गठबन्धनका दश बेइमानी

एमाले-माओवादीको कुरा गर्दा उनीहरू एक ठाँउमा आउने कुनै नैतिक र राजनीतिक कारण देखिँदैन । अवश्य नै कम्युनिष्टहरूको एकताका लागि मनग्गे सैद्धान्तिक कारण थिए र छन् । तर, हिजो एमाले-माओवादीहरू जसरी विभाजित भए, त्यसले उनीहरूबीचको सैद्धान्तिक एकतालाई पनि ठाउँ राखेको देखिँदैन ।

गठबन्धनका दश बेइमानी

जयबोलो बेइमानकी

हामी केही साथीहरू दाङ जिल्लाको लमहीमा बसेर नयाँ सत्ता गठबन्धनमाथि चिन्तन गरिरहेका थियौँ । यो यही फागुन २१ गतेको कुरा हो । त्यसै सन्दर्भसँग जोडेर मित्र प्रशान्त सिंहले बडो गजबको हिन्दी गीत सम्झाए । बेइमान फिल्मको त्यो गीतले भन्छ— न इज्जतकी चिन्ता, न फिकर कोही अपमानकी । जयबोलो बेइमानकी, जय बोलो बेइमानकी । …उस्से आँखा मिलाए क्या, हिम्मत है सैतानकी । जयबोलो बेइमानकी । जयबोलो बेइमानकी ।

त्यो दिन हामी नागरिक पहिलो अभियानअन्तर्गत, लमहीको कार्यक्रममा थियौँ । भेला आयोजना गरिएको थियो । र, त्यहाँका सहभागी फागुन २१ को अदलाबदली र प्रचण्डको चरित्र देखेर जिल परेका थिए । के भन्ने ? न त भन्नका लागि राजनीति बाँकी थियो, न त एजेन्डा ।

भेलामा सहभागी कतिपयको विश्लेषण थियो— प्रचण्ड नेपाली राजनीतिका सर्वाधिक बेइमान र पल्टुराम पात्र हुन् । कहिले यता पल्टन्छन्, कहिले उता । यिनी सर्वाधिक अस्थिर छन् । प्रचण्डले, नेपाली राजनीतिलाई विकृत, सङ्कीर्ण र अविश्वासनीय बनाउन सबैभन्दा धेरै योगदान गरेका छन् ।

भेलामा उपस्थित प्रचण्डकै एक पूर्वसहकर्मी भन्दै थिए— प्रचण्डको न त सिद्धान्तप्रति निष्ठा छ, न त आफ्नै बाचा प्रति जवाफदेहिता छ । यिनले आफ्नै सहयोद्धाप्रति पनि बेइमानी गरेका छन् । किसान, मजदुर र आधारभूत तहका नागरिकप्रति यिनमा कुनै संवेदनशिलता र प्रेम छैन ।

प्रचण्डप्रति मान्छेले निकै तितो टिप्पणी गरिरहेका थिए । यस्तो लाग्थ्यो कि नेताहरू जसरी सोच्छन्, मान्छेहरूले त्यसरी सोच्न छाडेका छन् । नागरिकमा आलोचनात्मक चेत जागृत हुँदैछ । त्यसैले त मान्छेहरू प्रचण्डलाई प्रश्न गर्दै थिए ।

उनीहरूका प्रश्न थिए— निर्वाचनमा प्रचण्डले के भनेर कांग्रेससँग गठबन्धन गरे ? तत्कालीन नेकपाको विभाजनपछि एमालेप्रति प्रचण्डको टिप्पणी के थियो ? कांग्रेससँग स्वार्थ मिलेको बेला उनले बोल्ने भाषा कस्तो थियो ? धेरै परको कुरा छोडौँ, मात्र एक हप्ता अगाडि यो (पुरानो) गठबन्धन पाँच वर्ष जान्छ भनेर प्रचण्ड स्वयम् कसरी उफ्रिँदै थिए ?

मान्छेहरू हिसाब गरेर बसेका थिए र भन्दै थिए— आफ्नै बाचा र भाषाप्रति बेइमान नेताबाट के आशा गर्ने ? घोखाघडीको योभन्दा निकृष्ट राजनीति अरु के हुन्छ ?

शान्ति प्रकृयासँगै नेपाली राजनीतिमा उदाएका प्रचण्डका अगाडि अनेकन् अवसर आए र गए । उनले आफूलाई अब्बल प्रमाणित गर्ने अवसर त गुमाए नै स्वयम् आफैँलाई समेत नष्ट गरे । अवश्य नै, उनी पटक-पटक प्रधानमन्त्री भए । तर, त्यसका लागि उनले हिँडेको बाटो यति धेरै घृणायोग्य बन्यो कि सायद, उनलाई देखेर उनकै विगतलाई लज्जाबोध भएको होस् ।

दुईमत छैन कि राजनीतिमा सत्ता चाहिन्छ । तर, राज्यसत्ता भन्दा ठूलो हुन्छ नैतिकसत्ता, इमानको सत्ता र विश्वासको सत्ता । प्रचण्डले त्यो सबै सत्ता गुमाए र फगत हासिल गरे बदनामीको एकथान चिसो कुर्सी ।

प्रश्न आउँछ, त्यसो भए के पछिल्लो गठबन्धनको कुनै राजनीतिक अर्थ छैन ? राजनीतिक अर्थ छ । तर, नकारात्मक । किनभने यो गठबन्धनले राजनीतिक बेइमानीको मानक निर्माण गरेको छ, सुसंस्कृत र लोकतान्त्रिक राजनीतिको धज्जी उडाएको छ ।

यहाँ म यो लेखमार्फत पछिल्लो सत्ता गठबन्धनले निर्माण गरेका दशवटा बेइमानी सुनाउन चाहन्छु । मलाई लाग्छ, इतिहासको नकारात्मक परिघटनाबाट आगामी दिनले सिकोस् । त्यसका लागि पनि यी बेइमानी बताउनैपर्छ ।

पहिलो बेइमानी

पछिल्लो सत्ता गठबन्धनले राजनीतिमा अर्को एउटा अवसरवादको मानक स्थापित गरेको छ, त्यो हो— नागरिकको मतमाथि बेइमानी । यसको अर्थ, हिजो निर्वाचन अगाडि गरिएको कांग्रेस-माओवादी वा एमाले-राप्रपाको मिलेमतो ठीक थियो भनिएको होइन । न त यसो भनेर कांग्रेसप्रति अतिरिक्त मोह राखिएको हो । स्पष्ट हुनैपर्छ, निर्वाचन अगाडिको अप्राकृतिक गठबन्धन र अङ्कगणित, अराजनीतिक र अलोकतान्त्रिक प्रयोग हुन् ।

तर, खास सन्दर्भमा (ठीक, बेठिक जे भए पनि) हिजो कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिले । मिलेरै निर्वाचन लडे । त्यो बेला, उनीहरूले जे भनेर आफ्नो सहकार्यलाई स्थापित गर्ने प्रयत्न गरे, प्रचण्डको पछिल्लो सत्ता पलटले त्यसलाई खण्डित गरेको छ ।

पार्टी कार्यकर्तालाई अर्को दलको निर्वाचन चिह्नमा भोट हाल्न लगाउने, त्यसरी नै मत सेयर गर्ने र निर्वाचन जितेपछि त्यसको अवमूल्यन गर्ने, यो कस्तो राजनीति हो ? एकथोक भनेर भोट माग्ने, जितेपछि अर्को थोक गर्ने ? यो चरम विश्वासघात हो । एउटा एजेन्डामा भोट माग्ने र अर्को एजेन्डा बोकेर सत्तामा जाने, योभन्दा निम्नकोटिको राजनीति के हुन्छ ?

हालैको कुरा हेरौँ, राष्ट्रिय सभाको निर्वचनमा लेनदेन गर्ने, अनि धोका दिने । पालैपालो प्रधानमन्त्रीको बाचा गर्ने अनि अरुको पालो आउन लाग्दा गठबन्धन नै तोडिदिने । सत्ताका लागि यतिधेरै निच कसरी हुनसक्छन् मान्छेहरू ?

एकहप्ता अगाडि मात्र यो गठबन्धन पाँच वर्ष टिक्छ भनेर आफैँ भाषण गर्ने प्रचण्ड, अर्को हप्ता कसरी पल्टुराम बने ? उनको यो अदलीबदलीलाई न त कतै कुनै तर्कले पुष्टि गर्दछन्, न त तथ्यहरूले । यो कुनै एक व्यक्ति प्रचण्डको मात्र कुरा थियो भने ठीकै थियो । तर, यो हाम्रा शासकहरूको प्रवृत्तिको कुरा हो । यो लोकतान्त्रिक राजनीतिलाई गिजोल्ने र अस्थिरतालाई ‘स्पेस’ दिने नालायकीको कुरा हो । यो जनआन्दोलनलाई बदनाम गर्ने कुरा हो । अतः यस्तो प्रवृत्तिलाई आलोचना नगरी कसरी बस्न सकिन्छ ?

अझ ठूलो आश्चर्य त यो छ कि पुरानो गठबन्धनलाई मत हाल्ने नागरिकलाई घोका दिइँदैछ भन्ने कतै स्वीकारोक्ति छैन । न त कतै क्षमायाचना छ, न त लज्जाबोध । एक दिन यता पल्टिएको छ, अर्को दिन उता पल्टिएको छ । आफ्नो चरित्रलाई ‘ग्लोरिफाई’ गर्ने दासहरूको जयगान सुनेको छ र आनन्दले रमाएको छ । यो कस्तो राजनीति हो, जहाँ मात्र षड्यन्त्र, धोकाघडी र बेइमानी चल्छ, इमान चल्दैन ।

दोश्रो बेइमानी

यो गठबन्धनले अस्थिरताको नयाँ शृङ्खला थपेको छ । विचार गरौँ त, वर्ष-वर्षमा सरकार परिवर्तन गरेर हाम्रो लोकतन्त्र कसरी संस्थागत र सबल हुन्छ ? किनभने सङ्घीय सरकार अस्थिर हुँदा राज्य अस्थिर हुन्छ । प्रदेशहरू अस्थिर हुन्छन् । राज्य संरचना अस्थिर हुन्छन् । नीति र योजनाहरू अस्थिर हुन्छन् ।

विचार गर्नुपर्ने कुरा के भने सरकार बन्ने र ढल्ने कुरा दलहरूको निजी कुरा होइन । गठबन्धन बनाउने र भत्काउने कुरा पनि दलहरूको निजी कुरा होइन । यो देशको छवि र प्रतिष्ठाको कुरा हो । यो राज्यलाई कसरी स्थायित्व दिने भन्ने कुरा हो ।

तर, पछिल्लो प्रकरणले हाम्रो आन्तरिक राजनीति त खज्मजियो नै, विश्व राजनीतिमा समेत हामी अझ पत्रु देखियौँ । यो खेलले हाम्रो दल, नेतृत्व र राज्यको विश्वमञ्चमा बदनामी भएको छ । सत्ताका लागि नाङ्गै नाचेर हाम्रो राजनीतिले कसरी इज्जत बचाउला ?

तेश्रो बेइमानी

सत्ता गठबन्धनमा संलग्न दलहरूले गरेको सहमतिपत्र हेर्दा लाग्छ, उनीहरूको कुनै राजनीतिक सङ्कल्प, सपना र नवीन योजना छैन । यो मात्र भागबन्डाको तमसुक हो । जस्तो कि सहमतिमा कतै पनि देशका आर्थिक, सामाजिक र राजनीतिक सङ्कट समाधान गर्ने प्रस्ताव छैनन् । न त महँगीको कुरा छ, न त बेराजगारीको । न त भ्रष्टाचार अन्त्य गर्ने सङ्कल्प छ, न त प्रशासनिक सुधार र सुशासनको योजना ।

सहमतिको पहिलो नम्बरमा प्रधानमन्त्री प्रचण्ड हुने भनिएको छ । दोश्रो, बुँदामा राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमाले हुने भनिएको छ । अर्को बुँदामा छ, चारदलले मन्त्रालय भागबन्डा गर्ने सहमति । चौथौ बुँदामा छ, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउने कुरा । पाँचौँ बुँदामा छ, सङ्घीयता कार्यान्वयनको । छैटौँ बुँदा छ, न्यूनतम साझा कार्यक्रम बनाउने । सातौँमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुरा छ भने आठौँमा छ, देशको स्वाधीनता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढ गर्ने अमूर्त सहमति ।

न्यूनतम साझा कार्यक्रम र सङ्कल्प नबनाइ कसरी यी दल एक ठाँउमा आइपुगे ? किनभने उनीहरूको साझा कार्यक्रम छ फगत सत्ता । राजनीतिमा विचार, मुद्दा कार्यक्रम, नीति र सङ्कल्पको स्थानमा फगत सत्तालाई जसरी स्थापित गर्न खोजिँदैछ, त्यो नेपाली राजनीतिकै लागि बेइमानी हो ।

चौथो बेइमानी

एमाले-माओवादीको कुरा गर्दा उनीहरू एक ठाँउमा आउने कुनै नैतिक र राजनीतिक कारण देखिँदैन । अवश्य नै कम्युनिष्टहरूको एकताका लागि मनग्गे सैद्धान्तिक कारण थिए र छन् । तर, हिजो एमाले-माओवादीहरू जसरी विभाजित भए, त्यसले उनीहरूबीचको सैद्धान्तिक एकतालाई पनि ठाउँ राखेको देखिँदैन ।

सुन्नै नसकिने भद्दा गाली, आरोप-प्रत्यारोप, सत्ताको दुरुपयोग । उनीहरूले राजनीतिलाई यति धेरै विकृत बनाए भनिसाध्य छैन । हिजो उनीहरूको एकताले पनि देशलाई घाटा दियो र विभाजनले पनि ।

तर, देशलाई उनीहरूले दिएको त्यो क्षतिका लागि न त कतै एमालेले माफी माग्यो, न त माओवादीले । न त कतै उनीहरूमा त्यो आरोप-प्रत्यारोपका लागि लज्जाबोध देखियो, न त पश्चाताप । आफ्नो कमजोरीप्रति क्षमायाचना नगरी उनीहरूबीच गठबन्धन हुनु अर्को बेइमानी हो ।

खास भन्नेहो भने अस्थिरताका लागि नेपालका कम्युनिष्टहरू जति धेरै बदनाम छन्, त्यो अर्थमा यो गठबन्धन कम्युनिष्टहरूको निधारमा लागेको अर्को कलङ्क हो । जसले भन्छ, कम्युनिष्टहरू सबैभन्दा पदलोलुप र अविश्वासनीय हुन्छन् ।

त्यसो त नेपाली समाजलाई भत्काउन र भाँड्नमा माओवादीहरू सबैभन्दा धेरै दोषी छन् । समाजमा जुनखाले राजनीतिक उदण्डता पन्छिँदै गयो, त्यसका मुख्य कारण हुन् उनीहरू । जसले नेपाली समाजको मौलिक ज्ञान निर्माणको प्रक्रियालाई बिथोले र विवेकको हुर्मत लिए । मान्छेका सामाजिक र सांस्कृतिक आस्थाहरूमाथि जसरी प्रहार भयो, त्यसले हाम्रो सामाजिक लय नै खल्बल्यायो । मान्छेका निजी मामलामा पार्टीलाई प्रवेश गराइ जसरी हस्तक्षेप गरियो, त्यसका मुख्य दोषी हुन् माओवादीहरू ।

पछिल्लो दशकमा समाजलाई उदारताबाट सङ्कीर्णतातिर लैजाने जुन प्रयत्न भए त्यसमा दोषी छन् माओवादीहरू । नेपाली राजनीतिलाई तर्क र तथ्यबाट निकालेर पूर्वाग्रहको भुङ्ग्रोमा जसरी हालियो, त्यसका लागि सबैभन्दा ठूलो योगदान कसैले गरेका छन् भने त्यो माओवादीले नै हो ।

यतिमात्र होइन, सत्ताको दलीयकरणमा कम्युनिष्टहरूको र विशेषतः माओवादीको जुन हात छ, त्यो सबैभन्दा माथि छ । समाजको पार्टीकरणमा कम्युनिष्टहरूले सबैभन्दा ठूलो योगदान गरेका छन् । त्यसैले त हाम्रो समाज पूर्वाग्रहले भरिँदै गएको छ र लोकतन्त्र दलतन्त्रमा फेरिएको छ ।

यो अर्थमा कम्युनिष्टहरू जति धेरै ठूला हुन्छन्, त्यति नै हाम्रा सङ्कटहरू बढ्दै जानेछन् । कम्युनिष्टहरू जति धेरै गठबन्धन गर्दछन्, हाम्रा समस्याहरू गिजोलिँदै जानेछन् । अतः आजको आवश्यकता न त कम्युनिष्टबीचको गठबन्धन हो, न त एकता । बरु आजको आवश्यकता हो, कम्युनिष्टहरूको लोकतान्त्रिकरण वा कम्युनिष्टहरूको वैचारिक, सङ्गठनात्मक र सांस्कृतिक पुनर्गठन ।

कम्युनिष्टहरूको लोकतान्त्रिकरणमा अवश्य नै, एमालेको निकै ठूलो योगदान थियो र छ । तर, जब एमाले-माओवादी एक ठाँउमा उभिन्छन् लोकतन्त्रिकरणको त्यो प्रक्रिया अवरुद्ध हुन पुग्छ । बरु उल्टो, उनीहरू राज्य, राजनीति र देशलाई अझ हस्तक्षेप गर्ने प्रतिस्पर्धामा उत्रिनेछन् । र, दुर्भाग्यका साथ भन्नुपर्छ, त्यो प्रतिस्पर्धालाई एक वा अर्को कोणबाट साथ दिन बाध्य हुनेछ रास्वपा ।

पाँचौँ बेइमानी

यो गठबन्धन जसरी बन्यो, त्यसले दलहरूभित्रको आन्तरिक लोकतन्त्रलाई अझ नाङ्गेझार बनाएको छ । किनभने न त पुरानो गठबन्धन तोड्ने राजनीतिक र वैचारिक विमर्श दलहरूभित्र देखियो, न त गठबन्धनमै । प्रचण्डले न त पुरानो गठबन्धनमा आफ्ना असन्तुष्टि राखे, न त सहयात्रीहरू बीच नै यथोचित विमर्श भयो ।

नयाँ गठबन्धन किन आवश्यक भयो ? नयाँ गठबन्धनका एजेन्डा के हुनुपर्छ ? यी प्रश्नमा न त एमालेको केन्द्रीय समितिमा छलफल भयो, न त माओवादीमा । न त रास्वपामा, न त जसपामा । सबै काम यसरी भयो कि मानौँ यो देश मात्र एक दर्जन मान्छेहरूको बिर्ता हो ।

सत्ता षड्यन्त्रको योभन्दा विकृत रूप अरु के हुन्छ ? यो मतदाताहरूप्रतिको अपमान त हो नै, यसले सम्बन्धित पार्टीका नेता र कार्यकर्तालाई पनि अपमान गरेको छ ।

छैटौँ बेइमानी

यी तमाम घटनाले राजनीतिको बृहत्तर लक्ष्यलाई अवमूल्यन गरेर राजनीतिको केन्द्रमा स्थापित गरिदियो फगत सत्ता अर्थात् राजनीतिको साध्यलाई इन्कार गरियो । साधन हाबी भयो ।

सबैलाई थाहा छ, राजनीति र सरकार अलग कुरा हो । राजनीतिले सुदूर भविष्य देख्छ । राजनीतिले निष्ठा र गरिमाबारे विचार गर्छ । राजनीतिले नैतिक सीमाको सम्मान गर्छ । तर, जब एउटा नेता सिंहदरबार पुग्नुलाई नै अभिष्ट ठान्दछ त उसले गर्ने राजनीति कस्तो हुन्छ ?

इतिहासलाई घोका । वर्तमानलाई घोका । भविष्यलाई घोका । अनेकन् धोकाधडीको एउटा उदाहरण हो यो परिघटना ।

सातौँ बेइमानी

राजनीतिमा दलहरू हुन्छन् । दलहरू जन्मनु, हुर्कनु र आफ्नै सामर्थ्यबाट राज्य सत्तालाई बदल्न प्रयत्न गरिरहनु स्वाभाविक हुन्छ । लोकतन्त्रमा दलहरूको स्थान निर्धारण हुन्छ जनमतबाट । तर, जब षड्यन्त्र र अङ्कगणितको चलखेल प्रखर बन्छ, तब जनमतको कुनै अर्थ हुँदैन । अर्थ हुन्छ, फगत षड्यन्त्र र तानातानको ।

परिणाम, ठूला दल सत्ता राजनीतिको कुनामा पुग्छन् र हाबी हुन्छन् साना दल । परिणाम राज्य र राजनीतिमा ठूला दलहरूको भूमिका कमजोर बन्दै जान्छ । मुख्य दलहरूलाई सत्ताको खास भूमिकाबाट पृथक राखेर साना-तिना दलहरूको प्रभावमा सरकार गठन र विघटन हुनु सुखद कुरा होइन । यो लोकतन्त्र, जनमत र जनअपेक्षाको मानमर्दन हो ।

आठौँ बेइमानी 

आफ्नै बाचाप्रति धोकाधडी यो गठबन्धनको अर्को चरित्र हो । यसमा पुराना दलहरू त यसै बदनाम थिए, रास्वपासमेत त्यो बदनामीको हिस्सेदार बन्न पुग्यो । रास्वपाबाट नयाँ, सुसंस्कृत र वैकल्पिक राजनीतिको अपेक्षा गर्नेहरूका लागि यो निकै दुखद् हो ।

उदाहरणका लागि, रवि लामिछानेले (रास्वपा) गत आमनिर्वाचनमा लगाएको नारा थियो— ‘नो नट अगेन, बाहरू घर बस !’ यहाँ ‘बा’को अर्थ के हो, सबैलाई थाहा छ । खासमा रास्वपाले पुरानो सम्पूर्ण पुस्तालाई राजनीतिबाट बिदा दिनुपर्ने प्रस्ताव गरेको थियो । त्यसैले उ लोकप्रिय पनि भयो र मतदाताले सायद त्यही नाराको प्रभावमा उसलाई मतदान गरे ।

तर, भयो के ? रास्वपा पहिलोपटक एमाले अध्यक्ष ओलीको काँध चढेर प्रचण्ड सरकारमा गयो । चुनावअघि एउटा कुरा, चुनावपछि अर्कै कुरा । दुर्भाग्यवश, खास परिस्थितिमा रास्वपा सरकारबाट निस्कियो । मान्छेलाई लाग्यो कि रास्वपा अब सप्रनेछ । सिक्नेछ । दूरगामी महत्त्वका राजनीतिक, वैचारिक र सङ्गठनात्मक काममा आफूलाई केन्द्रित गर्ने छ । सुसंस्कृत राजनीतिको जग बलियो बनाउनेछ ।

सायद, नागरिकको यही अपेक्षालाई सम्बोधन गर्न हुनुपर्छ । रवि लामिछानेले एउटा ट्वीटमा भनेका थिए— अब यो चार वर्ष तपाईंहरू नै मिल्नुस् । हामीबाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । हामी ८४ अगाडि कोहीसँग मिल्दैनौँ । तपाईंहरू सबै मिलेर रास्वपाविरुद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ?

तर, भयो के, आफ्नै बाचा र प्रतिबद्धताविपरीत नयाँ गठबन्धनको सिद्धान्तहीन लेनदेनमा रास्वपा फेरि रमायो । आफ्नै बाचाप्रति बेइमानी गर्ने राजनीतिको रास्वपा स्वयम् हिस्सेदार भयो ।

रास्वपामै लागू हुने अर्को पनि उदाहरण छ । केही अगाडि बालकुमारीमा एउटा दुखद् घटना भयो । एउटा प्रदर्शनमा प्रहरीको गोली लागी दुई युवा मारिए । मृत्यु हुने युवाको पक्षमा भएको प्रदर्शनमा सहभागी रास्वपा सांसद डा. तोसिमा कार्कीले हातमा प्लेकार्ड लिएर भन्दै थिइन्— सत्र हजार प्लस दुई ।

तिनै तोसिमाको पार्टी रास्वपा प्रचण्डका अगाडि घुँडा टेक्न पुग्यो कसरी ? हालै सार्वजनिक भएको शहीदको सूची एकपटक प्रश्न नगरी ल्याप्चे लगायो कसरी ? पुराना बा र बाका पार्टीहरूप्रति रास्वपाको यो समर्पणले अनगिन्ती प्रश्न उठाएको छ । के त्यसको जवाफ रास्वपाले दिनसक्छ ?

नवौँ बेइमानी 

यो गठबन्धनले ‘कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट’ को पनि धज्जी उडाएको छ । जस्तो कि सबैलाई थाहा छ, रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी प्रकरणमा सार्वजनिक शङ्कामा छन् । पछिल्लोसमय उनलाई समेत मुछेर (गोर्खा मिडिया प्रालि र कतिपय सहकारी) आर्थिक घोटालामा छानबिन गर्न निवेदन परेको छ । उनका साझेदारमध्ये कोही नेपाल प्रहरीको खोजीमा छन्, कोही इन्टरपोलको ।

यस्तो बेला लामिछाने स्वयम्‌लाई गृहमन्त्री दिन गठबन्धन कसरी तयार भयो ? लामिछाने स्वयम् गृहमन्त्री हुन कसरी तयार भए ? सुशासनको कुरा गर्ने र सुसंस्कृत राजनीतिको दुहाइ दिने रास्वपा स्वयम् त्यसका लागि कसरी तयार भयो ? के कन्फ्लिक्ट अफ ईन्ट्रेष्टको मुद्दा रविको हकमा लागू हुँदैन ?

दशौं बेइमानी

रास्वपाको सत्ता आरोहणसँगै वैकल्पिक राजनीतिको अर्थ र औचित्यमाथि फेरि प्रश्न उठेका छन् । यो गठबन्धनले निर्माण गरेको अर्को अपसकुन हो । रास्वपाजस्ता नयाँ दलले राजनीतिक पुनर्गठन र नवीनताका लागि योगदान गर्नुपर्नेमा सत्तालोभमा लहसिँदा राजनीतिक पुनर्गठनको औचित्य कमजोर हुन जाने धेरैको आकलन छ ।

यसै सन्दर्भमा आलोचनात्मक चेत भएका (हनुमानहरू होइन) मान्छेहरू भन्दछन्— रास्वपा जहाँ गयो र जे भयो, यो त उही पुरानै राजनीतिको निरन्तरता भयो । यो राजनीतिको कुनै नयाँ, वैकल्पिक र सुसंस्कृत बाटो होइन । यही बाटोमा हिँडेर हिजो उपेन्द्र, माधव, प्रचण्ड, कमल थापा र देउवाहरू यहाँ आइपुगेका हुन् । जुन बाटो नर्कतिर जान्छ, त्यही बाटो हिँडेर रविहरू स्वर्ग पुग्छन् कसरी ?

विचार गरौँ त, एउटा शासक आफ्नो कुर्सी जोगाउन राजनीतिका सम्पूर्ण नियम तोड्छ त त्यसले बनाउने राजनीतिक सभ्यता कस्तो हुन्छ ? एउटा नेता राजनीतिका सम्पूर्ण नैतिक मानक तोड्दै कहिले यता पल्टिन्छ त कहिले उता, उसले देखाउने राजनीतिको बाटो हुन्छ कस्तो ? एउटा शासक स्वयम् आफ्ना बाचा र प्रतिबद्धतामाथि बेइमानी गर्छ भने त्यसले गर्ने राजनीति कस्तो हुन्छ ?

यो न त पुरानो गठबन्धन टुटेको चिन्ता हो, न त नयाँ गठबन्धन बनेकोमा बेखुसी । यो नेपाली राजनीति चरित्रच्युत हुँदै गएकोमा व्यक्त गरिएको चिन्ता हो । किनभने यस्तो विकृत र बेइमान राजनीतिले हामीलाई कतै पुर्‍याउँदैन ।

अन्तिम कुरा दीर्घकालीन राजनीतिको आँखाबाट हेर्दा गतहप्ता नेपाली सत्ता गठबन्धनमा जसरी वल्टिपल्टी भयो, त्यसले न त प्रचण्डलाई फाइदा गर्छ, न त माओवादीलाई । यो नेपाली कम्युनिष्टहरूलाई थप बदनाम बनाउने एउटा निर्लज्ज परिघटना हो । दीर्घकालीन राजनीतिका लागि यो प्रकरणले कांग्रेसलाई भन्दा कम्युनिष्टहरूलाई धेरै घाटा गर्नेछ । तर, पछिल्लो प्रकरणले सबैभन्दा धेरै घाटा गर्नेछ रवि र रास्वपालाई । र, अवसरलाई चिने भने यो सम्पूर्ण प्रकरणमा सबैभन्दा धेरै नाफा हुनेछ गगनहरूलाई ।

प्रश्न उही छ, के रविले रास्वपालाई यो बाटो हिँडेर पुगिने पतनको पहिरोमा झर्नबाट जोगाउलान् ? अथवा, आफ्नै इतिहासको भारी बोक्न नसकेर थिलथिलो भएको कांग्रेसलाई के गगनले यो अवसरमा नयाँ, ताजा र जीवन्त बनाउँलान् ? जवाफका लागि भने केही समय पर्खिनैपर्छ ।[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved