फिल्म समीक्षा

दि एइट माउन्टेन्स, अ ट्रु फ्रेन्डसिप !

दि एइट माउन्टेन्स, अ ट्रु फ्रेन्डसिप !

विश्वभरिका अधिकांश सिने समीक्षकहरूले ओस्कारलाई भन्दा बढी मान्ने कुनै फिल्म फेस्टिभल छ भने त्यो कान्स नै हो। गएको बिहीबार मात्र ‘चलचित्र समीक्षक समाज’ले मार्टिन चौतारीमा सन् २०२२ को कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त दुईमध्येको एक सिनेमा- ‘दि एइट माउन्टेन्स’को प्रदर्शन गर्‍यो। गर्वका साथ भन्नुपर्छ कान्स विजेता यस फिल्ममा अभिनेत्री सुरक्षा पन्तले आफ्नो पात्रलाई न्यायपूर्ण रूपमा निभाई नेपाली कलाकार पनि विश्वसिनेमा जगतमा पुग्न सक्षम छन् है भन्ने प्रमाणित गरेकी छन्। उनको अभिनय र पात्रको कुरा (जुन छोटो छ तर गहिरो छ)- कथाले मागेको खण्डमा यसै बसाइँ वा अर्को सग्लो बसाइँमा आउँदै रहला। अहिलेलाई भने कान्स विजेता ‘दि एइट माउन्टेन्स’को कथा नै खोतलौँ न हुन्न? कथा कहिलेकाहीँ कविताभित्रै पनि त हुनसक्छ! खैर, दायाँ-बायाँ नगरौँ, फिल्मको कुरा गरौँ।

दि एइट माउन्टेन्स कस्तो फिल्म हो? यो एउटा यस्तो फिल्म हो जुन फिल्म तपाईंले पहिलो प्रयासमै बिना छटपटी बोर नभई हेर्न सक्नुभयो भने बुझिलिनुस् तपाईं ध्यानी हो! किनभने, फिल्म कविताजस्तै छ, जसले तपाईंसँग ध्यान माग्छ। यसका पात्रहरू बोल्दैनन् तर जब बोल्छन् विम्बमा बोल्छन्। घुमाएर बोल्छन् तर लाग्छ प्रस्ट बोलिरहेछन्। सीधा बोल्छन्, तर लाग्छ इसारामा बोलिरहेछन्।

मुख्य अथवा भनुँ मुखपात्र पियत्रो, ब्रुनोसँगको आफ्नो सम्बन्धको ग्राफ सम्झिँदै एक ठाउँ यसरी बखान गर्छ। ऊ प्रस्टसँग भन्दैन हामीबीच दूरी बढेको छ वा हामीबीच तिक्तता पलाएको छ। तर, दर्शकहरू प्रस्टै देख्नसक्छन् त्यो खाडल, महसुस गर्नसक्छन् त्यो तितो! त्यसो त, ऊ सीधा सीधा भन्छ, “एक दिन ब्रुनोलाई मैले क्याफेमा देखेँ। ऊ मलाई परैबाट हेल्लो भन्छ। म हात हल्लाइदिन्छु, बस्!” तर, दर्शकहरू झट्टै बुझ्दैनन् आखिर किन तर्केको हो ऊ ब्रुनोसँग? अब उनीहरू फेरि कहिल्यै पहिलेझैँ नजिक होलान् त? उनीहरूको दोस्ती पुनः सम्भव होला त?

हरेक पल नाकैमुनिबाट घर्किजाने मृत्युलाई जान्न नमरेसम्म नसकिएजस्तै, हरेक क्षण कानै छोएर बहने हावासँगसँगै बत्तिन आफै विलिन नभई नसकिएजस्तै, यसका पात्रहरूलाई बुझ्न पनि दर्शकले एकाकार हुनैपर्छ तिनै पात्रहरूसँग, तिनको मनोदशासँग, तिनको दर्शनसँग, तिनको आदर्शसँग, तिनको स्वभावसँग! सायद तिनको अन्तरात्मासँग!

थाहा छैन, म कति घुल्न सकेँ तिनमा, कति बिलाउन, कति मिल्न, कति मिसिन सकेँ? बस्, यसरी पोखिन सकेँ, पोखिएँ!

पियत्रो

शहरको व्यस्तता र भागदौडबाट टाढा पियत्रो जब प्रकृतिको काखैमा अर्थात् सोझै भन्दा गाउँ पुग्छ, तब उसलाई पहिलोपटक जीवनको सुकुन मिल्छ। मानौँ उसले त्यसअघि त कहिल्यै श्वास फेरेकै रहेनछ। मानौँ उसले त्यसअघि कहिल्यै मान्छे भेटेकै रहेनछ। मानौँ उसले त्यसअघि कहिल्यै साथी पाएकै रहेनछ। हो, प्रकृतिको काखमा उसले ब्रुनोलाई भेट्छ। ब्रुनोसँग छोटो समयमै ऊ यति नजिकिन्छ कि लाग्छ उनीहरूबीचको चिनजान नौलो नै होइन, वर्षौं या फेरि जुगौं पुरानो हो। र दिन, महिना वा केही सालभरका लागि होइन, बरू सालौं साल या फेरि जनमौं जनमका लागि हो। हुन पनि उनीहरू नाङ्गै भुतुङ्गै तालमा चोबलिन्छन्, खाली खुट्टै दौडिहिँड्छन् खेतका गरा गरा। माछा मारेर खान्छन्, गाई दुहुन्छन् साथसाथ। एक-अर्कालाई सिकाउँछन् आ-आफ्ना भाषा। दुई मुटु एक धड्कन भएझैं- उनीहरू लंगौटिया यार!

पियत्रोले जब हिमाल चढ्न सक्दैन उसले आफूले आफूलाई ब्रुनोको अघि निम्न महसुस गर्छ। उसलाई लाग्छ, हिमालकै नाममा जिन्दगी समर्पण गरिदिएको आफ्नो बाबुका लागि अब ऊभन्दा उसको साथी प्यारो भएको छ। उसको बाबुले उसप्रति होइन अब उसको साथीप्रति गर्व गर्छ।

यो इन्फेरियरिटी कम्प्लेक्सबाट गुज्रिरहेको पियत्रोको मनस्थितिमा अर्को एउटा खलबल थपिन्छ। जब आफ्नो बाबुआमाको कुरा सुनेर साथी ब्रुनो शहर जान तयार हुन्छ, पियत्रोलाई नरमाइलो लाग्छ। ऊ चाहँदैन बाबुआमाबाट पाइरहेको माया कसैसँग बाँड्नु परोस्। साथसाथै, ऊ चाहँदैन ब्रुनो पनि शहर जाओस् र शहरका मान्छेजस्तै प्रदूषित होस्। उसले मनको ऐनामा देखेको सरल र स्वच्छ ब्रुनोको छवि ब्रुनोले शहर जाने निर्णय गरेसँगै धमिलिन्छ। उसले रोक्न खोज्दा पनि ब्रुनो नरोकिएपछि उनीहरूको दोस्ती पनि मानौँ तालको पानीमा देखिएको तस्वीरजस्तै गरी खलबलिन्छ।

हिमाल चढ्नमा आफूलाई माहिर प्रमाणित गर्न नसक्नु र ब्रुनोलाई शहर लैजाने आफ्नै बाबुआमाको प्रस्ताव मानौँ उनीहरूको दोस्तीको तलाऊमा उछिट्टिएर आइपुगेको ढुङ्गो हो। कम्तीमा पियत्रो यस्तै सोच्छ।

यसैकारण ऊ आफ्नो असल साथी गुमाउँछ। मनभित्र सद्भाव राख्दाराख्दै पनि ऊ पहिलाजस्तो ब्रुनोसँग हात मिलाउन सक्दैन। ऊ पहिलाजस्तो ब्रुनोसँग झ्याम्मिन रुचाउँदैन। न त बाबुसँगसँगै हिमालको यात्रा गर्न नै मनपराउँछ। हिमाल आरोहण मात्र होइन हुँदाहुँदै उसलाई हिमाल आरोही बाबुप्रति नै घृणा जागिदिन्छ।

बिचरा पियत्रो, बाबुलाई हेर्छ- असल साथी गुमाउनुको कारक देख्छ, चित्त दुखाउँछ। ब्रुनोतिर हेर्छ- बाबु खोस्ने विश्वासघाती देख्छ, मन दुखाउँछ। जीवनको एउटा निकै लामो खण्ड ऊ बाबु र साथी ब्रुनोबाट टाढिएर, तर्किएर बिताउँछ।

त्यसदिन, ब्रुनो दोस्तीको पुरानो गल्लीमा फर्किँदैन थियो त थाहा छैन कहिलेसम्म पियत्रो उसैगरी तर्की बस्नेथ्यो! खैर…

ब्रुनो

पियत्रोजस्तो शहरमा बाबुआमाको माया र स्नेहमा लुटपुटिएर, सुख र सुविधामा पुलपुलिएर हुर्किएको बच्चा थिएन ब्रुनो। डकर्मी बाबुको अनुहार देख्न पनि महिनौं, वर्षौं पर्खनुपर्ने ब्रुनो अंकल-आन्टीकोमा बसेर… ‘पढ्थ्यो!’ भन्न पाएको भए कथा बेग्लै हुन्थ्यो कि? तर, उसले त पियत्रोले जसरी पढ्न कहाँ पाएको थियो र? अरूको घरमा बसेर ऊ दुई छाक खानका लागि दिनभरि काम गर्थ्यो। खैर, खेल्न, उफ्रिन, दौडिन भने उसलाई न कसैले रोक्थ्यो न कसैले भेट्थ्यो।

बाबुको माया नपाएको ब्रुनोलाई शहरिया साथी पियत्रोको बाबुले सँगै लगेर पढाउँछु भनेपछि के चाहियो? उसमा खुसीको सीमा नै थिएन। तर, आफ्नो साथमा त्यस्तोबिघ्न रमाइरहेको साथी पियत्रोले जब उसलाई आफूहरूसँगै शहर नआउन सुझाउँछ उसलाई उदेक लाग्छ। “किन? मचाहिँ सधैँ यही हिमाल र पहाडको अनुहार मात्रै हेरेर बसिरहनु?” – पियत्रोलाई ऊ सोध्छ। शहरीया साथीले कतै आफूलाई कम आँकेको त होइन? गाउँले मानेर हियाएको त होइन? गरिब भनेर हेपेको त होइन?

हठात् ऊ चर्को आवाजमा पहाडहरू चर्किने गरी इख ओकल्छ- “बुझ्यौ ? म अब शहर जाँदैछु। छोड्दैछु यो भीर पाखा!”

भीर पाखालाई भन्दा बढी ऊ सायद आफ्नो शहरीया साथीलाई सुनाउन चाहन्थ्यो। आफू ऊभन्दा कत्ति पनि कम वा निम्न छैन। आखिर, हिमालै चढ्दा पनि साथीको बाबुले साथीलाई भन्दा आफूलाई बढी रुचाएका हुन्। भरोसा गरेर हुन् आफ्नो छोरामाथि भन्दा बढी आफूमाथि! ब्रुनोलाई एक किसिमको सुपेरिअरिटी कम्प्लेक्स थियो भन्दा फरक नपर्ला।

ब्याक टु पियत्रो

दशकौंपछि जब बाबुको मृत्युपछि ब्रुनो अचानक फर्किन्छ दोस्तीको हात फैलाउँदै तब भने पियत्रो तर्किन सक्दैन। ऊ सायद अब भाग्दाभाग्दा गलिसकेको छ। ऊ अब बुझ्न चाहन्छ आखिर आफूहरूको मित्रता वास्तवमै उसले सोचेजस्तै गरी धमिलिएकै थियो त? ब्रुनोको छविमा साच्चै दाग थियो या त खाली ऐना पुछ्न मात्र आवश्यक थियो?

समयले उसलाई सायद परिपक्वता सिकाउँदो छ। ऊ झिँझिन्छ ब्रुनोदेखि, हिँड्न चाहँदैन, रोकिन्छ, अडिन्छ तर, पनि हिँड्छ, पछ्याउँछ उसलाई। उसलाई जिन्दगीले सङ्केत दिइसकेको छ, कतै तँ आफैँभित्र पो कमी थियो कि कुनै जसकारण तँ दुनियाँदेखि झिँजो मान्न थालिस्। दुनियाँदेखि नभाग्, दुनियाँमै रहेर पनि बरु आफैँभित्र हेर् कतै आफूभित्र केही खोट होला। आफूलाई सच्याउने अवसर पो हो कि यो? पछि नहट्। अवसरलाई पछ्याउँदै जा। कुनै निकास पक्कै भेट्नेछस्!

तब ऊ आमालाई फोन गर्छ, र बुझ्ने प्रयास गर्छ- के ब्रुनोले आफूलाई यत्तिका वर्षसम्म सम्झिरहेकै थियो? के उसलाई पनि आफूहरूको दोस्तीप्रति उत्तिकै लगाव थियो? के उसले आफ्नो खोजी गर्थ्यो? के उसलाई आफ्नो चासो थियो? के ब्रुनोको मित्रतामा कुनै खोट थिएन त?

ब्रुनोले आफूप्रति सधैँ चासो राखेको जानेपछि पियत्रो हलुङ्गो भएको छ। मानौँ वर्षौं वर्षदेखि उकुसमुकुस बनी बसेको बोझ हटेको होस् मनबाट। उसले पुन: एकपटक गुमाइसकेको साथीलाई फिर्ता पाएको छ। अब उसलाई बाबुसँग कुनै गुनासो रहेन, जसलाई ऊ आफ्नो दोस्ती बिग्रिनुको कारण भनिठान्थ्यो। तर, मरिसकेको बाबुलाई ऊ यो कुरा कसरी बुझाउन सकोस्? उसको बाबु जिउँदो हुँदाहुँदै उसले यो कुरा बुझिदिको भए? ऊ सम्बन्धहरूबाट नभागेको भए? ऊ मान्छेहरूबाट नभागेको भए? ऊ दुनियाँदेखि नभागेको भए?

अब ऊ परिवारसँग फर्किन चाहन्छ। ऊ आमाकहाँ गई बस्छ। ब्रुनोकहाँ गईबस्छ। कमी उसमै थियो- पियत्रो अब सच्चिन चाहन्छ।

पियत्रोले संगत गर्न नपाएको बाबुको संगत ब्रुनोले गरेको थियो। त्यसैले, उसलाई लाग्छ उसको बाबु अब उसको साथीभित्र छ। साथीको आदतहरूमा, साथीको रुचिहरूमा, साथीको स्वभावमा, साथीको रबैयामा अब ऊ आफूले संगत गर्न नपाएको आफ्नो बाबुलाई पाउँछ। उसको बाबुले जस्तै ब्रुनोले पनि त हौस्याएको छ उसलाई हिमाल चढ्न।

तर, अघिल्लोपटक गरेको गल्ती पियत्रो दोहोर्‍याउँदैन यसपटक। तपाईंको हिमाल तपाईं नै चढ्नु भनिराखेर हिँडेको थियो ऊ बाबुसँग तर यसपटक ऊ पछि हटेको छैन। ३१ वर्षको उमेरमा आइपुगेर पनि ऊ आफ्नो साथीको आदेशलाई यसरी शिरोपर गर्छ जसरी ऊ धेरै सानो छँदा गर्ने गर्थ्यो आफ्नो बाबुको। र, हिमालको चुचुरोमा पुगेपछि मानौँ उसले आफूभित्रको इन्फेरियरिटी कम्प्लेक्सलाई जितेको छ। किनभने, उसले साथीमार्फत् नै आफ्नो बाबुको अघि आफूलाई लायक छोरो साबित गरेको छ।

ब्याक टु ब्रुनो

त्यसो त आफ्नो भनाइ मानेर साथीले कहिल्यै सक्छु जस्तो नसोचेको हिमाल चढेर देखाइदिँदा ब्रुनोको सुपेरिअरिटी कम्प्लेक्सलाई पनि त पोषण पुगेको छ।

ऊ घरी पियत्रोलाई निस्किएर गइहाल् भन्दै गाली गर्छ- पियत्रो मानिदिन्छ चुपचाप, तर्क गर्दैन। तर, फर्किएर आउन छोड्दैन। ऊ सन्तुष्ट छ पियत्रोसँग, उसले एउटा असल र सच्चा साथी पाएको छ।

तर, पियत्रोभन्दा फरक छ ब्रुनो। ब्रुनो, ऊ पियत्रोजस्तो साथीहरूले मात्र सन्तोष मान्ने मान्छे कहाँ हो र? उसलाई त जीवनसाथी पनि पो चाहिन्छ। पियत्रोकी शहरीया साथी लारालाई ताक्छ ऊ। तर, पहिलेझैँ पियत्रोको मन दुखाउन चाहँदैन ऊ। जानी नजानी साथीबाट उसको बाबु खोसेको हो- ब्रुनोलाई सायद यसप्रति नजानिँदो खेद छ। यसपटक लारासँग नजिकिनुअघि ब्रुनो पियत्रोसँग सोध्छ- तिमीहरूबीच केही त छैन नि दोस्तीभन्दा ज्यादा? कुनै गहिरै सम्बन्धमा त छैनौ? लारालाई मैले आफ्नी बनाएँ भने मन त दुख्दैन नि तेरो? टाँढिदैनस् नि पहिलेजस्तो? ऊ पियत्रोलाई पटक-पटक एउटै प्रश्न दोहोर्याएर यी अनेक प्रश्नका उत्तर खोज्छ। प्रस्ट छ- लाराभन्दा धेरैमाथि उसले पियत्रोलाई राखेको छ। खैर, हिमालभन्दा माथि त होइन!

वान्स अगेन ब्याक टु पियत्रो

पियत्रो भन्नु नै ब्रुनोले जग हालिदिएको घर न हो। उसलाई गाई दुहुन सिकाउने ब्रुनो, माछा मार्न सिकाउने ब्रुनो। छानो लाउन सिकाउने ब्रुनो। हिमाल चढ्न सिकाउने ब्रुनो, खुसी हुन सिकाउने ब्रुनो, गल्ती सच्याउन सिकाउने ब्रुनो, लडेपछि पनि उठ्न सिकाउने ब्रुनो। जब, ब्रुनोले लारासँग विवाह गर्छ तब पियत्रोले पनि सिक्छ- साथी हुनु मात्र जिन्दगीमा पर्याप्त हुँदोरहेनछ। यो चेतनाको जगमा घर बनाउन तब पियत्रो एक्लै हिँडेको छ।

हो, आफ्नो घर आफैँ बनाउनुपर्छ। आफ्नो हिमाल आफैँ चढ्नुपर्छ। मानौँ उसको तालिमको अवधि सकिएको छ र अब ऊ वास्तविक जीवनपरीक्षामा उत्रिसकेको छ। उसले अब आफ्ना प्रश्नहरूको सामना गर्नुपर्छ। आफ्नै उत्तरहरू भेट्टाउनुपर्छ। उसले सधैँ ब्रुनोको छायाँ पछ्याउँदै हिँडेर हुँदैन। उसले आफ्नो आकारलाई सग्लो छुट्याउनुपर्छ, आफ्नो छायाँ आफैँ बन्नुपर्छ। र त्यही मेसोमा भेटिन्छे- आज्मी! एउटी नेपाली केटी! जो एक्लै हिँड्छे, आत्मनिर्भर छे। बच्चाहरूसँग रमाउँछे, जसबाट बचपनको जोश र निर्दोषी हराएको छैन। जो सक्षम छे तर महत्त्वाकांक्षी छैन। जो स्वतन्त्र भइकन पनि जिम्मेवार छे।

उसले आफूले हुन खोजेको ब्रान्ड न्यु पियत्रो आज्मिमा पाउँछ। त्यसपछिको उसको जिन्दगी ? रङ्गिन भएको छ, शीतल भएको छ। हलुङ्गो भएको छ। हिमाली भेगतिर हावाको स्पर्शमा फर्फरिने रंगबिरंगका ध्वजाहरूजस्तै!

वान्स अगेन ब्याक टु ब्रुनो

हुन त पियत्रोले भनेकै थियो ब्रुनोलाई- ‘तँ शहर नजा! तँ हिमालमै बस्, पहाडमै रम्, तालहरूमै झुम्!’ ब्रुनोलाई सायद ब्रुनोले भन्दा पियत्रोले ज्यादा बुझेको रहेछ! उसलाई त हिमाल, हिमाल र हिमाल भए पुग्नेरहेछ! न पत्नी चाहिएको छ, न त छोरी नै!

हो, पियत्रोले भनेजस्तै दुनियाँदारी- शहरिया लय अर्थात् लगानी, आम्दानी, ऋण, हिसाब-किताब, आय-स्रोत, बजार र व्यवसायको भुमरीको घेराबन्दीमा ब्रुनो प्रदुषित महसुस गर्छ, सकस महसुस गर्छ। तब ऊ आफैले हौसिएर बसाएको घरजमबाट भाग्छ, परिवारबाट तर्किन्छ, पलायन हुन्छ जिम्मेवारीबाट!

तब, उसले बुझ्छ- हिमाल आफ्नो लागि कति महत्त्वपूर्ण छ। उसलाई हिमालको शान्ति र सन्नाटाले भन्दा बढी केहीले तान्दैन। न त सानी छोरीको मायामोहले नै बाँध्छ। गाई दुहुन र नौनी निकाल्न, पनीर, छुर्पी बनाउनमै उसलाई यति आनन्द लाग्छ कि मानौँ त्योभन्दा पर अर्को स्वर्ग हुनै सक्दैन।

स्टोरीटेलिङ एन्ड मेटाफर्स

घरि पियत्रो र घरि ब्रुनो कति गरिबस्नु है? तर, यी दुई पात्र समानान्तर बगेका छन्, एक-अर्कामा परिपूरक भएर।

यसरी नै तपाईंलाई ब्याक एन्ड फोर्थ पात्रदेखि अर्को पात्रसम्म दोहोर्‍याई दोहोर्‍याइकन डोहोर्‍याइरहनुमा एउटा कारण छ। र त्यो हो फिल्मको स्टोरीटेलिङ! फिल्मको स्टोरीटेलिङ पनि यस्तै अजीव छ। अनौठो छ। सामान्यतया देखिने भेटिने साङ्लोजसरी अटुट गाँसिएर यसको कथा बगेको छैन। बरू कविताजसरी फड्को मार्दै टुट्दै-फुट्दै तर पनि कसो कसो जुट्दै यो बहेको छ। कविताकै भाषामा भन्नुपर्दा यो एउटा नदी होइन बागमती, सुनकोशी वा कर्णालीजस्तो! बरु यो त पानीको बहावको बृहत् प्रक्रिया हो जहाँ कुलो, खोल्सा, खहरे, नदी, ताल, सागर, समुद्र, बादल, जमिन हुँदै हिमालसम्मको कथा छ। जहाँ पहाड मात्रै देखिन्छ, जमिन मात्रै देखिन्छ र पानी देखिँदैन त्यहाँ लाग्छ हरफ परिवर्तन भयो, साङ्ली टुट्यो। तर, गहिरिएर हेर्ने हो भने साङ्ली टुटेको हुँदैन। जमिनमुनि खनेर हेर्नुस् त, पानी त जसै बहेकै छ।

यो फिल्मको स्टोरिटेलिङ सतहमा अटुट बहेको नदी वा भनौँ कथाको फर्म्याटमा छैन। बरु सतह र गहिराइ दुवैलाई समेट्दै कतै बहेको नदी त कतै ओछछिएको जमिन, कतै उडिरहेको बादल त कतै अटल उभिएको हिमाल वा भनौँ कविताको फर्म्याटमा छ।

अर्को एउटा छुटाउनै नहुने कुरा हो भिजुअल स्टोरिटेलिङ। जब पियत्रो आफ्नो फ्रेस एन्ड न्यु ब्रान्डिङ गर्न भनेर निस्किन्छ तब अचानक ऊ एउटा ट्याक्सीभित्र देखिन्छ। ट्याक्सीभित्र बुद्धको सानो, सुनौलो मूर्ती देखिन्छ। मुखले वा संवादले त कतै भनिएको छैन तर, यति दृश्यले नै दर्शकले बुझिसक्छन् कि ऊ नेपाल पुगिसकेछ!

पियत्रो, घरी नेपाल घुम्न आउँछ त घरी ब्रुनो भेट्न इटाली पुग्छ। यो क्रम बारम्बार चलिरहन्छ। तर, उनीहरूको त्यो अन्तिम भेट! उनीहरू भन्दैनन् यो हाम्रो अन्तिम भेट हुनसक्नेछ भनेर तर पनि त्यो दृश्य नै यस्तो छ कि दर्शकलाई अघि महसुस भइसक्छ कि यसपछि केही हुनेवाला छ र अब उनीहरू फेरि कहिल्यै भेटिनेछैनन्।

त्यसो त, कतै किटेरै त भनिएको छैन कि ब्रुनोको लास भेटियो वा ब्रुनोको मृत्यु भयो। तर, दर्शक उसको मृत्यु भएकै हो भन्नेमा दृढ हुन्छन्। सायद, विम्बका रूपमा यहाँ कागले त्यो सन्देश दिएको हुनुपर्छ।

विम्बकै कुरा गरिरहँदा छुटाउन नहुने अर्को हो घर! दुई दशक टाढिएर फेरि भेटिएका पियत्रो र ब्रुनोले मिलेर घर बनाउँछन्। मतलब, आफ्नो सम्बन्धलाई पुन: स्थापित गर्छन्। फेरि एकपटक दोस्ती गर्छन्। एकअर्काको एकआपसप्रतिको अपनत्व महसुस गर्छन्। पारिवारिक आत्मीयता साटासाट गर्छन्।

अनि, पियत्रोले त्यो बिरुवालाई उखेलेर फ्याँक्नुको साटो अर्को ठाउँमा लगेर रोप्नु? आफ्नो बाबुलाई उसले ब्रुनोमा आरोपण गर्नुको सङ्केत हो!

पुनश्च:

वास्तवमा यो फिल्ममाथि जति लेखे पनि भन्नैपर्ने धेरै कुरा छुटिरहन्छन् नै! खैर, दुई पुरुष साथीबीचको मित्रता फिल्मको मेरुदण्ड हो। त्यसो त बाबु-छोराबीचको अह्मको युद्ध, पुस्तान्तर, आत्मालोचना र आत्मखोज, जीवन र जगतको संगति-विसंगति यसका अन्य करङहरू हुन्।

जाँदाजाँदै, निर्देशक दम्पती फिलिक्स र सार्लोटको यो कान्सविजेता सिनेमा कि कविको लागि हो कि त ध्यानीको लागि हो। अर्थात् यो सबैको लागि हो। तर अँ, यो मात्र कवि वा ध्यानीको लागि हो! जोखिम मोल्ने नमोल्ने, तपाईंकै मर्जी!

बाई द वे, डु यु ह्याव अ ट्रु फ्रेन्ड?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved