भने, हाम्रो राज्यको चरित्र फेर्न आवश्यक छ । अन्यथा उपरिसंरचना र स्वरूपमा देखिने लोकतन्त्रले परिणाम दिँदैन ।

नभुलौं, शासकीय स्वरूप निश्चय नै महत्त्वपूर्ण छ । तर, यो मुख्यतः नेताहरूको शक्ति संघर्ष र महत्त्वाकांक्षासँग सम्बन्धित हुन्छ । नागरिकलाई त जनमुखी चरित्रको राज्य निर्माण नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

अन्तिम कुरा, बिचौलिया राज्यको मायावी चमत्कारबाट हाम्रो राजनीति कहिले मुक्त होला ? अथवा, हाम्रो राज्य मनध्वज र सुकदेवहरूको राज्य कहिले बन्ला ? जब त्यस्तो होला, त्यही दिन राज्यको चरित्र बदलिने छ । ध्यानमा राखौं, समृद्धि, सुशासन र समाजिक न्याय भाषण गरेर मात्र प्राप्त हुँदैन । यो कविता लेखेर पनि आउँदैन । चुट्किला भनेर त झन् आउने कुरै छैन ।

खासमा तमासा वा फन्डाले समृद्धि मिल्दैन । यो राज्यको चरित्रले निर्धारण गर्ने बहुआयामिक परिणाम हो । अन्यथा बिचौलिया राज्यले जतिसुकै फुर्ति लगाए पनि नयाँ परिणाम आउँदैन । वस्तुतः राज्यको चरित्र फेरौं, धेरै कुरा त्यसले आफैँ फेर्नेछ ।

[email protected]


Comment

2 thoughts on “मनध्वज र सुकदेवहरूका नाममा

  1. मुख्यकुरा राज्यको चरित्र फेर्नु हो।- गाँठी कुरा।
    राज्यको चरित्र फेर्न राज्यको सञ्चालन गर्ने मेसिन उत्पादकमा रुपान्तरण जरुरी छ, तदनुसार राज्य सञ्चालनका प्रकृया र पद्धतिमा आमूल परिवर्तन जरुरी छ।
    मेसिन उत्पादक बहुदलीय शासन भनिएको देशमा दलहरु नै हुन।दलहरु निमुखा किसान र वैदेशिक रोजगारी वा स्वास्थ्य असहायको मातहतमा छन् कि बिचौलीयाको मातहतमा? यो प्रश्नको निरुपण गर्न र चल्न सन्देश दिनुभएकोमा केशवजीलाई धन्यवाद।
    दलका नाइकेहरु वाध्यतामा यसरी जकडिएका छन कि मुक्त हुन साह्रै कठिन छ।त्यसैले उपचार होइन कि दर्द निवारक ओखती उदरस्थ गरिरहेका छन।त्यो ओखती प्रचार,रङ्गबिरङ्गी सपना र हुल्लड आख्यानको रुपमा प्रकट भइरहेको छ।मुक्त बनौँ।

  2. आजको नेपालको यथार्थ चित्र । लेख मन पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved