आलेख

पञ्चतन्त्रको मुसो र हाम्रो राजनीति

जब सत्ता सामुन्ने आउँछ, के एमाले, के कांग्रेस, के माओवादी, के नयाँ सबै एकै हुन् । र, फरक-फरक पार्टी एकै जस्तो देखिनु आजका लागि नेपाली राजनीतिको सबैभन्दा ठूलो दुखान्त हो ।

पञ्चतन्त्रको मुसो र हाम्रो राजनीति

मुसाको कथाः

पञ्चतन्त्रमा एउटा रोचक कथा छ, मुसाको कथा । कथामा एकजना ऋषि छन् । ऋषिसँग साधारण कुटी छ र छ एउटा दानपात्र । ऋषि प्रत्येक दिन भीक्षाटनमा जान्छन् र फर्किएर सधैँ दानपात्रलाई आफ्नो विश्रामकक्षसँगै अलिक अग्लो स्थानमा झुन्ड्याउँछन् । राति कुटीमा एउटा मुसो आउँछ र उफ्रिएर दानपात्रमाथि चढ्ने गर्दछ । मुसो निकै माथिसम्म उफ्रिन्छ ।

पत्याउँदोगरी उफ्रिन्छ, लगभग अविश्वासनीय उचाइसम्म उफ्रिन्छ । त्यसपछि दानपात्रमा आरामले बस्छ र त्यसलाई रित्याउँछ ।

मुसाको फूर्ति र शक्ति देखेर ऋषिलाई आश्चर्य लाग्छ । आखिर मुसाको शक्तिको श्रोत के होला ? ऋषि गम्न थाल्दछन् । एकदिन ऋषि आफ्नो शिष्यलाई बोलाउँछन् र मुसाको दुलो पत्ता लगाएर खन्न आदेश दिन्छन् । त्यसै गरिन्छ । दुलो खन्दै जाँदा त्यसको अन्त्यमा यथेष्ट हिरा, मोती, जवाहरातसहितको गाडधन भेटिन्छ ।

गाडधन निकालिन्छ । जब, गाडधन निकालिन्छ, अर्कोपल्टदेखि मुसो कसैगरी उफ्रिएर दानपात्रमा चढ्न सक्दैन । ऊ शक्तिहीन हुन्छ । कथाले संकेतमा भन्छ— गाडधन थियो, त्यसैले मुसो शक्तिशाली थियो । जब गाडधन निकालियो, मुसो शक्तिहीन भयो ।

यहाँ मुसो एक प्रवृत्ति हो ।

नेपाली राजनीतिमा मुसाको आफ्नै स्थान छ । त्यतिमात्र हैन, नेपाली राजनीतिमा मुसा प्रवृत्तिको खास अर्थ छ । त्यसैले यहाँ मुसाको कथालाई स्मरण गर्नु र राजनीतिसँग जोड्नु गजबको काम हो । किनभने हाम्रा केही नेताको परिचय नै ‘मुसा प्रवृत्ति’ बाट निर्माण भएको छ ।

जस्तो कि सिद्धान्तको हुर्मत लिएर कोही वल्लो पार्टी र पल्लो पार्टी गर्छ भने त्यसलाई नेपाली राजनीतिमा मुसा प्रवृत्ति भनिन्छ । कोही आफ्नै पार्टीको जहाजमा बसेर त्यही जहाजलाई दुलो पार्न र डुबाउन उद्यत हुन्छ भने त्यसलाई मुसा प्रवृत्ति भनिन्छ । प्रजातन्त्रकालमा यो सरकार र त्यो सरकारगर्ने केही पात्र निकै चर्चित थिए, जसलाई मुसा प्रवृत्ति भनिन्थ्यो ।

लगभग दुई वर्ष अगाडि मात्र एउटा दुष्ट मुसाले अर्थ मन्त्रलयको सीसीटीभी फुटेज नै काटेर अर्को निर्लज्ज काम गरेको थियो । त्यो आफैँमा नयाँखाले मुसा प्रवृत्ति थियो ।

यी मुसा को हुन्, राजनीतिमा चासो राख्ने सबैलाई थाहा छ । उनीहरुको शक्तिको श्रोत के हो भन्नका लागि पञ्चतन्त्रको कथा काफी छ । जसले भन्छ— उनीहरुको शक्तिको श्रोत हो भ्रष्टाचारबाट आर्जन गरेको गाडधन, जसले राजनीतिका मुसालाई यतिधेरै बलियो बनाएको छ कि उनीहरु निकै माथिसम्म उफ्रिन सक्छन् । तर, फरक यो छ कि ऋषिको आश्रममा मुसालाई उफ्रिन भिक्षापात्र थियो, राजनीतिमा सत्ता छ । त्यसैले राजनीतिका मुसा हर्दम सत्ताको सिंहासनमा चढेर उल्कापात मच्चाउन माहिर छन् ।

नकारात्मक प्रेरणाः

पञ्चतन्त्रको कथा सन्दर्भलाई एकछिन यही विश्राम दिउँ । र, एकैछिन नेपाली राजनीतिको शक्ति र प्रेरणा श्रोत खोज्न लागौँ । त्यसका लागि केही भूलभूत प्रश्नमा प्रवेश गरौँ । जस्तो, राजनीतिको प्रेरणा के हो, ज्ञान हो कि विवेक हो ? परिवर्तनको संकल्प हो कि, उच्चतम् मानवीय भावना ? विचार हो कि मुद्दा हो ? कि हो सत्ता र सम्पत्ति ? कि हो बजार र नाफा ?

मेरा एक मित्र छन् एमाले । उनी भन्छन् —कुनै बेला एमालेको राजनीतिक प्रेरणा ‘जनताको बहुदलीय जनवाद’ थियो । अहिले त्यो सत्ता र सम्पत्तिमा रूपान्तरित भयो । त्यसैले अहिले ‘जबज’ स्वयम् बजारमा बेच्न राखिएको छ । जसलाई कहिले दुर्गा प्रसाईंले किन्छन् त कहिले विनोद चौधरीले । कहिले राजेन्द्र खेतानले किन्छन् त कहिले मोती दुगडले । जसलाई बेचेर नेता कमाउँदैछन् सत्ता र सम्पत्ति ।

आफ्नै नेताको गाडधनमोह देखेका ती कमरेड भन्छन्— त्यसैले एमाले, पार्टीजस्तो रहेन । यो नाफाखोर केहीको क्लब बन्यो । नाफा खोज्नेलाई के जबज, के समाजवाद । फगत बेच्नलाई वस्तु चाहियो र समाउनलाई चाहियो या त सत्ता र शक्ति, या त कमिसन ।

यसैगरी, औपचारिक बहसमा माओवादीका भन्छन्, “माओवाद नेपाली क्रान्तिको अजेय शक्ति हो ।” तर, त्यहीभित्र मुसाको रजगज यस्तो छ कि मुसाले जब क्रान्तिको रातो तार काटेर इजार बनाइदिन्छ, तब पनि क्रान्ति जोगाउन कोही निस्कँदैन । विचार गरौँ त, माओवादीभित्रको त्यो शक्ति के हो, जसले अर्थ मन्त्रालयमा दिनदहाडै मुसा प्रवेश गराउँछ र खाइदिन्छन् सीसीटीभी फूटेज ।

कांग्रेसी मित्र झन् के कम, उनी भन्छन्, “लोकतान्त्रिक समाजवाद नै नेपाली कांग्रेसको प्राणवायु हो । जसका प्रेरणा हुन् महामानव बीपी ।” इटहरीमा भेटिएका एकजना कांग्रेस नेता भन्छन्, “यी त सब दुनियाँलाई भन्ने कुरा मात्र हुन् । कांग्रेसले ओढ्ने बीपी चिन्तनको खास्टोलाई मुसाले खाइसक्यो ।”

कुरा पुरानाका मात्र छैनन् । नयाँमा पनि विस्तारै मुसा चल्बलाउँदै छन् र काण्ड उद्घाटित हुँदैछन् । मुसा समातिन्छन् कि उदण्ड छोडिन्छन् त्यो भने हेर्न बाँकी छ ।

यसको निष्कर्ष हो, अहिले एमाले एमाले रहेन । माओवादी माओवादी रहेन । ‘बीपी’ले जे भने कांग्रेसले त्यसो गर्दैन । जब सत्ता सामुन्ने आउँछ, के एमाले, के कांग्रेस, के माओवादी, के नयाँ सबै एकै हुन् । र, फरक-फरक पार्टी एकै जस्तो देखिनु आजका लागि नेपाली राजनीतिको सबैभन्दा ठूलो दुखान्त हो ।

उपयोगवादको जालो :

किन सबै दल एकैजस्ता लाग्दछन् ? किनभने उनीहरुको चरित्र एउटै छ । कसरी चरित्र एउटै छ ? किनभने उनीहरुको गुरु एउटै छ । को हो हाम्रा दलको गुरु ? विचार गरौँ । नेपाली राजनीतिको पछिल्लो गुरु हो ‘बजारवाद’ । यहाँ बजारवादको अर्थशास्त्रीय परिचर्चा गर्न खोजिएको होइन । बरु नेपाली राजनीतिमा हुर्कँदो ‘उपयोगवादी’, ‘दलाल’ र ‘नाफाखोर’ चरित्रको उद्घाटन गर्न खोजिएको हो । जो हेर्दा ठ्याक्कै दलाल पुँजीवादको राजनीतिक संस्करणजस्तो लाग्दछ ।

किनभने नेपाली राजनीतिका चरित्र यस्ता छन्, जो ‘उपयोगवादी’, ‘दलाल’ र ‘नाफाखोर’ पुजीवादसँग ठ्याक्कै मिल्छन् । जस्तो यसले सिन्डिकेटमा विश्वास गर्छ । यो नाफामुखी छ । यो सत्ता र सम्पत्तिमा आशक्त छ । मानवीय संवेदनालाई यसले वस्तु ठान्दछ । यो उपयोगवादी छ । यो विज्ञापनमा विश्वास गर्छ ।

चामलमा कनिका मिसाएर बेच्नु यसको चरित्र हो । ‘अर्थशास्त्रको बजारवादको केन्द्रमा हुन्छ, नाफा । राजनीतिको बजारवादमा केन्द्रमा आउँछ फगत सत्ता ।’

जब, बजारवाद राजनीतिको प्रेरणा बन्छ, तब के हुन्छ ? स्वभावतः यसले जनताको अधिकार, भावना र सार्वभौमिकताको मूल्य निर्धारण गर्छ । यसले राजनीतिका आदर्शलाई प्रवर्द्धन गर्दैन । किनभने बजारमा आदर्श बिक्री हुँदैन । जब राजनीतिको एकमात्र लक्ष्य सत्ता र सम्पत्ति बन्छ, बुझे हुन्छ राजनीति राजनीति हुँदैन, व्यापार हुन्छ ।

बजारको अभिन्न अङ्ग हो, उपयोगीतावाद । उपयोगीतावादका विषयमा अनेक बहस छन् । यसमा प्रशंसा गर्ने र गाली गर्ने दुवै पाइन्छन् । बेंथम (१७४६-१८३२) र स्टुअर्ट मिल (१८०६-१८७३) जस्ता दार्शनिक उपयोगीतावादलाई बजारको सकारात्मक चालक शक्ति मान्दछन् । तर, यहाँ कुरा हुँदैछ, राजनीतिक उपयोगवादको । जब, राजनीतिमा उपयोगवाद आम प्रवृत्ति बन्छ, गडबडी त्यहीँबाट सुरू हुन्छ ।

आलोचक मान्दछन् कि राजनीतिक उपयोगवादले ‘सिद्धान्त, आस्था र मूल्य-मान्यता’ सँग सत्ताको सौदाबाजी गर्छ । किनभने उपयोगवाद कसैको मित्र हुँदैन । भन्छ, उपयोगमा आउने हरेकलाई प्रयोग र उपयोग सकिएपछि फालिदेउ अर्थात् ‘युज एण्ड थ्रो’ । यसले उपयोगभन्दा धेरै जान्दैन सिद्धान्तको उपयोग । मुद्दा केहीको उपयोग । मान्छेका भावनाको उपयोग ।

उपयोगवाद र राजनीतिमा के फरक छ ? मानौँ, थारो गाई पोस्नु हुँदैन भन्नु उपयोगवाद हो । थारो गाईलाई पनि संरक्षण गर्नु राजनीति हो । उपयोगवादी घाटाको कामै गर्दैनन् । वस्तु र विवेकमा भेद गर्दैनन् । किनभने उपयोगवादीसँग मन हुँदैन । लौकिक सत्ता र स्वार्थका लागि हरेकलाई प्रयोग गर्नु उपयोगवाद हो ।

उपयोगवादको मुख्य दुर्गुण के भने, यसले राजनीतिलाई मानवीय पक्षबाट अलग गर्दछ । यसले राजनीतिलाई मुद्दाबाट अलग गर्छ । यसले राजनीतिको कमलो पक्षलाई भत्काउँछ र निर्मम बनाउँछ । यस्तो निर्मम, जहाँ सत्ता, शक्ति र सम्पत्तिबाहेक सबैथोक मिथ्या हुन पुग्दछ ।

पछिल्लोसमय पार्टीले जनताका मुद्दालाई जसरी गिजोले, त्यो उपयोगवादकै निकृष्ट उदाहरण हो । जस्तो कि नेताले कहिले मधेस समाउँछन्, कहिले पहाड । कहिले जनजाति, कहिले भाषा र पहिचान । विषयलाई समाउनु र छोड्नुको मुख्य लक्ष्य नै सत्ता र शक्ति हुन जान्छ ।

यस्तो राजनीति आफैँमा छेपारोजस्तो हुन्छ । फाइदाका लागि रङ्ग फेरिरहने । कहिले कुनै पार्टीलाई वर्ग दुश्मन देख्ने, कहिले त्यही पार्टीसँग लगनगाँठो कस्ने । आफ्ना सनातनी सिद्धान्तलाई सत्ता स्वार्थका लागि भत्काउने र स्वार्थ सकिएपछि पुनः समाउने ।

कहिले कट्टर कम्युनिष्ट हुने । कहिले नरम । र, फेरि कट्टर कम्युनिष्ट हुने । कहिले लेनीनको फोटो समाउने, कहिले फ्याल्ने र फेरि समाउने । कहिले कसैको पाउ समाउने । कहिले मधेससँग ‘लभ’ गर्ने, कहिले ‘डिभोर्स’ ।

उपयोगवादी राजनीतिले व्यक्तिको योग्यता हैन, उपयोगिता हेर्छ । यो क्षमता र सृजनशीलतामा विश्वास गर्दैन, नाफामा विश्वास गर्छ । पार्टी वा व्यक्तिसँगको सम्बन्ध उसका लागि शक्ति आर्जनको साधन मात्र हो । बस्, सबैलाई उपयोग गर्‍यो, उपयोगिता जसको सकिन्छ, छोडिदियो । उपयोगवाद आत्माकेन्द्रित हुन्छ । यसका लागि सत्ताको न्यानो सबैभन्दा प्यारो लाग्छ ।

उपयोगवादले सिद्धान्तको नभइ व्यवहारको प्रवर्द्धन गर्छ । भन्छ, “व्यवहारिक बन । छोड सिद्धान्तका कुरा” । राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन भन्ने मदन भण्डारीको भनाइ व्यवहारवादकै उदाहरण हो । राजनीतिमा मुद्दा हुन्छन् । मुद्दामा पक्ष र विपक्ष हुन्छन् । पक्ष र विपक्षको टकराव सधैँ मित्रतापूर्ण मात्र हुँदैन । जहिलेसम्म मुद्दा रहन्छन् राजनीतिमा द्वन्द्व हुन्छ । टकराव हुन्छ । त्यसैले भण्डारीले जे भने त्यो सत्य होइन, बरु त्यो व्यवहारवादी भनाइ हो ।

उपयोगवाद सधैँ व्यवहारिकताको दुहाइ दिन्छ । त्यही सूत्रले आज नेपाली राजनीतिका मुख्य मुद्दा कचेल्टिएका छन् । राजनीतिक धार भुत्ते भएका छन् र सबै पार्टी उस्तै-उस्तै लाग्दछन् । त्यसै कारण मान्छे बाध्य भएर भन्छन्, ‘जुन जोगी आए पनि कानै चिरेका’ ।

गतिलो राजनीतिको अपेक्षा गर्नेहरु उपयोगवाद र व्यवहारवादलाई काम नलाग्ने विचार ठान्दछन् । ‘माछा देख्दा दुलोभित्र हात र सर्प देख्दा दुलो बाहिर हात’ । यो उपयोगवाद हो । यो व्यवहारवाद हो ।

उपयोगवादी राजनीतिमा सिद्धान्तले व्यवहारलाई निर्देशित गर्दैन । बरु व्यवहारले सिद्धान्तलाई डोर्‍याउँछ । यस्तो राजनीतिमा लोकतन्त्र, समाजवाद, सुशासन, विकास, समृद्धि, समावेशीकरण राजनीतिक अडान बन्दैन ।

खतरनाक कुरा यो छ कि जब व्यवहारले सिद्धान्तलाई निर्देशित गर्छ, राजनीतिमा छलछाम सुरू हुन्छ । बृहत्तर राष्ट्रिय स्वार्थ सकिन्छ र व्यक्तिगत स्वार्थ हाबी हुन्छ । निकृष्ट जोडघटाउ सुरू हुन्छ । पार्टीगत हिसाब-किताब थालिन्छ । यसले नेता कम र राजनीतिमा दलाल ज्यादा उत्पादन गर्छ ।

कुनै एकदिन मेरा एकजना कांग्रेसी मित्रले निकै रमाइला प्रश्न गरे । उनले सोधे, ‘लौ भन साथी, नेपाली राजनीतिमा शेरबहादुर देउवा र प्रदीप गिरी को योग्य र क्षमतावान् ? मैले भनेँ, प्रदीप गिरीको बौद्धिकता दुनियाँलाई थाहा छ । उनले अर्को प्रश्न गरे, उनीमध्ये को सफल ? मैले भनेँ, शेरबहादुर पटकपटक प्रधानमन्त्री भएका छन् ।

उनको कुरा यस्तो थियो, ‘सफल हुनु र योग्य हुनु आफैँमा निकै फरक कुरा हुन् ।’ यद्यपि यस्ता प्रश्नमा उपयोगवादी राजनीतिले कुनै बहस गर्दैन । ऊ प्रचारमा विश्वास गर्छ । ऊ प्रोपोगण्डामा विश्वास गर्छ । ऊ लोकरिझ्याइँमा विश्वास गर्छ । जसले धेरैलाई ‘उपयोग’ गर्‍यो, उही सफल हुन्छ । जसले धेरै नाफा गर्‍यो, उही महान् हुन्छ । सत्ता राजनीतिको शीर्ष आशनमा जो पहिले पुग्यो, उही योग्य । ऊ नै सबैभन्दा असल र सफल ।

यस्तो किन हुन्छ ? किनभने बजारमा योग्यता र गुणको भन्दा नाफाको कुरा ज्यादा हुन्छ । आजको नेपाली राजनीतिमा एमाले, कांग्रेस र माओवादी सबैभन्दा ठूला नाफाका व्यापारी हुन् । जसलाई पछ्याउँदैछन् मधेसवादी दल र नयाँ जादुगर । यो अर्थमा आजको नेपाली राजनीतिको सर्वाधिक अध्याँरो पक्ष हो— उपयोगवाद ।

मुख्य कुरा के भने राजनीतिले नाफा खोज्ने र बजारले राजनीति गर्ने प्रवृत्तिले लोकतन्त्रको उत्थान गर्दैन । राजनीति राजनीति जस्तै हुनुपर्छ । लोकतन्त्र लोकतन्त्र जस्तै हुनुपर्छ । बजार बजार जस्तै हुनुपर्छ । यिनी बीच सिमाना छ र राजनीतिले त्यो सिमाना थाहा पाउनुपर्छ । अन्यथा राजनीति भद्दा र अर्थहीन हुन जान्छ । भद्दा राजनीतिले मात्र सत्ताको सिंहासन देख्छ । यसले दूर-क्षितिजमा चम्किने राजनीतिको आस्था, मूल्य-मान्यता र निष्ठाको उज्यालो देख्दैन । विचार देख्दैन । मुद्दा देख्दैन ।

त्यसैले नेताज्यू भुइँमा कुद्ने र लोकतन्त्रको जरा काट्ने मुसा प्रवृत्ति छोडौँ । उपयोगवाद छोडौँ । बजारवाद छोडौँ । हुनसक्छ मुसाको जुनीबाट माथि उठौँ । सम्भव हुन्छ भने आकाशमा उड्ने र पर क्षितिजसम्म देख्ने चिल बनौँ । किनभने नेपाली राजनीतिमा दूर-दृष्टाको खाँचो छ ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved